पंचतन्त्र
कथा
पंचम तन्त्रः अपरीक्षित
कारक
कथा सूची
१ न्याउरी मारी पछुतो
२ मूर्ख विद्वान
३ यात्राको साथी
१
न्याउरी मारी पछुतो
देवशर्माकी पत्नीले छोरा पाएकै दिन उसको घरमा बस्ने
न्याउरीमुसाले पनि एउटा बच्चा ब्याई । तर ब्याउने बित्तिकै
न्याउरीमुसा मरी । देवशर्मा र उनी पत्नीले बडो जतन र
माया गरेर न्याउरीको बच्चालाई पाले र हुर्काए ।
न्याउरीमुसा ठूलो भएपछि देवशर्माको छोरासँग खेल्न थाल्यो
। न्याउरी र बालक साह्रै मिल्थे । एक अर्कालाई माया
गर्थे । तर न्याउरी मुसा पशु भएकोले बालकलाई टोक्ला
भन्ने बालकका आमाबालाई पिर पर्थ्यो ।
एक दिन देवशर्माकी पत्नी छोरालाई सुताएर उसको रेखदेख
गर्ने जिम्मा देवशर्मालाई दिएर पानी भर्न तलाउमा गएकी
थिइन् । संयोगले त्यही बेला देवशर्मालाई उसको जजमानले
बोलाउन आयो । जजमानको घरमा पूजा भएकोले नगै नहुने थियो
। यसैले छोराको जिम्मा न्याउरीलाई दिएर ऊ जजमानसँग गयो
।
देवशर्मा घरबाट निस्कने बित्तिकै एउटा सर्प घरभित्र
पस्यो । त्यो सर्प बच्चा सुतिरहेको ओछ्यानतिर जान थाल्यो
। न्याउरी ओछ्यानको नजिकै बसिरहेको थियो । सर्प ओछ्यानतिर
आउन लागेको देखेर ऊ सतर्क भयो । सर्प अझै नजिक आएपछि
उसले सर्पमाथि आक्रमण गर्यो । सर्प र न्याउरीबीच केही
बेर घम्साघम्सी भयो । आखिरमा न्याउरीले सर्पलाई टुक्राटुक्रा
पार्यो । न्याउरीको जिउमा पनि धेरै ठाउँमा घाउ भयो ।
देवशर्माकी पत्नी पानी भरेर घरमा आएको देखेपछि न्याउरी
आफ्नो बहादुरी देखाउन र माया पाउन उसको नजिकै गयो र
उफ्रन खेल्न थाल्यो । न्याउरीको जिउभरि र मुखमा पनि
रगत लटपटिएको देखेर देवशर्माकी पत्नीको मनमा कतै मेरो
छोरालाई त मारेन भन्ने शंका भयो । मनमा यो शंका आउने
बित्तिकै उसलाई रिस उठ्यो । उसले रिसको झोँकमा पानीको
गाग्रीले न्याउरीलाई हानी । बिचरा न्याउरी ठहरै पर्यो
।
त्यसपछि ऊ दगुर्दै छोरा सुतेको ठाउँमा पुगी । छोरा
मस्तसँग सुतिरहको थियो । ओछ्यानमा र वरिपरि मरेको सर्पका
टुक्राहरू छरिएका थिए । त्यो देख्ने बित्तिकै न्याउरीले
सर्पलाई मारेर आफ्नो छोराको ज्यान जोगाएको कुरा र्छलँग
भयो । कुरा नबुझी, रिसको झोँकमा न्याउरी मारेकोमा ऊ
निक्कै पछुताई । तर अब पछुतो मानेर के हुन्थ्यो र ?
माथि
२ मूर्ख
विद्वान
एक जना पंडितका चार भाइ छोरा थिए । तीमध्ये तीन जना
पढेलेखेका र शास्त्र जान्ने विद्वान थिए । कान्छो छोरा
पढेलेखेको थिएन तापनि बुद्धिमान थियो । उसलाई लोकव्यवहारको
ज्ञान थियो ।
एकपल्ट चारै भाइले परदेशमा गएर आफूले जानेको शास्त्रको
बलले धनसम्पत्ती कमाउने निधो गरे । उनीहरूमध्ये तीन
भाइले के सल्लाह गरे भने कान्छो भाइ बुद्धिमान भए पनि
उसले शास्त्र पढेको छैन । शास्त्र नपढी विद्वान भइन्न
। विद्वान नभै पैसा कमाइन्न । यसैले भाइलाई आफूसँग नजान
पनि सल्लाह दिए । तर साहिँलो भाइले यो हाम्रै भाइ हो,
अहिलेसम्म हामी छुटि्टएका पनि छैनौँ । विद्वान नभए पनि
यो बुद्धिमान छ, यसलाई पनि सँगै लैजाउँ भन्यो । धेरै
बेरको छलफलपछि चारै जना सँगै जाने निधो गरे ।
जाँदाजाँदा बाटोका घनघोर जंगल आयो । त्यहाँ उनीहरूले
बाटोको छेऊमै कुनै जानवरको हाडखोर देखे । त्यो देखेर
जेठोले भन्यो, "हेर, यहाँ कुनै जंगली जानवरको हाडखोर
छ । यी हाडहरूलाई जीवित बनाएर हामीले आफ्नो विद्याको
जाँच गर्नसक्छौँ ।"
माइला र साइँला भाइले उसको कुरामा सही थापे । कान्छो
भाइ भने चुपचाप सुनेर बस्यो ।
त्यसपछि जेठोले ती हाडहरूलाई बटुलेर रोज्यो र आफ्नो
विद्याको बलले हाडहरूलाई जोरेर एउटा जानवरको रूपमा उभ्यायो
। माइलोले त्यसमा मासु, रगत आदि शरीरलाई चाहिने सबै
कुरा भर्यो । त्यो जानवर सिंह रहेछ । अनि साहिँलोले
आफ्नो विद्याको प्रयोग गरेर त्यो मरेको सिंहलाई जीवित
बनाउन अघि सर्यो ।
कान्छोले साहिँलादाइलाई रोक्दै भन्यो, "ए दाइ,
पर्ख । बिचारै नगरीकन यसलाई जीवित नपार । यो सिंह हिंसक
जानवर हो । यो जीवित हुने बित्तिकै यसले हामीलाई मारेर
खानेछ ।"
तर साहिँलो आफ्नो विद्याको बल देखाउन उत्ताउलो भएको
थियो । उसले कान्छा भाइको कुरा मानेन । उसले भन्यो,
"जरेठा र माइला दाइहरूले आआफ्नो विद्याको चमत्कार
देखाइसके । ममात्रै किन पछि पर्ने ?"
साहिँला दाइको करा सुनेर उसले भन्यो, "त्यसो भए
एक छिन पर्ख । पहिले म रुखमा चढ्छु अनि तपाईँले आफ्नो
विद्याको चमत्कार देखाउनुहोला ।"
यति भन्दै वुद्धिमान कान्छो भाइ दगुरेर नजिकैको अग्लो
रुखमा चढ्यो ।
साहिँला भाइले सिंहको शरीरमा प्राण राख्ने बित्तिकै
सिंह आंग तन्काउँदै जुरुक्क उठ्यो । उसले आफ्नो अगाडि
तीन जना मानिसलाई देखेर उनीहरूमाथि झम्ट्यो र मारेर
खायो ।
पेट भरिएपछि सिंह बनभित्र गयो । त्यसपछि कान्छो भाइ
रुखबाट ओर्लेर घरतिर लाग्यो ।
माथि
३ यात्राको
साथी
एक जना मानिसलाई अर्को गाउँमा जाने काम पर्यो । बाटोमा
जंगल थियो । यसैले उसकी आमाले उसलाई एक्लै नजाने सल्लाह
दिइन् । तर उसले भन्यो, "मलाई बाटो थाहा छ । एक्लै
जान सकिहाल्छु । साथी चाहिँदैन ।"
तर आमाको मन मानेन । उनी नजिकैको पोखरीमा गइन् र एउटा
गँगटो समातेर ल्याइन् । उनले त्यो गंगटोलाई एउटा बट्टामा
राखिन् र छोरालाई दिँदै भनिन्, "लौ यो गंगटोलाई
भए पनि सँगै लिएर जाऊ ।"
उसले आमाको कुरा काट्न सकेन । गंगटोलाई लिएर ऊ यात्रामा
निस्क्यो । गर्मीको बेला थियो । केही बेर हिँडेपछि उसलाई
थकाइ लाग्यो । ऊ एउटा चौतारोमा बस्यो । बस्दाबस्दा ऊ
त्यहीँ निदायो । गर्मीले आत्तिएर डब्बाभित्र राखेको
गंगटो बाहिर निस्क्यो ।
त्यो चौतारीको रुखको फेँदमा टोड्को थियो । त्यो टोड्कोमा
कालो सर्प बस्थ्यो । सर्प बाहिर निस्केर सुतेको मानिसको
नजिकै जान थालको गंगटोले देख्यो । ऊ चाल मारेर सर्पको
नजिकै गयो र आफ्ना सनासो जस्ता बलिया पंजाले सर्पको
घाँटी अंठ्यायो । सर्प एक छिन् छटपटायो । गंगटाको धारिलो
पंजाको माझमा परेर सर्पको घाँटी दुई टुक्रा भयो ।
निंदबाट जागेपछि त्यो मानिसले आफ्नो नजिकै सर्प दुई
टुक्रा भएर मरेको र नजिकै गंगटा बसेको देख्यो । उसले
आफ्नी आमालाई सम्झ्यो । उसले आमालाई मनमनै प्रणाम गर्यो
र गाउँतिर लाग्यो ।
माथि
प्रथम तन्त्र द्वितीय
तन्त्र तृतीय तन्त्र
चतुर्थ तन्त्र पंचम
तन्त्र
मूल पृष्ठमा जाउँ
|