पंचतन्त्र
कथा
द्वितीय तन्त्रः मित्र
सम्प्राप्ति
कथा सूची
१ सम्पत्तीको फुर्ती
२ लोभले विनाश निम्त्यायो
३ बिनाकारण काम हुँदैन
४ राम्रो संगतको फल
१
सम्पत्तीको फुर्ती
गाउँको मन्दिर छेउको पाटीमा एक जना जोगी बस्थ्यो ।
जोगीले भिक्षा मागेर ल्याउँथ्यो । भिक्षामा पाएको पिठो
र अरु खाने कुरा झोलामा राखेर उसले कोठाको भित्तामा
किलामा झुण्ड्याउँथ्यो ।
राती मुसाहरू उफ्रेर झोलामा पुग्थे र त्यसमा भएका खाने
कुरा चोरेर खान्थे । राती मुसा उफ्रेर दुःख दिन थालेपछि
जोगी लौरो लिएर बस्न थाल्यो । मुसालाई देख्ने बित्तिकै
उसले लौरेले हिर्काएर धपाउँथ्यो । तर यसरी रातभरि कुर्नु
गाह्रो थियो ।
एक पल्ट जोगीको घरमा एक जना सन्यासी पाहुना आयो । उसले
जोगी रातभरि नसुती मुसालाई तर्साउँदै गरेको देख्यो ।
जोगीको यस्तो अवस्था देखेर उसलाई टिठ लाग्यो । उसले
जोगीलाई मुसाबाट उछार पाउने उपाय बताउँदै भन्यो, "यी
मुसाहरू बिना कारण उफ्रेका पक्कै पनि होइनन् । यिनीहरू
बस्ने दुलोमा धनसम्पत्तीको खजाना हुनुुपर्छ । किनकि
सम्पत्ती बिना कसैलाई पनि यस्तो फुर्ती आउँदैन ।"
त्यसपछि सन्यासीले जोगीलाई कोदालो ल्याउन लगायो । जोगी
र सन्यासी मिलेर मुसाको दुलो खोजे र खन्न थाले । मुसाको
दुलो खन्दै जाँदा उनीहरूले माटाको ध्याम्पो भेट्टाए
। ध्याम्पो सुनका असर्फीले भरिएको थियो । दुबै जना मिलेर
असर्फी बाँडे ।
राती सुत्ने बेलामा सँधै झैँ जोगी हातमा लौरो लिएर
झोलाको रखवारी गर्न थाल्यो । सन्यासीले भन्यो, "अब
यी मुसा उफ्रेर भित्ताको झोलासम्म पुग्न सक्तैनन् ।
यसैले आरामसँग सुते हुन्छ ।"
तर जोगीको मन मानेन । उसलाई मुसाले झोलाभित्रको खानेकुरा
खाइदेला भन्ने अझै पनि चिन्ता थियो ।
राती मुसाहरू आए । तिनीहरू भित्तामा चढ्न र उफ्रन खोजे
। तर कुनै पनि मुसा उफ्रेर झोलासम्म पुग्न सकेन । त्यो
देखेर सन्यासीले भन्यो, "देख्यौ त ? पैसाको ध्याम्पोले
गर्दा नै यिनीहरूको फुर्ती बढेको थियो । धन नभएपछि फुर्ती
पनि हरायो ।"
जोगीले सन्यासीको गुन मानेर आरामसाथ सुत्यो ।
माथि
२ लोभले
विनाश निम्त्यायो
एक दिन एक जना सिकारी धनुषबाण लिएर बनमा सिकार खेल्न
गयो । जाँदाजाँदै उसले अजंगको बँदेल आफूतिर आइरहेको
देख्यो । उसले बँदेललाई ताकेर तीर चलायो । तीर बँदेलको
पेटमा घुस्यो । घाइते बँदेलले सिकारीमाथि आक्रमण गर्यो
। एकै छिनमा बँदेल र सिकारी दुबै मरे ।
त्यही बाटो भएर एउटा स्याल जाँदै थियो । मरेको बँदेल
र सिकारीलाई देखेर ऊ दंग पर्यो । उसले मनमनै भन्यो,
"यति धेरै खाने कुरा भाग्यले मात्रै पाइन्छ । यसलाई
जोगाएर अडकल गरीगरी खानुपर्छ । धेरै दिनसम्म पुर्याउनु
पर्छ । यही बुद्धिमानी हो । यसैले पहिले सानातिना कुरा
खान्छु ।"
यस्तो विचार गरेर उसले सबैभन्दा पहिले छालाले बनेको
धनुषको ताँदो खाने बिचार गर्यो । ताँदो धनुषको दुबै
टुप्पामा तन्काएर बाँधिएको थियो । स्यालले त्यो ताँदो
मुखमा राखेर दाँतले चपाउने बित्तिकै चुँड्यो । अचानक
ताँडो चुँडिदा धनुषका तीखा टुप्पा जोडले उछिटि्टए ।
एउटा टुप्पा उछिटि्टएर स्यालको घाँटी छेडेर टाउकोबाट
निस्क्यो । यसरी धेरै लोभ गर्दा स्यालको ज्यान गयो ।
माथि
३ बिनाकारण
काम हुँदैन
एउटी गृहिणीले तिलको लड्डु बनाउन तिल केलाएर घाममा सुकाएकी
थिइन् । एउटा कुकुर आएर तिलको छेऊमा पिसाप गरेर फोहोर
पारिदियो । फोहोर तिलको लड्डु बनाउन भएन । तिल पखालेर
काम चलाउन पनि मन लागेन । अब के गर्ने ?
उनले टपरीमा तिल राखिन् र बजारतिर लागिन् । उनले "केलाएको
तिल लिनुस् नकेलाएको तिल दिनुस् ।" भन्दै ठूलो
स्वरले चिच्याउँदै तिल साट्न घरघर डुल्न थालिन् । उनको
स्वर सुनेर एउटी गृहिणीले उनलाई बोलाइन् र "तिल
कसरी साट्छ्यौ" भनेर सोधिन् । उनले सरी अर्थात्
लिएको बराबरी तिल दिन्छु भनिन् । उनको कुरा गृहिणीलाई
चित्त बुझ्यो । उनी तिल साट्न तयार भइन् ।
गृहिणीको छोराले आमाको कुरा सुनिरहेको थियो । उसले
अर्थशास्त्र पढेको थियो । किन कसैले केलाएको तिल दिएर
त्यही बराबर नकेलाएको तिल लिन्छ भनेर तर्क गर्यो । पक्कै
पनि तिलमा केही खोँट हुनुपर्छ भनेर उसले अडकल गर्यो
। छोराको तर्कपूर्ण कुरा सुनेपछि गृहिणीले तिल साटिनन्
।
माथि
४ राम्रो
संगतको फल
एउटा बनमा पोखरी थियो । पोखरीभित्र कछुवा बस्थ्यो ।
पोखरीको किनारामा हरिण, कौवा र मुसा बस्थे । ती चारै
पशुपंछी दिनदिनै पाखरीको डिलमा बसेर ज्ञानगुनका कुरा
र रमाइलो गफ गर्दै बस्थे । एउटालाई आपत पर्दा अरु सबैले
मदत गर्थे ।
एक दिन उनीहरू पोखरीको डिलमा गफ गरेर बसिरहेका थिए
। हरिण आइपुगेको थिएन । हरिणले किन ढिला गर्यो भनेर
उनीहरू पिर मानिरहेका थिए । पोखरीको छेउको रुखको हाँगामा
बसेर कौवाले बेलाबेलामा हरिण कतै देखिन्छ कि भनेर हेर्थ्यो
। धेरै बेरसम्म हरिण नआइपुगेपछि उनीहरूको मनमा चिसो
पस्यो । कछुवाले कौवालाई बनमा गएर हरिणको खोजखबर गर्ने
सुझाव दियो ।
सबैको सल्लाहअनुसार कौवा बनको बाक्लो भागतिर उड्यो
। धेरै पर नपुग्दै उसले हरिणलाई सिकारीको जालमा परेर
छट्पटाइरहेको देख्यो । कौवाले तुरुन्तै मुसालाई डाकेर
ल्यायो । मुसाले हरिणको जाल काटदै थियो त्यही बेला कछुवा
पनि बिस्तारै त्यहाँ आइपुग्यो ।
त्यही बेला सिकारी पनि त्यहाँ आइपुग्यो । तर मुसाले
हरिणको जाल काटिसकेको थियो । सिकारी आएको देखेर हरिण
दागुरेर बनभित्र हरायो । कौवा पनि उडेर रुखको हाँगामा
बस्यो । मुसा पनि लुकिहाल्यो । तर बिचरा ढिलो हिँडने
कछुवा लुक्न सकेन । हरिण समात्न नपाएको झोँकमा सिकारीले
त्यही कछुवा भए पनि बेसै भयो भनेर उसलाई समात्यो र डोरीले
बाँधेर झुँण्ड्याएर घरतिर लाग्यो ।
सिकारीले आफ्नो प्यारो साथी कछुवालाई लगेको देखेर कौवा,
हरिण र मुसा चिन्तित भए । उनीहरूले तुरुन्तै केही उपाय
सोचे । कौवाले योजना बनायो ।
योजनाअनुसार हरिण दगुर्दै गएर सिकारीले देख्ने गरी
पोखरीको छेउमा मरेजस्तो गरेर पल्ट्यो । हरिणको टाउको
माथि कौवा बसेर मरेको हरिणलाई थुङेजस्तो गर्यो । सिकारीले
हरिणलाई देखेर जालबाट उम्केको हरिण यहाँ आएर मरेछ भन्ने
ठान्यो र हातमा झुण्ड्याएको कछुवालाई भुइँमा बिसाएर
हरिणतिर लाग्यो । त्यही बेला मुसाले कछुवालाई बाँधेको
डोरी काटिदियो । कछुवा हतारहतार गरेर पोखरीको पानीभित्र
पस्यो । उता सिकारी हरिणको नजिक आउने बित्तिकै कौवा
जोडले कराउँदै रुखको हाँगातिर उड्यो । अनि हरिण पनि
जर्याकजुरुक उठेर बनतिर सुइँकुच्चा ठोक्यो । मुसा ढुंगाको
काममा लुकिहाल्यो । यसरी असल साथीहरूको संगतले गर्दा
ती चार मित्र धेरै वर्षम्म बजमा रमाएर बसे ।
माथि
प्रथम
तन्त्र द्वितीय तन्त्र तृतीय
तन्त्र चतुर्थ तन्त्र
पंचम तन्त्र
मूल पृष्ठमा जाउँ |