पंचतन्त्र
कथा
तृतीय तन्त्रः काकोलूकीयम
कथा सूची
१ उल्लुको अभिषेक
२ दुष्टको दाउ
३ लोभको फल
४ परेवाको बलिदान
५ बोल्न ओडार
६ भ्यागुतालाई बुई चढाउने सर्प
१
उल्लुको अभिषेक
एक पल्ट बनका सबै चराहले ठूलो सभा गरे । उनीहरूका राजा
गरुड सँधै विष्णुको सेवामा लागिरहने हुनाले बनका पंछीहरूलाई
सिकारी र अरु जीवहरूबाट जोगउन उनले केही काम गर्न भ्याउन्नन्
। यसैले अर्को राजा छान्नु पर्यो भन्ने उनीहरूले निधो
गरे । त्यसपछि उनीहरूले रातीमा देख्नसक्ने आँखा, सियोजस्तो
तीखो ठोँड र चक्कुजस्तो धारिलो नंग्रा भएको उल्लुलाई
राजा बनाए ।
उल्लुलाई राजाको रूपमा धुमधामले अभिषेक गर्ने तयारी
भयो । सिंहासन सजाइयो । नाच गानको आयोजना गरियो र बनका
सबै पशुपंछीलाई भोज खान डाकियो ।
राज्याभिषेक समारोह हुँदै थियो । उल्लु सिंहासनमा बस्ने
लागेको थियो । त्यही बेला त्यहाँ कौवा आइपुग्यो । कौवा
प्रायः मानिसको बस्तीमा बस्ने हुनाले उसलाई राजा चुन्ने
सभामा बोलाइएको थिएन । आजको समारोहमा पनि उसलाई निम्तो
गरिएको थिएन । तर कौवा बडो चतुर र कूटनीति जान्ने चरा
हो भन्ने धेरैलाई थाहा थियो । यसैले पंछीहरू कौवाको
वरिपरि झुम्मिएस उसको कुरा सुन्न थाले ।
उल्लुलाई राजा बनाउने निर्णय ाकौवालाई चित्त बुझेन
। उसले हाँस्दै भन्यो, "बनमा मयुर, कालिज, कोइली,
सुगाजस्ता सुन्दर पंछीहरू हुँदाहुँदै दिउँसै आँखा नदेख्ने
अन्धा उल्लुलाई राजा बनाउनु अनुचित भयो । उसको स्वभावै
रिसाहा छ । उसको स्वर पनि धोद्रो र नमिठो छ । त्यसमाथि
हाम्रो राजा त गरुड छँदैछ । एउटा राजा हुँदाहुँदै अर्को
राजा बनाउँदा आपत आइलाग्नसक्छ । यो उल्लु दुष्ट पनि
छ । यसले रातीराती सिकार गर्छ । यसले हामी पंछीहरूलाई
नै मारेर खान पनि सक्छ । यसको के भर ?"
कौवाको कुरा चराहरूलाई चित्त बुझ्यो । उनीहरूले राज्याभिषेक
समारोह त्यतिकै छाडेर गए । त्यहाँ उल्लु, उसको साथी
र कौवा मात्रै बाकी थिए । उल्लुले कौवासँग रिसाउँदै
भन्यो, "बदमास कौवा, किन मेरो अभिषेकमा बाधा पारिस्
? मैले तेरो के बिगारेको थिएँ ? तैँले मसँग शत्रुता
गरेर राम्रो गरिनस् । अब कि तेरो वंश रहन्छ कि मेरो
वंश ।"
यति भनेर उल्लु त्यहाँबाट गयो । उसको कुरा सुनेर कौवालाई
पछुतो भयो । बेकारमा अर्काको मामिलामा चासो लिएर पूरै
वंशको शत्रु कमाएँ ।
माथि
२ दुष्टको
दाउ
एक जना सोझो मानिसले गाउँमा गएर खसी किनेर ल्यायो ।
खसी हेर्दै लोभलाग्दो चिल्लो र मोटो थियो । खसी हिँडन
नमानेकोले उसले त्यसलाई काँधमा बोकेको थियो । बाटोमा
तीन जना ठगहरूले उसलाई देखे । उनीहरूले त्यो खसी फुत्काउने
उपाय निकाले ।
एक जना ठग त्यो मानिसको अगाडि गएर भन्यो, "होइन
तिमी बहुला हौ कि सद्धे मानिस हौ ? किन कुकुरलाई काँधमा
बोकेको ? तिमीलाई गाउँलेले देखे भने के भन्लान् ?"
उसको कुरा सुनेर बोका ल्याउने मानिसले रिसाउँदै भन्यो,
"तिमी अन्धा हौ कि के हो ? यति राम्रो खसीलाई कुकुर
भन्छौ ? पक्कै पनि तिम्रो आँखा बिग्रेको होला ।"
अलि पर पुगेपछि अर्को ठग बाटोमा आयो र उसले पनि त्यो
सोझो मानिसलाई भन्यो, "ओहो, कस्तो कुरा देख्नु
पर्यो ? यो मरेको सिनो किन बोकेर हिँडेको ? तिमीलाई
गन्हाएन ? त्यो सिनो फालिहाल । गाउँमा कसैले तिमीलाई
सिनो बोकेको देख्यो भने तिमीलाई कसैले पनि छुने छैन
।"
सोझो मानिसले उसलाई "यति राम्रो खसीलाई मरेको
सिनो देख्ने तिमी पक्कै पनि सन्केका रहेछौ ।" भन्दै
गाली गर्दै घरतिर लाग्यो ।
केही पर पुगेपछि तेस्रो ठगसँग भेट भयो । उसले टाढैबाट
भन्यो, "छिछि, गधालाई पनि किन बोकेको होला ! गधालाई
त छोए पनि पाप लाग्छ । तिमीले त बोकेर पो हिँडेका छौ
। अरुले के भन्लान् भनेर डर लाग्दैन ?"
तेस्रो ठगको कुरा सुनेपछि सोझो मानिसको मनमा पनि शंका
उब्ज्यो । आफूले बोकेको पशु खसी नभएर कुनै अनौठो र बोक्न
नहुने जीव रहेछ भन्ने उसलाई लाग्यो । उसले त्यो खसीलाई
बाटोमै छाडेर घर तिर लाग्यो ।
बाटोमा छाडिएको खसी भागेर गाउँतिर जान खोज्यो । तर
ती दुष्टहरूले त्यसलाई समाते । विचरा सोझो मानिसको खसी
ठगहरूले सित्तैमा खाइदिए ।
माथि
३
लोभको फल
एक जना किसान थियो । ऊ मेहनती थियो । तर उसको खेतबारी
धेरै थिएन । यसैले जति मेहनत गरे पनि वर्षभरि खान पुग्दैनथ्यो
। एक दिन ऊ खेतमा काम गरेर थाकेर रुखको सियाँलमुनि पल्टिरहको
थियो । उसले नजिकैको झ्याङमा अजंगको सर्प देख्यो । उसले
त्यति ठूलो सर्प जीवनमा पहिले कहिल्यै देखेको थिएन ।
त्यो सर्प पक्कै पनि सर्पहरूको राजा वा देवता होला भन्ने
उसले ठान्यो ।
भोलि पल्ट खेतमा काम गर्न जाँदा उसले सर्पको लागि खाने
कुरा लिएर गायो र झ्याङको नजिकै राखिदियो । एक छिनपछि
किसानले झ्याङमा गएर हेर्दा सर्पले खानेकुरा खाइसकेको
थियो । उसले अचम्मको कुरा के देख्यो भने खानेकुरा राखेको
भाँडामा एउटा सुनको असर्फी थियो । सर्पदेवताले उसलाई
दया गरेर त्यो सुनको मोहर राखिदिएको हुनुपर्छ भन्ने
उसलाई लाग्यो । उसले सर्पलाई परैबाट प्रणाम गरेर घर
फर्क्यो ।
भोलि पल्ट पनि उसले सर्पलाई खानेकुरा राखिदियो । सर्पले
पनि उसको भाँडामा सुनको मोहर राखिदियो । यसरी किसानले
दिनदिनै सर्पलाई खानेकुरा दिने र सर्पले सुनको मोहर
दिने काम भइरहेको थियो ।
एक दिन किसानलाई खेतमा नगइकन अरु काममा अर्को गाउँमा
जानु पर्यो । उसले आफ्नो छोरालाई सर्पलाई खानेकुरा दिन
अह्रायो । छोराले पनि सर्पबाट सुनको मोहर पायो । फर्कने
बेलामा उसले बिचार गर्यो । पक्कै पनि सर्पको दुलोमा
असर्फीको ठूलै भण्डार हुनुपर्छ । यसरी सर्पको चाकरी
गरेर दिनको एउटा असर्फी लिनुभन्दा त्यो खजाना नै हात
पार्नु बेस ।
यस्तो विचार गर्दै उसले भोलि पल्ट खाने कुरा लिएर सर्प
बस्ने झ्याङमा राखिदियो र सर्प कहिले निस्कला भनेर हातमा
लौरो लिएर ढुकेर बस्यो । सर्पले खान थालेको मौका पारेर
उसले सर्पलाई लौरोले हिर्कायो । तर उसले हिर्काएको लौरो
सर्पको टाउकोमाथि नलागेर पुच्छरतिर लाग्यो । सर्प रिसाएर
फनक्क फर्क्यो र किसालनको छोरालाई डस्यो । किसानको लोभी
छोरा ठहरै पर्यो ।
किसानले आफ्नो छोराले लोभ गरेर सर्पलाई मारेर खजाना
हात पार्न खोजेको थाहा पायो । ऊ साह्रै दुखी भयो । उसले
सर्पको पूजा गरेर ऊसँग माफी माग्ने विचार गर्यो । उसले
सर्पलाई मिठामिठा खानेकुरा ल्याएर दियो र उसको प्रार्थना
गर्न थाल्यो ।
किसानको चाल देखेर सर्पलाई दया लाग्यो । ऊ झ्याङबाहिर
निस्क्यो र किसानलाई आफ्नो बाँगो पुच्छर देखाउँदै भन्यो,
"तिम्रो छोराले मलाई मार्न खोजेकोले मैले उसलाई
मारेँ । छोरालाई मारेको रिस तिमीले जीवनभरि बिर्सन सक्नेछैनौ
। त्यस्तै मलाई तिम्रो छोराले मार्न खोजेको र घाइते
पारेको कुरा म पनि बिर्सनसक्तिन । सुनको मोहर पाउने
आशले तिमीले मेरो भक्ति गरेका छौ भन्ने कुरा मैले बुझेको
छु । यसैले लौ यो हीरा लेऊ र मेरो नजिक अबदेखि कहिल्यै
नआऊ ।"
यति भनेर सर्पले किसानको अगाडि टल्कने हीरा राखिदियो
र झ्याङभित्र पस्यो ।
माथि
४ परेवाको
बलिदान
एक जना शिकारी चरा मार्न निक्कै सिपालु थियो । ऊ साह्रै
निर्दयी पनि थियो । ऊ सँधै बनमा चरा समात्ने पासो, पिँजडा
र लौरो लिएर घुमिरहन्थ्यो । चरा समातेर बजारमा लगेर
बेच्नु उसको धन्दा थियो । चरा बिकेन भने आफैले मारेर
पोलेर खान्थ्यो ।
एक दिन एउटी परेवी उसको पासोमा परी । परेवीलाई लिएर
ऊ घर फर्कँदै थियो । बाटोमा बेस्सरी पानी पर्यो । ऊ
घर र्फकन सकेन । पानीले निथ्रुक्क भिजेर ऊ जाडोले काँप्दै
थियो । उसले ओत लाग्न र रात बिताउनका लागि न्यानो ठाउँ
खोज्दै थियो । उसले बनको माझमा ठूलो पिपलको बोट देख्यो
। त्यो बूढो पिपलको बोटको फेँदमा ठूलो खोक्रो थियो ।
उसले त्यही खोक्रोमा बसेर रात काट्ने निधो गर्यो ।
खोक्रोभित्र बसेपछि उसलाई चिसो र भोकले दुःखदिन थाल्यो
। उसले वरिपरिका पशुपंछीले सुन्ने गरी भन्यो, "यो
रुखमा कुनै जीव बस्छ भने ममाथि दया गर । म जाडो र भोकले
मर्न लागेँ ।"
त्यो रुखको हाँगामा शिकारीले समातेर ल्याएको परेवीको
लोग्ने परेवा बस्थो । परेवी हराएकी हुँदा त्यो परेवा
रोइरहको थियो । बेलाबेलामा उसले परेवीलाई बोलाउँथ्यो
। आफ्नो लोग्नेको माया देखेर परेवी खुशी भई । उसले पिंजडाभित्रबाटै
आफ्नो लोग्नेलाई भनी, "म तिम्रो नजिकै छु । यो
शिकारीले मलाई पासोमा पारेर पिंजडामा राखेको छ । तर
मेरो चिन्ता नगर । पहिले घरमा शरण लिन आएको पाहुनाको
सत्कार गर ।"
पत्नीको कुरा सुनेर परेवालाई सन्तोष भयो । उसले शिकारीसँग
सोध्यो, "तिमी हाम्रा पाहुना हौ । तिम्रो सेवा
गर्नु हाम्रो कर्तव्य हो । म तिम्रो के सेवा गरुँ भन
?"
"म जाडोले काँपिरहेको छु र भोकाएको पनि छु । केही
उपाय गर ।" शिकारीले भन्यो ।
परेवा तुरुन्तै उडेर गयो । उसले वरिपरिबाट सुकेका पात,
झिँजा र दाउरा बटुल्यो । त्यसपछि ऊ गाउँतिर गयो । गोठबाट
उसले बलिरहेको अंगार पातमा राखेर ल्यायो । अनि उसले
शिकारीको नजिकै आगो बाल्यो ।
त्यसपछि पाहुनालाई के ख्वाउने भन्ने उसलाई पिर पर्यो
। उसँग शिकारीलाई ख्वाउने कुरा केही पनि थिएन । पाहुनालाई
भोकै राख्न पनि भएन । उसले आफैलाई पोलेर पाहुनाको पेट
भर्ने निधो गर्यो र बलिरहेको आगोमा पस्यो ।
परेवाको यस्तो बलिदान देखेर शिकारी छक्कै पर्यो । उसको
मनमा आफूले नराम्रो धन्दा गरेको रहेछु भन्ने ज्ञान पल्हायो
। उसले तुरुन्तै पिंजडाभित्रकी परेवीलाई छाडिदियो ।
उसले आफ्नो शिकार खेल्ने सामान पासो पिंजडा र लौरो पनि
आगोमा डढाल्यो ।
आफ्नो लोग्ने आगोमा होमिएको देखेर परेवी अति दुःखी
भई । उसलाई एक्लै बाँच्नु बेकार लाग्यो । यसैले ऊ पनि
त्यही आगोमा होमिई ।
परेवा परेवीको बलिदान देखेर शिकारीलाई बडो दुःख र विरक्त
लाग्यो । उसले शिकारी पेशा छाड्यो र अरुको उपकार गर्दै
हिँड्न थाल्यो ।
माथि
५ बोल्ने
ओडार
एउटा बनमा एउटा सिंह बस्थ्यो । एक पल्ट उसले दिनभरि
बनमा घुम्दा पनि कुनै जानवरलाई मार्न सकेन । ऊ भोकै
थियो । जाँदाजाँदा उसले एउटा ओडार देख्यो । ओडारभित्र
कुनै जन्तु बसेको हुनसक्छ भन्ने उसले विचार गर्यो ।
ऊ भित्र गयो । तर त्यहाँ कुनै जानवर थिएन । राती कोही
न कोही त बास बस्न आउला भन्ने सोचर त्यो सिंह ओडारभित्रै
लुकेर बसिरह्यो ।
केही बेरपछि त्यहाँ एउटा स्याल आयो । त्यो स्याल त्यही
ओडारमा बस्थ्यो । उसले ओडारभित्र पस्नुभन्दा पहिले कोही
ओडारभित्र बसेको छ कि भन्ने शंका गर्यो । उसले ओडारबाहिर
भुइँमा हेर्दा त्यहाँ सिंहको पाइलाको चिनो देख्यो ।
तर ती पाइलाहरू ओडारतिर फर्केका थिए । ओडारबाट बाहिर
निस्केको चिनो थिएन । त्यो देखेर स्यालले पक्कै पनि
ओडारभित्र सिंह लुकेको हुनुपर्छ भन्ने अडकल गर्यो ।
तर सिंह भित्र छ भन्ने कसरी निधो गर्ने ?
केही बेर सोचेपछि स्याल ओडारको मुखैमा गयो र चिच्यायो,
"ए ओडार, म आउँदा जहिले पनि तिमीले मलाई बोलाउँथ्यौ
। स्वागत गर्थ्यौ । तर आज चुपाचाप छौ । म आएको तिमीलाई
मन परेन भने अन्तै जान्छु ।"
बाहिर स्यालको कुरा सुनेर भित्र लुकेको सिंहले पक्कै
पनि यो ओडारले स्वागत गर्थ्यो होला भन्ने बिचार गर्यो
। अनि उसले पनि भित्रबाट "स्याल भाइ तिम्रो स्वागत
छ ।" भन्यो ।
ओडारभित्र सिंह लुकेको छ भन्ने प्रमाणित भएपछि स्याल
त्यहाँबाट कुलेलम ठोक्यो ।
माथि
६ भ्यागुतालाई
बुई चढाउने सर्प
एउटा जंगलमा बस्ने सर्प बूढो र कमजोर भएर शिकार खोज्न
नसक्ने अवस्थामा पुगेको थियो । उसले धेरै मेहनत नगरीकन
भोजन जुटाउने उपाय सोच्न थाल्यो । उसको मनमा एउटा बिचार
आयो । ऊ बिस्तारै पोखरीमा गयो । पोखरीमा धेरै भ्यागुताहरू
थिए । सर्प पोखरीको डिलमा एउटा ढुंगामाथि बडो उदास भएर
बस्यो ।
ढुंगामाथि सर्प नचल्मलाइकन बसेको देखेर एउटा भ्यागुतालाई
अचम्म लाग्यो । उसले पानी बाहिर टाउको निकाल्यो र सर्पसँग
सोध्यो, "ए मामा, किन तपाइँ आज झोँक्रिएर बस्नु
भएको ? संचो भएन कि कसो ?"
सर्पले जवाफ दियो, "के गर्ने भांजा मलाई ढाड दुख्ने
रोग लागेको छ । वैद्यले मलाई आफ्नो जिउमाथि सकेसम्म
धेरै भ्यागुतालाई चढाएर पोखरीको वरिपरि दिनको दश चक्कर
लगायौ भने मेरो रोग निको हुन्छ भनेका छन् । आफूले खाने
गरेको भ्यागुतालाई कसरी आफ्नो जिउमाथि चढाउने ? भ्यागुताहरू
डराएर चढन मान्ने हुन कि हैनन् भन्ने चिन्ताले गर्दा
म झोँक्रिएर बसेको छु ।"
सर्पको कुरा सुनेर भ्यागुता बडो उत्साहित भयो । उसले
पोखरीका अरु भ्यागुताहरूलाई पनि डाक्यो र सर्पमाथि चढ्न
उत्ताउलो भयो । पोखरीका भ्यागुताका मुखियाले पनि यो
कुरा थाहा पायो । उसले म पोखरीको मुखिया भएको हुनाले
सबैभन्दा अगाडि म चढ्छु भन्यो ।
यसरी अटाएसम्मका पोखरीका भ्यागुताहरू सर्पको पिठ्युँमाथि
चढे । अनि सर्पले बिस्तारै उनीहरूलाई पोखरीको वरिपरि
घुमाउन थाल्यो । त्यो दिन भ्यागुताहरूलाई खुबै रमाइलो
भयो ।
भोलि पल्ट पनि सर्प भ्यागुताहरूलाई जिउमा चढाएर घुमाउन
पोखरीको डिलमा आयो । भ्यागुताहरू तँछाडमछाड गर्दै चढे
। सर्पको टाउकैनेर भ्यागुताहरूको मुखिया छढ्यो । तर
त्यो दिन सर्प फुर्तीसँग हिँडन सकेन । मुखियाले किन
हिँजोजस्तै गरी नहिँडेको भनेर सर्पसँग सोध्यो ।
सर्पले जवाफ दियो, "हेर भांजा म आज भोकै छु ।
त्यसैले जिउमा ताकत छैन । नखाइकन कसरी यत्रो मेहनत गर्न
सक्छु र ?"
सर्पको कुरा सुनेर मुखियाले भन्यो, "त्यसो हो
भने तिमीले आजदेखि दिनको एउटा भारेभुरे भ्यागुतालाई
खाए हुन्छ । तर मेरो खानदान र परिवारलाई छुन पाउन्नौ
नि ।"
सर्पले जे खोजेको थियो त्यही भयो । उसले भोक लाग्यो
कि एउटा भ्यागुता खान थाल्यो । आफ्नो एकै छिनको मज्जाको
लागि पोखरीका भ्यागुताहरूको वंशै सखाप होला भन्ने मुखियाले
बिचारै गरेन ।
सर्पले भ्यागुताहरूलाई बोकेर डुलाएको दृश्य एक दिन
अर्को कालो सर्पले देख्यो । उसले अचम्म मानेर सोध्यो,
"भ्यागुता त हाम्रो आहारा हो । किन तिमीले तिनीहरूलाई
बोकेर हिँडेको ?"
सर्पले जवाफ दियो, "आफ्नो पेट पाल्नका लागि अनेकौँ
उपाय गर्नु पर्दो रहेछ । हेर्दै जाऊ सबै कुरा थाहा पाउने
छौ ।"
यसरी धेरै मेहनत नगरीकन दिनदिनै भ्यागुता खान पाएर
सर्प बलियो र मोटो पनि भयो । केही दिनपछि त्यो पोखरीमा
एउटा पनि भ्यागुता बाकी रहेन ।
माथि
प्रथम तन्त्र
द्वितीय तन्त्र तृतीय
तन्त्र चतुर्थ तन्त्र
पंचम तन्त्र
मूल पृष्ठमा जाउँ |