पंचतन्त्र
कथा
चतुर्थ तन्त्रः लब्धप्रणाश
कथा सूची
१ मुटुकलेजो नभएको बाँदर
२ भाइ फुटे गँवार लुटे
३ मुटुकलेजो नभएको गधा
४ गधाको मूर्खता
१
मुटुकलेजो नभएको बाँदर
एउटा ठूलो तालको किनारामा जमुनाके रुख थियो । त्यो
रुखमा साह्रै मिठो जमुना फल्थ्यो । रातोमुख नाम भएको
बाँदर त्यो रुखको जमुना खान पल्केको थियो । एक दिन रातोमुखले
जमुना खाइरहेको बेलामा तालको पानीबाट एउटा अजंगको गोही
निस्क्यो र किनाराको बालुवामा आएर बाँदरले खाएर झरालेको
जमुना खान थाल्यो । उसलाई जमुना निक्कै मिठो लाग्यो
। उसले बाँदरसँग मितेरी लायो । त्यो गोही दिनदिनै बगरमा
आएर बाँदरसँग मिठामिठा कुरा गर्दै पेटभरि जमुना खान
थाल्यो ।
एक दिन रातोमुखले गोहीकी पत्नीको लागि पनि जमुना टिपेर
पठाइदियो । गोहीकी पत्नीले जमुना साह्रै मिठो मानी ।
उसले जमुना कसले दिएको भनेर सोधी । गोहीले बाँदरसँग
मतेरी लाएको र जमुना उसैले दिएको कुरा सुनायो । त्यो
सुनेर गोहीनीले भनी, जमुना त यति मिठो छ भने । दिनदिनै
जमुना खाने बाँदरको मुटुकलेजो कति मिठो होला !
उसले आफ्नो लोग्नेसँग बाँदरको मुटुकलेजो ल्याउन जिद्दी
गरी । गोहीले बाँदरसँग मितेरी गाँसेको हुनाले उसलाई
धोखा दिन सक्तिन भन्यो । तर गोहिनीले मानिन । उसले बाँदरको
मुटुकलेजो खान नपाए भोकै बसेर मर्ने धम्की दिई । पत्नीको
जिद्दी र धम्कीबाट गोहीको मन बदलियो ।
भोलि पल्ट गोही सँधैझैँ बाँदरकहाँ गयो । तर उसको मन
ठेगानमा थिएन । उसको अवस्था देखेर बाँदरले सोध्यो, "मिज्जु
आज तपार्इँलाई संचो छैन कि कसो । रमाइलो कुरा पनि गर्नु
हुन्न किन ?"
गोहीले भन्यो, "आज तिम्री भाउजू अर्थात् मेरी
पत्नीसँग मेरो निक्कै भनाभन भयो । उसले तिमीलाई घरमा
बोलाएर किन भोज नख्वाएको भनेर मसँग झगडा गरी । अहिले
ऊ तिमीलाई लिएर नआएसम्म केही खान्न भनेर भोकै बसेकी
छे ।"
गोहीको कुरा सुनेर बाँदरको गम्भीर भयो । उसले गोहीको
घर जाने बिचार गर्यो । तर पानीभित्र गोहीको घरमा कसरी
जाने ? उसले गोहीसँग सोध्यो, "म भुइँमा हिँडने
जीव हुँ । पानीदेखेर डर लाग्छ । कसरी म तिम्रो घर जाउँ
?"
"त्यसको धन्दा मान्नु पर्दैन । तिमी मेरो पिठ्युँमा
बस । मैले तिमीलाई लिएर तालको माझमा मेरो घरमा पुर्याउँला
।" गोहीले भन्यो ।
बाँदरले त्यस्तै गर्यो । गोहीले वाँदरलाई पिठ्युँमा
राखेर तालको माझमा पुग्यो । घर आइपुग्ने बेलामा गोहीले
बाँदर अब बाँदर भाग्नसक्तैन भन्ने बिचार गरेर उसलाई
वास्तविक कुरा भन्ने निश्चय गर्यो । उसले भन्यो, "हे
बाँदर, अब तिम्रो अन्तिम बेला आइपुग्यो । मेरी पत्नीले
तिम्रो मुटुकलेजो खानका लागि तिमीलाई घरमा ल्याउन भनेकी
हो । अब तिमी उम्कन सक्तैनौ ।"
गोहीको कुरा सुनेर बाँदर भीरबाड खसेजस्तो गरी तर्स्यो
। तर उसले आफ्नो विवेक हराएन । उसले गोहीलाई सम्झाएजस्तो
गर्दै भन्यो, "ओहो मिज्जु, तिमीले यो कुरा मसँग
तालको किनारमै किन नभनेको ? मैले आफ्नो मुटुकलेजो त्यही
जमुनाको रुखको टोड्कोभित्र राख्ने गरेको छु । त्यहीँ
मलाई भनेको भए त मैले मेरो मुटुकलेजो झिकेर तिमीलाई
दिन्थेँ । म भाउजूको इच्छा पूरा गर्न चाहन्छु । लौ फर्केर
जमुनाको रुखमा जाउँ । मैले त्यहाँ राखेको मुटुकलेजो
झिकेर तिम्रो जिम्मा लाइदिन्छु । भाउजूलाई खुशी पार्नु
मेरो पनि कर्तव्य हो ।"
बाँदरको कुरा सुनेर गोही दंग पर्यो । उसले बाँदरलाई
बोकेर जमुनाको रुख भएको बगरमा पुर्यायो । त्यहाँ पुग्ने
बित्तिकै बाँदर उफ्रेर रुखको हाँगा चढ्यो । हाँगामाथि
पुगेपछि बाँदरले गोहीलाई भन्यो, "ए धोखेबाज गोही,
तेरो कत्ति पनि बुद्धि रहेनछ । मुटुकलेजो बिना पनि कोही
बाँच्न सक्छ ? स्वास्नीको कुरामा लागेर झण्डै मलाई मारिनस्
। म तेरो आहारा हुनबाट जोगिएँ । अब झुक्किएर पनि मकहाँ
नआ ।"
बाँदरले आफूलाई छक्काएको बुझेर गोही जिल्ल पर्यो ।
तर बाँदरलाई घर लैजान नसके उसकी पत्नी भोकभोकै मर्ने
डर थियो । यसैले उसले कुरा मिलाउँदै बाँदरलाई हाँस्दै
भन्यो, "मिज्जु मैले त ठट्टा पो गरेको । मेरी पत्नी
त तिम्रो स्वागत गर्न आत्तिएर बाटो हेर्दै बसेकी छे
। जाउँ ।"
उसको कुरा सुनेर बाँदरलाई रिस उठ्यो । उसले भन्यो,
"हेर दुष्ट गोही । एक पल्ट त म तेरो कुराले झुक्किएँ
। फेरि पनि झुक्किन्छु भन्ने ठानेको छस् कि ? अब यहाँबाट
भागि हाल् ।"
यति भन्दै बाँदर जमुनाको रुखको टुप्पामा पुगेर मिठामिठा
जमुना खान थाल्यो ।
माथि
२ भाइ फुटे गँवार
लुटे
एउट पँधेरामा एक हुल भ्यागुता बस्थे । तिनीहरूको मुखियाको
नाम गंगदत्त थियो । एक पल्ट भ्यागुताहरूबीच आपसमा झगडा
हुँदा गंगदत्तलाई आफन्तहरूले अनेकौँ आरोप लाएर बेइजत
गरे । आफन्तसँग उनलाई रिस उठ्यो । उनीहरूसँग बदला लिने
उद्देश्यले उसले त्यो पँधेरा छाडेर जाने बिचार गर्यो
।
त्यही बेला उसले एउटा कालो सर्पलाई देख्यो । त्यो सर्प
त्यही पँधेरा नजिकै दुलोमा बस्थ्यो । गंगदत्तले त्यही
सर्पको मदत लिएर आफन्तहरूसँग बदला लिने बिचार गर्यो
। उसले सर्पसँग मितेरी लाउने प्रस्ताव राख्यो । उसको
कुरा सुनेर सर्प छक्क पर्यो । भ्यागुता र सर्प त जन्मैदेखिको
शत्रु हो । शत्रुहरूबीच कसरी मित्रता हुनसक्छ ? सर्पले
भन्यो, "तिमी त मेरो आहारा हो । भक्षक र भोजनबीच
कसरी मितेरी हुनसक्छ ? तिमीसँग मित्रता गरेँ भने म त
भोकभोकै मर्छु ।"
गंगदत्तले भन्यो, "तिम्रो कुरा ठिक हो । तर अति
बेला म आफ्नै नाताकुटुम्ब र आफन्तहरूबाट अपमानित भएको
छु । तिमीले मदत गर्यौ भने म तिनीहरूसँग अपमानको बदला
लिनसक्छु ।"
उसले भ्यागुताको समूहमा भएको झगडाको बारेमा बतायो ।
सर्प बूढो भइसकेको थियो । उसलाई शिकार मार्न पनि गाह्रो
थियो । यसैले सजिलैसँग भ्यागुता खान पाइने आशले उसले
गंगदत्तसँग मित्रता स्वीकार गर्यो ।
गंगदत्तले उसलाई पँधेरामा लिएर गयो । पँधेरामा पुगेपछि
उसले पँधेराभित्र भ्यागुताहरू बस्ने गोप्य ठाउँ र त्यहाँ
जाने बाटो देखाइदियो । त्यसपछि त सर्पलाई मोज भइहाल्यो
। उसले दिनदिनै भ्यागुता खान थाल्यो । केही दिनमै पँधेराका
भ्यागुताहरू सखाप भए ।
आफ्ना सबै शत्रुलाई सर्पले खाइसकेपटि गंगदत्त खुशी
भयो । उसले सर्पलाई धन्यावाद दिँदै भन्यो, "हे
मिज्जु, मेरो काम सफल गरिदिनु भएकोमा धन्यवाद छ । अब
तपाइँ आफ्नै घरमा जानुहोस् ।"
सर्पले भन्यो, "म अब कसरी आफ्नो घर जानसक्छु र
? त्यहाँ त अरु कसेले कब्जा गरेर बसेको होला । अब म
यहीँ बस्छु । मलाई पेटभरि ख्वाउने तिम्रो काम हो । यदि
तिमीले मेरो भोजनको व्यवस्था गर्न सकेनौ भने तिम्रो
परिवारलाई नै खाएर बाँच्छु ।"
सर्पको कुरा सुनेपछि बल्ल गंगदत्तलाई होश आयो । आफन्तहरूलाई
सखाप पारेर शत्रुलाई पोस्ने काम गरेकोमा ऊ साह्रै पछुतायो
। आफूभन्दा बलियो र त्यसमाथि पनि जन्मजात शत्रुसँग मित्रता
गर्नु गल्ती रहेछ भन्ने उसले बुझ्यो । तर अब पछुताएर
के गर्ने ? बुझेर के गर्ने ?
सर्पलाई भोक लागे पछि एक दिन उसले गंगदत्तको परिवारका
एकएकलाई खानथाल्यो । उसले गंगदत्तको छोरा र स्वास्नीलाई
पनि खाइदियो । गंगदत्तको सर्वनाश भयो । तर यो सर्वनाशलाई
उसैले डाकेको थियो । आखिरमा उसले पँधेराबाट भागेर ज्यानसम्म
जोगाउने उपाय खोज्न थाल्यो । भाग्न पनि गाह्रो थियो
। बाटोमै सर्प बसेको थियो ।
तर सर्पले नै गंगदत्तलाई भाग्न सजिलो बनाइदियो । उसले
भन्यो, "मित्र गंगदत्त जे भए पनि म तिमीलाई खान्न
। तर मेरो भोजन जुटाउनु तिम्रो कर्तव्य हो । यसैले बाहिर
गएर भए पनि मेरा लागि खानेकुरा लिएर आऊ ।"
गंगदत्तलाई के खोज्छस् कानो आँखा भनेझैँ भयो । उसले
भन्यो, "मिज्जु, खानेकुराको पिर नगर । म बाहिर
गएर अर्को पँधेरामा बस्ने भ्यागुताहरूलाई लिएर आउँछु
।"
सर्पले उसको कुरा मान्यो । गंगदत्त पँधेराबाट बाहिर
निस्क्यो ।
सर्पले धेरै दिनसम्म गंगदत्तको बाटो हेरेर बस्यो ।
तर ऊ फर्केन ।
एक दिन सर्प पँधेराबाट बाहिर निस्क्यो र नजिकै बस्ने
गोहोरासँग मदत माग्दै भन्यो, "मेरो साथी गंगदत्त
मेरो लागि खानेकुरा लिएर आउँछु भनेर गएको धेरै दिन भयो
। म भोकले मर्न लागेको छु । तिमी गएर गंगदत्तलाई खोज
। उसलाई के भन भने म मित्रताको धर्म पालन गर्छु । उसलाई
कुनै हानी गर्दिन । बरु खानेकुरा पाइएन भने ऊ एक्लै
आए पनि हुन्छ । ऊ आयो भने हामी दुई साथी मिठामिठा कुरा
गरेर समय बिताउने छौँ ।
गोहोराले बाहिर निस्केर गंगदत्तलाई खोज्यो र भेट्टायो
पनि । उसले गंगदत्तलाई तिम्रो पिरले सर्प दुब्लाएको
छ भन्दै सर्पको सन्देश सुनायो । गोहोराको मुखबाट सर्पको
कुरा सुनेपछि गंगदत्तले भन्यो, "मैले एक पल्ट धोका
खाइसकेँ । अब फेरि धोका खान चाहन्न । भोकाएको जीवको
विश्वास हुँदैन । त्यसमाथि त्यो सर्प साह्रै नीच छ ।
सर्पलाई अब म फर्कन्न भनिदेऊ ।
माथि
३ मुटुकलेजो
नभएको गधा
एउटा बनमा सिंह बस्थ्यो । छट्टु स्यालले उसको सेवा
गर्थ्यो । सिंहले मारेको शिकार खाएर स्यालको गुजार भइरहेको
थियो । एक दिन सिंहसँग मत्ता हात्तीको भिडन्त भयो ।
हात्ती निक्कै बलियो थियो । लडाइँमा सिंह नराम्ररी घाइते
भयो । उसले केही दिन शिकार खेल्न जान सकेन । सिंह र
स्याल भोकले अत्तिन थाले । सिंहले स्याललाई भन्यो, "म
शिकार मार्न अर्समर्थ छु । तिमीले कुनै जानवरलाई फकाएर
मेरो नजिक ल्यायौ भने म त्यसलाई मार्नसक्छु । बाकी मासुले
तिम्रो पनि पेट भरिन्छ ।"
सिंहको आदेशअनुसार स्याल शिकार खोज्न गाउँतिर गयो ।
उसले बाटोमा एउटा गधाले चौरमा घाँस खाइरहेको देख्यो
। स्यालले त्यसैलाई फँसाउने बिचार गर्यो । ऊ गधाको नजिकै
गयो र बडो मिठो कुरा गर्न थाल्यो, "मामा, संचै
छ ? धेरै दिनपछि भेट भयो । निक्कै दुब्लाउनु भएछ । गाउँमा
मिठो र पोसिलो घाँस पाइन्नजस्तो छ । कसो ?"
स्यालको कुरा सुनेर गधाको मन पनि पग्ल्यो । उसले भन्यो,
"बदमास धोबीले मलाई गह्रुँगो भारी बोकाउँछ । दिनभरि
काममा जोताउँछ । बेलामा खान पनि दिँदैन । चौरमा राम्रो
घाँस पनि पाइन्न । कसरी मोटाउने तिमी नै भन त भांजा
।"
स्यालले भन्यो, "गाउँमा यस्तो दुःख छ भने जाउँ
न त हाम्रो बनमा । त्यहाँ कति मिठो कल्कलाउँदो र पोसिलो
घाँस पाइन्छ । त्यसैले त बनका मृग खरायो आदि जानवरहरू
मोटाघाटा र चिल्ला छन् । जाउँ मामा उतै बस्ने गरेर ।"
"तर जंगलमा जानवरले मलाई मारेर खान्छन् कि?"
गधाले मनको डर पोख्यो ।
स्यालले भन्यो, "म छँदासम्म केही डर मान्नु पर्दैन
मामा । जंगलमा त मेरै शासन चल्छ । मैले अरु गधाहरूलाई
पनि धोबीहरूको अत्याचारबाट मुक्त गराएर बनमा लगेर बसालेको
छु । उनीहरू बनको स्वच्छ वातावरणमा कति रमाएका छन् !
आफ्नै आँखाले हेर्नसक्नुहुन्छ ।"
स्यालका चिप्ला कुरा सुनेर गधा बनमा जान राजी भयो ।
उनीहरू बनमा पुग्दा सिंह लुकेर पर्खिरहेको थियो । गधा
नजिक पुग्ने बित्तिकै सिंहले गधालाई झम्ट्यो । सिंह
धेरै कमजोर भएको हुनाले उसको झम्टाइ ठिक ठाउँमा परेन
। गधा कुलेलम ठोकेर भाग्यो ।
गधा सिंहको पंजाबाट उम्केको देखेर स्याललाई रिस उठ्यो
। एउटा गधालाई पनि मार्न नसक्ने कस्तो रहेछ भनेर उसले
सिंहमाथि व्यंग्य गर्यो ।
सिंहले भन्यो, "मेरो पंजाको प्रहारबाट हात्ती
पनि घाइत हुन्छ । गधाको के कुरा । तर अहिले मलाई सँचो
छैन । कमजोर भएको छु । यसैले मेरो झम्टाइ खेर गयो ।"
स्यालले भन्यो, "त्यसो भए फेरि कोसिस गर । म त्यो
गधालाई फेरि फकाएर ल्याउँछु । यसपल्छ भने तिम्रो प्रहार
खेर न जाओस् ।"
"एक पल्ट बिच्केर गएको गधा फेरि काल खोज्दै यहाँ
कसरी आउला र ?" सिंहले शंका व्यक्त गर्यो ।
गधाले भन्यो, "त्यसको चिन्ता गर्नुपर्दैन । मैले
त्यसलाई कसरी ल्याउँछु हेर । झम्टनका लागि तयार भएर
बस ।"
स्याल फेरि गधा भएको ठाउँमा पुग्यो । उसलाई देख्ने
बित्तिकै गधाले भन्यो, "कस्तो भांजा रहेछौ तिमी
मामालाई झण्डै मारेको । बनमा जानवरहरूले मार्न बेरलाउन्नन्
भनेर त मैले पहिले नै भनेको थिएँ । भाग्यले ज्यान जोगाएर
आएँ ।"
गधाको कुरालाई हाँसोमा उडाउँदै स्यालले भन्यो, "ओहो
मामा तपाइँ त झुक्किनु भएछ । मैले तपाईँलाई पहिले नै
भनेको थिएँ । बनमा गधाहरू बडो रमाएर बसेका छन् । उनीहरू
पोसिलो घाँस खान पाएर मोटाएका छन् । त्यस्तै एउटी भर्खर
बैँस लागेकी गधीले तपाईँलाई माया गरेर गम्लंग अँगालो
हाल्न खोजेकी थिइन् । तपाईँ त डाराएर भाग्नु भयो । बिचरी
त्यो गधी तपाईँको प्रेमको विरहले छटपटाइरहेकी छे ।"
गधाले छक्क पर्दै सोध्यो, "भांजा! के मलाई झम्टने
जानवर गधी नै थिई त ? यदि त्यसो हो भने ऊ निक्कै मोटो
र बलियो हुनुपर्छ । उसका पाखुरा कति बलिया थिए । उसको
अँगालोले अहिले पनि मेरो जिउ दुखिरहेको छ ।"
काल्पनिक गधीको लोभमा परेर त्यो गधा फेरि स्यालसँग बनमा
जान तयार भयो । यस पल्ट भने सिंहको प्रहार खेर गएन ।
तीनचार पल्ट हिर्काएपछि गधाको प्राण गयो ।
गधालाई मारेपछि सिंह पानी खान नजिकैको पोखरीमा गयो
। त्यही बेला स्यालले गधाको छाती चिरेर त्यसको मुटु
र कलेजो झिकेर खायो ।
सिंह पानी खाएर फर्कँदा उसले गधाको मुटुकलेजो नभएको
देखेर रिसाउँदै भन्यो, "धूर्त स्याल तैँले म आउनुअघि
नै यसको मुटु र कलेजो पनि खाइस कि कसो ?"
स्यालले विनम्र हुँदै जवाफ दियो, "रिसानी माफ
होस् । यो गधाको मुटुकलेजो नै थिएन । यदि यसको मुटुकलेजो
भएको भए एक पल्ट सिंहको आक्रमणमा परेपछि फेरि कसरी आउँथ्यो
?
स्यालको कुरा सिंहलाई चित्त बुझ्यो ।
माथि
४ गधाको
मूर्खता
एउटा धोबीले गधा पालेको थियो । पेटभरि ख्वाउन नसकेकोले
गधा दुब्लाउँदै गएको थियो । उसले गधालाई पेटभरि ख्वाउने
एउटा उपाय निकाल्यो ।
धोबीसँग बाघको छाला थियो । उसले गधालाई बाघको छाला ओढायो
र रात परेपछि छिमेकीको खेतमा छाडिदियो । गधाले रातभरि
खेतको बाली खायो । बाघजस्तो ठानेर कोही पनि उसको नजिक
जाने वा उसलाई धपाउने आँट गर्न सकेन ।
यसरी दिनदिनै भर्खर फल्नलागेको मकै गहुँ आदि पोसिलो
खानेकुरा खान पाएपछि गधा मोटायो र घमण्डी पनि भयो ।
एक रात बाघको छाला ओढेर छिमेकीको खेतमा चरिरहेको बेलामा
गधाले पर कतै गधी कराएको सुन्यो । उसले आफूले बाघको
खोल ओढेको कुरा बिर्स्यो र जोशमा आएर कराउन थाल्यो ।
रातको बेला खेतमा गधा कराएको सुनेर किसान लौरो लिएर
खेतमा गयो । उसले गधालाई नमरुँजेल पिट्यो । गधाको स्वर
नै उसको मृत्युको कारण बन्यो ।
माथि
प्रथम तन्त्र द्वितीय
तन्त्र तृतीय तन्त्र
चतुर्थ तन्त्र पंचम तन्त्र
मूल पृष्ठमा जाउँ
|