बालबालिका
र आमसंचार
१ बालबालिका
र मिडिया अहिलेको हाँक
२ बालबालिकामा
विज्ञापनको प्रभाव डा. भोजराज अर्याल
3 आमसंचारमा बालबालिकाका बारेमा
रिपोर्टिङ गर्दा विचार पुर्याउनु पर्ने कुरा
बालबालिका र मिडिया अहिलेको हाँक
विनयकुमार कसजू
आधुनिक समाजमा मिडियाद्वारा लक्षित र मिडियाको दुष्प्रभावमा
पर्नसक्ने सबैभन्दा खतरामा परेको भल्नरेबल वर्ग बालबालिका
नै हो । नेपालमा दुई दशकअधि सम्म बालबालिकाको भौतिक तथा मानसिक
आवश्यकता आमाबाबु वा अभिभावकहरूले पूरा गर्थे भने अहिले बजारले
गरिरहेको छ । अभिभावकले बालबालिकाको हित हेर्ने निश्चित छ
भने बजारले बालबालिकाको हितभन्दा आफ्नो नाफालाई नै हेर्छ ।
बीसवर्षघि बालबालिकाहरूले के खाने, के लाउने, के सिक्ने,
के खेल्ने, कसरी रमाइलो गर्ने आदि सबै कुराहरू या त
अभिभवकबाट सिक्थे या विद्यालय र गुरुहरूबाट सिक्थे ।
तर अहिले दूधेबालकको उमेरदेखि नै टेलिभिजन, इन्टरनेटजस्ता
आधुनिक संचार माध्यमहरूले सिकाउन थालेको छ । सिक्ने
सिकाउने, बानी बसाल्ने तथा विश्वास र धारण बनाउने मामिलामा
अभिभावक र शिक्षकको भूमिका निरन्तर घटिरहेको छ । कतिपय
अवस्थामा उनीहरूको भूमिका नकारात्मक पनि बन्दैछ ।
इन्टरनेट, टेलिभिजन, रेडियो र पत्रपत्रिकाले बालबालिकालाई
लक्षित गरेर बौद्धिक खुराक उत्पादन र प्रचार प्रसार
गर्ने प्रवृत्ति विश्वव्यापी रूपमै बढिरहेको छ । बालबालिकाका
लागि खाद्य सामग्री, लुगा, खेलकूद, शैक्षिक तथा मनोरंजनका
साधन आदि भौतिक तथा मानसिक वस्तु उत्पादकहरूले बालबालिकामाझ
पुग्नका लागि आधुनिक आमसंचार माध्यमहरू, खास गरी टेलिभिजन,
रेडियो र इन्टरनेटको उपयोग गरिरहेका छन् । नेपालमा चाउचाउ,
स्कुले खाजा, हर्लिक्स आदिको विज्ञापन यसका उदाहरण हुन्
।
ठूला उद्योगी तथा व्यापारीहरूले मिडियामार्फत बालबालिकासमक्ष
पुग्ने होड विश्वभरि नै बढेको छ । यसको प्रत्यक्ष र
अप्रत्यक्ष प्रभाव मिडिया उद्योगको आम्दानी र बालबालिकालाई
लक्षित गरी उत्पादन गरिने विज्ञापनमात्रै होइन, साहित्यिक
तथा बौद्धिक खुराकको विषयवस्तु र गुणस्तरमै परिरहेको
छ र यो प्रभाव निरन्तर बढिरहेको छ ।
चाहे खाजा र खाने कुराको बारेमा होस्, चाहे शिक्षा,
मनोरंजन, साहित्यजस्ता भौतिक र मानसिक खुराकको बोरमा
होस् बालबालिकाहरू पर्याप्त मात्रामा सचेत र शिक्षित
हुँदैनन् । अभिभावकहरू पनि बालबालिकाको माग सहजै अस्वीकार
गर्न सक्तैनन् । उनीहरूले पनि सामग्रीको गुणस्तर विश्लेषण
प्रायः गर्दैनन् । समयको अभावले गर्दा गुणस्तर नहेर्ने
मात्रै होइन बजारमा तयारी सामान किनिदिनु नै सजिलो पनि
लाग्छ । आधुनिक देखिने चाहना, सामाजिक हैसियत, इज्जतको
नाममा पनि कतिपय अभिभावकहरूले आफ्ना सन्तानलाई गुणस्तरहीन
बजारी सामानको उपभोक्ता बनाइरहेका छन् ।
प्रौढहरूलाई कुनै उत्पादनप्रति रुचि जगाउन गाह्रो हुन्छ
र रुचि जागे पनि अस्थायी हुन्छ । तर बालबालिकामा कुनै
खाद्यवस्तुप्रति रुचि जगाइदियो भने उसले जीवनभरि त्यो
खानेकुरा मिठो मान्छ र खान्छ । यही कुरा उनीहरूको साहित्यिक
र बौद्धिक खुराकको संबंधमा पनि लागू हुन्छ । यसैले केटाकेटीमा
कुनै भौतिक वा मानसिक खुराक वा समग्रीप्रति रुचि जगाउनु
वा कुनै विषयबारे धारणा बनाउनु भनेको उसलाई जीवनभरि
त्यो विषय वा वस्तुको उपभोक्ता, हिमायती र दास बनाउनुजस्तै
हो । यसैले विश्वका ठूला व्यापारिक कम्पनीहरूले मिडियालाई
उपयोग गरेर आफ्नो प्रभाव र बजार बढाउने काम तीव्र गतिले
गरिरहेका छन् । कतिपय व्यापारिक कम्पनीहरू आफैले मिडिया
हाउसहरू चलाउन थालेका छन् भने कतिपय व्यापारी र मिडिया
मालिकहरू मिसिएर एउटै कम्पनी बनेका पनि छन् ।
बालबालिकालाई मिडियाको दुष्प्रभावबाट जोगाउन विश्वका
विभिन्न देशमा प्रयासहरू भएका छन् । मिडियाको हिँजोको
कल्याणकारी, राम्रो कामका लागि अभियान गर्ने, प्रजातन्त्रको
पहरेदारी गर्ने र समग्रमा जनतालाई सुसूचित गरेर सबल
बनाउने भूमिका बिस्तारै फेरिएर व्यावसायिकताको नाममा
नाफामुखी हुँदै गइरहेको छ । मिडियालाई हिँजोजस्तै गरी
आँखा चिम्लेर स्वीकार गर्नु खतरामुक्त छैन । मिडियाका
विषयवस्तु, तिनीहरूमा अन्तर्निहित स्वार्थको बारेमा
बहस र विश्लेषण नगरी प्रचार र प्याकेजिङको आधारमा स्वीकार
गर्ने बानी नफेरिनहुने अवस्था आइसकेको छ ।
यसैले मिडियालाई आलोचनात्मक ढंगले ग्रहण गर्ने बानी
विकास गर्नु आजका अभिभावक र बालबालिकाका लागि अति आवश्यक
छ । मिडिया अवेयरनेस र मिडिया एजुकेसनको आधारमा मिडियाको
विभिन्न तरिकाले विश्लेषण गर्ने र आलोचनात्मक ढंगले
ग्रहण गर्नु पर्ने धारणको विकास झण्डै तीन दशकअघिदेखि
कतिपय देशमा भइरहको छ । तर नेपालमा मिडिया एजुकेसनको
नाममा पत्रकारिता र आमसंचार विषयको पढाइ हुने गरेको
छ । शिक्षाशास्त्रीमात्र होइन समाजशास्त्रीहरूको पनि
यसमा पटक्कै ध्यान पुगेको छैन । लेखक तथा साहित्यकारहरू
त झन कोशौँ टाढा छन् । भोलिको उनीहरूको बालसाहित्य वा
बालबालिकाका लागि लेखनको विषयवस्तुलाई कसरी मल्टी नेसनल
र राष्ट्रिय उद्योगहरूले प्रभाव पार्दैछन् भन्ने कुरा
बुझ्न ढिलो भइसकेको छ ।
अहिले नेपालमा बालपत्रकारहरूको संख्या निक्कै बढेको
छ । बालपत्रकारहरूको राष्ट्रिय सम्मेलन भएर समिति पनि
बनिसकेको छ । तर बालपत्रकारहरूको गतिविधि अहिले मुख्य
रूपमा बालहितमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय
संस्थाहरूको एजेण्डासँग गाँसिएको छ । बालबालिकाका अधिकारहरूको
बारेमा सचेतना जगाउने, उनीहरूको कहहितको बारेमा लेख्ने
र केही मात्रामा भविष्यका पत्रकार उत्पादन गर्ने उद्देश्यमा
सीमित अहिलेको गतिविधि र संगठित शक्तिलाई ब्यापक बनाएर
आमसंचार शिक्षा ९मिडिया एजुकेसन० तिर उन्मुख हुनु अति
आवश्यक छ । भविष्यको मिडिया कस्तो हुनुपर्छ भन्ने परिदृश्य
बालबालिकाको दृष्टिकोण र उनीहरूको हितलाई केन्द्र बनाएर
विकसित गर्नुपर्छ भन्ने कुरामा विवाद छैन ।
यसै सर्न्दर्भमा बालबालिकाका लागि बौद्धिक तथा मनोरंजनात्मक
खुराक उत्पादन गर्ने लेखक तथा साहित्यकारहरूको भूमिका साह्रै
महत्वपूर्ण छ । विषयवस्तुको भौतिक उत्पादन र प्रस्तुतिको दृष्टिले
मिडिया उद्योग र अभिनयकर्ताहरू महत्वपर्ण भएता पनि विचार उत्पादक
त लेखकहरू नै हुन् । उनीहरूले नलेखेसम्म उद्घोषक र अभिनेताहरूले
कसरी प्रस्तुत गर्नसक्छन् रु स्रष्टाहरूको यो महत्वपर्ण भूमिकालाई
नेपाली लेखक तथा साहित्यकारहरूले फेरि आत्मसात गर्नु परेको
छ । सर्जकको स्वाभिमान फेरि पलाउनु जरुरी छ ।
२०६२ भदौ ५ गते
बालबालिकामा विज्ञापनको प्रभाव
डा. भोजराज अर्याल
नेपालमा विज्ञापन गरिने वस्तुमध्ये करिब २० प्रतिशत बालबालिकासँग
सम्बन्धित छन् । प्रश्न उठ्छ, विज्ञापनमा बालबालिकाको प्रयोग
कति हदसम्म ठीक छ ? यसबारे बाल-मनोवैज्ञानिकले आ-आफ्नै तर्क
दिएका छन् । नब्बेको दशकमा स्वीडेन, बेल्जियम, नेदरल्यान्ड
र बि्रटेनमा छुट्टाछुट्टै गरिएको अध्ययनअनुसार विज्ञापनले
बालबालिकाको रहनसहन, चलनचल्ती, खानपान, संस्कृतिमा परिवर्तन
ल्याउँछ । उनीहरू चुरोट तथा पेयपदार्थ सेवन गर्छन्, उत्तेजक
र असामाजिक बन्छन् । बालबालिकालाई प्रभाव पार्ने बाबु-आमा
र साथीभाइ नै हुन् नकि विज्ञापन । भनिन्छ- परिवार नै बालकको
पहिलो पाठशाला हो । अतः आफ्ना बच्चाको रूचि र इच्छालाई पारिवारिक
दायरामा उठाउने वातावरण निर्माण आमा-बाबुले गर्नुपर्छ । उनीहरूलाई
पारिवारिक सामीप्यबाट टाढा रहन दिनु हुँदैन ।
अर्को अध्ययनअनुसार मनोमानी ढंगले प्रसारण भइरहेका छन् विज्ञापन
। 'शुद्ध तोरीको तेल' भनी विभिन्न ब्रान्डमा बेचिने तेल के
साँच्चै शुद्ध छ ? शुद्ध भएको प्रमाणविना नै तिनको विज्ञापन
भइरहेको छ । तेलमा आर्जिमोना म्याक्सिकोनाको मात्रा बढी भएकाले
मुटुका बिरामीको चाप बढिरहेको छ । कुनै पनि देशको सरकारी मान्यताप्राप्त
इकाइबाट दिइएको शुद्धताको प्रमाणपत्र नभई 'शुद्ध तोरीको तेल'
भन्न पाइन्न ।
फ्रिस्ट्याड तथा राइटले १९९५ मा गरेको अध्ययनअनुसार आधुनिक
तथा परिष्कृत प्रविधिका कारण बालबालिका विज्ञापनको बारेमा
प्रतिवाद गर्न सक्दैनन् अर्थात् विज्ञापनले बालबालिकालाई वस्तुप्रतिको
चाहनालाई भित्रैदेखि उत्प्रेरित गर्छ । विज्ञापनको अनुचित
प्रभावका कारण ससाना बालबालिका उक्त वस्तुको माग गर्न थाल्छन्
। बाबु-आमा उक्त वस्तुको माग नकार्न सक्ने स्थितिमा हुँदैनन्
र अन्त्यमा उक्त वस्तु खरिद गर्न बाध्य हुन्छन् । बालबालिका
विज्ञापनलाई तार्किक रूपमा विश्लेषण गर्ने क्षमता राख्दैनन्
। उनीहरूमा विज्ञापनको आधुनिक प्रस्तुतीकरणले छिट्टै असर पार्छ
। नेपालको सन्दर्भमा पनि विज्ञापनकै अनुचित प्रभावका कारण
ससाना बालबालिकाले घरमा तयार पारिने खाजाको सट्टा बाबु-आमालाई
चाउचाउ, बिस्कुट, पाउरोटीजस्ता सुख्खा रसायनयुक्त खाद्यवस्तु
खरिद गर्न बाध्य पार्ने गरेका छन् । त्यसले तिनको स्वास्थ्यमा
नकारात्मक असर पारेको विज्ञले बताएका छन् ।
बालबालिकाले दुई वर्षको उमेरदेखि केही न केही बुझ्न सुरु गर्छन्
भन्ने विश्वास गर्छन् केही अध्येता । अर्काथरी बाल-मनोवैज्ञानिकका
अनुसार कतिपय वयस्कले पनि विज्ञापन बुझ्न सक्दैनन् । विश्वका
अधिकांश बाबु-आमा विज्ञापनले बालबालिकालाई वस्तुप्रतिको धारणामा
कुनै न कुनै असर पार्नेमा विश्वास गर्छन् । अमेरिकामा सत्तरीको
दशकमै राजनीतिकर्मी तथा उपभोक्ताले विज्ञापनद्वारा बच्चामा
पर्ने असरबारे चर्को आवाज उठाएकाले सन् १९७४ मै बालबालिका
सम्बन्धित विज्ञापन बनाउँदा अपनाउनुपर्ने सावधानीसम्बन्धी
कानुन बनाइयो ।
विज्ञापन पटक-पटक दोहोर्याएर प्रसारण गरिन्छ भने रचनात्मक
दबाब पर्नगई उपभोक्ता सकारात्मक देखिन थाल्छन् । पटक-पटकको
प्रसारणपछि, उपभोक्तामा 'एकपटक प्रयोग गरौं न त' भन्ने भावना
उत्पन्न हुन्छ । विज्ञापनले वस्तुबारे सही एवं स्पष्ट सन्देश
दिन सक्नुपर्छ ।
जर्मनीमा बालबालिकासम्बन्धी विज्ञापनबाट उठेको ९० प्रतिशतभन्दा
बढी आम्दानी पुनः बालबालिकाको व्यक्तित्व विकासमा खर्चिने
व्यवस्था छ । अमेरिकामा प्रस्तावित विज्ञापन पब्लिक फोरमबाट
अनुमोदन गरिसकेपछि मात्र प्रसारण गर्न अनुमति दिइन्छ । स्वीडेनको
कानुनले पसलमा बालबालिकाले छुन सक्ने ठाउँमा चकलेट तथा मिठाइ
प्रदर्शन गर्नमा प्रतिबन्ध लगाएको छ । अमेरिका, क्यानाडा,
आयरल्यान्डजस्ता विकसित देशले पनि बालपनालाई उपयोग गरी अनुचित
लाभ उठाउने उद्देश्यले प्रसारित विज्ञापनमा रोक लगाउने प्रयास
गरेका छन् । हाम्रो सन्दर्भमा विज्ञापन गर्नु अगाडि उपभोक्ता
संघको सिफारिस वा स्वीकृति अनिवार्य चाहिने व्यवस्था मिलाउनु
आवश्यक छ । विद्यालय पाठ्यक्रममा समेत कक्षाको स्तरअनुसार
तल्लो कक्षादेखि नै विज्ञापनको नकारात्मक-सकारात्मक, सत्य-असत्य
आदि बारेमा पढाउने बेला भइसक्यो ।
विषयगत तथा वस्तुगत तथ्यमा आधारित विज्ञापनले बालबालिकालाई
जागरुक बनाउने हुनाले विज्ञापनमा उनीहरूलाई पूर्णतः वर्जित
गर्नुभन्दा व्यवस्थित गर्दा उपयुक्त हुने देखिन्छ । बालबालिकाको
बृहत्तर हितको संरक्षण राज्यले गर्नुपर्छ । हाम्रा सञ्चारमाध्यममा
भने चाउचाउ, दूध, चकलेट, बिस्कुट तथा तेल आदिको विज्ञापनमा
बालबालिकाको प्रयोग गरेका छन् । विज्ञापनमा 'हेल्थ पनि टेस्ट
पनि, उपहार पनि, सर्वगुण सम्पन्न' भनी गरिएको विज्ञापनले बालबालिकालाई
चाहिने कार्बोहाइड्रेट, भिटामिन तथा प्रोटिन दिन सक्ला ? सर्वगुण
सम्पन्न भन्दैमा सबै गुण नहुने हुनाले यो भनाइ गलत छ । त्यसको
साटो तागतदार भनेको भए वेश हुने थियो ।
आम सञ्चारमाध्यम पनि विज्ञापन प्रसारण गर्नु अगाडि संवेदनशील
हुनुपर्छ । बालबालिकालाई लक्ष्यित गरी उत्पादन गरिएका वस्तुको
विज्ञापनमा स्वयम् ससाना बालबालिकाको प्रयोग गरिएको भए प्रसारण
गर्नु अगाडि प्रमाण खोज्नुपर्छ । यस विषयमा औपचारिक रूपमा
कुरा उठाउने श्रेय जनहित संरक्षण मञ्च (प्रो पब्लिक) लाई जान्छ
।
विज्ञापनलाई बढी मर्यादित बनाउन विज्ञापनदाता, विज्ञापन एजेन्सी
तथा आम सञ्चारमाध्यम उत्तिकै जिम्मेवार हुनुपर्छ । विज्ञापनले
दिने सन्देश सत्य र स्पष्ट हुनुपर्छ । सरकारले विज्ञापनसम्बन्धी
नीति तय गर्दा बालहितलाई केन्द्रविन्दु बनाएर आचारसंहिता निर्माण
गर्नुपर्छ ।
साभारः कान्तिपुर दैनिक, २०६३ असार १०
(डा. भोजराज अर्याल विज्ञापन विषयमा पीएचडी गर्ने पहिलो नेपाली
हुनुहुन्छ । हाल उहाँ त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन
विषयको केन्द्रीय विभागमा अध्यापन गर्नुहुन्छ ।)
आमसंचारमा बालबालिकाका बारेमा
रिपोर्टिङ गर्दा विचार पुर्याउनु पर्ने कुरा
बालबालिकाहरूसँग सम्बन्धित विषयहरूबारे रिपोर्टिङका लागि पत्रकारहरको
अन्तर्राष्ट्रिय महासंघ (आईएफजे) को प्रस्तावित मार्गनिर्देशन
तथा सिद्धान्तहरूः
उच्चतम नैतिक तथा व्यावसायिक स्तर कायम गर्नु सम्पूर्ण पत्रकार
तथा आमसंचारकर्मीहरूको कर्तव्य हो । पत्रकारिता व्यवसायभित्र
रहेर बालबालिकाहरूको अधिकार र स्वतन्त्र पत्रकारिताको अभ्यासका
लागि संयुक्त राष्ट्रसंधको सम्झौता र यसका प्रभावहरूबारे जानकारी
सकेसम्म व्यापक रूपमा फैलाउनु पर्छ ।
बाल अधिकारको हनन तथा बालबालिकाको सुरक्षा (safety), गोपनीयता,
सुरक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणसँग संबंधित विषयहरू
तथा सबै खालका शोषणका कुराहरूलाई आमसंचार संस्थाहरूले अनुसन्धान
र सार्वजनिक छलफलको महत्वपूर्ण सवालको रूपमा लिनुपर्छ । बालबालिकाहरूको
पूर्ण गोपनीयताको हक हुन्छ, यसका अपवादहरू यी मार्गनिर्देशिकाहरूमा
स्पष्ट रूपमा खुलाइएका छन् । मिडियामा बालबालिकाको जीवन र
उनीहरूको हितसँग सरोकार राख्ने विषय प्रस्तुत गर्दा त्यसले
बालबालिकाहरू खतरामा पर्नसक्ने नाजुक अवस्थालाई बुझेर प्रस्तुत
गर्नुपर्छ ।
बालबालिकाहरूको बारेमा प्रस्तुत गर्दा पत्रकारहरू तथा आमसंचार
संस्थाहरूले नैतिक आचरणको उच्चतम स्तर कायम गर्नु पर्छ ।
पत्रकारहरूले
1. बालबालिकाहरू संलग्न भएको विषयमा रिपोर्टिङ गर्दा सत्यतथ्य
तथा संवेदनशीलताको दृष्टिले उत्कृष्ट स्तरको रिपोर्टिङ गर्न
प्रयत्नशील रहनुपर्छ ;
2. मिडियामा बालबालिकाबारेमा जानकारी दिँदा उनीहरूलाई हानी
नोक्सानी हुने खालको चित्रण गर्ने काम तथा प्रकाशन गर्नु हुँदैन;
3. बालबालिकाका बारेमा पत्रकारिक सामग्री प्रस्तुत गर्दा पुरानो
ढाँचामा (स्टरियोटाइप) र सनसनीपूर्ण तरिकाले प्रस्तुत गर्नु
हुँदैन;
4. बालबालिकासँग सम्बन्धित सामग्री प्रकाशित गर्दा त्यसबाट
हुनसक्ने परिणामबारे राम्ररी विचार पुर्याउनुपर्छ र बालबालिकामाथि
पर्ने दुष्प्रभाव घटाउने काम गर्नुपर्छ ;
5. स्पष्ट रूपमा सार्वजनिक हितमा बाहेक अन्य स्थितिमा बालबालिकालाई
प्रत्यक्ष वा अन्य तरिकाले चिनाउने काम गर्नु हुँदैन।
6. बालबालिकालाई उनीहरूको विचार पोख्नका लागि कुनै लोभ लालच
वा लाभ बिना मिडियामा पहुँच, संभव भएसम्म, उपलब्ध गराउनुपर्छ;
7. बालबालिकाले दिएको सूचनाको सत्यताबारे जाँचबुझ गर्दा स्वतन्त्र
ढंगले हुनुपर्ने कुरा सुनिश्चित गर्नुपर्छ साथै त्यस्तो जानकारी
उपलब्ध गराउने बालबालिकालाई खतरामा नपारीकन जाँचबुझ गरिने
छ भन्ने कुरा सुनिश्चित गर्ने काममा विशेष ध्यान दिनुपर्छ
;
8. बालकालिकाको कामुक/उत्तेजक चित्रण वा छवि प्रस्तुत गर्नु
हुँदैन;
9. बालबालिकाका चित्रहरू प्राप्त गर्नका लागि विवेकपूर्ण,
खुला र प्रत्यक्ष तरिका अपनाउनुपर्छ तथा, संभव भएसम्म, बालबालिका
वा जिम्मेवार प्रौढ व्यक्ति, अभिभावक वा हेरचाह गर्ने व्यक्तिलाई
थाहा दिएर तथा उनीहरूको सहमति लिएर चित्रहरू प्राप्त गर्नुपर्छ
;
10. बालबालिकाका लागि बोल्ने वा उनीहरूको हितको प्रतिनिधित्व
गर्ने दावी गर्ने कुनै पनि संस्थाको वैधताको प्रमाणपत्र जाँच्नुपर्छ
;
11. बालकको हित हुन्छ भन्ने कुरा स्पष्ट रूपमा नदेखिएसम्म
बालबालिकाको हित गाँसिएको सामग्री छापे बापत बालबालिका वा
तिनका बाबुआमा वा अभिभावकहरूलाई भुक्तानी दिनुहुँदैन ।
संयुक्त राष्ट्रसंघको बालअधिकार सन्धि (CRC) बारे प्रस्तुत
गर्ने रिपोर्ट तथा सम्झौता आआफ्नो देशको सरकारले लागू गरेको
सम्बन्धमा सरकारले गर्ने दाबीहरूलाई पत्रकारहरूले आलोचनात्मक
रूपले जाँच्नुपर्छ ।
आमसंचार माध्यमहरूले बालबालिकाहरूको अवस्थालाई घटना वा समाचारको
रूपमा मात्र हेर्नु हुँदैन (घटना घटेमात्रै समाचार बनाउने
नत्र बेवास्त गर्ने गर्नु हुँदैन) । बरु घटनातिर डोर्याउने
प्रक्रियाको रूपमा निरन्तर रिपोर्ट गर्नुपर्छ ।
बालबालिकामाथि यौन दुराचार तथा शोषणको बारेमा रिपोर्टिङ गर्दाः
दुराचार वा शोषणमा परेका बालबालिकाहरूलाई शब्द वा चित्रबाट
कहिल्यै पनि चिनाउनु हुँदैन । यसो गर्दा उनीहरूको जीवन खतरामा
पर्नसक्छ ।
उदाहरणको लागि कुनै बारमा देहव्यापारमा पक्रिएकी किशोरीको
पूरा अनुहार देखिने फोटो छाप्दा बालिकाको मर्यादामा धक्का
लाग्नेमात्रै होइन "परिवारको इज्जत जोगाउन" किशोरीको
हत्या पनि हुनसक्छ । परिवारको इज्जत जोगाउन होस् वा दलाललाई
संरक्षण गर्न होस् वा अरु विभिन्न कारणले होस् संसारका धेरैजसो
भागमा बालबालिकाहरूले उस्तै खालका खतराहरूको सामना गरिरहेका
हुन्छन् । यदि तपाईँले देहव्यापारमा पक्रिएका केटाकेटीको फोटो
देखाउन चाहनुहुन्छ भने फोटोको काटछाँट गर्नुपर्छ । (अनुहार
ढाक्न वा नचिनिने बनाउन सकिन्छ तर यसो गर्दा बालकलाई मानिसको
सट्टा बस्तुको रूपमा चिनिने संभावना हुन्छ) । टाढाबाट वा पछाडिबाट
फोटो खिच्न पनि सकिन्छ । यदि अक्षरमा लेख्दै हुनुहुन्छ भने
नाम फेर्न नबिर्सनुस् र नाम फेरेको कुरा कपी/रिपोर्टमा खुलाउनुपर्छ
।
खतरामा पर्नसक्ने बालबालिकाहरू बस्ने ठाउँहरूलाई शव्द वा
चित्रमार्फ नचिनाउनुस् । यसो गर्नाले बाल दुराचारीहरू र बाल
शोषणकर्ताहरूलाई ती बालबालिकाकहाँ पुग्न उक्साउन वा सघाउन
सक्छ ।
उदाहरणको लागि बालबालिकालाई देहव्यापारमा लगाउने समुद्रतट
वा पसल (सपिङ सेन्टर) को फोटो दिँदा त्यो ठाउँ सजिलैसँग चिनिन
सक्छ । "बम्बैको दक्षिणी भेकको फलानो इलाकाको पछाडिको
फलानो गल्लीमा...." यसरी शब्दचित्रको रूपमा फिचर सुरु
गर्दा यौन पर्यटकलाई त्यहाँ पुग्ने बाटो पनि देखाउँछ ।
बालबालिकाहरू देहव्यापारमा संलग्न भएको कुरा तपाईँलाई पूरा
विश्वास नलागेसम्म कुनै पनि बालक वा बालिकालाई देहव्यापारमा
पक्रियो भनेर नलेख्नुस् ।
उदाहरणको लागि सडकमा सुत्ने बालबालिकाहरू निश्चय नै शोषणको
खतरामा हुन्छन्, तर ती सबै जना यौन शोषणमा परेका छन् भनेर
ठोकेर भन्न सकिन्न । सडकका बालबालिकाको फोटो छाप्ने र फोटोको
तल "फलाना सडकका सडक वेश्या" भन्ने क्याप्सन नछाप्नुस्
। तपाईँले यी बालबालिकालाई खतरामा पार्न सक्नुहुन्छ साथै तपाईँले
गलत जानकारी दिँदै हुनुहुन्छ । कसैले तपाईँमाथि गालीबेइजतीको
मुद्दा हाल्न सक्छ ।
सबै प्रौढहरू बाल यौन दुरूपयोगी वा शोषणकर्ता हुन्छन् भन्ने
आशयले नलेख्नुस् ।
उदाहरणको लागि उष्ण प्रदेशको समुद्री तटमा आनन्द मनाइरहेको
अधबैँसे र एउटा किशोर बाबु र छोरा हुन सक्छन् ।
मानहानीका धेरै मुद्दाको उल्टो प्रचारले गर्दा वास्तवमै किशोरहरूलाई
बलपूर्वक काममा लगाउनेहरू विरुद्धसमेत मुद्दा हाल्न पनि मासिहरू
झिँजो मान्न थाल्छन् । आफ्ना तथ्यहरूलाई राम्ररी जाँच्नुस्
।
यौन दुरूपयोग र शोषण वास्तवमा केको बारेमा भएको हो बुझनुस्
।
उदाहरणको लागि "पेडोफिल" शब्दको अति धेरै उपयोग
नगर्नुस् । यो शब्दले विशेष समूहका मानिसहरूलाई जनाउँछ । त्यो
समूहका मानिसहरू मनोबैज्ञानिक हिसाबले महिनावारी हुनुभन्दा
कम उमेरका किशोरीहरूसँग यौन सम्बन्ध राख्न (विभिन्न स्तरमा)
रुचाउँछन् । यो शब्दको अति धेरै उपयोग गर्नाले वास्तविकता
लुक्छ । अर्थात् कम उमेरकाहरूसँग यौन सम्बन्ध राख्नेहरू "सामान्य"
मानिस हुन् ( गैर पेडोफिल) भन्ने बुझिनसक्छ । यो कुरा महत्वपूर्ण
छ किनकि यदि समस्यालाई ठिक ठाउँमा प्रहार गर्ने हो भने समस्याको
ठिक पहिचान हुनुपर्छ । सरकार तथा जनताले पनि बालबालिकाका लागि
पिडोफिलमात्रै खतरा होइन भन्ने थाहा पाउनु आवश्यक छ । छिमेकमै
बस्ने "सामान्य" मानिस झन ठूलो खतरा हुनसक्छ । यस्तै
तपाईँको अनुसन्धान पनि ।
सहयोग चाहिने बालबालिकालाई सघाउनुस् ।
यौन दुराचार/शोषणको शिकार भएको किशोरसँग तपाईँको भेट हुनसक्छ
। ऊ तपाईँसँग केही भन्न चाहन्छ । कतिपय किशोरहरू यौन दुराचार/शोषणको
विरुद्ध प्रभावकारी सक्रियतावादी बन्छन् र राम्रा वक्ता पनि
हुन्छन् । धेरै संस्थाहरूले यो कुरा महसुस गर्छन् र त्यस्ता
किशोरहरूलाई साक्षीको रूपमा प्रेससमक्ष प्रस्तुत गर्न हतारिन्छन्
। तर यसबाट आइलाग्नसक्ने खतराहरुबारे यी किशोरहरूमध्ये धेरैलाई
यी कुराहरू थाहा हुँदैनः
१। आफ्नो पहिचान/फोटो सार्वजनिक भएपछि आइलाग्नसक्ने खतरा,
२। प्रेसको बदलिँदो रुचि वा स्वार्थ र प्राथमिकताको कारणले
पर्ने दवाव ।
यो जटिल विषय भएकोले किशोरलाई आफ्नो अनुभव व्यक्त गर्न दिनुपर्छ
। तर तपाईँले, पत्रकारको हैसियतले मात्र होइन अपितु सूचनाको
स्रोतको पहिचान र गोपनीयतालाई जोगाउने नाताले पनि त्यसमा संलग्न
किशोरको संरक्षण गर्ने काममा आफ्नो विवेक प्रयोग गर्नुपर्छ
। आवश्यक परे किशोरको हितलाई विचार गरेर उसको प्रोफाइल दिन
इन्कार गर्नुपर्छ । उसको सुरक्षा अरु कसैको कर्तव्य हो भन्ने
सोच्नुहुँदैन ।
अन्त्यमा
तपाईँले काम गर्दा पाएको अनुभवमा माथि नसमेटिका कुनै परिस्थिति
छ भने अरूलाई पनि थाहा दिनुस् । प्रेसको स्वतन्त्रता र बालबालिकाको
संरक्षणमा आइपर्ने हाँकहरूको समाधानबारे सहकर्मीहरूलाई पनि
भन्नुस् ।
माथि
मूल पृष्ठमा जाउँ
|