नेपाली
बालसाहित्य सर्जक
१ कृष्णप्रसाद पराजुली
बालसाहित्यकार कृष्णप्रसाद पराजुली २०६६ असार २४ गते ७५ वर्ष लाग्नु भयो । यस उपलक्षमा कृष्ण साहित्य सदन, ललितपुरले काठमाडौँको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका मुख्य पाहुना राष्ट्रकवि माधवप्रसाद घिमिरेले दोसल्ला ओढाएर उहाँको सम्मान गर्नु भएको थियो । अरू पनि धेरै संघ संस्थाले उहाँको सम्मान गरेका थिए । उक्त अवसरमा उहाँको आत्मकथा "शिखर यात्रा" र "कृष्णप्रसाद पराजुलीः साहित्य र साधना" पुस्तक तथा उहाँका बालगीतहरूको सुन्ने क्यासेट प्रकाशन/विमोचन गरिएको थियो ।
'चुइँचुइँ गर्दै दिनको,
एकडाडु घिउ खान्छ ।
'मुसो' भन्दा बोल्दैन
'धानचरी' भन्दा 'ज्यू' भन्छ ।'
यस्ता मिठा बालगीत लेख्ने साहित्यकार कृष्णप्रसाद पराजुलीले नेपाली बालसाहित्यलाई अहिलेसम्म सत्र वटा कोसेली दिइसक्नुभएको छ । उहाँका बालगीत, कविता र कथाले नेपाली बालबालिकाको संसारलाई रमाइलो बनाइरहेका छन् ।
उहाँले रच्नु भएको 'रमाइला नानी' सबैभन्दा धेरै रुचाइएको पुस्तक हो । यो तीन भागमा छापिएको छ । चालिस वर्षअघि लेखिएको यो कृति अहिले पनि बालबालिकाहरूका लागि प्रिय छ । यसको १७ औँ संस्करणसम्म प्रकाशित भइसकेको छ । 'जुनतारा', 'चरी आयो', 'सुनकल्छे हिमाल' पनि निक्कै लोकप्रिय बालगीत-कविताका पुस्तक हुन् ।
बालकथा साहित्यमा उहाँका 'सुनौला तीन कुरा', 'चार चङेरी',' लुकामारी', 'सुनकेस्रा', 'हिमाली डाँफे', 'मेरो मुरली' र 'फूलजस्तो मन' सात वटा संग्रह छापिइसकेका छन् ।
उहाँले नेपाली बालसाहित्यतिर प्रायः कसैले चासो नलिएको बेलामा यो क्षेत्रमा कलम चलाउनु भएको थियो । बालसहित्यतिर लाग्ने प्रेरणा कसरी आयो भन्ने प्रश्नको जवाझमा उहाँ भन्नुहुन्छ, "बालसाहित्य लेख्ने प्रेरणा प्राप्त हुनामा पहिलो कारक तत्व त मैले भोग्दै आएको बालजीवन नै हो । पछि मलाई लाग्यो बालकका निमित्त साहित्यिक सामग्री नभई हुँदैन । यिनै विभिन्न कुराले मलाई कुतकुत्यायो, घचघच्यायो र म बालसाहित्यको सृजनामा लागेको हुँ ।"
श्री पराजुली सबैभन्दा धेरै पुस्तक बिक्ने नेपाली लेखकभित्र पर्नुहुन्छ । अहिलेसम्म उहाँका ३५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । तीमध्ये उहाँका 'रमाइला नानी', 'राम्रो रचना ः मिठो नेपाली', 'पन्ध्र तारा र नेपाली साहित्य' जस्ता कृतिहरू पच्चीसौँ संस्करणसम्म छापिएका छन् । उहाँको पहिलो प्रकाशित पुस्तक 'पूर्व एक नम्बर' (काभ्रे र सिन्धुको परिचयात्मक अध्ययन) हो भने पछिल्लो पुस्तक 'इन्द्रिनी' (एकांकी संग्रह) हो ।
श्री पराजुलीको जन्म विक्रम संवत १९९२ साल असार २४ गते, (इ.सं. ८ जुलाई, १९३५) काभ्रे जिल्लाको भमरकोटमा भएको थियो । उहाँ पशुपतिप्रसाद पराजुली र महादेवी पराजुलीको माहिलो छोराको रुपमा जन्मनु भएको थियो । हाल उहाँ ललितपुर उपमहानगरपालिकाको सानेपामा बस्नुहुन्छ ।
स्रोतः 'कृष्णप्रसाद पराजुली
संक्षिप्त परिचय', प्रकाशकः कृष्ण साहित्य सदन, सानेपा, ललितपुर,
फोन ५५५०९३८ । तथा 'नेपाली बालसाहित्यको इतिहास', लेखकः प्रमोद
प्रधान, प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ,
फोन ४२१८०६३ । फोटोः विनय कसजू
२ शान्तदास
बालसाहित्य बालबालिकाको सुन्दर भविष्यका
लागि हो ।
"मैले बच्चामा एक्लो छोरो भएकाले सबैबाट
धेरैधेरै माया पाएँ । पछि मलाई के लाग्यो भने धेरैबाट माया
पाएपछि बालबालिकाहरूका लागि यो संसार अति नै रमाइलो हुन्छ,
प्रिय हुन्छ । रमाइलो भएपछि उनीहरूलाई राम्रोसँग काम सिक्ने
मौका मिल्छ । तपाईँलाई जहाँ पनि नराम्रो लागेपछि तपाईँ विध्वंशकारी
हुनुहुनेछ । यो संसार रमाइलो हुनुपर्छ सबका लागि । माया गर्ने
मान्छे धेरै भएको ठाउँ बालबालिकाहरूका लागि असाध्यै रमाइलो
हुन्छ । यसो हुनाले उसलाई संसार रमाइलो लाग्ने भयो, नयाँ पुस्तालाई
माया गर्ने मान्छेहरू धेरै भए भने यो संसारको पनि भविष्य सुरक्षित
हुन्छ ।"
नेपाली बालबालिकाको संसारलाई रमाइलो बनाउन धेरै
जना मिलेर गर्ने काम बालसाहित्य संसारमा ७२ वर्षको उमेरमा
पनि साहित्यकार शान्तदास एक्लैले गरिरहनु भएको छ । बालसाहित्य
सिर्जना गर्ने, विश्वप्रसिद्ध बालकथा नेपाली भाषामा अनुवाद
गर्ने, बालपत्रिका तथा बालपुस्तक संपादन एवं प्रकाशन साथै
बालसाहित्य कस्तो हुनुपर्छ भन्दै अरूलाई बालसाहित्य सिर्जना
गर्न प्रेरित गर्ने काम उहाँले विगत तीन दशकदेखि गर्दै आउनु
भएको छ ।
२०६३ साल बैशाखदेखि दशैँसम्म मात्रै उहाँले
बालकोसेली पत्रिकाको पाँच अंक, आफैले रचना गरेका कथाका दुइटा
पुस्तक प्रकाशित गरिसक्नु भएको छ भने धेरै जना लेखकका पुस्तक,
कविता र कथाहरु सम्पादन र प्रकाशन गरिसक्नु भएको छ ।
उहाँ भन्नुहुन्छ, "म नौदश सालदेखि नै पढाउने
गर्थेँ । मैले स्कुले जीवनमै पनि बाल भित्तेपत्रिकाहरू निकाल्ने
काम गरेँ । त्यसपछि शिक्षक हुँदा पनि बालसाहित्यतिर रुचि रहिरह्यो
। २०३६ सालदेखि भने पत्रिका बालपोषको सम्पादन नै गर्न थालियो
।"
उहाँको पहिलो पुस्तक अंग्रेजी भाषाको निवन्ध संग्रह "सम्
एसेज" २०१५ सालमै निस्केको थियो । अर्को वर्ष त्यसको
दोस्रो भाग प्रकाशित भयो । उहाँले पन्ध्र वर्ष अनुवाद गर्ने
काममा बिताउनु भयो । यसबीच उहाँले चिन र रुसमा विश्वविख्यात
लेखकहरुका उपन्यास र कथाहरु नेपालीमा अनुवाद गरेर प्रकाशित
गराउनु भयो ।
बालसाहित्य लेखन र सम्पादनको लामो अनुभवको आधारमा उहाँ यो
क्षेत्रमा आउन चाहने सर्जकहरुलाई सल्लाह दिनुहुन्छ, "बालसाहित्य
आमा भएर लेख्नुपर्छ । आमाको जस्तो माया र धैर्य लिएर लेख्नुपर्छ
। आमाको जस्तो मुटु, त्याग र समर्पण हुनुपर्छ । 'यो ठूलो भएर
यस्तो हुनेछ' भन्ने आफ्नो बच्चाप्रति आमाको जस्तो आशा र भरोसा
हुन्छ त्यस्तै आशा र भरोसा लेखकले बालबालिकामाथि गर्नुपर्छ
। आफ्नो बच्चालाई माया गर्नेप्रति आमाको जस्तै कृतज्ञता लेखकमा
पनि हुनुपर्छ । साथै आफ्नो सन्तानको लागि आमा जसरी थाक्दिनन्
त्यस्तै लेखक पनि बालबालिकाका लागि लेख्दा थाक्नु हुँदैन ।"
बालसाहित्य किन सिर्जना गरिन्छ ? उहाँको उत्तर
छः
"हामी हाम्रा नानीहरुलाई माया गर्छौँ; हामी हाम्रा नानीहरुलाई
मन र शरीर दुबै स्वस्थ रहने गरी हुर्काउन चाहन्छौँ; हामी हाम्रा
नानीहरुलाई यो संसार के हो, कस्तो हो, चिनाउन चाहन्छौँ; हामी
हाम्रा नानीहरुको भविष्य राम्रो बनाउन चाहन्छौँ; हामी हाम्रा
नानीहरुमा भएका मानवीय गुणहरुको जरो जस्तोसुकै गाह्रोसाह्रो
आइपर्दा समेत अलिकति पनि नहल्लियोस् र दृढ होस् भन्ने चाहन्छौँ;
हामी हाम्रा नानीहरुका लागि विशेष गरेर भावी संसारलाई आजको
विकृतिबाट मुक्त र बस्नयोग्य ठाउँमा फेर्न चाहन्छौँ । मीठा
रसिला शब्दहरू छानेर र स्वच्छ चाहना राखेर अगाडि सारिएका बालसहज
लयात्मक कविताले बालबालिकाहरूको सुन्दर र स्वच्छ हृदयलाई अझ
सुन्दर बनाउँछ र त्यसले ती हृदयलाई सुन्दर भविष्यको निर्माणका
लागि दृढ र लगनशील बनाउँछ ।"
उहाँ बालकथाका प्रभापकारी बाचक पनि हुनुहुन्छ
। २०५७ / ५८ सालमा उहाँले रेडियो सगरमाथाबाट बालकार्यक्रम
संचालन गर्दा उहाँले किताब कागत नहेरी आफ्ना र विश्वका प्रिसिद्ध
लेखकहरुका कथा सुनाउनु हुन्थ्यो । उहाँको प्रभावशाली कथावाचन
शैलीले गर्दा उहाँले भाग लिने कार्यक्रममा कथा वाचनको निक्कै
माग हुन्छ ।
बालबालिकाको सुन्दर भविष्य निर्माण नै बालसाहित्यको
लक्ष मानेर नेपाली बालसाहित्यको सेवामा जीवनको अमूल्य समय
लगाउनु भएका शान्तदाशको जन्म वि.सं. १९९१ जेठ दशमी तिथिमा
काठमाडौँको झोछेँ टोलमा भएको थियो । उहाँकी आमा श्रीमती मथुरी
मानन्धर र बुवा चिनियाँ (नेमनारायण) मानन्धर हुनुहुन्थ्यो
। उहाँको मातृभाषा नेवार भाषा हो । उहाँले नेवार भाषामा पनि
बालकथा पत्रिका "मचाक्यव" संपादन र प्रकाशन गर्नु
भएको छ ।
नेपाली बालसाहित्यको इतिहास पुस्तकका लेखक प्रमोद
प्रधानका शब्दमाः "वास्तवमा शान्तदासको जीवन बालबालिकाहरुको
उज्ज्वल भविष्य निर्माण गर्ने कार्यमा समर्पित रहेको छ । उनी
बालबालिकालाई उपदेश होइन, चेतना दिन चाहन्छन् । उनी बालबालिकालाई
अनुयायी बनाउनमा होइन, जीवनवादी र मानववादी बनाउने कुरामा
विश्वास राख्छन् । त्यसैले उनीद्वारा लिखित, पुनर्कथित वा
अनुवादित जुनसुकै किसिमका रचना भए पनि उनी बालपाठकलाई शिक्षा,
जानकारी र चेतनाका माध्यमबाट प्रगतितर्फ उन्मुख गराउने प्रयास
गर्छन् । .... उनी बालसाहित्यको क्षेत्रमा गर्ने काम 'पेशा'
का रुपमा नभै 'सेवा' का रुपमा गर्ने काम हो भन्ने विचार राख्छन्
।"
शान्तदासको यो भनाइ बालसाहित्यमा लाग्न खोज्ने
सबैका लागि मननयोग्छ छः "बालबालिकाहरुका लागि लेखिएका
पुस्तकहरु तिनीहरुप्रतिको हाम्रो कर्तव्यपालन हो, नकि बालकर्तव्यको
सूचीपत्र । यो कुरा जति बढी हामी बुझ्न सक्ने हुनेछौँ त्यत्ति
नै साँचो बालसाहित्य र बालपुस्तकहरुको सिर्जना हुनेछ ।"
कथाकारका पुस्तकहरु र कुराकानीका आधारमा लेखन तथा फोटोः विनय
कसजू
मूल पृष्ठमा जाउँ |