इसपका
नीतिकथा
छैटौँ भाग
१२६
कछुवा र चिल
एक पल्ट एउटा कछुवालाई चराझैँ उडन मन लाग्यो । उसले चिलसँग
उडन सिकाइदिन अनुरोध गर्यो । चिलले कछुवालाई उसको पखेटा नभएको
हुनाले उडनसक्तैन भनेर धेरै सम्झायो तर कछुवाले जिद्दी गर्न
छाडेन । दिक्क भएर चिलले कछुवालाई आफ्नो पंजाले समातेर आकाशमा
पुर्यायो अनि लौ उड् भन्दै हावामा छाडिदियो । जिद्दी गर्ने
मूर्ख कछुवा ढुंगामाथि खसेर त्यसको हाडखोड पनि बाकी रहेन ।
१२७ गधा र घोडा
एक जना मानिसले गधा र घोडा पालेको थियो । एक पल्ट ऊ गधालाई
भारी बोकाएर कतै जाँदै थियो । घोडा रित्तै हिँडिरहेको थियो
। गधाको भारी निक्कै गह्रुँगो थियो । उसले घोडालाई उसको भारीको
केही सामान बोकेर सघाउन अनुरोध गर्यो । तर घोडाले उसको कुरा
मानेन । गह्रुँगो भारी धान्न नसकेर गधा बाटोमुन्तिर खस्यो
र घाइते भयो । त्यो मानिसले गधाको सबै सामान घोडालाई बोकायो
। गधाको कुरा नमानेकोमा घोडा पछुतायो ।
१२८ किसान र कुखुरा
एउटा किसानको कुखुराले दिनको एउटा सुनको फुल पार्थ्यो
। कुखुरालाई धेरै खानेकुरा ख्वायो भने दिनको दुइटा फुल
पार्ला भन्ने आशले उसले कुखरालाई धेरैधरै चारो ख्वाउन
थाल्यो । धेरै चारो खाएर कुखुरा दिनदिनै मोटाउन थाली
। केही दिनपछि ऊ यति धेरै मोटाई कि उसले फुल पार्नै
छाडी ।
१२९ गधा र बाघको छाला
एउटा गधाले बाघको छाला भेटायो । उसले रमाइलो गर्न भनेर
त्यो छालाले आफ्नो जिउ छोप्यो । उसलाई देखेर अरु गधाहरू
डराएर भाग्न लागे । गधालाई पनि रमाइलो लाग्यो । उसले
आफ्नै आफन्त गधाहरूलाई लखेट्न थाल्यो । त्यही बेला बतास
चल्यो र बाघको छाला उसको जिउबाट खस्यो । छालाभित्र गधालाई
देखेर अरु गधाहरूले उसलाई बेस्सरी लात्तीले भकुरे र
घाइते पारे ।
१३० बाबु र छोराहरू
एक जना बाबुका धेरै छोराहरू थिए । छोराहरू आपसमा मिल्दैनथे
। बाबुले छोराहरूलाई मिलेर बस्न धेरै सम्झाए तर मानेनन्
। एक पल्ट उनले छोराहरूलाई डाकेर कुचो लिन पठाए । उनले
एकएक जना छोरालाई कुचोको मुठा भाँच्न लगाए । तर कसैले
पनि भाँच्न सकेन ।
त्यसपछि उनले कुचोको मुठा फुकाएर एकएक वटा कुचोको डाँठ
भाँच्न लगाए । छोराहरूले कुचोको डाँठ सजिलैसँग भाँचे
।
अनि बाबुले छोराहरूलाई भने, "कुचोका डाँठहरू मिलेर
बस्दा तिमीहरूले भाँच्न सकेनौ । त्यस्तै तिमीहरू पनि
मिलेर बस्यौ भने कसैले तिमीहरूको कुभलो गर्न सक्तैन
। तर आपसमा झगडा गर्यौ भने कुचोको एकएक वटा डाँठजस्तै
तिमीहरू पनि एक्लाएक्लै मासिन सक्छौ ।"
माथि
१३१ लाम्खुट्टे र सिंह
एउटा लाम्खुट्टेले सिंहसँग फुर्ती लायो, "तिमीले
आफूलाई जंगलको राजा ठान्छौ । तिमीलाई सबैभन्दा बलियो
छु भन्ने अभिमान छ । तर यो तिम्रो भ्रम हो । तिमीले
मेरो केही पनि बिगार गर्न सक्तैनौ । लौ, ताकत छ भने
मसँग लड ।"
यति भन्दै लाम्खुट्टेले सिंहको नाख, कान, गालामा टोक्न
थाल्यो । सिंहले लाम्खुट्टेलाई मार्न खोज्दा आफ्नै पंजाले
आफ्नो नाख मुखमा घाउ पार्यो । उसको अनुहार रगतले भिज्यो
। ऊ बेस्सरी थाक्यो ।
लाम्खुट्टेले आफ्नो जीतको घोषण गर्यो र त्यहाँबाट अर्को
सिकार खोज्न उड्यो । उडदाउडदै ऊ माकुराको जालमा फँस्यो
। माकुराले उसलाई खान लागेको बेलामा उसले मनमनै भन्यो,
"जंगलको राजा सिंहजस्तो बलियो जानवरलाई जितेँ तर
यो दुष्ट माकुराले गर्दा मेरो ज्यान जानेभयो ।"
१३२ जरायो र झ्याङ
सिकारीहरूबाट भाग्दै एउटा जरायो बाक्लो झ्याङमा लुक्यो
। सिकारीहरूले उसलाई देखेनन् । उनीहरू अगाडि बढे । संकट
टरेको चाल पाएर जरायोले आफू लुकेको झयाङका पातहरू खान
थाल्यो । यसले गर्दा झ्याङ हल्लियो । झ्याङ हल्लिएको
देखेर सिकारीहरूलाई त्यहाँ जरायो लुकेको छ कि भन्ने
शंका लाग्यो । उनीहरू फर्केर हेरे र जरायोलाई गोली हाने
। मर्ने बेलामा जरायोले मनमनै भन्यो, "आफूलाई शरण
दिने झ्याङलाई नै खाने म कस्तो मूर्ख रहेछु । मेरो यो
दुर्गति हुनु स्वभाविकै हो ।"
१३३ चुक्ली लाउने ब्वाँसो
एउटा सिंह बिरामी भएर गुफाभित्रै आराम गरिरहको थियो
। बिरामी सिंहलाई भेट्न बनका सबै जानवरहरू गए तर स्याल
गएन । स्यालसँग इख गर्ने ब्वाँसोले स्यालसँग बदला लिने
मौका यही हो भन्ने ठान्यो । उसले सिंहसँग स्यालको बदख्वाई
गर्दै भन्यो, "त्यो पाजी स्यालले महाराजलाई टेर्दैटेर्दैन
। अहिलेसम्म ऊ हजूरको दर्शन गर्न आएको छैन ।"
ब्वाँसोको कुरा सुनेर सिंहलाई स्यालसँग साह्रै रिस
उठ्यो । उसले स्यालालाई मार्ने बिचार गर्यो ।
त्यही बेलामा स्याल टुप्लुक्क आइपुग्यो । उसले ब्वाँसोको
कुरा सुन्यो र ऊसँग कसरी बदला लिने भन्ने बिचार गर्न
थाल्यो ।
स्याललाई देख्ने बित्तिकै सिंह रिसले गर्जँदै भन्यो,
"कहाँ गएको थिइस् अहिले सम्म ? सबैले भेट्न आए
। तँ आउनु पर्दैन ?"
स्यालले नरम हुँदै भन्यो, "रिसानी माफ होस् महाराज
! फुर्सत नै नपाएर म यहाँ आउन पाइन । महाराजलाई बिसँचो
भएको थाहा पाएदेखि म घरमा बसेको छैन । महाराजलाई कसरी
निको हुन्छ भन्ने जान्न म दिनरात बनबनमा घुमेर सिपालु
डाक्टर वैद्यहरूलाई भेटदै छु । भर्खरै एक जना जान्ने
वैद्यलाई भेटेर महाराजको औषधी पत्ता लगाएर आउँदैछु ।"
स्यालको कुरा सुनेर सिंह दंग पर्यो । उसले स्याललाई
भन्यो, "ए, त्यसो हो । लौ तँलाई माफी दिएँ । अब
त्यो औषधी के हो छिट्टो भन ।"
स्यालले दुई हात जोड्दै भन्यो, "महाराजको जय होस्
। वैद्यको के भनाइ छ भने ज्युँदो ब्वाँसोलाई मारेर उसको
आलो र तातोतातो छाला ओढ्यो भने महाराजको रोग निको हुन्छ
रे ।"
स्यालको कुरो टुंगिन नपाउँदै सिंहले ब्वाँसोको घाँटी
अँठ्यायो र उसलाई मार्यो । मर्न लागेको ब्वाँसोतिर
हेर्दै स्यालले हाँस्दै भन्यो, "तँ यही लायकको
थिइस् । शासकहरूलाई राम्रो काम गर्न प्रेरित गर्नुको
सट्टा खराब काम गर्न उक्साउनेको गति यस्तै हुन्छ ।"
माथि
१३४ स्यालको न्याय
एक पल्ट सिंह, गधा र स्याल सिकार खेल्न गए । गधाले लोभ्याउने,
स्यालले घेर्ने अनि सिंहले हमला गर्ने गरेर धेरै जानवर
मारे । सिँहले त्यो सिकार बाँडन गधालाई अह्रायो । गधाले
बराबर तीन भाग लगाएर बाँड्यो । गधाको बाँड्ने तरिका
देखेर सिंह रिसायो । उसले एकै झापटले गधाको काम सिध्याइदियो
। त्यसपछि उसले स्याललाई सिकारको भाग लाउन अह्रायो ।
स्यालले सबै सिकारको एउटा थुप्रो लगायो र त्यो भाग
सिंहलाई टकार्यो । अर्को भागमा एकदुई वटा सिङ र पुच्छर
राख्यो र आफूले लियो ।
यो देखेर सिंहले दंग पर्दै स्याललाई भन्यो । तँ त बडो
बुद्धिमान रहेछस् । हो यस्तै गरी भाग लाउनु पर्छ । यस्तो
राम्रोसँग भाग लाउन तँलाई कसले सिकायो ?"
स्यालले नरम हुँदै भन्यो, "भर्खरै गधाले सिकाएको
हो, महाराज !"
१३५ चराहरूको राजा
एक पल्ट चराहरू आफ्नो राजा रोज्न जंगलमा भेला भए । मयुरले
आफ्नो सुन्दर पखेटा फैलाएर सबैलाई मोहित गर्यो । सबै
चराहरूले उसैलाई राजा बनाउने बिचार गरे । तर कोइलीलाई
यो कुरा चित्त बुझेन । उसले मयुरसँग सोधी, "मयुर
दाइ, तिमी राजा भयौ भने बाजले आक्रमण गर्दा कसरी हामीलाई
जोगाउँछौ ?"
मयुरले जवाफ दिन सकेन । अरु चराहरूको मनमा पनि मयुरलाई
राजा बनाउनु ठिक होला कि नहोला भन्ने शंका लाग्यो ।
आखिरमा उनीहरूले चिललाई राजा बनाउने निधो गरे ।
१३६ डाँग्रे र छाउरा
एउटा डाँग्रे कुकुरले हाडको टुक्रा भेट्टायो । ऊ मुखमा
हाड च्यापेर जाँदै थियो । बाटामा छाउराहरूले उसलाई देख्यो
। ती छाउराहरूले भुक्दै उसलाई लखेट्न थाले । डाँग्रेले
एकै झापटमा ती छाउराहरूको काम सिध्याइदिन सक्थ्यो ।
तर उसलाई मुखको हाड गुम्ला भन्ने डर थियो । यसैले ती
फुच्च छाउराहरूले लखेट्दा पनि ऊ भाग्यो ।
१३७ नक्कल गर्ने बोका
एक जना किसानले कुकुर र बोका पालेको थियो । किसान बाहिरबाट
आउँदा कुकुरले पुच्छर हल्लाएर उसको स्वागत गर्थ्यो ।
किसानले उसको जिउ मुसार्थ्यो । अनि कुकुर खुशी भएर किसानको
हात चाट्थ्यो । अनि ऊ किसानको काखमा बस्न जान्थ्यो ।
किसानले आफूले खाँदै गरेको रोटीको टुक्रा उसलाई पनि
दिन्थ्यो ।
यो देखेर बोकालाई पनि किसानको माया पाउन मन लाग्यो
। भोलि पल्ट किसान बाहिरबाट आउने बित्तिकै बोका पुच्छर
हल्लाउँदै किसानको नजिक गयो । किसानले उसलाई वास्ता
गरेन । बोकाले उसको हात चाट्यो । अनि किसान घरको पेटीमा
बस्ने बित्तिकै बोका उसको काखमा बस्न गयो ।
बोकाको यस्तो चाल देखेर किसानलाई रिस उठ्यो । उसले
बोकालाई लौरोले पिटेर गोठतिर धपाइदियो । अनि कुकुरलाई
काखमा लिएर रोटी ख्वाउन थाल्यो ।
१३८ बाँदर र चराहरू
जाडो याम थियो । पानी पर्न लागेको थियो । बनमा बस्ने
बाँदरहरू जाडोले आत्तिएर यताउता गर्न थाले । बाँदरहरूको
दुःख देखेर रुखमा गुँड बनाएर बसेका चराहरूले भने, "हामी
चराहरूको हातखुट्टा नभए पनि चुच्चाको भरले गुँड बनाएर
न्यानोसँग बसिरहेका छौँ । तिमीहरूको हात खुट्टा छ तैपनि
किन आफ्नो घर बनाउँदैनौ ?"
चराहरूको कुरा सुनेर बाँदरहरू रिसाए । चराहरूको सोझो
सल्लाहलाई उनीहरूले आफ्नो खिल्ली उडाएको ठाने । अनि
ती बाँदरहरूले रुखमा चढेर चराहरूको गुँड भत्काइदिए ।
कत्ति चराका चल्लाहरू मरे । कति फुल फुटे । बाँदरले
आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बिगारिदिन्छ भनेको
यही हो । दुष्टलाई अर्ति दिँदा चराहरूको दुर्गति भयो
।
१३९ कुसंगतको फल
बाटोको छेऊमा चौतारी थियो । चौतारीमा थाकेका बटुवाहरूले
आराम गर्थे । चौतारीको माझमा बर र पिपरका अजंगका रुखहरू
थिए । ती रुखमा धेरै चराहरू बस्थे । त्यहाँ हाँस र कौवाहरू
पनि बस्थे । एक पल्ट हाँस र कौवाबीच मितेरी भयो । उनीहरू
दिनभरि मिठामिठा कुरा गर्दै बस्न थाले । चारो खोज्न
पनि सँगै जान्थे ।
एक दिन घाम चर्केको बेलामा एक जना बटुवा पसिनाले निथ्रुक्क
भिजेर आयो । चौतारीमा बस्यो । उसलाई निँद लाग्यो । त्यहीँ
रुखको छाहारीमा पल्टियो । एक छिनपछि उसको मुखमा घाम
पर्न थाल्यो । यो देखेर हाँसले रुखको हाँगामाथि बसेर
पखेटा फिँजारेर उसको मुखमा छाया पारिदियो ।
यसरी आरामसँग निदाएको बटुवालाई देखेर कौवालाई उटुँग्याइँ
गर्न मन लाग्यो । उसले बटुवाको मुखमा पर्ने गरी रुखको
हाँगामाथिबाट विष्टा गर्यो । बिचरा बटुवा मुखमा चराको
विष्टा परेपछि थुक्दै उठ्यो र माथितिर हेर्न थाल्यो
। दुष्ट कौवा उडिसको थियो । तर हाँसले पखेटा फैलाएर
छाया पार्दै थियो । तर बटुवाले हाँसलाई देखेर पक्कै
पनि हाँसले नै उसको मुखमा विष्ट्याएको होला भन्ने ठानेर
बाण हानेर दयालु हाँसलाई मारिदियो ।
माथि
१४० घोडा र सइस
एक जना सइसले घोडाको निक्कै चाकरी गर्यो । दिनमा धेरै
पल्ट उसले घोडाको आंगमा बुरुस लाउँथ्यो । जिऊ मुसार्थ्यो
। घोडाको जिउ टलक्क टल्काएर राख्थ्यो । तर उसले घोडाको
दाना चोर्थ्यो । मालिकले घोडाको लागि दिएको सबै अन्न
ख्वाउन्नथ्यो । घोडाले यो कुरा धेरै दिनसम्म सह्यो ।
तर एक दिन नभनी मन मानेन । उसले सइसलाई भन्यो, "मेरो
जिउ मालिस गरेर टल्काएर मात्रै के गर्ने ? मलाई राम्रो
अवस्थामा हेर्न चाहने भए मलाई मुसार्ने काम गर्नुको
सट्टा खाने कुरा देऊ । भोको पेटले मालिकको सेवा कसरी
गर्ने ?"
१४१ नक्कले कौवा
एक पल्ट जंगलमा चराहरूको राजा रोज्न सबै प्रकारका चराहरूको
भेला भयो । सबैभन्दा राम्रो चरालाई राजा बनाउने भन्ने
कुरा थियो । यसैले कौवालाई पिर पर्यो । भेला हुने दिन
कौवाले जंगलबाट विभिन्न चराहरूको प्वाँख बटुल्यो र आफ्नो
जिउमा ती प्वाँखहरू सजाएर राम्रो बन्ने प्रयास गर्यो
।
भेलामा सबै खालका चराहरूको प्वाँख बटुलेर सिँगारिएको
अनौठो चरालाई देखेर अरु चराहरू छक्क परे । धेरैले त्यसैलाई
राजा बनाउने बिचार गरे । तर जब कौवाको बोल्ने पालो आयो
तब सबैले उसलाई चिने । उनीहरू कौवामाथि खनिए र कौवाको
जिउमा सिँगारिएका प्वाँखहरू झिकिदिए । कौवा फेरि आफ्नै
रूपमा आयो ।
१४२ ज्योतिषी
ज्योतिषीले सँधै ग्रहनक्षत्रहरूको बिचार गर्नुपर्थ्यो
। यसैले ऊ जहिले पनि आकाशतिर हेरेर हिँड्थ्यो । एक दिन
ऊ आकाशतिर हेर्दै हिँडदैथियो । बाटोमा खाल्टो रहेछ ।
ज्योतिषीले खाल्टो देखेन र त्यसैमा जाक्कियो । उसको
जिउमा ठाउँठाउँमा घाउ भयो । उसले खाल्टो भित्रबाट चिच्याउँदै
गुहार माग्यो । नजिकै एक जना बूढो किसान बस्थ्यो । किसानले
ज्योतिषीले गुहार मागेको सुन्यो र खाल्टोछेऊ आएर हेर्यो
। उसले आफूले चिनको ज्योतिषी खाल्टोमा खसेको देख्यो
र मेहनत गरेर बाहिर झिक्यो ।
केही बेरमा ज्यातिषी होशमा आयो । अनि किसानले उसलाई
भन्यो, "आकाशका ग्रहनक्षत्रको कुरा थाहा पाउने
ज्योतिषी बाजे ! तपाइँले पृथ्वीको बिचारै गर्नु भएनछ
। अनि त खाल्टोमा जाक्किनु भयो । माथिको कुरा मात्रै
जानेर के गर्ने ?"
१४३ पाठोको बुद्धि
भेँडाको एउटा पाठो बथानबाट छुट्टिएर बनमा अल्मलियो ।
अचानक उसले परबाट ब्वाँसोलाई आफूतिर आइरहेको देख्यो
। उसले ब्वाँसोबाट जोगिने उपाय सोच्न थाल्यो । उसले
कत्ति पनि नआत्तिइकन ब्वाँसोलाई भन्यो, "ब्वाँसो
महाशय, तपाईँ अरुभन्दा फरक हुनुहुन्छ भन्ने मलाई लाग्छ
। हुन त अब म तपाइँको आहार बन्नुपर्छ भन्ने कुरामा शंका
छैन । तर मैले तपाइँसँग एउटा कुराको आशा राख्छु । म
मर्नुभन्दा पहिले मेरो घाँटीमा झुण्डिएको घण्टीको स्वर
सुन्न चाहन्छु । कृपया यति कष्ट गर्नुहोला ।"
पाठोको कुरा सुनेर ब्वाँसो मख्ख पर्यो । उसले पाठोको
घाँटीको घण्टी सकेसम्म जोडले बजाउन थाल्यो । हराएको
पाठोको घाँटीको घण्टी सुन्ने बित्तिकै भेडा बथानका रक्षक
सिकारी कुकुरहरू त्यहाँ आइपुगे । बिचरा ब्वाँसो घण्टी
बजाउन तम्सेकोमा पछुताउँदै कुलेलम ठोक्यो ।
माथि
भाग १ भाग
२ भाग ३
भाग ४ भाग
५ भाग ६
मूल पृष्ठमा जाउँ |