इसपका नीतिकथा
तेस्रो भाग
५१
बाबु छोरा र गधा
एक पल्ट बाबु छोरा आफ्नो गधालाई डोर्याउँदै बजारतिर जाँदै
थिए । गधालाई रित्तै हिँडालेको देखेर एक जना बटुवाले भन्यो,
"गधामाथि चढ्ने पो हो । रित्तै हिडाल्ने हो - कस्ता मूर्खहरू
रहेछन् !"
बटुवाको कुरा सुनेर बाबुले छोरालाई गधामाथि चढायो र
आफू गधालाई डोर्याउँदै हिँड्न थाल्यो । एक छिन हिँडेपछि
उनीहरूको भेट एक हुल मानिसहरूसँग भयो । ती मानिसहरूमध्ये
एक जनाले भन्न थाल्यो, "हेर त कस्तो अल्छी केटा
रहेछ । बाबुलाई हिँडालेर आफू गधामाथि चढिरहेको छ । कस्तो
लाज सरम नभएको केटो रहेछ !"
अनि बाबुले छोरालाई ओरालेर आफू गधामाथि चढ्यो । तर धेरै
पर नपुग्दै दुइटी महिलाहरू भेट भए । बाबु, छोरा र गधालाई
देखेपछि एउटी महिलाले अर्कीसँग भनी, "बिचरो सानो
बालकलाई हिँडालेर आफू गधामाथि चढिरहेको कस्तो अल्छी
र माया नभएको मानिस होला ? लाज पनि नभएको !"
अब के गर्ने भनेर बाबु छोरा अलमल्ल परे । बाबुले छोरालाई
पनि गधामाथि चढायो र दुबै जना गधामाथि चढेर बजारतिर
लागे । अब बजार आउन लागेको थियो । बटुवाहरूको संख्या
बढ्दै थियो । एउटा गधामाथि दर्ुइ जना मानिस चढेको देखेर
एक जना बटुवाले जिस्क्याउँदै भन्न थाल्यो, "दुईदुई
जना ढाडेहरू चढेर बिचरा गधालाई कुचुप्पै भारी बोकाउन
लाज लाग्दैन तिमीहरूलाई ?"
यो कुरा सुनेर बाबु छोरा गधाबाट ओर्ले र अब के गर्ने
होला भनेर सोच्न थाले । धेरै बेर बिचार गरेपछि उनीहरू
एउटा निधोमा पुगे । उनीहरूले बाटाको छेऊमा भएको रुखको
सुरिलो हाँगा काटेर ल्याए । गधालाई पल्टाएर त्यसका दुईदुई
वटा खुट्टा बाँधे । बाँधेका खुट्टामुन्तिर रुखको हाँगा
छिराए । अनि हाँगाको दुई छेउमा बाबु र छोराले गधालाई
बोकेर बजारतिर लागे ।
बाबु छोराले गधालाई बोकेको देखेर बटुवाहरू खुबै जोरले
हाँस्न थाले । त्यत्तिकैमा बजार नजिकैको साँघु आइपुग्यो
। साँघुमाथि हिँडिरहेको बेलामा गधा चल्यो र छोरातिरको
हाँगा उसको काँधबाट फुस्क्यो । बिचरा गधा साँघुमुन्तिर
खोलामा खस्यो । चार वटै खुट्टा बाँधिएका हुनाले गधा
उभिन सकेन । ऊ पानीमा डुब्यो ।
बाबु छोरा र गधाको तमासा हेर्दै पछिपछि हिँडिरहेको
एक जना बूढो मानिसले भन्यो, "सबै जनालाई खुशी पार्न
खोज्दा कसैलाई पनि खुशी पार्न सकिन्न भन्ने कुरा अब
त बुझ्यौ होला !"
५२ दूध बेच्ने महिला र
दूधको ठेकी
एउटी महिला सँधैझैँ ठेकीमा दूध बोकेर बजारतिर गइरहेकी
थिइन् । दूधको ठेकी उनले टाउकोमाथि बोक्ने गर्थिन् ।
हिँडदाहिँडदै उनले दूध बेचेर कति पैसा आउला र त्यसबाट
केके किनुँला भन्ने हिसाब गर्न थालिन् । "दूध बेचेको
पैसाले कुखुराको चल्ला किन्नु पर्ला । चल्ला हुर्केपछि
दिनदिनै फुल पार्ने छन् । दिनदिनै फुल बेचेर धेरै पैसा
पार्ने छु । त्यो पैसाले नयाँ लुगा र गहना किन्ने छु
। अनि नयाँ लुगा र गहना लाएर हाट बजार जाने छु । मसँग
हाट भर्न आएका केटाहरू जिस्किन आउने छन् । उनीहरूले
हलुवाइको पसलमा मिठाई खान जाउँ भन्ने छन् । मैले टाउको
हल्लाएर 'नाइँ' भन्ने छु ... " यस्तो विचार गर्दै
उनले साँच्चिकै टाउको हल्लाइन् ।
टाउको हल्लिएपछि उनले टाउकोमाथि बोकेको दूधको ठेकी
भुइँमा खस्यो । दूध भुइँभरि पोखियो । उनी रित्तो हात
घर फर्किन् । दूध कसरी पोखियो भनेर आमालाई भनिन् ।
छोरीको कुरा सुनेर आमाले भनिन्, "फुल नकोरल्दै
चल्ला गन्ने कस्ती तिमी !"
५३ कंजुसको गाडेको धन
एक जना कंजुसले आफूले कमाएको सुन बगैँचाको रुखको जरामा
गाडेर राखेको थियो । ऊ सातामा एकदुई पल्ट बगैँचामा जान्थ्यो
। रुखको जरामा खन्थ्यो र आफूले लुकाएको सुन हेरेर मख्ख
पर्थ्यो ।
एउटा चोरले यो कुरा चाल पायो । एक रात उसले त्यहाँबाट
सबै सुन चोरेर लग्यो । आफूले लुकाएको सुन चोरिएको देखेपछि
त्यो कंजुस डाँको छाडेर रुन र हल्ला गर्न थाल्यो ।
कंजुसको बिजोग देखेर छिमेकीहरू आए । उनीहरूले कंजुससँग
सोधे, "तिमीले यो सुन के कामको लागि जम्म गरेका
थियौ ? यसबाट तिमीले झिकेर कहिल्यै कुनै काम चलायौ ?"
"अ हँ । मैले यो सुन खर्च गर्नको लागि जम्म गरेका
कहाँ हो र ! यहाँ आएर सुन हर्ेदा मलाई कति आनन्द आउँथ्यो
। अब के हेरेर चित्त बुझाउने ?"
"त्यो सुन कुनै कामको लागि संगालेर राखेका रहेनछौ
भने केको पिर मान्छौ त ? सुनको सट्टा यही सुन गाडेको
खाल्टो हेरर चित्त बुझाए त भइहाल्यो नि !"
माथि
५४ धाईआमा र ब्वाँसो
"चुप लागेर सुत है । फेरि रोयौ भने मैले तिमीलाई
ब्वाँसोलाई दिएर पठाउँछु ।" धाईआमाले काखको बालकलाई
थुम्थुमाउँदै भनिन् ।
संयोगले एउटा ब्वाँसो त्यताबाट जाँदै थियो । उसले धाईआमाको
कुरा सुन्यो । उसलाई बालक पाउने आश लाग्यो । ऊ लुसुक्क
घरको छिँडीमा गएर लुक्यो र कहिले बालक रोला भनेर पर्खेर
बस्यो । उसले मनमनै भन्यो, "आज मेरो भाग्य चम्केजस्तो
छ । पक्कै पनि त्यो बालक रुने नै छ । अनित पेटभरि मासु
खान पाइहाल्ने छु । धेरै दिन भयो मासु खान नपाएको !"
ब्वाँसोले धेरै बेर कुर्यो । निक्कै बेर पछि आखिरमा
बालक फेरि रोयो । ब्वाँसो घरको छिँडीबाट निस्क्यो र
धाईआमाले देख्ने गरी झयालको अगाडि उभिएर पुच्छर हल्लाउन
थाल्यो ।
ब्वाँसोलाई देखेर धाईआमाले हत्तपत्त झयाल थुनिन र घरमा
पालेका कुकुरहरूलाई डाकिन् । कुकुर भुकेको सुन्ने बित्तिकै
ब्वाँसो पुच्छर लुकाएर भाग्यो । भाग्दाभाग्दै उसले मनमनै
भन्यो, "शत्रुको बचन त तोड्नका लागि मात्रै हुने
रहेछ !"
५५ बूढो मानिस र मृत्युको
देवता
कडा मेहनत र उमेरले गर्दा एक दाउरे निक्कै कुप्रो परेर
हिँडथ्यो । एक दिन ऊ बनमा दाउरा बटुल्दै थियो । ऊ साह्रै
थाक्यो । ऊ यति निराश भयो कि उसले दाउराको भारी भुइँमा
फाल्यो र मृत्युको देवतालाई पुकार्न थाल्यो, "अब
म बाँच्न सक्दिन । हे मृत्यु देव, मलाई लैजाऊ ।"
संयोगले मृत्युको देवता नजिकै रहेछ । उसले दाउरेको
अगाडि प्रकट भएर भन्यो, "तिमीले बोलाएकोले म आएँ
। मन मलाई किन बोलायौ ?"
मृत्युको देवतालाई अगाडि देखेर दाउरेले भन्यो, "हे
देव, दया गरेर यो दाउराको भारी उचाल्न मलाई मदत गर्नुहोस्
।"
आखिरमा मर्न को चाहन्छर - यसैले कहिले काहीँ इच्छा
पूरा हुँदा दुःख पनि हुनसक्छ ।
५६ मजुर र पार्वती
मयुर नाच्न जानेकै थियो । उसलाई गाउन पनि मन लाग्यो
। उसले पार्वतीसँग मिठो स्वरको वरदान माग्यो । तर पार्वतीले
उसको कुरा मानिनन् । उसले 'म हजुरको मन पर्ने चरा हुँ
यसैले मेरो स्वर मिठो बनाइदिनु होस्' भनेर जिद्दी गर्न
थाल्यो । अनि पार्वतीले रिसाउँदै भनिन्, "सबै जना
एकएक वटा गुणले सन्तुष्ट हुनर्ुपर्छ । कोही पनि सबै
कुरामा पहिला हुनसक्तैन ।"
५७ गोठालो केटो
एउटा गोठालो केटो थियो । उसले आफ्ना भेँडाहरू जंगलको
नजिकै पहाडको फेदीमा चराउँथ्यो । दिनभरि ऊ प्रायः एक्लै
हुन्थ्यो । यसैले उसले अलि रमाइलो गर्ने र साथी बटुल्ने
योजना बनायो । उसले गाउँतिर फर्केर ठूलो स्वरले "ब्वाँसो
आयो, .... ब्वाँसो आयो ..." भनेर चिच्याउन थाल्यो
।
गोठालो कराएको सुनेर उसका भेँडालाई ब्वाँसोबाट जोगाउनका
लागि गाउँले हरू हस्याङफस्याङ गर्दै आए । एक छिन ब्वाँसोलाई
खोजेर नभेट्टाएपछि उनीहरू फर्केर गए । यसो गर्दा गोठालो
केटोलाई रमाइलो लाग्यो ।
गोठालो केटोले केही दिनपछि फेरि त्यही खेल खेल्यो ।
उसले फेरि गाउँतिर फर्केर "ब्वाँसो आयो, .... ब्वाँसो
आयो ..." भनेर चिच्यायो । यस पटक पनि गाउँलेहरूले
ब्वाँसो देखेनन् । गोठालो केटो हाँसेर रमाएको उनीहरूले
देखे ।
केही दिनपछि साँच्चिकै ब्वाँसो आयो र भेँडाहरूलाई मार्न
थाल्यो । गोठालो केटोले न्वारानदेखिको बल निकालेर "ब्वाँसो
आयो, .... ब्वाँसो आयो ..." भनेर चिच्यायो । तर
उसलाई मदत गर्न कोही पनि आएन । यस पल्ट पनि केटोले ढाँटेको
होला भनेर गाउँलेहरूले ठाने । ब्वाँसोले पेट भर्न चाहिने
भन्दा धेरै भेँडा मार्यो ।
भरे गोठालो केटोले गाउँलेहरूसँग आफ्नो दुखेसो पोख्दा
एक जना पाका गाउँलेले भने, "ढँटुवाले साँचो बोले
पनि कसैले पत्याउन्न बुझयौ ?"
माथि
५८ गौँथली र चराहरू
एक जना किसानले खेतमा गाँजोको बिऊ रोप्दै थियो । खेतमा
एउटा गौँथली र अरु केही चराहर खेल्दै चारो टिपिरहेका
थिए । गौँथलीले किसानतिर देखाउँदै भन्यो, "त्यो
मानिससँग होसियार होऊ है ।"
"किन ? के गर्छ र उसले ?" चराहरूले सोधे
।
"उसले गाँजाको बिऊ रोप्दैछ । उसले रोपेका सबै बिउ
टिप, नत्र पछुताउनु पर्ला ।" गौँथलीले भनी । तर
उसको कुरामा कसैले ध्यान दिएनन् ।
केही समयपछि गाँजाको बोट छिप्पियो । किसानले गाँजाको
बोटबाट धागो बनायो । धागोबाट उसले जाल बुन्यो । अनि
उसले खेतमा जाल थाप्यो । जालमा धेरै चराहरू परे । त्यसमा
ती चराहरू पनि जसले गौँथलीको कुरामा ध्यान दिएका थिएनन्
।
यो देखेर गौँथलीले भनी, "मैले त भनेकै थिएँ नि
। विनाशको बोट बिउमै मार्नु पर्छ । त्यो बिउ उम्रेपछि
सबैलाई सखाप पार्छ ।"
५९ कछुवा र चराहरू
एउटा कछुवाले बसाइ सर्ने बिचार गर्यो । उसलाई हिँडेर
अर्को पोखरीमा जान अल्छी लाग्यो । उसलाई बोकेर अर्को
पोखरीमा पुर्याइदिन उसले एउटा चिललाई अनुरोध गर्यो
। यसबापत उसले चिललाई थुप्रै इनाम दिने वचन दियो ।
चिलले उसको कुरा मंजुर गर्यो । उसले कछुवालाई आफ्ना
पंजाले अंठ्यायो र आकाशमा निक्कै माथि उड्यो । बाटोमा
एउटा कौवा भेट भयो । कौवाले चिलसँग भन्यो, "कछुवाको
मासु साह्रै स्वदिलो हुन्छ, तिमीलाई थाहा छ ?"
"तर त्यसको खबटा निक्कै साह्रो हुन्छ । फुटाल्नै
सकिन्न ।" चिलले कौवालाई जवाफ दियो ।
"खबटा त ढुंगामा ठोक्कियो भने फुटिहल्छ नि ।"
कौवाले भन्यो ।
चिलले कौवाको संकेत बुझ्यो । उसले कछुवालाई धारिलो
र साह्रो ढुंगामाथि खसाल्यो । अनि चिल र कौवा मिलेर
पेटपरि कछुवाको मासु खाए ।
यसैले भनिन्छ शत्रुको आड लिएर माथि उड्नु हुँदैन ।
६० सहरिया मुसा र
गाउँले मुसा
एउटा मुसा सहरमा बस्थ्यो । उसको साथी गाउँमा बस्थ्यो
। एक पल्ट सहरमा बस्ने मुसा गाउँको मुसाकहाँ गयो । गाउँको
मुसाले सहरको साथीलाई निक्कै माया गर्यो । उसले साथीलाई
खुशी पार्न सबै प्रयास गर्यो । उसले साथीलाई गाउँमा
पाइने सिद्रा, कुराउनी, भटमास, मकै, गहुँ, चामल, कोदोको
रोटी आदि विभिन्न परिकार ख्वायो । तर सहरको मुसालाई
यस्ता खाने कुरा चित्त बुझेन । उसले भन्यो, "मिज्जु,
यस्तो खाने कुरा खाएर कसरी बाँच्छै तिमी ? तर गाउँमा
योभन्दा मिठो कुरा के पो पाइन्छ होला र ! सहरमा जाउँ
। अनि बाच्नका लागि कस्ता कुरा खानुपर्छ भनेर हेरौला
। सहरमा एक साता बस्यौ भने बल्ल तिमीले बुझने छौ । अनि
यस्तो गाउँमा कसरी बाँचेँ हुँला भनेर आफै छक्क पर्ने
छौ ।"
उसको कुरा सुनेर गाउँको मुसा साथीसँगै सहरमा गयो ।
साँझ अबेला उनीहरू सहरिया मुसाको डेरामा पुगे । डेरामा
पुगेपछि सहरिया मुसाले साथीलाई "धेरै हिँडेकोले
भोक लागेको होला" भन्दै खाना खाने कोठामा लग्यो
।
त्यो घरमा मानिसहरूले भर्खरै भोज खाएर सिध्याएका रहेछन्
। टेबुलभरि थाल र प्लेटमा मिठामिठा खानेकुरा बाकी थिए
। ती दुई साथीले ती बाकी रहेका जाम, जेली, केक, फलफूल,
चीज, रोटी, मख्खन आदि मिठामिठा कुराहरू फटाफट खान थाले
। त्यसै बेला अचानक उनीहरूले कोठाबाहिर कोही भुकेको
र कराएको सुने । गाउँको मुसा डरायो । उसले साध्यो, "के
को स्वर हो यो ?"
"केही होइन । घरमा पालेका कुकुरहरू कराएको हो
।" सहरिया मुसाले जवाफ दियो ।
"कुकुर कराएको रे ! मलाई त यो स्वर कत्ति पनि मन
परेन ।" गाउँको मुसाले भन्यो । यति भन्दाभन्दै
भान्सा कोठाको ढोका खुल्यो र दुइटा डरलाग्दा कुकुरहरू
भित्र पसे । तिनीहरूलाई देख्ने बित्तिकै मुसाहरूको सातोपुत्लो
उड्यो । उनीहरू टेबुलबाट उफ्रेर भित्ताको प्वालमा पसे
र ज्यान जोगाए ।
त्यसपछि गाउँको मुसाले सहरको मुसासँग विदा माग्यो ।
"यति चाँडै जार्ने ? केही दिन बस्दैनौ ?"
सहरको मुसाले भन्यो ।
"जानु नै बेस लाग्यो । ज्यानको बाजी राखेर केक
र चिज खानुभन्दा सुखसँग सद्रा र मकै खानु बेस ।"
माथि
६१ रुख र घाँस
एउटा अग्लो रुखको फेँद वरपर घाँसहरू उम्रेका थिए । एक
पल्ट रुखले घाँसलाई हेपेर भन्यो, "किन तिमीले पनि
भुइँमा भित्रसम्म जारा गाडदैनौ ? किन मजस्तै अग्लो भएर
छाती फर्काएर आकाशलाई हेर्दैनौ ?"
"मे मेरै भाग्यमा खुशी छु । म त्यति ठूलो नभए
पनि सुरक्षित र सुखी नै छु ।" घाँसले जवाफ दियो
।
"सुरक्षित छु रे !" घाँसको कुरा सुनेर रुख
हाँस्यो । उसले भन्यो, "मलाई कसले उखेल्न सक्छ
? कसले मेरा होगा नुगाएर भुइँमा छुवाउन सक्छ ? कोही
छ ?"
तर धेरै दिन नबित्दै ठूलो हुरी चल्यो । हुरीमा त्यो
रुख जरैबाट उखेलियो र भुइँमा पल्ट्यो । त्यसको वरिपरि
उम्रेका घाँसहरू भने हुरी चलेको बेलामा नुगेर भुँइमा
लम्पसार परे अनि हुरी थामिएपछि पहिले जस्तो सिधा उभिएर
नाच्न थाले । यसैले भनिन्छः अन्जान, अपरिचित र सानो
भएर बस्दा प्रायः सुरक्षित भइन्छ ।
६२ बिगुलेको गिरफ्तारी
लडाइँमा बिगुल बजाएर सिपाहीहरूलाई हौस्याउने एउटा बिगुले
हिम्मत गरेर लडाइको मैदानमा अगाडिपट्ट गयो । शत्रुको
सेनाले उसलाई गिरफ्तार गर्यो र उसलाई मार्ने निधो गर्यो
। बिगुलेले जीवन दान माग्दै बिन्ती गर्यो । उसले भन्यो,
"म सिपाही होइन । म लडाइ लडदिन । मसँग हतियार पनि
छैन । मेरो काम त बिगुल बजाउने मात्रै हो । किगुल बजाएर
तपाईँहरूको केही नोक्सान पनि हुँदैन । यसैले मलाई नमार्नुहोस्
।"
"हो, तिमी आफै लड्दैनौ । तर तिमीले अरुलाई लड्न
जोस्याउँछौ र उनीहरूलाई बाटो पनि देखाउँछौ । हतियारले
लडनेभन्दा तिमी खतरनाक छौ ।" शत्रुहरूले भने ।
६३ दुइटा गँगटा
घमाइलो दिन थियो । दुइटा गँगटा दुलोबाट निस्के र बालुवामाथि
हिँडनडुल्न थाले । बच्चो गँगटो छडके हिँडेको देखेर आमा
चाहिँले छोरालाई भनी, "हेर छोरा, तेरो हिँडाइ मिलेन
। यस्तो नराम्रो चालले हिँडनु हुँदैन । सोझो हिँडनु
पर्छ । बाँगोटिँगो हिँडदा अरुले के भन्लान ?"
"हुन्छ आमा, तपाइँले भन्नु भएजस्तै गरी म हिँडछु
। मलाई सिकाइ दिनुस् न । कसरी हिँडनु पर्छ आफै हिँडेर
देखाइदिनुस न आमा !" सानो गँगटोले भन्यो । मुखले
सिकाउनुभन्दा गरेर देखाउनु बेस हो ।
६४ दुई जना साथी र भालु
दुई जना साथीहरू जंगलको बाटो यात्रा गरिरहका थिए । उनीहरूमाथि
एउटा भालुले आक्रमण गर्यो । भालुबाट जोगिन एक जना साथी
रुखमाथि चढ्यो । उसले आफ्नो साथीलाई जोगाउने प्रयास
गरेन ।
अर्को साथी भुइँमा पल्टेर घोप्टो पर्यो र सास रोकेर
लासजस्तो भएर पल्टिरहृयो । भालु आएर उसको टाउको र कानको
वरिपरि सुँघ्यो । उसले त्यसलाई लास ठानेर केही नगरी
आफ्नो बाटो लाग्यो । किन भने भालुले मरेको मानिसलाई
केही पनि गर्दैन भन्ने विश्वास गरिन्छ ।
भालु गइसेकेपछि रुखमा चढेको साथी तल ओर्ल्यो र सरासर
भुइँमा पल्टेको साथीकहाँ गयो । उसले साथीसँग सोध्यो,
"भालुले तिम्रो कानमा सुटुक्क के कुरा भन्यो हँ
?"
साथीले जवाफ दियो, "भालुले मलाई आपत परेको बेलामा
भाग्ने साथीको विश्वास नगर्नु भन्यो ।"
६५ दुइटा भाँडा
नदीको किनारैमा दुइटा भाँडा छाडिएका थिए । एउटा भाँडा
पित्तलको थियो भने अर्को माटाको । केही बेरपछि नदीमा
छाल आयो र दुइटै भाँडा पानीमा तैरिन थाले । पानीमा तैरिँदातैरिँदै
ती भाँडाहरू एकअर्काको नजिक आउन थाले । तर माटोको भाँडो
पित्तलको भाँडोभन्दा परपर बस्न दोज्यो । माटाको भाँडो
आफूदेखि पर जान खोजेको देखेर पित्तलको भाँडोले भन्यो,
"मिज्जु, मसँग डराउनु पदैन । मैले तिमीलाई केही
गर्दिन ।"
उसको कुरा सुनेर माटोको भाँडोले भन्यो, "तर म
तिम्रो नजिक हुन सक्छु । हामी धेरै नजिक भयौँ भने मैले
ठोके पनि तिमीले ठोके पनि नोक्सान त मेरै हुन्छ । बलियो
र कमजोर साथी हुन गाह्रो छ ।"
६६ बतास र घाम
बतास र घामबीच को बलियो भन्ने कुरामा हानथाप भयो । अचानक
उनीहरूले एक जना बटुवालाई देखे । घामले भन्यो, "हामीमध्ये
को ठूलो भन्ने कुरा निधो गर्ने एउटा उपाय गरौँ । जसले
त्यो बटुवालाई उसले लाएको कोट फुकाल्न लगाउन सक्छ उसैलाई
बलियो मानौँ । लौ पहिले तिम्रो पालो ।"
त्यसपछि घाम बादलभित्र लुक्यो । अनि बतास सकेसम्म जोरले
चल्न थाल्यो । बतास जति जोडले चल्थ्यो बटुवाले आफ्नो
कोट सकेसम्म च्याप्थ्यो । जत्ति कोसिस गरे पनि बतासले
बटुवाको कोट फुकाल्न सकेन । हैरान भएर बतासले हार मान्यो
।
त्यसपछि घामको पालो आयो । घाम सकेसम्म न्यानो भएर चम्कन
थाल्यो । न्यानो भएपछि बटुवालाई गर्मी भयो र उसले कोट
फुकाल्यो । यसैले भनिन्छ जबर्जस्ती गरेर भन्दा मायाले
मानिसलाई हात लिन सकिन्छ ।
माथि
६७ ब्वाँसो र सारस
एक पल्ट एउटा ब्वाँसोले आफूले मारेको जानवरको मासु आत्तिँदै
खाइरहेको थियो । अचानक उसको घाँटीमा हाड अड्क्यो । उसले
केही पनि खान र निल्न सकेन । घाँटी दुखेर ऊ रुन कराउन
थाल्यो । यताउता दगुर्दै कसरी दुखेको निको हुने उपाय
खोज्न थाल्यो । उसले बाटोमा भेटिएका सबैलाई घाँटीको
हाड निकालि दिन आग्रह गर्न थाल्यो । "मेरो घाँटीको
हाड जसले निकालिदिन्छ उसलाई जे माग्यो त्यही दिन्छु
" भन्न थाल्यो ।
आखिरमा एउटा सारस उसको घाँटीको हाड निकाल्न राजी भयो
। उसले ब्वाँसोलाई उत्तानो परेर पल्टन र मुख सकेसम्म
धेरै बाउन लगायो । अनि सारलेले आफ्नो तीखो ठोँड उसको
घाँटीमा घुसारेर घाँटीमा अडकेको हाड झिकिदियो ।
त्यसपछि सारसले ब्वाँसोसँग उसले बचन दिएअनुसार इनाम
माग्यो । सारसको माग सुनेर ब्वाँसोले दाँत किट्दै भन्यो,
"ब्वाँसोको मुखभित्र घुसारेका तिम्रो टाउको सुरक्षित
रूपमा बाहिर निकाल्न पायौ । यो नै ठूलो इनाम हो । यसैमा
तिमीले सन्तोष गर ।"
लोभ र कृतज्ञता एकै जनामा हुन गाह्रै छ ।
६८ ब्वाँसो र भेँडाको पाठो
एक पल्ट एउटा ब्वाँसोले पहाडको छेऊमा बगेको खहरेको पानी
खान लागेको थियो । उसले खहरेको तलतिर भेँडाको एउटा पाठोले
पानी खान लागेको देख्यो ।
"आहा ! बल्ल मासु खान पाउने भएँ । कुनै बहानाले
त्यसलाई मार्न पाए त बेस हुन्थ्यो ।" यस्तो बिचार
गरेर उसले भेँडाको पाठोलाई आफूछेऊ बोलायो । पाठो नजिक
आएपछि उसले पाठोलाई हकार्यो, "मैले खाने पानी
किन तैँले फोहोर पार्छस् हँ ?"
"हजुरले खहरेको माथितिर बसेर पानी खानु हुन्छ
। म त खहरेको तलतिर बसेर पानी खान्छु । हजुरले खाने
पानी मैले गर्दा कसरी फोहोर हुन्छ र ?" पाठोले
बडो विनम्र भएर भन्यो ।
"त्यसो भए ठिकै छ । तर पोहोर मलाई गाली गर्ने
बदमास तँ नै होइनस् ?" ब्वाँसोले अर्को निहुँ खोज्यो
।
"म जन्मेको बल्ल छ महिना भयो । कसरी मैले पोहोर
हजुरलाई गाली गर्न सक्छु र ?" पाठोले जवाफ दियो
।
"तँ कहिले जन्मिस् भन्ने मलाई के मतलब ! तैँले
गाली नगरेको भए तेरा बाउले गाली गरेको होला ।"
यति भन्दै ब्वाँसो पाठोमाथि झम्ट्यो र बिचरा पाठोलाई
टुक्राटुक्रा पारेर खायो ।
मर्ने बेलामा पाठोले भन्यो, "दुष्टलाई केही बहाना
चाहिँदैन ।"
६९ भेँडाको छाला ओढ्ने
ब्वाँसो
गोठाला र उसका कुकुरहरूको होशियारीले गर्दा भेँडाको
बथान नजिक भएर पनि ब्वाँसोले एउटा भेँडा पनि खान पाएको
थिएन । एक दिन ब्वाँसोले भेँडाको सुकाउन राखेको छाला
भेट्टायो । उसले आफ्नो वरिपरि भेँडाको छाला बेर्यो
र भेँडाको बथानभित्र पस्यो । जुन भेँडाको छाला उसले
ओढेको थियो त्यसको पाठोले उसलाई आमा ठानेर पछ्यायो ।
अनि ब्वाँसोले त्यस पाठोलाई जंगलको छेउमा लगेर खायो
। यसरी त्यो ब्वाँसोले अरु पनि भेँडाका पाठालाई झुक्याउँदै
खाएर पेट भर्यो । यसरी देखेको कुराले झुक्याउँछ भनेको
साँच्चै रहेछ ।
७० दाउरे र र्सप
जाडोको दिन थियो । हिउँ परिरहको थियो । एक जना दाउरे
बनबाट दाउराको भारी लिएर र्फकँदा बाटोमा जाडोले कक्रिएर
पल्टेको र्सप देख्यो । त्यो र्सप मरेजस्तो थियो । उसले
सर्पलाई बचाउन सकिन्छ कि भनेर उचालेर छातीमा राख्यो
र घरतिर लाग्यो ।
घरमा लगेर उसले सर्पलाई अगेनाको नजिकै राख्यो । दाउरेका
छोराछोरीहरूले आगो ताप्दै सर्पलाई हेरिरहेका थिए । अगेनाको
तातो पाएर सर्प बिस्तारै होसमा आयो । ऊ चल्मलाउन थाल्यो
। सर्प बाँचेको देखेर एउटा केटोले उसलाई जिस्क्याउन
खोज्यो । तर सर्पले अचानक टाउको उचालेर केटोलाई टोक्न
खोज्यो । त्यो देखेर दाउरेले बँचारोले सर्पलाई दई टुक्रा
पारिदियो । उसले भन्यो, "दुष्टको भलो गर्दा झन
आपत आइलाग्ने रहेछ ।"
७१ चोर र उसकी आमा
एउटा भर्खरको ठिटो चोरीको अपराधमा पक्रियो । उसलाई मृत्यु
दण्ड दिनभन्दा पहिले उसले आफ्नी आमासँग भेटने इच्छा
व्यक्त गर्यो । उसको इच्छा पूरा गर्ने व्यवस्था गरियो
।
उसकी आमा आएपछि उसले भन्यो, "मैले तपाइँको कानमा
केही कुरा भन्न चाहन्छु ।"
छोराको कुरा सुन्न आमाले आफ्नो कान छोराको मुखैनेर
लगिन् । छोराले आमाको कान यति साह्रै टोक्यो कि उसको
कान झण्डै चुँडिएन ! पीडाले आमा बेस्सरी चिच्याइन् ।
"के गरेका यस्तो ?" वरिपरिका मानिसहरू अचम्म
मान्दै कराए । "जन्म दिने आफ्नी आमालाई पनि कसैले
यस्तो जंगली व्यवहार गर्छ ?"
छोराले भन्यो, "उनलाई सजाय दिन मैले यसो गरेको
हुँ । म सानो छँदा मैले सानातिना कुरा चोरेर घरमा ल्याउँदा
आमाले स्याबासी दिन्थिन् । बरु दंग पर्दै भन्थिन्, 'यस्तो
सानो कुराको कसले वास्ता गर्छ र !' उनले यसो नभनेको
भए, अनि मलाई चोर्न प्रेरित नगरेको भए म चोर बन्ने थिइन
। न त यो सजाय नै पाउने थिएँ ।"
उसको कुरा सुनेर एक जना पाको मानिसले भन्यो, "केटाकेटीलाई
राम्रो बानी सानैमा सिकाउनु पर्छ । ठूलो भएपछि बानी
फेरिन्न ।"
७२ बनकौवा र रजहाँस
एक पल्ट एउटा कालो चिल्लो जिउ तर धोद्रो स्वर भएको बनकौवालाई
रजहाँस जस्तै सेतो र सुन्दर हुन मन लाग्यो । उसले रजहाँसहरू
दिनभरि पानभित्र खेलेको र पानीमा ठोँडले प्वाँख रगड्ने
गरेको बनकौवाले हेरिरहन्थ्यो । सेतो र सुन्दर हुनका
लागि पानीमा खुब नुहाउनु पर्छ भन्ने उसलाई लाग्यो ।
बनकौवाले बनमा भएको आफ्नो घर त्याग्यो र रजहाँस बस्ने
पोखरीमा बसाइ सर्यो । अनि उसले दिनभरि पानीमा आफ्नो
प्वाँख धुन थाल्यो । खानपिन पनि छाडेर सुन्दर हुने काममा
ऊ रातदिन लागिरह्यो । तै पनि उसको जिउको रंग फेरिएन
। बरु धेरै दिनसम्म भोकै बस्नाले र दिनरात पानीमा भिज्नाले
ऊ बिरामी भयो र केही दिनपछि मर्यो ।
गाँस, बास फेर्दैमा प्रकृतिले दिएको गुण र स्वभाव कसरी
फेरिन्थ्यो र !
७३ कमिला र फटेंग्रा
कमिलाहरूले जाडोको याम बडो आरामसाथ बिताइरहका थिए ।
उनीहरूसँग गर्मी याममका बटुलेको खानेकुरा पर्याप्त मात्रामा
थियो । दिउँसो उनीहरू अन्न सुकाउँथे । तर फटेंग्रासँग
खाने कुरा कत्ति पनि थिएन । ऊ भोकले मर्नै आँटेको थियो
। कमिलाहरूले आगनमा अन्न सुकाएको देखेर उसले अलिकति
अन्न पैँचो माग्यो । कमिलाहरूले फटेँग्रासँग सोधे, "गर्मी
याममा तिमीले किन खानेकुरा बटुलेर नराखेको ?"
"गर्मी याममा मलाई फुर्सत नै भएन । दिनभरि गाउनमै
समय बित्यो ।" फटेंग्राले जवाफ दियो ।
"गर्मी याम गाएर बितायौ भने जाडो याम नाचेर बिताऊ
। किन माग्दै हिँडनु पर्यो ?" भन्दै कमिलाहरूले
फटेंग्रालाई धपाइ दिए ।
७४ गधा र ब्वाँसो
एउटा गधा बनको नजिकै चरिरहेको थियो । उसले अचानक एउटा
ब्वाँसो ऊतिर आइरहेको देख्यो । ब्वाँसो नजिक आएको देखेर
उसले खुट्टा खोच्याए बहाना गर्यो । गधा खेच्याउँदै
हिँडेको देखर ब्वाँसोले सोध्यो उसलाई खोच्याउनुको कारण
सोध्यो । काँढे झाडीमा घाँस खान जाँदा खुट्टाका काँढा
गडेकोले खोच्याएको भनेर गधाले जवाफ दियो ।
गधाले ब्वाँसोसँग खुट्टामा गडेको काँढा झिकिदिन अनुरोध
गर्दै भन्यो, "तिमीले मलाई मारेर खायौ भने तिम्रो
मुखमा पनि मेरो काँढाले बिझाउन सक्छ । यसैले पहिले नै
काँढा झिकिदियौ भने दुबैलाई बेस हुन्छ ।"
ब्वाँसोलाई गधाको कुरा उचित लाग्यो । ऊ गधाको पछडि
गयो । गधालाई खुट्टा उचालेर काँढा गडेको ठाउँ देखाउन
भन्यो । गधाले पछाडिको खुट्टा उचाल्यो । ब्वाँसोले बडो
ध्यान दिएर काँढा खोज्न थाल्यो । त्यही मौका पारेर गधाले
ब्वाँसोलाई जोडले लात्तीले हिर्कायो । बिचरा ब्वाँसोको
बंगारा भाँच्चियो । बनतिर भाग्दै उसले मनमनै भन्यो,
"पुर्खाले गरेको सिकार खेल्ने काम छाडेर वैद्यको
काम गर्न खोज्दा मेरो यो दुर्गति हुनु स्वाभाविकै हो
।"
७५ मूर्ति बोकेको गधा
मूर्तिकारले बनाएको देवताको मूर्ति मन्दिरमा स्थापना
गर्न लगिँदै थियो । मूर्ति गधाको पिठ्युँमाथि राखिएको
थियो । गधा बजारको बीचबाट जाँदै थियो । मानिसहरूले मूर्तिलाई
देखेर नमस्कार गर्दै टाउको झुकाएर सम्मान गरिरहेका थिए
। तर गधालाई मानिसहरूले आफूलाई नै सम्मान गरेजस्तो लाग्यो
। ऊ घमण्डले यति मात्तियो कि उसलाई भारी बोकेर हिँडनै
मन लागेन । ऊ बाटोमै टक्क अडियो । गधाको मालिकले हप्काएर
उसलाई हिँडाल्न खोज्यो । तर ऊ डेग चलेन । अनित मालिकले
कोर्रा निकालेर गधालाई पिट्दै भन्यो, "मूर्ख गधा
! मानिसले गधाको पूजा गर्दैन भन्ने कुरा पनि तँलाई थाहा
छैन । अरुले पाएको सम्मान पनि आफैले पाएको ठान्ने कस्तो
बुद्धु रैछस् तँ !"
माथि
भाग १ भाग
२ भाग ३ भाग
४ भाग ५
भाग ६
मूल पृष्ठमा जाउँ
|