विनय कुमार
कसजुका कथा
सेते कुमालको खुत्रुके
गानदेवलाई
खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो
। कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर
उचाल्थ्यो । हातमा लिएर ओल्टाई पल्टाई हेर्थ्यो । पैसा छिराउने
प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का
छिराएर पैसा निकाल्ने कोेशिस गर्थ्यो । धेरै बेर मेहनत गर्दा
कहिलेकाहिँ एक दर्ुइ रूपैयाँको ढ्याक खस्थ्यो र ऊ दंग पर्दै
मिर्ठाई पसलतिर दगुर्थ्यो ।
गानदेवको घर तनहुँ जिल्लाको खैरेनी टारमा हो । उसको
बाबु सेते कुमालले मर्स्याङदी खोलामा माछा मार्थ्यो
। गानदेव पनि कहिलेकाहिँ बाबुसँगै खोलामा जान्थ्यो र
बगरमा बसेर माछा बटुलेर फुर्लुङमा राख्न बाबुलाई सघाउँथ्यो
। फुर्लुङभरि माछा भएपछि बाबु छोरा खैरेनी बजारमा जान्थे
र भट्टीमा माछा बेच्थे । माछा बेचेको पैसाले बजारबाट
दाल चामल, नुन तेल किनेर घर फर्कन्थे । सेते कुमालले
आफूले कमाएको पैसामध्ये केही रकम खुत्रुकेमा खसाल्न
कहिल्यै बिर्सन्नथ्यो । खुत्रुक्केमा संगालेको पैसाले
गानदेवलाई पढाएर ठूलो मान्छे बनाउने उसको सपना थियो
।
सेते कुमाल हलो जोत्न निक्कै बलियो र सिपालु पनि थियो
। जस्तोसुकै बदमास गोरु पनि सेतेले जोत्न थालेपछि बिज्याइँ
नगरी खुरुखुरु जोत्थ्यो । अरुले तीन दिनमा सक्ने मेलो
उसले दुई दिनमै सिध्याउँथ्यो । यसैले गाउँमा जसको खेत
बारी जोत्न परे पनि सेतेलाई नै बोलाउँथे । सेतेको जाँड
रक्सी, चुरोट आदि केही अम्मल थिएन । दही र मोही भनेपछि
उसले हुरुक्क गर्थ्यो । दही भयो भने एक माना चामलको
भात खान उसलाई अरु सितन चाहिँदैनथ्यो ।
गानदेव स्कुल जान थालेपछि सेतेले खुत्रुकेमा सकेसम्म
धेरै रुपैयाँ खसाल्न थालेको थियो । कहिलेकाहीँ दशबीस
रुपैयाँको नोट पनि खुत्रुकेमा राख्थ्यो । एक पल्ट खोलामा
दश किलोको सहर माछा समातेको दिन उसले खुत्रुकेमा सय
रुपैयाँको नोट राम्ररी पट्याएर राखेको थियो । उसको बैँक
भने पनि भंडार भने पनि त्यही खुत्रुक्के थियो । खुत्रुकेको
भरिलो आवाज सुन्दा ऊ दंग पर्थ्यो ।
यता खुत्रुकेको अर्कै बिलौना थियो । खुत्रुकेलाई कसैले
पनि सजिलोसँग नेभेटाओस् भनेर सेतेले त्यसलाई कोठाको
भित्तामा माथि टाँडमा राख्ने गर्थ्यो । कोठाको खोपा
र भुइँमा गानदेवका खेलौना र किताब कापी कलम छरिएका हुन्थे
। सेतेले बजारजाँदा भेटाएका र गानदेवले बटुलेका काठको
ढिकी, जाँतो, प्लास्टिकका कुकुर, खरायो, मोटर, चरा,
दम दिँदा उफ्रने भ्यागुता आदि पुराना खेलौनाहरू थिए
। राती एकान्त पाउने बित्तिकै ती खेलौनाहरूले खुत्रुकेलाई
जिस्क्याउँथे ।
राती घरका सबै जना सुतिसकेपछि खेलौनाहरू गफ गर्न थाल्थे
। खोपामा बस्ने प्लास्टिककी सानी नानीको स्वर निक्कै
मिठो थियो । उनले गीत सुनाउँथिन् । खेलौनाहरू सबैजसो
पुराना र खुइलिएका थिए । तर तिनीहरूलाई पुरानो भएकोमा
दुःख थिएन । तिनीहरू आफूलाई धेरै अनुभवी ठान्थे र यो
कुरामा गर्व गर्थे । प्लास्टिकको कुकुरले आफूलाई देखेर
साँच्चैको बिरालो डराएर भागेको घटना सुनाउँदा अरु खेलौनाहरू
पेट मिचीमिची हाँस्थे । ती सबै खेलौनाका आआफ्ना कथा
थिए र उनीहरू आफ्नो अनुभव सुनाउन सँधै तम्सन्थे । उनीहरू
आफूलाई अरुभन्दा बाठो र काम लाग्ने, उपयोगी छु भनेर
साबित गर्न खोज्थे ।
तर खुत्रुकेलाई उनीहरूले आफ्नो गफमा कहिल्यै सामेल
गर्दैनथे । उनीहरू भन्ने गर्थे, "यो अल्छी खुत्रुकेको
केही काम छैन । दिनभरि बसिरहन्छ । रुपैयाँ पैसा खाँदाखाँदा
टुन्न मोटाएको छ । कुन दिन यसको भुँडी फुटछ । तर यो
कसैको काममा आउँदैन । खानमात्रै जानेको छ यसले ।"
खेलौनाहरूको कुरा सुन्दा खुत्रुकेलाई निक्कै पीर पर्थ्यो
। उसलाई पनि केही उपयोगी काम गरेर देखाउँजस्तो लाग्थ्यो
। तर के गर्ने थाहा थिएन । बेलाबेलामा सेते कुमालले
उसलाई हातमा लिएर गानदेवको भविष्य बनाउने कुरा गरेको
सुन्थ्यो । त्यो सुन्दा उसलाई आफू कसैको लागि उपयोगी
रहेछु भन्ने लाग्थ्यो । तर कहिले र कसरी उसको इज्जत
बढछ भन्ने उसलाई थाहा थिएन ।
एक दिन गानदेव स्कुल गएको फेरि कहिल्यै फर्केन । सेतेको
घरमा रुवाबासी चल्यो । खुत्रुके पनि निक्कै रोयो । अब
उसलाई माया गर्ने मानिस पनि बाकी रहेन र उसको उपयोगिता
पनि रहेन भनेर ऊ निक्कै दुःखी भयो । दुर्घटनामा परेर
गानदेवको निधन भएपछि सेते कुमाल धेरै दिनसम्म काममा
गएन । खुत्रुके पनि धेरै दिनसम्म भोकै रह्यो ।
गानदेव नै नभए पछि खुत्रुकेको के काम ? सेतेले खुत्रुकेबाट
पैसा निकालेर जग्गा किन्ने, गानदेवकी आमाको लागि लुगा
गहना किन्ने अनि चाडपर्वमा खर्च गर्ने विचार गर्यो ।
तर गानदेवकी आमाले खुत्रुकेबाट पैसा निकालेर खर्च गर्न
मानिनन् । खुत्रुकेलाई देख्दा उनलाई आफ्नो छोराको सम्झना
हुन्थ्यो । गानदेव नभए पनि उसको सम्झनामा अरुको भलो
हुने काममा पैसा खर्च गर्नुपर्छ भन्ने उनको विचार थियो
। आफूसँग दुईचार रूपैयाँ उब्रँदा उनले खुत्रुकेमै राख्ने
गर्न थालेकी थिइन् ।
गानदेवकी आमाको बिचार सुन्दा खुत्रुके पनि मख्ख परेको
थियो । अब उसले अरु खेलौनाको अगाडि आफूलाई उपयोगी सावित
गर्ने बेला आएको थियो । यसो गर्न सकेको खण्डमा उसले
पनि फूर्तीसँग उनीहरूको अगाडि छाती फुलाएर बातमार्न
सक्ने थियो ।
त्यो अवसर चाँडै नै आयो । दुले गौँडाका गाउँलेहरूले
यज्ञ गरेर धेरै पैसा संगालेर गाउँमै ठूलो अस्पताल बनाइ
छाडे । अस्पताल सुरु हुने दिन गाउँमा चाडजस्तै भयो ।
गाउँलेहरूले फेरि मन फुकाएर अस्पताललाई चन्दा दिए ।
यही मेसोमा सेते कुमालले पनि आफ्नो जीवनभरिको कमाइ गानदेवको
नाममा दान गर्ने निधो गर्यो ।
अस्पतालमा ठूलो समारोहमा चन्दादाताहरूले पालैपालो मंचमा
गएर पैसा बुझाए । धेरै बेर पर्खेपछि सेते कुमालको पालो
आयो । मंचमा गएर सभापतिको अगाडि टेबुलमाथि उसले खुत्रुके
राखिदियो । खुत्रुके खोलेर पैसा गन्दा पचार हजार एकसय
एक रुपैयाँ निस्क्यो । जीवनको आखिरी समयमा आफ्नो पसिना
अस्पतालमा खन्याउन पाएकोमा ७५ वर्ष पुगेको सेते कुमालको
अनुहार खुशीले धपक्क बलेको देखियो ।
भोलिपल्ट छिमेकीले सेते कुमालको दानको खबर अखबारमा
छापिएको कुरा घरमा आएर सुनायो । अखबारमा हलो जोतेको
कमाइ अस्पताललाई भनेर सेतेले गरेको दानको तारिफ छापिएको
रहेछ । छिमेकीले अखबार पढेर सुनाउँदा कोठामा भएका खेलौनाहरूले
पनि यो कुरा सुने । उनीहरूको मनमा खुत्रुकेप्रति निक्कै
सम्मान जाग्यो । खुत्रुकेलाई पनि अखबारको खबर सुनेर
निक्कै खुशी लाग्यो । तर अखबारमा कहीँ पनि उसले यत्तिका
बर्षम्म कसरी त्यति धेरै रकम संभालेर राख्यो भन्ने कुरा
चर्चा नभएको देखेर उसलाई चसक्क दुख्यो ।
राती सबै जना सुतिसकेपछि खेलौनाहरूले खुत्रुकेलाई पनि
आफ्नो गफमा सामेल गरे । उनीहरूले खुत्रुकेको धैर्य र
सहने शक्तिको निक्कै तारिफ गरे । रित्तिएको खुत्रुके
खुशीले हाँस्दा उसको अनुहार अँध्यारोमा पनि चम्कियो
।
भोलिपल्ट विहान गानदेवकी आमाले खुत्रुकेमा दुई रूपैयाँको
ढ्याक खसालिन् र खुत्रुकेलाई टिका र माला लगाइ दिइन्
।
साँचल, सानेपा, ललितपुर
२०६१ जेठ २० गते ।
(मुना मासिक २०६२ असारको अंकमा प्रकाशित)
माथि
मूल पृष्ठमा जाउँ
|