विनय कुमार कसजुका कथा
सागर र ब्याँग
आकाश कालो बादलले ढाकेको थियो । बेलाबेलामा बादल गर्जन्थ्यो
र विजुली पनि चम्कन्थ्यो । पंधेराका भ्यागुताहरू अंध्यारो
ओढार र कुनाकाप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठूलोठूलो
स्वरले बात मारिरहेका थिए । उनीहरू धेरै पानी पर्यो
भने संसार जलले ढाकिन्छ । अनि प्रलय हुन्छ । प्रलयमा
कोही पनि बाँच्दैन भन्ने गफ गरिरहेका थिए । अचानक मुसलधारे
पानी पर्न थाल्यो । पानी सँगै एउटा ठूलो भ्यागुता पंधेरामा
यति जोडले खस्यो कि पानीमा धेरै बेरसम्म छाल उठिरहृयो
। प्रलयको थालनी पो हो कि भनेर सबै भ्यागुताहरू बेतोडले
आआफ्नो ओढारतिर कुलेलम ठोके ।
पँधेराको पानी चल्न छोडेपछि भ्यागुताहरू हिम्मत गरेर
फेरि बाहिर निस्के । उनीहरूले पँधेराको डिलमा एउटा नयाँ
भ्यागुता देखे । पँधेरामा बस्ने भ्यागुताभन्दा त्यो
भ्यागुता बेग्लै थियो । उसको जिऊ निक्कै ठूलो थियो र
रंग पनि फुस्रो थियो । उसका आँखा गाजल लाएकाजस्ता राम्रा
थिए । आफ्नोवरिपरि धेरै भ्यागुताहरूलाई देखेर त्यो जंगी
भ्यागुताले भन्यो, " हेलो ।"
पँधेराका भ्यागुताहरूले कसैले नमस्ते, कसैले जदौ, कसैले
स्वस्ती त कसैले सलाम गरेर पाहुना भ्यागुताको स्वागत
गरे । उनीहरू सबै पाहुना भ्यागुता कहाँबाट आएको, नाम
के हो, के जात र थरको हो, कुन धर्म मान्छ आदि कुरा जान्न
उत्सुक थिए ।
पाहुना भ्यागुताले आफ्नो परिचय दिँदै भन्यो, "मेरो
नाम सागर हो । मेरो घर हिन्द महासागरमा बंगालको खाडी
नजिक छ । समुद्रमा चल्ने आँधीबेरीले मलाई उडाएर बादलमा
पुर्यायो र म बादलसँगसँगै यहाँ आएको हुँ ।"
सागरको कुरा सुनेर सबै जना छक्कै परे । उनीहरूको मनमा
एकै चोटी थुप्रै प्रश्नहरू आए । जस्तै महासागर भनेको
के हो ? त्यहाँ कति पानी हुन्छ ? ऊ कसरी त्यहाँ पुग्यो
? उसले नेपाली भाषा बोल्न कसरी जान्यो ? ऊ कुन जातको
हो ? उसको बिहे भएको छ कि छैन ? इत्यादि ।
उसले सबै सवालहरूको मेलैसँग जवाफ दिने कोशिस गर्यो
।
महासागर कत्रो हुन्छ र त्यहाँ कति पानी हुन्छ भन्ने
कुरा पंधेराका भ्यागुताहरूलाई बुझाउन सागरलाई निक्कै
धौधौ पर्यो । समुद्रमा बस्ने ह्वेल, सार्क माछा, अक्टोपस,
मुगा, शंखे किराजस्ता जीवहरू, भाँतीभाँतीका पानी जहाजहरूको
बारेमा त उसले बुझाउनै सकेन । पंधेराको नजिकै एउटा ठूलो
ढुंगा थियो । भ्यागुताहरू बेलाबेलामा त्यहाँ बसेर घाम
तप्दै गफ गर्थे । सागरले समुद्रमा कुनै कुरा कति ठूलो
हुन्छ भनेर बताउँदा उनीहरूले त्यही ढुंगालाई देखाउँदै
सोध्थे, "के त्यो जीव त्यो ढुंगाजत्रो हुन्छ ?"
सागर कसरी समुद्रमा पुग्यो र कसरी उसले नेपाली कुरा
गर्न जान्यो भन्ने सोधाइको उसले बडो रमाइलो जवाफ दियो
। उसको भनाइ अनुसार उसकी बजै नेपालबाटै गएकी हुन् ।
धेरै वर्षघि नेपालमा धेरै पानी परेर पँधेरा पोखरी र
खोलानालाहरूमा निक्कै पानी भरियो । ठूलो बाढी आयो ।
पँधेरामा बस्ने उसकी बजै पनि बाढीमा बगेर ठूलो नदीमा
पुगिन् । नदीले बजैलाई बंगालको खाडीमा पुर्यायो । महासागरको
एउटा टापुमा बस्ने भ्यागुतासँग उसको बिहे भयो । उनीहरूबाट
हजारौँ सन्तान जन्मे । यसरी सागर उनको नातिको रुपमा
जन्मेको हो ।
"बजैलाई माइती देशको सम्झना आइरहन्थ्यो । उहाँले
नेपालमा पाइने स्वादिला खानेकुरा, किराफटेंग्राहरूको
कुरा हामीलाई सुनाउने गर्नुहुन्थ्यो । अरू कुरा बिर्से
पनि उहाँले नेपाली भाषा बिर्सनु भएन । हामीलाई नेपाली
भाषामा नै शिक्षा दिनुभयो ।"
पँधेराका भ्यागुताहरूले सोधेको उसको जात, थर र धर्मको
कुरा सागरले बुझ्न सकेन । उसले भन्यो, "हामीलाई
बजैले यसबारे केही पनि सिकाउनु भएन । समुद्रमा सबै भ्यागुता
बराबरी हुन्छन् । त्यहाँ कोही ठूलो कोही सानो भन्ने
हुँदैन ।"
सागरको कुरा सुनेर पँधेराका भ्यागुताहरू निक्कै प्रभावित
भए । उनीहरू सबैले सागरलाई आआफ्नोदुलोमा बस्न निम्तो
गरे । तर उसको जातको ठेगान नलागी कसरी उसलाई घरमा राख्ने
? भान्सामा कसरी लैजाने ? भन्ने समस्या उठ्यो ।
सागरले भन्यो, "मलाई बस्ने घर चाहिँदैन । समुद्रमा
सबै खुला हुन्छ । म पनि यही पँधेराको डिलमा कुनै ढुंगाको
कापमा बसुँला । तपाईहरूले चिन्ता लिनु पर्दैन । बरु
म कसरी घर फर्कनसक्छु त्यो उपाय बताइदिनु भयो भने गुन
मान्ने थिएँ ।" तर समुद्रमा पुग्ने बाटो पँधेराका
भ्यागुताहरूमध्ये कसैलाई पनि थाहा थिएन ।
त्यो साल निक्कै राम्रो वर्षा भयो । भ्यागुताहरूको
बिहे गर्ने साइत वर्षामा मात्रै जुर्थ्यो । यसैले उनीहरू
विहेको काममा जुटे । तन्नेरी छोरा भएका भ्यागुतहरूले
राम्री बुहारी खोज्न थाले भने तरुनी छोरीका बाबुआमाहरूले
असल केटो खोज्न लागे । तर पँधेराका धेरै जसो तन्नेरी
तरुनी भ्यागुताहरू बाबुआमाले रोजेको भन्दा आफैले रोजेर
माया पिरती गाँसेर मात्रै बिहे गर्न चाहन्थे ।
पँधेराका धेरैजसो तरुनी भ्यागुताहरूको आँखा सागरमाथि
थियो भने सागरले पनि केही तरुनी भ्यागुताहरूमाथि आँखा
गाडेको थियो । कुनैकुनै आमाबाबु भ्यागुताको पनि सागरलाई
छोरी दिने मन थियो । तर उसको जातको ठेगान नलागेको हुनाले
उनीहरूले मुख खोल्न सकेका थिएनन् ।
एक दिन सागरको भेट पँधेराको मुखिया भ्यागुताकी छोरी
व्यांगसँग भयो । सागरले ब्याँगलाई बेलाबेलामा लुकीलुकी
हेर्ने गर्थ्यो । ब्याँग पनि सागरलाई रुचाउँथी । सागरले
उनीसँग बिहेको प्रस्ताव राख्यो । ब्याँगले भनी, "हाम्रो
बिहेको कुरा बाआमाले पटक्कै मान्नु हुने छैन । उहाँहरु
आफ्नै जातको केटोसँग बिहे गर्नुपर्छ भन्नु हुन्छ ।"
"त्यसो भए हामी यो पँधेरा छोडेर मेरै घर महासागरमा
जाऔँ र आरामसाथ जीवन गुजारौँ न त ।" सागरको कुरा
सुनेर ब्याँग डराई । "कसरी जाने तिम्रो घर ? महासागर
पुग्दासम्म म बाँच्नसक्छु कि सक्दिन । मलाई त डर लाग्छ
। बरु यो पँधेरा छाडेर अर्को पँधेरामा बस्न गए हुँदैन
?" ब्याँगले भनी ।
"तिमीले भनेको उपाय एक छिनको लागि त ठिक होला
। तर जुन पँधेरामा गएर बसे पनि सबैले हाम्रो जात, थर,
धर्म सोध्ने छन् । अनि नेपालमा बस्दासम्म जुन पँधेरामा
बसे पनि हाम्रो दुःख सकिने छैन ।" सागरले शंका
व्यक्त गर्यो ।
एक पल्ट धेरै दिनसम्म घनघोर पानी पर्यो । पहाडका पँधेरा,
खहरे, खोल्सा, खोला, नदीनाला सबै पानीले भरिए । यही
मौका छोपेर सागर र ब्याँग पँधेराबाट उर्लेर निस्केको
पानीको भलसँगै पौडी खेल्दै खोल्सामा पुगे ।
खोल्साको पानीको बेग देखेर ब्याँग डराई । उसले सागरलाई
बेस्सरी अंठ्याएर सामाती । सागरले पनि ब्याँगलाई फुत्कन
नमिल्ने गरी समात्यो र दुबैजना खोल्साको पानीमा पौडी
खेल्दै खोलामा पुगे । खोलाको पानी अझै बलियो थियो ।
सागरले ब्याँगलाई अझै जोडले समात्यो र पानीमाथि बगेको
एउटा मुढामाथि चढ्यो । मुढामाथि चढेर दुबैले लामो सास
फेरे ।
मुढासँगसँगै उनीहरू महासागरतिर लागे । भोक लाग्दा मुढाको
लेऊ, पानीमा बस्ने किरा र नजिकनजिक उडने किराहरू खाएर
पेट भरे । महासागरमा पुगेर सागर र ब्याँगले नयाँ जीवन
थाले ।
साँचल, सानेपा, ललितपुर
२०६० मंसिर ४, बिहीबार ।
(कान्तिपुर कोपिला २०६० माघ २३ गते प्रकाशित)
माथि
शीर्षक
मूल
पृष्ठमा जाउँ |