विनय कुमार कसजुका कथा
जोन, जुठे र ड्राइभर
जुठेकी आमा विदेशी डाक्टरकहाँ काम गर्थिन् । जुठे आमासँग
कहिलेकाहीँ डाक्टरको घरमा जान्थ्यो । डाक्टरको तीन जनाको
परिवार थियो । डाक्टर, उनकी श्रीमती र छोरा । छोराको
नाम जोन थियो । जुठेलाई जोनको मात्रै नाम थाहा थियो,
किनकि उसलाई जोनले कहिलेकाहीँ खेल्न बोलाउँथ्यो ।
जोनसँग धेरै खेलौना थिए । खेलौनाहरूमध्ये उसले खरायो,
कुकुर, बिरालो, चराजस्ता खेलौनाहरू त चिनेको थियो तर
हिऊँमा हुने भालु, डाइनासोर, ह्वेलजस्ता जीवहरूलाई उसले
कहिल्यै देखेको र चिनेको थिएन । जोनसँग किसिमकिसिमका
खेलौना मोटरहरू पनि थिए । ती मोटरहरूमध्ये माल ओसार्ने
ट्रक, मानिस ओसार्ने बस र साना जीप र कारहरू त जुठेले
देखेको थियो तर माटो खन्ने र ओसार्ने र कम्मरपेटीजस्तो
पांग्रा भएका मोटरहरू उसले कहिल्यै देखेको थिएन । कुनैकुनै
मोटर दुईतीन वटा जोडेर एउटा बनाउन पनि सकिन्थ्यो । जुठेलाई
ती मोटरहरू निक्कै मनपर्थे ।
जोनसँग मोटरसाइकलहरू पनि थिए । कुनै मोटरसाइकल दम दिएपछि
बेस्सरी कुद्थे । कुनैमा ड्राइभर बसेको थियो । एउटा
कालो रंगको मोटरसाइकलमा रातो फलामे लुगा र फलामे टोप
लाएको ड्राइभर बसेको थियो । त्यो मोटरसाइल दम दिएपछि
धेरै बेरसम्म कोठामा घुमिरहन्थ्यो । जोनलाई त्यो मोटरसाइकल
मन पर्थ्यो । जुठे पनि जोनले त्यो मोटरसाइकल चलाउन थालेपछि
दंग परेर हेरिरहन्थ्यो ।
कहिले काहीँ धेरै दम दिँदा मोटरसाइकलहरू बेस्सरी कुदेर
बारीमा पुग्थे । जुठेले बारीबाट मोटरसाइकल खोजेर ल्याइदिन्थ्यो
। जोनसँग खेल्दा जुठेलाई रमाइलो लाग्थ्यो । त्यसमाथि
जोनले उसलाई पुराना खेलौना मोटरहरू पनि बेलाबेलामा दिने
गर्थ्यो । जोनको संगतले जुठेले अंग्रेजी भाषाका केही
शब्द र वाक्य पनि बोल्न सिकेको थियो ।
एक दिन जोनले आफूसँग भएका सबै मोटरसाइकलमा दम दिएर
एकैचोटी कुदाउन खोज्यो । कुन मोटरसाइलले जित्छ भनेर
उसले जुठेसँग बाजी थाप्न चाहृयो । तर आफू हारेको खण्डमा
जोनलाई दिने कुरा जुठेसँग केही पनि थिएन । जोनले भन्यो,
तिमीले भनेको मोटरसाइकलले जित्यो भने म त्यो मोटरसाइकल
तिमीलाई नै दिन्छु । तर मैले भनेको मोटरसाइकलले जित्यो
भने तिमीले बाँदरजस्तै गरी उफ्रँदै बारीको अम्बाको रुखमा
चढेर अम्बा टिप्नुपर्छ ।
जुठेले जोनको कुरा मंजुर गर्यो । जोन र जुठेले एकएक
वटा मोटरसाइकल एकै चोटी कुदाउँदै जित्नेलाई एकातिर र
हार्नेलाई अर्कोतिर राख्दै गए । सबै मोटरसाइकल कुदाइसकेपछि
उनीहरूले जित्नेजित्नेहरूको जोडा कुदाए र आखिरमा दुइटा
जितुवा निस्के । एउटामा रातो लुगा लाएको ड्राइभर थियो
भने अर्कोमा निलो लुगा लाएको ड्राइभर थियो ।
जोनले रातो लुगा लाएको ड्राइभर भएको मोटरसाइकल रोजेपछि
जुठेले अर्को रोज्यो । दुबै जनाले ती दुइटा मोटरसाइकलमा
पूरा दम भरे । अनि कुदाउने तयारीमा लागे ।
एक, दुई, तीन... दुबैले आआफ्नो मोटरसाइकललाई हातले
जोडले अगाडि घचेटे । जोनले घचेटेको मोटरसाइकल चिप्लेर
जोडले हुत्तिएर ढोका बाहिर गयो । अर्को मोटरसाइकल कोठामा
वरिपरि कुदेर दम सकिएपछि पल्ट्यो ।
कोठा बाहिर हुत्तिएको मोटरसाइकल लिन जुठे बाहिर गयो
। तर घेरै बेरसम्म जुठे फर्केन । जोनले उसलाई बोलायो
। तर जुठेले जवाफ नफर्काएपछि ऊ बाहिर निस्क्यो । जुठे
आगनमा थिएन । ऊ त पर झाङमा निहुरिएर मोटरसाइकल खोजिरहेको
थियो । जोन जुठेको नजिक गयो र मोटरसाइकल कहाँ छ भनेर
सोध्यो । दुबै जनाले बारीमा निक्कै खोजे तर मोटरसाइकल
भेटिएन ।
हराएको मोटरसाइकलको कथा त्यसैको ड्राइभरको मुखबाट सुन्नुस्
:
म जोनको उही हराएको मोटरसाइकलको ड्राइभर हुँ । मेरो
नाम रोबिन हो । तर जोनले मेरो नाम बिगारेर रोबी भन्छ
। खेल्न पुगेपछि जोनले मलाई खेलौनाको बाकसमा हुत्याइदिन्छ
। तर जुठेले मेरो जिऊमा लागेको धुलो पुछेर मलाई जतनसँग
बाकसमा राख्छ । यसैले मलाई जुठे मन पर्छ ।
त्यो दिन जोनको हातबाट हुत्तिएपछि चिप्लिएर म अलि पर
पर्खालमाथि पुगेँ । जुठेले मलाई बारीमा फूलको बिरुवाको
झ्यांगभित्र निक्कै खोज्यो तर उसले पर्खालमाथि हेरेन
। उसले मलाई देखोस् भनेर मैले निक्कै कोसिस गरेँ । तर
दम सकिएको हुनाले म बोल्न र चल्न सकिन । उसले मलाई भेटाउनै
सकेन । जोनले जुठेले नै मलाई लुकाएको छ भन्ने आरोप लगायो
। जुठेले अंध्यारो मुख लाउनेबाहेक अरु केही भन्नसकेन
।
म पर्खालमाथि बसेर कहिले मलाई जोन वा जुठेले देख्ला
र मलाई लिन आउला भनेर जोनको घरतिर हेरिरहन्थेँ । तर
म हराएको भोलिपल्टदेखि जोनको घरमा जुठे आएन । जुठेकी
आमा पनि काममा आएको देखिन । जोन पनि घरभित्रै खेलिरहन्थ्यो
। मलाई निक्कै पीर पर्यो । दिउँसो मलाई घामले पोल्थ्यो
भने राती चिसोले कठ्यांग्रिन्थेँ । यसरी धेरै दिन बिते
।
एक दिन एउटा कौवा आयो र मलाई के थानेर हो कुन्नी थुङ्न
थाल्यो । संयोगले जोनले झ्यालबाट हेरेको बेला पर्यो
। कौवाले मलाई थुङेको देखेर जोन हत्तपत्त म भएको ठाउँमा
आयो । उसले पर्खालमाथि चढेर मलाई भेट्टाउन खोज्यो तर
सकेन । अनि उसले आफ्नी आमालाई बोलायो । आमा छोरा मिलेर
भरेंड राखेर मलाई पर्खालबाट निकाले । जोनले माया गरेर
मलाई पुछेर सफा गर्यो र घरभित्र लग्यो । अनि ऊ मसँग
खेल्नथाल्यो ।
जोनसँग खेल्न पाएकोमा मलाई खुशी लाग्यो । जोन पनि खुशी
थियो । धेरै दिनपछि जोन खुशी भएर खेलेको देखेर उसकी
आमा पनि दंग भइन् । आमाले जोनको लागि खिर पकाइन् । आमाले
ल्याइदिएको खिर खानै लागेको बेलामा उसको हात अचानक रोकियो
। उसले आमासँग सोध्यो, "आमा जुठे छैन ! म एक्लैले
कसरी खाने ? उ यहाँ भएको भए कस्तो रमाइलो हुन्थ्यो ।
उसलाई बोलाइदिनुस् न आमा ।"
जोनका कुरा सुनेर मलाई पनि खुशी लाग्यो । आखिरमा उसले
आफ्नो साथीलाई बिर्सेको रहेनछ । जुठेलाई बित्थामा दोष
लाएकोमा उनीहरूले पछुताउ गरे र माफी मागे ।
भोलिपल्टदेखि जुठेकी आमा जोनको घरमा पहिलेझैँ काममा
आउन थालिन् र उनीसँगै जुठे पनि जोनसँग खेल्न आउन थाल्यो
। मलाई अब जुठे र जोन दुबैले उत्तिकै माया गर्छन् ।
साँचल सानेपा, ललितपुर
२०६० कार्तिक १८ गते ।
(सुनकेस्रा मासिक, २०६१ साउन, १०० औँ अंकमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |