विनय कुमार कसजुका कथा
हाँसको
चल्ला
एउटा कुखुरा गोठमाथि डालोमा चल्ला कोरल्न बसेकी थिई
। ऊ फुलहरूलाई दिनभरि छोपेर न्यानो पारेर बस्थी । भोकलाग्दा
कहिलेकाहीँ गोठ नजिकै मलखाल्टोमा पुग्थी र नंग्राले
खोस्रेर किरा निकालेर खान्थी ।
एक दिन कुखरा चारो खोज्न गएको बेलामा कान्छाले एउटा
फुल सुटुक्क झिक्यो र पकाएर खायो । फुल चोरेको कुरा
आमाले थाहा पाउलिन् भनेर उसले साथीसँग एउटा फुल माग्यो
र कुखुराको डालोमा राखिदियो ।
बीसबाइस दिनपछि फुलबाट चल्लाहरू निस्के । चींचीं कराइरहेका
चल्लाहरूलाई अघिपछि लाउँदै कुखुरा गोठबाट बाहिर आई ।
कुखुराका चल्लालाई देखेर आमा खुशी भइन् । उनले चल्ला
गनिन् । बीस वटा रहेछन् । तर एउटा चल्ला भने कुखराको
चल्लाजस्तो थिएन । गिद्धजस्तो लागेर उनले भनिन्, "होइन
यो गिद्धको चल्ला हो कि के हो ? यस्को ठोँड त बेग्लै
छ ए । कसरी एउटा चल्ला बेग्लै भयो ?"
कान्छाकी आमाको कुरा सुनेर कान्छाको बाले त्यो चल्लालाई
हातमा लिएर हेर्दै भने, "होइन यो त हाँसको चल्लाजस्तो
छ । हेर् त यसका खुट्टाका पाइला । हाँसको जस्तो छ ।"
कान्छाले बाआमाका कुरा डराईडराई सुनिरहेको थियो, किनकि
उसलाई किन एउटा चल्ला बेग्लै निस्क्यो भन्ने कुरा थाहा
थियो । तर उसले केही भनेन ।
हाँसकै चल्ला भए पनि कुखुराले त्यसलाई अरू चल्लालाई
जत्तिकै माया गरेर हुर्काउन थालिन् । चारो ख्वाउँदा
उसलाई पनि नजिकै डाकेर ख्वाउँथिन् । तर उसको ठोँड च्याप्टो
भएको हुनाले उसले अरू चल्लाले झैँ कनिका र किरा फटाफट
भुइँबाट टिपेर खान सक्तैनथ्यो । यसैले कुखुराले उसलाई
अलि बढी हेरबिचार गर्नुपर्थ्यो ।
पानी भरिएको भाँडा, खाल्टो वा पोखरी देख्यो कि हाँसको
चल्ला त्यतातिर जान खोज्थ्यो । तर कुखुराले अरू चल्लालाई
झैँ उसलाई पनि पानीमा जाला भनेर निक्कै होस पुर्याउँथी
। तैपनि ऊ मौका पाउने बित्तिकै कुखुराको आँखा छलेर पानीमा
पस्न खोज्थ्यो । हिलो भेट्टायो कि ठोँड घुसारेर टररर
गर्दै चारो खाइहाल्थ्यो । हाँसको चल्लालाई यसरी खान
पाए मात्रै खाएजस्तो हुन्थ्यो । तर यसरी खाएको कुखुराले
रुचाउन्नथी र उसलाई गाली गर्थी ।
हाँसको चल्लालाई अरू चल्लाहरूले पनि जिस्क्याउँथे ।
कहिले उसको खुट्टाका पाइतला त कहिले ठोँडलाई देखाएर
तिनीहरूले गिल्ला गर्थे । उसको स्वर पनि अरू चल्लाहरूको
भन्दा बेग्लै थियो । यसले गर्दा ऊ चल्लाहरूको माझमा
बसेर पनि आफूलाई एक्लो ठान्थ्यो । कहिलेकाहीँ सबैलाई
छाडेर जाउँ कि जस्तो उसलाई लाग्थ्यो ।
एक दिन ठूलो पानी पर्यो । पानी परेको बेलामा कुखुराले
चल्लाहरूलाई गोठबाहिर जान रोकिन् । गोठबाहिर खाल्टाखुल्टीहरू
वर्षाको पानीले भरिए । पानीका खाल्टाहरू देखेर हाँसको
चल्लालाई बाहिर जान र पानीमा खेल्न मन लाग्यो । त्यही
बेला उसले केही पर एउटा हाँस एक बथान चल्लाहरूसँग पानीमा
रुझ्दै कतै जान लागेको देख्यो । उसले मन थाम्नसकेन ।
कुखुराले बाहिर नजाऊ भनेर ठूलो स्वरले कराउँदा कराउँदै
पनि अटेर गरेर ऊ गोठबाट बाहिर निस्क्यो ।
हाँसको चल्ला पानीमा रुझदै हाँसको बथान भएतिर गयो ।
हाँस र उसका चल्लाहरू नजिकैको पोखरीतिर जान लागेका थिए
। ऊ पनि ती हाँसको पछिपछि लाग्यो । हाँसको बथान पोखरीमा
पुगेर पानीमा पौडी खेल्न थालेको देखेर उसलाई रमाइलो
लाग्यो । ऊ पनि पोखरीको डिलमा गयो र पानीभित्र हेर्यो
।
पानीमा आफ्नो सक्कली रुप देख्दा ऊ दंग पर्यो । ऊ त
पोखरीमा पौडिरहेका अरू हाँसका चल्लाहरूजस्तै रहेछ ।
ऊ खुशीले चिच्यायो । ऊ चिच्याएको सुनेर बथानका हाँसका
चल्लाहरू पनि जोडले कराए । ऊ छक्क पर्यो किनकि उसको
स्वर पनि ती हाँसका चल्लाहरूसँग ठयाक्कै मिल्ने रहेछ
।
आफू पनि हाँस रहेछु भन्ने पूरा विश्वास भएपछि त्यो
हाँसको चल्ला पानीमा पस्यो । उसले आफूलाई बडो हलुंगो
महसुस गर्यो । उसले खुट्टा चलाउँदा ऊ सररर पानीमा अगाडि
बढ्यो । यति सजिलोसित पानीमा यताउति जानसकिने थाहा पाएर
ऊ खुशीले नाच्न थाल्यो । पानीभित्र माछा देखेर उसले
डुबुल्की मार्यो र एउटा सानो माछा समातेर खायो ।
यतिञ्जेल उसलाई लिन भनेर कुखुरा पनि त्यहाँ पुगिसकेकी
थिई । उसले परैबाट चल्ला पानीमा नाचिरहेको देखी । पहिले
त ऊ चल्ला पानीमा डुबेर मर्ला भनेर आत्तिई । तर ऊ हाँसजस्तै
पानीमा निर्धक्कसँग नाच्न, खेल्न र माछा समातेर खान
थालेको देखेर उसलाई त्यो कुखुराको चल्ला होइन रहेछ,
हाँसको चल्ला रहेछ भन्ने विश्वास भयो ।
हाँसको चल्ला पोखरीको माझमा पुगेर हाँसको बथानका चल्लाहरूसँग
मिलेर पानीमा खेल्न थाल्यो । उसले पनि अरू चल्लाले झैँ
पानीमा डुबुल्की मार्दै पानीभित्रका माछा, भ्यागुता
र किरा खोज्न थाल्यो । यो देखेर अब हाँसको चल्ला बाँच्ने
भयो भनेर कुखुरा ढुक्क भई । त्यसपछि कुखुराले पखेटा
फटफटाएर ठूलो स्वरले कराउँदै त्यो हाँसको चल्लालाई सँधैको
लागि विदा दिई र विस्तारै गोठतिर फर्की ।
सानेपा, ललितपुर
२०६० फागुन १७ गते ।
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल
पृष्ठमा जाउँ |