विनय कुमार कसजुका कथा
चराले किन ढाँट्छ ?
पहाडबाट
पार्वती र उनका आमाबुबा दशैँको छुट्टीमा चितवनको जंगल घुम्न
गएका थिए । उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा,
भालु र चराहरू देखिन्छ कि भनेर टाढाटाढासम्म हेर्दै थिए ।
घाम ढल्कन लागेको थियो । भाँतीभाँतीका चराहरू कराइरहेका थिए
। माहुतेले खुट्टा र हातको इसाराले हात्तीलाई गैंडा भएको बाक्लो
घाँसे जंगलतिर हाँक्दै थियो । उनीहरू चराको स्वर सुन्दै र
रुख बिरुवाहरू हेर्दै माहुतेसँग ती चरा र रुख बिरुवाहरूको
नाम सोद्धै अगाडि बढ्दै थिए ।
अचानक उनीहरूले आफूले चिनेको चराको स्वर सुने । कोइली
चरी "काफल पाक्यो, काफल पाक्यो" भनेर कराइ
रहेकी थिई । त्यो सुनेर पार्वतीले माहुतेसँग सोधिन्,
"माहुते दाइ यहाँ काफल पाइन्छ ?"
माहुतेले पार्वतीको प्रश्न बुझेन । उसले उल्टै सोध्यो,
"काफल भनेको के हो नानी ?"
पार्वतीले भनिन्, "चराले 'काफल पाक्यो, काफल पाक्यो'
भनेको तिमीले सुनेनौ ?"
"ए त्यो चराको कुरा ? त्यसले 'त टुरिस्ट आयो टुरिस्ट
आयो' पो भनेको हो त । तपाईँहरू हात्ती चढेर आएको देखेर
टुरिस्ट आयो भनेर उसले अरुलाई थाहा दिएको हो नि ।"
माहुतेको कुरा सुनेर पार्वती छक्क परिन् । उनले त चराले
काफल नै भनेको सुनिरहेकी थिइन् । माहुतेले कसरी टुरिष्ट
भनेको सुन्यो ? उनले बुझ्न सकिनन् । उनले अझै ध्यान
दिएर कोइली चरीको स्वर सुन्न र वास्तवमा के भन्न खोजेको
हो भनी निधो गर्न खोज्दै थिइन् ।
माहुतेले भन्यो, "त्यो चराले धेरै कुराको जानकारी
लिन्छ । यो जंगलमा आउने सबैसित उसले 'को हो को हो' भनेर
सोध्छ । टुरिस्ट भनेर चिनेपछि उसले जंगलमा टुरिस्ट आएको
कुरा अरु चरा र जानवरलाई थाहा दिनेगर्छ । उसको कुरा
सुनेर जंगलका बाघहरू लुक्न जान्छन् । गैँडाहरू होशियार
हुन्छन् । अरु जानवर र चराहरू पनि मानिसहरूबाट जोगिन
बाक्लो जंगलभित्र पस्छन् ।"
कोइलीले त पार्वतीको गाउँमा काफल पाक्यो भनेर सुनाउँछ
। उसको स्वर सुनेपछि पार्वती साथीहरूलाई लिएर वनमा काफल
टिप्न जाने गर्छिन् । तर त्यही चराले यहाँ आएर कसरी
टुरिस्ट आयो भनेको होला ? पार्वतीको मनमा धेरै बेरसम्म
कुरा खेल्यो । अनि उनले आमासँग सोधिन्, "हाम्रो
गाउँमा कराउने कोइली चरी र यहाँको कोइली चरी उही होइन
र आमा ? किन त्यसले हामीकहाँ काफल पाक्यो भन्छ अनि यहाँ
टुरिस्ट आयो भनेको ?"
पार्बतीको कुरा सुनेर आमाले हाँस्दै भनिन्, "छोरी
कोइली चरीले न त काफल पाक्यो भन्छ न त टुरिस्ट आयो भन्छ
। त्यो त हामीले सुन्दा त्यस्तो लागेको मात्रै हो ।
चरा र जानवरहरूको कुरा सुनेर मानिसहरूले आफूलाई काम
लाग्ने वा मन पर्ने अर्थ निकाल्छन् ।"
"त्यसो भए त्यो कोइली चरीले काफल पाक्ने बेलामा
काफल पक्यो, धान रोप्ने बेलामा बिऊ कुहृयो, अनि कोही
मानिस आउँदा को हो को हो भनेर किन भनेको त - त्यसले
हामीलाई भनेकै होइन त आमा -" पार्वतीले सोधिन्
।
"कोइली मात्रै होइन अरु चरा र स्याल, बाघ भालुजस्ता
जानवरहरू पनि कराउँछन् । तर मासिलाई सुनाउन वा हामीलाई
केही भन्नको लागि तिनीहरू कराएका होइनन् । कोइलीले कहिले
को हो को हो, कहिले बिऊ कुहृयो, कहिले काफल पाक्यो भनेर
बोली र भाका फेरेझैँ अरु चरा र जानवरहरूले पनि भाका
फेर्छन् । बर्षा याममा भ्यागुता कसरी कराउँछ ? दशैँ
आउने बेलामा दशैँ किराको कस्तो तीखो स्वर सुनिन्छ ?
तिमीले हेक्का गरेकी छौ ?" आमाले बुझाउन खोज्दै
भनिन् ।
"त्यसो भए पुतली, मौरी, चरा, खरायो नाचेको गाएको
हामीलाई खुसी पार्न होइन त आमा ?" पार्वतीले जान्न
खोजिन् ।
"पुतली र मौरीजस्ता किराहरूले फूलको रस खोज्न
जाँदा हामीलाई तिनीहरू नाचेजस्तो लाग्छ । चराले आफ्नोसाथी
खोज्दा वा चल्लालाई डाक्न खोज्दा तिनीहरूले गीत गाएजस्तो
लाग्छ । साँच्चै भन्ने हो भने तिनीहरूको बोली र कामसँग
मानिसको कुनै सरोकार नै छैन । मानिसले आफ्नोलागि तिनीहरूसँग
सरोकार राखेका हुन् ।" आमाले स्पष्ट पारिन् ।
"हामीले चारा ख्वाएको हुनाले कुखुराले हामीलाई
फुल दिन्छ । गाईले दूध दिन्छ होइन र आमा ?" पार्वतीले
शंका पोखिन् ।
आमाले मुसुक्क हाँस्दै भनिन् । "छोरी, कुखुराले
हाम्रो लागि फुल पारेको होइन । उसले त सन्तान बढाउन
फुल पारेको हो । तर मानिसले उसको फुल खाइदिन्छ । तैपनि
कुखुराले यो कुरा बुझ्नसक्तैन र खुरुखुरु फुल पारिरहन्छ
। त्यस्तै गाईले पनि आफ्नो बाच्छाबाच्छीको लागि दूध
दिएको हो हाम्रो लागि पक्कै पनि होइन । हामीले त बाच्छाबाच्छीको
भाग खोसेर खाइदिएको हो । मानिसले आफ्नोपाठा काटेर खाओस्
भनेर बाख्रीले पाठापाठी व्याएको पनि होइन । मानिसले
आफ्नो स्वार्थको लागि तिनीहरूलाई पालेको हो ।"
आमाको कुरा सुनेर पार्वती छक्कै परिन् । उनलाई चितवनको
जंगलमा घुम्न होइन यहाँका जीवजन्तुहरूलाई दुःख दिन आएजस्तो
लाग्यो । चरा र जानवरहरू उनीहरूसँग डराएर कराउँदै भाग्न
लागेकोजस्तो लाग्यो । उनी आमाको काखमा घोप्टिएर एक छिन
चुपचाप बसिरहिन् । अनि रुन्चे स्वरले आमालाई भनिन्,
"आमा अबदेखि म कुखुराको फुल, दूध अनि मासु खान्न
है ?"
पार्वतीको कुरा सुनेर आमालाई पिर पर्यो, किनभने पार्वतीले
कुनै काम गर्छु वा गर्दिन भनिन् भने त्यो पूरा नगरी
छडदिनन् ।
२०६० मंसिर १ सोमबार
(कान्तिपुर, कोपिला २०६१ साउन १५ गते प्रकाशित)
माथि
मूल पृष्ठमा
जाउँ
|