विनय कुमार कसजुका कथा
बोकाको आत्मकथा
मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पोहोरै हो । तर
यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ
गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ ।
रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर
हुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार
वटा पाठापाठी जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए
एउटा सेतो थियो । म भनेँ मृगजस्तो सुनौलो र बीचबीचमा
सेतो टाटेपाटे थिएँ । मेरो निधारमा त्रिशुलजस्तै सेता
तीन वटा धर्का थिए ।
रामुले मलाई निक्कै माया गर्थ्यो । मलाई बोकीबोकी मेरी
आमाको छेउमा लैजान्थ्यो र दूध चुस्न लगाउँथ्यो । दूध
ख्वाउन झिँजो लागेर आमा भाग्न खोजिन् भने रामुले समातेर
मलाई दूध खान सघाउँथ्यो ।
हामी ठूला भएपछि एकएक वटा गरी बजै अर्थात् रामुकी हजुरआमाले
अरु तीन वटालाई बेचिदिइन् । तर मलाई रामुले बेच्न दिएन
। मलाई बेच्न खोज्यो की रामु मेरो घाँटीमा झुण्डिन्थ्यो
र मलाई लैजान दिन्नथ्यो । धेरै पटक बजैले मलाई किन्न
आउनेसँग लिएको बैना फर्काएकी थिइन् । त्यसपछि बजैले
कहिल्यै मलाई बेच्ने कुरा गरिनन् ।
मलाई त्यस्तो माया गर्ने रामु काठमाडौँ गएको दुई वर्षभइसक्यो
। रामु गएदेखि मेरो खेल्ने साथी नै छैन । बनमा भैँसी
चराउन जाँदा रामुले मलाई पनि सँगै लैजान्थ्यो । हामी
दिनभरि सँगै हुन्थ्यौँ । ऊ भैँसीको आङमाथि बसेर मैले
घाँस खाइरहेको हेर्थ्यो । धेरै पटक उसले मलाई चितुवा
र स्यालबाट जोगाएको छ । मसँग भुल्दा भैँसी खेतमा पसेर
रामुले पिटाइ खानु परेको छ ।
एक पल्ट रामुले मलाई पनि भैँसीमाथि चढाउन खोज्दा भैँसी
बिच्केर हामी दुबैको झण्डैले खुट्टा भाँचिएको थियो ।
चरिरहेको भैँसीमाथि रामु आरामसाथ सुतेको, भैँसीमाथि
बसेर खोलामा नुहाइदिएको हेर्दा मलाई निक्कै मजा आउँथ्यो
। त्यस्तो बेलामा म पनि खुशीले उफ्रन्थेँ । तर भैँसीको
नजिक जान र पानीमा बुड्न मलाई डर लाग्थ्यो ।
गाउँका अरु केटाकेटीहरू स्कुल जान्थे, तर रामु स्कुल
जान्नथ्यो । उसलाई स्कुल पठाउन कर गर्ने कोही थिएन ।
बजैलाई उसले टेर्दैनथ्यो । ऊ स्कुल गयो भने गोठका बस्तुभाउ
हेर्ने कोही पनि हुँदैनथ्यो ।
दुई वर्षअघि रामुको मामा गाउँमा आएका थिए । भांजा पढाइमा
नलागी गोठालो बनेको मामालाई कत्ति पनि चित्त बुझेन छ
। उनले रामुलाई फकाईफकाई आफूसँगै काठमाडौँ लगे ।
रामु गएपछि म धेरै दिन रोएर बसेँ । तर पछि बानी पर्दै
गयो । बजैले छिमेकीहरूसँग रामुको कुरा गरेको सुन्थेँ
। रामुको मामाको काठमाडौँमा ठूलो घर छ रे । रामु स्कुलमा
पढ्न थालेको छ रे । उसले अंग्रेजी बोल्न सिकिसक्यो रे
। यस्ता कुरा सुन्दा मलाई खुशी लाग्थ्यो र कहिले ऊसलाई
भेट्न पाउँछु होला भनेर कल्पन्थेँ ।
पोहोरको दशैँमा पनि ऊ घर आएन । बजै आफै मलाई लिएर काठमाडौँ
जान्छु भनेको पनि जानसकिनन् । यस पाली पनि रामु दशैँमा
घर नआउने खबर आएपछि बजैले मलाई लिएर जाने निधो गरिन्
। मलाई काठमाडौँ जान पाएकोमा खुशी भएको देखेर मसँगै
चर्ने मेरा दौँतरीहरू भन्थे, "काठमाडौँ गएपछि कोही
पनि र्फकन्न रे" । म जान पाएकोमा इख गरेर यसो भनेका
होलान् । डराएर नजाओस् भन्ने चाहेका होलान् । भन्नेले
भनुन् ।
फूलपातीभन्दा केही दिनअघि बजैले काठमाडौँ जाने तयारी
सकिन् । रामुको लागि सेल रोटी, कुराउनी र फलफूल तरकारीको
भारी कसिन्, अनि एकदिन भरियालाई अघि लगाउँदै मलाई डोर्याँदै
बजारतिर लागिन् ।
एक घण्टाजति हिँडेपछि बजार आइपुग्यो । बस स्टेसनमा
पुगेपछि बजैले काठमाडौँ जाने बस कुन हो भनेर सोधिन्
। टिकट किनिन् । भारी बसको छानामा राख्न लगाइन् । म
बसभित्र जान निक्कै हतारिएको थिएँ । तर एक जना मानिस
आएर मेरो बाटो छेक्दै भन्यो, "यो नाइट बसमा पनि
कहाँ खसी बोकालाई बसभित्र राख्ने ? यसलाई त डिक्कीमा
राख्ने हो ।"
त्यो मान्छेको कुरा सुनेर बजैले मेरो दाम्लो त्यो मानिसलाई
दिइन् । उसले मलाई जबर्जस्ती डोर्याउँदै बसको पछाडि
लग्यो र जुरुक्क बोकेर सामान राख्ने ठाउँमा राखिदियो
। त्यहाँ मैले कहिल्यै नदेखेका, नचिनेका चारपाँच वटा
खसीबोका थिए । तीमध्ये कसैका निक्कै लामा सिङ थिए भने
कसैको दाह्री निक्कै लामो थियो । उनीहरू पनि दशैँ मनाउन
काठमाडौँ जान लागेका रहेछन् ।
एक छिनपछि डिक्कीको ढोका बन्द गरियो र बाहिरबाट ताल्चा
मारेको सुनियो । भित्र घोर अन्धकार भयो । बस हल्लियो
र गुड्न थाल्यो । पहिलो पटक बसमा बसेकोले होला मलाई
निक्कै डर लाग्यो । तर रामुलाई भेटन पाउने कुराले मेरो
डर हरायो ।
पूरै रात बितेपछि हामी बसेको डिक्कीको ढोका खुल्दा
विहानको उज्यालो देखियो । हामी काठमाडौँ आइपुगिसकेछौँ
। बाहिर निस्कँदा जाडो भयो । मलाई लिन पक्कै पनि रामु
आएको होला भन्ने मलाई लागेको थियो । बजैलाई लिन आएका
रामुको मामालाई मैले चिनेँ । मामासँगै आएको ओँठमा जुँगाको
रेखी बसेको एउटा केटोले बजैलाई हातमा ढोग्यो । ऊ रामु
नै हुनुपर्छ भन्ने मलाई लागेको थियो । तर उसले मलाई
अंगालो मार्न नआएकोले मलाई शंका लाग्यो । खेतका कान्लामा
नांगै खुट्टा दगुर्ने रामु त्यो पक्कै पनि होइन किनकि
त्यो केटाका खुट्टामा टल्कने जुत्ता थिए । भैँसीका आँगमा
चढेर खोलामा नांगै नुहाउने रामुको जिउ कस्तो छ भन्ने
मलाई राम्ररी थाहा थियो । तर त्यो केटाको जिउमा सुकिलो
लुगा थियो । मतिर कर्के आँखाले हेर्दा पनि त्यो केटो
मेरो प्यारो साथी रामु नै हो भनेर मैले अडकल नै गर्न
सकिन ।
उसले मतिर औँल्याउँदै बजैलाई भन्यो, "किन ल्याउनु
भएको यो तीन धर्केलाई ? कहाँ राख्ने यसलाई ? शहरमा घाँस
पाइन्न, के ख्वाउने ?" उसको कुरा सुनेर म छाँगाबाट
खसेझैँ भएँ । बजैले के जवाफ दिइन् मैलै सुन्न पाइन,
सुन्ने मन पनि भएन । रामुले रिसले खुट्टा बजार्दै गरेको
देखेँ । मलाई त्यहीँबाट गाउँमा फर्कुँजस्तो लाग्यो ।
तर र्फकने कसरी ? भागूँ भने मोटरले किच्ला भन्ने डर
। कहाँ जाने ? मलाई काठमाडौँ आएकोमा पछुतो लाग्नथाल्यो
। बाध्य भएर म रामुको पछिपछि लागेर उसको मामाको घरमा
पुगेँ ।
मलाई हेर्न मामाको घरका केटाकेटीहरू आए । साना केटाकेटीहरू
"खसी आयो, दशैँ आयो । रामु दाइको खसी आयो"
मनेर कराए । मेरो ढाड छामेर मोटै रहेछ भन्दै रामुका
मामा मुसुक्क हाँसे ।
"खसी त आयो तर यसलाई राख्ने कहाँ हो ? कसैलाई
पाल्न दिनुपर्छ कि ?" रामुकी माइजुले मामातिर हेर्दै
भनिन् । बजैसँग छुट्टिनु पर्ला भनेर मलाई डर लाग्यो
।
"खै, यो दशैँको बेलामा कसले पाल्छ र ! अफिसको
पाले पनि छुट्टी लिएर घर गइसक्यो । अब जसोतसो यहीँ कतै
राख्नुपर्ला ।" मामाले भनेको सुनेपछि म अलि ढुक्क
भएँ ।
उनीहरूको कुरा सुन्दा मामाको घरभित्र म पस्नै नहुने
हो कि जस्तो लाग्यो मलाई । भित्र के रहेछ भनेर हेर्न
मन लाग्यो । ढोका नजिक गएर चियाएँ । भित्र भुइँमा कतै
पनि ढुंगा, माटो वा इँट बिछयाएको रहेनछ । ढोकैदेखि बाक्लो
लचकलचक लच्कने गलैँचा ओछ्याएको रहेछ ।
केही बेर छलफल गरेपछि ढोकाभित्र भरेङको छेऊमा गलैँचामाथि
ठूलो प्लास्टिक ओछयाए मलाई भरेङको बारमा बाँधेर राखे
। मलाई भोक लाग्न थाल्यो । तर त्यहाँ हरियो घाँस थिएन
। गमलामा फूलहरूमात्र थिए । आगनमा सानो टुक्रा जमिनमा
हरियो दुबोजस्तो घाँस देखेँ । काठमाडौँका मानिसहरू गुन्द्रीजत्रो
जमिनमा भए पनि हजारौँ रुपैयाँ पर्ने अस्ट्रेलियन दुबो
रोप्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् भनेको सुनेको
थिएँ । सायद त्यो त्यही दुबो होला । मलाई त्यस्तो दामी
दुबो खान दिने कुरा पनि भएन । अब कसरी भोक मेट्ने ?
राती सबैले खाना खाइसकेपछि मलाई पनि खाने कुरा ल्याइदिए
? दाल भात र उब्रेको तरकारी । मान्छेले खाने कुरा बोकाले
कसरी खाने ? तैपनि भोकको सुरमा दुईचार गाँस खाएँ । रात
छिप्पिँदै गएपछि मलाई भोकले चाप्न थाल्यो । गाउँको हरियो
घाँस सम्झेर अनि भोकले आत्तिएर रुन कराउन थालेँ ।
म कराएकोले घरका मानिसहरू सुत्न पाएनछन् । रामुको मामाले
तल ओर्लेर बत्ती बाले । भुइँभरि मेरो बर्क्यौला छरिएको,
पिसापले गन्हाएको र गलैँचा भिजेको देखेर उनी चिच्याउन
थाले, "हेर रामु, तिम्रो बोकाले त बर्बादै गरेछ
। लौ यसलाई झट्टै बाहिर राख्नुपर्यो ।"
रामु पनि आँखा मिच्दै आइपुग्यो । उसले भरेङको बारमा
बाँधेको मेरो दाम्लो फुकायो र मलाई तानेर बाहिर लग्यो
। बाहिर रामु र म एक्लै भएपछि उसले मलाई माया देखाउला,
मेरो कुरा सुन्ला भन्ने आशले म कराउन थालेँ । तर रामुले
रिसाउँदै मलाई लात्तीले भकुर्न थाल्यो । म झन ठूलो स्वरले
कराउन र रुन थालेँ । रामुले मोटो लौरो खोजेर ल्यायो
र मलाई बेस्सरी पिट्न थाल्यो । मलाई पनि रिस उठयो ।
म पनि रामुमाथि जाइलागेँ । ऊ भुइँमा पल्टयो । उसको हातबाट
मेरो दाम्लो छुटयो । यही मौका छोपी म त्यहाँबाट भागेँ
।
मलाई मेरो गाउँ जाने बाटो थाहा छैन । तर म भाग्दैछु
। जसको गाउँमा भए पनि पस्दैछु । सहरदेखि सकेसम्म टाढा
जाँदैछु र दशैँमा काठमाडौँ जान हुन्न भन्ने खबर जताततै
पुर्याउन पाए अरु बोका खसीको भलो हुन्थ्यो भनेर आफ्नो
कथा सुनाउँदैछु ।
२०५४ जेठ, २६ र २७ गते, दाङ, घोराही, पुनर्लेखनः २०५९
भदौ ३०
(कोपिला, कान्तिपुर बालकोसेली २०५९ असोज ११ मा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |