विनय कुमार
कसजुका कथा
विरालोको घाँटीमा घण्टी
लुकी
मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि
लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले
खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने
बिरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको
खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको
थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको सामुन्ने टेलिभिजन
थियो । दराजभित्र बसेर सिसाभित्रबाट लुकीले टेलिभिजन हेर्नसक्थ्यो
।
घरमा घरपटी बाबु आमा छोरी र छोरा गरी चार जना थिए ।
बाबुले टेलिभिजन खोलेर समाचार हेर्थ्यो । कहिलेकाहीँ
ज्ञान विज्ञान, प्रविधि र आविष्कारका कुरा पनि हेर्नेगर्थ्यो
। आमाले कथा श्रृंखला कार्यक्रम हेर्न रुचाउँथिन् ।
छोरीलाई फिल्म र फेसन मनपर्थ्यो भने सानो छोरा कार्टुन
हेर्न भनेपछि हुरुक्क गर्थ्यो । कार्टुन पनि उसले टम
र जेरी नामक मुसा र बिरालोको कथा निक्कै रुचाउँथ्यो
।
लुकीलाई पनि टम र जेरीको कार्टुन कथा मनपर्थ्यो । सुरुमा
त बिरालो टम र मुसा जेरीको झगडा, मारामार देख्दा लुकी
निक्कै डराउँथ्यो । जेरीले टमलाई झुक्याएको र दुःख दिएर
हैरान पारेको देखेर उसलाई निक्कै रमाइलो लाग्न थाल्यो
जेरीले टमलाई हायलकायल पारेको देख्दा लुकी पेट मिचीमिची
हाँस्थ्यो ।
बिहान छोरी र छोराले स्कुलको गृहकार्य गर्नु पर्ने
र दिनभरि स्कुल जाने हुनाले लुकीले विहान र दिउँसो कार्टुन
र्हेर्न पाउन्नथ्यो । दिउँसो आमाले रुचाएको टेलिश्रृंखला
हेर्थिन् । दिनभरि बाबु पनि घरमा हुन्नथ्यो । बाबुले
विहानमात्रै टेलिभिजन हेर्ने समय पाउँथ्यो । टेलिभिजनमा
उसले समाचार र विज्ञान तथा आविष्कारका च्यानलहरू हेर्थ्यो
। लुकीलाई मन परे पनि नपरे पनि ती कार्यक्रमहरू हेर्नुपर्थ्यो
।
एक विहान बाबुले टेलिभिजन हेर्दैथियो । बनका जीवजन्तुहरूलाई
जोगाउन के प्रयास गरिँदै छ भन्ने कार्यक्रम देखाइँदै
थियो । त्यो कार्यक्रम हेरेर लुकीले नयाँ कुरा थाहा
पायो । बनमा बस्ने केही पशुपंछी तिनीहरू बस्ने बन र
बासस्थान मासिन थालेको रहेछ । तिनीहरूले खाने फलफूल,
बनस्पति पनि नपाइन थालेछ । अनि मानिस र अरु जीवजन्तुले
तिनको सिकार गर्नाले यो संसारबाटै केही जीवजन्तु हराउन
लागेका रहेछन् । तिनीहरूको बस्ने वातावरण संरक्षण गर्ने,
मनग्गे खाने कुरा पुर्याउने र तिनलाई मानिस र अरु जीवहरूबाट
जोगाउने प्रयास भइहरेको कुरा पनि टेलिभिजनमा देखाइँदै
थियो ।
लुकीले टेलिभिजन हेर्दै थियो । केही मानिसहरूले बनबिरालोलाई
रबरको गोली हानेर बेहोस पारेर समाते । उनीहरूले बनबिरालोको
कानको पछाडि सिमीको दानाजत्रो यन्त्र बाँधिदिए । केही
बेर पछि बनबिरालो होसमा आयो र दगुरेर बनमा हरायो । मानिसहरू
खुशी भए र उनीहरूले एउटा यन्त्रमा हेरे । त्यसमा बनबिरालो
कुन दिशामा र कति टाठा छ भन्ने देखाइरहेको थियो । मानिसहरूले
घेरै बनबिरालो समाते र ती सबैको कानको पछाडि ट्रान्समिटर
यन्त्र जडान गरेर छाडिदिए । यसरी बनबिरालोको दैनिक गतिविधि
पत्ता लगाएर तिनीहरूको बासस्थान, भोजन र सुरक्षाको व्यवस्था
गर्न सजिलो भएको कुरा लुकीले पनि थाहा पायो ।
त्यो कार्यक्रम नसिद्धिँदै लुकीको मनमा एउटा महत्वपूर्ण
विचार आयो । बिरालोबाट जोगिन सजिलो होला भनेर मुसाहरूले
बिरालोको घाँटीमा घण्टी बाँध्ने प्रयास गरेको धेरै वर्षभयो
। यो प्रयासमा धेरै मुसाले ज्यान पनि गुमाए । तै पनि
तिनीहरूले यो प्रयास रोकेका थिएनन् । मुसाहरूको यो ऐतिहासिक
प्रयास अब सफल हुन्छ भन्ने लुकीलाई लाग्यो । ऊ आफ्ना
साथीहरूलाई खोज्न गयो ।
साथीहरूलाई भेटेर लुकीले मुसाहरूको भेला डाक्यो । भेलामा
बूढापाका मुसाहरू, दुलोदेखि दरबारसम्म बस्ने मुसाहरू,
तन्नेरी मुसा, बुद्धिमान मूसा, जोसिला मुसा, बलिया मुसा,
लड्नभिडन खप्पिस मुसा आदि अनेक थरीका अनेक सीप भएका
मुसाहरू आए । लुकी मुसाले टेलिभिजनमा बनबिरालोको जिउमा
ट्रान्समिटर जडेर त्यसको गतिविधि थाहा पाउने उपाय गरेको
देखेको कुरा सुनायो ।
लुकीको कुरा सुनेर धेरै मुसाहरू उत्साहित भए । हुन
त बिरालोले घाँटीको घण्टी चुँडालेर फालेझैँ ट्रान्समिटर
फाल्न सक्तैनथ्यो । तर समस्या उही थियो । बिरालोको जिउमा
कसरी ट्रान्समिटर जडने ? बूढा मूसाहरूले यसमा पनि पुरानै
समस्या देखे । तर जोसिला र होसियार मुसाहरूले यसको पनि
उपाय निकाले । उनीहरूले कामको वाँडफाँट गरे ।
इन्जिनियरिङ क्याम्पसको ल्याबमा बस्ने मुसाले यस्तो
ट्रान्समिटर यन्त्र ल्यायो जसबाट निरन्तर एक प्रकारको
मसिनो ध्वनि निस्कन्थ्यो । मुसाहरूले मात्रै त्यो ध्वनि
सुन्नसक्थे ।
औषधी पसलको स्टोरमा बस्ने मुसाले निँद लाग्ने औषधी
ल्यायो । बिरालोले खाने दूध वा मासुमा त्यो औषधी मिसाइदियो
भने बिरालो दिनभरि बेहोस भएर निदाउनसक्थ्यो ।
अस्पतालको अपरेसन कक्षमा बस्ने मुसाले डाक्टरले चिरफार
गर्ने र सिउने औजार र सामान ल्यायो । यसबाट बिरालोको
पुच्छर वा कुनै अंगमा ट्रान्समिटर जडान गरेर सिउन सजिलो
भयो ।
केही मुसाहरूले ढाडे बिरालो कहाँ बस्छ र कहाँ कहाँ
चोरेर खान्छ भन्ने पत्ता लगाए । सबै सामान जुटेपछि ढाडे
बिरालोले जुन भान्छाबाट सँधै दूध चोरेर खाने गर्छ त्यही
भान्छा कोठामा बस्ने मुसाले दूधमा निँद लाग्ने औषधीको
धेरै चक्की मिसाइदियो । त्यसपछि केही मुसाहरू कहिले
बिरालोले दूध चोर्छ र बेहोस हुन्छ भनेर चियो गरेर बसे
।
राती घरका सबै मानिस निदाइसकेपछि ढाडे बिरालो चाल मारेर
भान्छा कोठामा पस्यो । ऊ सरासर दूधको कुँडेतिर गयो र
कुँडेभित्रको दूघ मज्जाले पियो । दूध सकिएपछि कुँडेको
वरिपरि लागेको खोतर चाटेर खायो । अनि मुख र जुँगा चाट्दाचाट्दै
बिरालो निँदले लठ्ठ परेर त्यही भान्छाको भुइँमै पल्ट्यो
।
मौका छोपेर मुसाहरू आआफूले जिम्मा लिएको काम गर्न हतारिए
। अस्पतालमा बस्ने तीखे मुसाले चक्कुले बिरालोको मोटो
पुच्छरमा गहिरो घाऊ बनायो । इन्जिनियरिङ क्याम्पसमा
बस्ने मुसाले ट्रान्समिटर पुच्छरमा जडेपछि तीखेले घाऊ
सिइदियो । उसले घाउको वरिपरि व्याण्डेज बेरेर नफुस्कने
गरी बलियोसँग बाँधिदियो ।
अब ढाडे बिरालो जहाँ गए पनि त्यसको पुच्छरमा जडेको
ट्रान्समिटरबाट निस्केको ध्वनि संकेत पाँच मिटर वरिपरिका
मुसाले सुन्नसक्थे । यसरी ढाडेबाट जोगिन मुसाहरूलाई
निक्कै सजिलो भयो । मुसाहरूलाई अब बिरालोले झुक्याएर
मार्न नसक्ने भयो । उनीहरूको जीवन अब सजिलो र रमाइलो
पनि भयो । तर बिरालोले भने मुसाको सट्टा दूध अनि भान्छा
र भण्डार कोठामा भएको माछा मासु रोटी खाएर गुजारा गर्नुपर्ने
भयो ।
साँचल, सानेपा, ललितपुर
२०६० चैत २१ गते ।
(कान्तिपुर कोपिला, २०६१, जेठ १ गते प्रकाशित)
माथि
मूल पृष्ठमा जाउँ
|