विनय कुमार कसजुका कथा
भालुको बगैँचा
बनमा एउटा अग्लो र मोटो भालु बस्थ्यो । दुइटा खुट्टाले
उभिँदा त्यो भालु मान्छेभन्दा अग्लो देखिन्थ्यो । ऊ
बँदेलसँग पनि लड्नभिडन सक्थ्यो । यसैले बनका अरु जीवजन्तुहरूले
उसलाई पहलमान भालु भन्थे ।
पहलमान भालुकी स्वास्नी र एउटी छोरी थिइन् । उनीहरू
बनको माझमा ठूलो ओढारमा बस्थे । ऊ बस्ने ओढारको अलिपर
एउटा सानो खोला थियो । उनीहरू घण्टौँसम्म खोलाको पानीमा
खेल्थे । खोलामा माछा, भ्यागुता र गँगटा पाइन्थे । उनीहरूले
माछा समातेर ओढारमा ल्याएर खान्थे ।
ओढारको वरिपरि खनिया, आँप, कटहर, जमुना, फँडेर, काफल,
किम्बु, ऐसेलु, म्याल, ओखर, चुत्रो, बडहर आदि भाँतिभाँतिका
फलफूलका रुखहरू थिए । ठूला रुखका टोँडकामा मौरीका घार
थिए । पहलमान भालुलाई माछा धेरै मनपर्थ्यो भने भालुकी
स्वास्नी नक्कली कटहर र जमुना धेरै रुचाउँथी । भालुकी
छोरी चुलबुललाई आँप, काफल र ऐसेलु मनपर्थ्यो । मह र
खनिया भने सबैले उत्तिकै रुचाउँथे ।
उनीहरू बेलाबेलामा टोँडकाको मौरीको घारबाट मह काढ्थे
। उनीहरूले बाँसको ढुँग्रोमा मह संगालेर राख्थे । उनीहरू
बस्ने ओढारको भित्तामा काठको किला ठोकेर महले भरिएका
ढुँग्राहरू लस्करै झुण्ड्याइएका हुन्थे । विहान माछा,
मह, फलफुल खाएपछि उनीहरू बनमा घुम्न निस्कन्थे ।
बनमा घुम्दा उनीहरूले बाटामा भेटिएका फलफूल बटुल्थे
। सानातिना जीवजन्तु र चराहरू पनि उनीहरूले मार्थे र
ओढारमा ल्याउँथे । उनीहरूलाई खाने कुराको दुःख थिएन
। दिउँसो फुर्सतमा उनीहरू आगनमा बसेर खेल्थे । वरिपरिका
रुखहरूमा जुरेली, ढुकुर, कोइली, तित्रा, कालिजका गुँड
थिए । भालु परिवार आगनमा बसेर घाम ताप्दै चराहरूको गीत
सुन्थे र नाच हेर्थे । पहलमान भालु र उसको सानो परिवार
रमाइलोसँग बनमा जीवन बिताइरहेको थियो ।
त्यो बनमा अरु जीवजन्तु पनि थिए । कहिलेकाहीँ बाँदरको
बथान ओढार नजिकै आउँथ्यो । बाँदरहरूले फलफूल टिप्थे
। रुखको टोडकाबाट मह झिकेर खान्थे । राती चमेराहरू आउँथे
र भालुको मनपर्ने खनिया खाइदिन्थे । फलफूल खान अरु चराहरू
पनि आउँथे । खोलाको छेऊमा बस्ने ओतहरूलाई माछा नभई हुँदैनथ्यो
। रातीराती घण्टौँसम्म पानीभित्र पसेर माछा समात्नु
उनीहरूको शोख नै थियो । यसरी त्यो बनको रमाइलो र त्यहाँ
पाइने फलफूल, मह, माछाजस्ता मिठा खाने कुराहरू भालुले
मात्रै होइन अरु जीवजन्तु र चाराहरूले पनि उपभोग गर्थे
।
यो कुरा पहलमान भालुलाई मन पर्दैनथ्यो । त्यो बनमा
भएको सबै कुरा ऊ आफ्नो एकलौटी ठान्थ्यो । एक दिन उसले
हुलाकी कौवालाई बोलाएर भन्यो, "हेर कौवा, मेरो
ओढार वरिपरिको बन र यो खोलो मेरो हो । यहाँ फल्ने फलफूल,
मह र खोलाको माछा सबै मेरो हो । अबदेखि बाँदर, चमेरा,
चरा, ओत र अरु जीवजन्तुले समेत यो वनको फलफूल, मह र
माछा खान पाउँदैन । मलाई नसोधीकन मेरो बनभित्र छिर्न
पनि पाउने छैन । नत्र मैले त्यसलाई सजाय दिनेछु । यो
कुरा बनका सबै जानवर र चराचुरुंगीलाई सुनाइदेऊ ।"
कौवाले पहलमान भालुको आदेश बनका सबै जीवजन्तु र चराहरूलाई
सुनायो । भालुको कुरा सुनेर बनमा बस्ने सबै प्राणी रिसाए,
किनकि त्यो बन उनीहरू सबैको साझा हो र सबैले बनबाट आआफ्नो
खाँचो पूरा गर्न पाउँछ भन्ने थिति बसिसकेको थियो । यो
थिति तोड्नु भनेको त बलमिच्याइँ हो । तर कसैले पनि भालुको
आदेशको खुलेर विरोध गर्नसकेन । किनकि पहलमान भालुको
बलसँग सबै जीवजन्तु डराउँथे ।
त्यसपछि पहलमान भालु, उसकी स्वस्नी र छोरी मोटो लौरो
लिएर नंग्रा तिखार्दै आगनमा घुम्न थाले । राती पनि उनीहरू
पालैपाले जागा बसेर बनको फलफूलको रखवारी गर्थे ।
फलफूल, मह र माछा खान आउने पशुपंछीहरूलाई उनीहरूले
कसैलाई तर्सएर धपाए भने कतिपयलाई मारे पनि । माछा नखाई
नहुने ओतको परिवार बसाइ सरेर खोलाको सिरानतिर बस्न गयो
। चराहरूले पनि ओढारको वरिपरि गुँड बनाउन छाडे । पहलमान
भालुको डरले त्यहाँ बाँदर, दुम्सी, खरायोमात्र होइन
चरा र किराहरूसमेत आउन छाडे । केबल हुलाकी कौवा कहिलेकाहीँ
सुकेको माछा खान पाइन्छ कि भनेर आउँथ्यो र बनका हालखबर
सुनाएर जान्थ्यो ।
मिठो गीत गाउने चराहरू आउन छाडेपछि भालु परिवारले गीत
सुन्न पाएनन् । बिऊ र केसर ओसारपसार गरेर फलफूल फलाउन
र नयाँनयाँ बिरुवा उमार्न सघाउने चराचुरुंगीहरू आउन
छाडेको हुनाले त्यहाँ फलफूल फल्न पनि छाड्यो । फलफूल
नभएपछि मौरीले मह बनाउन रस पाएन । यसैले मौरीहरू पनि
रानीसमेत अर्को बनमा बसाइ सरे । ओतहरू खोलाको सिरानमै
गएर माछा मार्न थालेको हुनाले ओढार नजिकको खोलामा माछा
पाइन छाड्यो । केही दिनपछि ओढारवरिपरिको बन उराठ लाग्दो
देखिन थाल्यो । बनमा खानेकुरा पाइन छाड्यो ।
भालु र उसको परिवारलाई बनमा दिनभरि डुल्दा पनि पेटभरि
खानेकुरा बटुल्न गाह्रो भयो । मह र खनिया खान नपाएपछि
उनीहरूको जाँगरै हरायो । उनीहरू खाने कुरा खोज्न बनमा
एक्लाएक्लै चाहार्न थाले ।
एक दिन भालुकी छोरी चुलबुल माछा खोज्दै थिई । माछाको
सट्टा उसले गँगटा र भ्यागुतामात्रै भेट्टाइ । ऊ निक्कै
भोकाएकी थिई । यसैले उसले मन नपरे पनि भ्यागुता र गँगटा
समाती । यही बेला खोलापरिको बनमा उसले बनबिरालोलाई देखी
। बनबिरालोले थुप्रै माछा मारेर लहरामा उनेर काँधमा
बोकेको थियो । बोक्नसक्ने जति माछा लिएर ऊ घरतिर जाँदै
थियो ।
चुलबुलले मन थाम्न सकिन । ऊ दगुर्दै बनबिरालोको छेऊमा
पुगी र भोको पेट देखाउँदै साह्रै टिठलाग्दो स्वरमा बनबिरालोसँग
दुईचार वटा माछा मागी ।
बनबिरालोले सोध्यो, "तिमी त्यही खोलापारिको ओढारमा
बस्ने भालुकी छोरी त होइनौ ?"
चुलबुलले हो भनेपछि बनबिरालोले भन्यो, "हेर चुबलुल,
तिम्रो बाले बनका पशुपंछीहरूमाथि धेरै अन्याय गर्यो
। उसले साझा बनलाई एकलौटी बनायो । बनका फलफूल, मह, माछा
सबैले खान पाउने पशुपंछीहरूको अधिकार उसले खोस्यो ।
यसै कारण तिमी बसेको ओढार ओरिपरिको बनको यो अवस्था भएको
हो । तिम्रो चाउरी परेको पेट र मलिनो अनुहार देखेर टिठ
लाग्छ । तर मैले तिमीलाई माछा खान दिएको कुरा अरू पशुहरूले
थाहा पाए भने मलाई यो बनमा बस्न दिने छैनन् । यसलै म
तिमीलाई यो माछा दिन सक्तिन । बरु तिमी गएर आफ्नो बालाई
सम्झाऊ । यो बन फेरि सबैको साझा भयो भने बनका पशुपंछीहरूको
मात्रै होइन तिमीहरूको पनि भलो हुन्छ ।"
माछा खान नपाएपछि चुलबुल रुँदै ओढारतिर गई । ओढारभित्र
उसकी आमा नक्कली एउटा कुनामा पल्टिरहेकी थिई । उसले
रुँदै बनबिरालोले भनेको कुरा आमालाई सुनाई । नक्कलीले
चुलबुललाई सम्झाउँदैभनी, "हुनत हो, यो बन सबैको
साझा हो । तेरो बाले आफ्नो बलको शेखीले यो बनलाई एकलौटी
बनाएका हुन् । यसो गर्न नहुँदो रहेछ । अब त तेरो बाको
बुद्धि पल्हायो होला ।"
यत्तिकैमा पहलमान भालु आइपुग्यो । उसले माछा राख्ने
फुर्लुङमा गँगटा र भ्यागुता ल्याएको थियो । बाले खानेकुरा
ल्याउला भनेर आश गरेकी चुलबुलले फुर्लुङमा गँगटा र भ्यागुतामात्रै
देखेपछि ऊ डाँको छोडेर रुन थाली ।
नक्कलीले पनि लोग्नेलाई घोँचपेच गर्दै भनी, "हाम्रो
एकलौटी बनमा फलफूल र मह हुन छाडेछ कि क्या हो ? छोरी
भोकले आत्तिएकी छे । खोलाका माछा पनि उडेर गएछन् कि
कसो ?"
भोक त भालुलाई पनि लागेको थियो । पहिले स्वस्नी र छोरीलाई
ख्वाएपछि मात्रै खाउँला भनेर ओढारमा आएको भालु स्वास्नीको
व्यंग्य सुनेर रिसायो । उसले फुर्लुङ एकतिर फ्याँक्यो
र दुई हातले नक्कलीको जगल्टा लुछेर भुइँमा पछार्यो ।
बाबुको रिस देखेर चुलबुल ओढारको एउटा कुनामा लुक्न गई
।
त्यो दिन पहलमान भालुको परिवार भोकै सुत्यो । दिनभरि
बनमा खानेकुरा खोज्दाखोज्दा थाकेका हुनाले उनीहरू भोकै
निदाए । निँदमा पहलमान भालुले मिठो सपना देख्यो ।
सपनामा उसले ओढार ओरिपरि चराहरू चहचहाउँदै गाएको, मौरीले
भुनभुन गर्दै फुलको रस ओसारेको, रुखको टोँडका मौरीको
गुलियो महले भरिएको, खोलामा पौडी खेल्दै माछा समातेको
देख्यो । त्यही बेला एक हुल चमेरा आएर खनिया खान थालेको
देखेर उसलाई रिस उठ्यो । ऊसले ढुंगा टिपेर चमेरालाई
हान्न खोज्दा उसको हात साह्रो कुरामा ठोक्किएर ऊ बिउँझ्यो
।
बाहिर झलमल्ल घाम लागिसकेको रहेछ । ओढारबाहिर हुलाकी
कौवा काका गरेर कराइरहेको थियो ।
भालुले ओढारको आगनमा चरा र बाँदरलाई धपाउन थुपारेको
ढुंगा र लौरो मिल्काउन थाल्यो । यो देखेर कौवाले अचम्म
मान्दै सोध्यो, "होइन पहलामान काका तपाईलाई के
भयो आज ? बगैँचाको रक्षा गर्न थुपारेको ढुंगामुढा किन
फाल्न थाल्नुभयो ? दुःख दिन आउलान फेरि अरु जानवर र
चराहरूले ।"
कौवाको कुरा सुनेको नसुनेझैँ गरेर पहलमान भालुले भन्यो,
"हेर कौवा, तिमी मेरो भलो चिताउँछौ भने तुरुन्तै
जाऊ र बनमा सारा पशुपंछी किराफट्यांग्राहरूलाई यो ओढार
वरिपरिको बनमा निम्त्याऊ । आजदेखि यो बन सबैको साझा
हो भनेर खबर फैलाऊ । चराहरूलाई यहाँ आएर गुँड बनाऊ र
गीत गाऊ भन । ओतहरूलाई बसाइ सरेर यहीँ आएर खोलामा रमाऊ
भन । चमेरालाई खनिया खान डाक । मौरीलाई फूलको रस बटुलेर
मह बनाऊ भन । बाँदरलाई फलफूल र मह खान बोलाऊ ।"
भालुको निम्ता पाएर बनका प्राणीहरू खुशी भए । उनीहरूले
भालुको ओढार रित्तो छ भन्ने थाहा पाइसकेका थिए । त्यसैले
ओतहरूले माछा बोकेर आए । चराहरूले खनिया, जमुना, काफल,
ऐसेलु र रसिला फलहरू लिएर आए । बाँदरले महका चाकाहर
ल्याए । त्यो दिन पहलमान भालुको ओढारको आगनमा पहलमान
भालुको परिवारसँग बनका पशुपंछीहरूले अनौठो बनभोज खाएर
खुशी मनाए ।
साँचल, सानेपा, ललितपुर
२०६० चैत २ गते ।
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |