विनय कुमार
कसजुका कथा
अटेरी
घडीहरू
राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग
घंटी बजाउन निक्कै गाह्रो पर्थ्यो । जाडोमा त झन उसको घण्टीको
आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले
उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा
मिल्काइसक्थे होलान् वा कवाडीलाई बेचिसक्थे कि ।
तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक रात
बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि
घडीहरूको मिटिङ सुरु हुन्थ्यो । त्यो घरमा भएका सबै
घडीहरूले अनिवार्य रूपमा मिटिङमा भाग लिन्थे ।
घरमा भाँतीभाँतीका घडीहरू थिए । कुनै युरोपमा बनेका,
कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए । धेरैजसो घडीहरू
घरबेटीका छोराछोरीको जन्म दिनमा साथीहरूले उपहार दिएका
सस्ता खालका थिए । कुनै घडी पन्ध्रपन्ध्र मिनेटमा कराउँथे,
कुनै आधा घण्टामा अनि धरैजसो घडीहरू हरेक घण्टा मिठो
स्वरले समय बताउँथे । केही घडीहरू लाटाजस्ता बोल्दै
नबोल्ने पनि थिए । कुनै घडी दम दिएर चल्थे भने धेरैजसो
घडीहरू बेट्रीले चल्थे । पेण्डुलम भएको घडी एउटामात्रै
थियो ।
विभिन्न खालका घडीहरूमध्ये दम दिएर चल्ने र युरोपमा
बनेका घडीहरूको बेग्लै सान थियो । तिनीहरू कोही स्विट्जरलैण्ड
त कोही इंग्लैंडमा जन्मेकोमा गर्व गर्थे र अरुसँग बोल्दा
इज्जत घटेको ठान्थे । तर बेट्रीले चल्ने नयाँ घडीहरू
भने उच्च कुलको घमण्ड गर्ने घडीहरूलाई टेर्दैनथे । उनीहरूले
भनेको कुरा काट्न पाउँदा उनीहरूलाई मज्जा आउँथ्यो ।
त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो । त्यसको भित्र
पनि एउटा घडी थियो । घडीकै अनुसार त्यो रोबोट चल्ने
गर्थ्यो । तर त्यसको अनुहारमा सुई वा अक्षरहरू नभएको
हुनाले अरु घडीहरूले त्यसलाई घडी नै ठान्दैन थे । त्यसैले
उसलाई रातीको मिटिङमा बोलाउँदैनथे । तैपनि ऊ घडीहरूको
मिटिङमा भाग लिने गर्थ्यो । खास गरी बूढो पेण्डुलम घडीको
कुरा सुन्दा उसलाई बडो मज्जा आउँथ्यो । अब कति दिन सुन्न
पाइएला र उसको कुरा ? यसैले बेलैमा सुनिराख्नु पर्छ
भन्ने ऊ सोच्थ्यो ।
मिटिंगमा छलफलको विषय सँधैजसो उही हुन्थ्यो । पाका
घडीहरूले आआफ्नो अनुभव सुनाउँथे । खास गरी बूढो पेण्डुलम
घडीको अनुभव निकै पुरानो र रोचक हुन्थ्यो । उसको कुरा
जहिले पनि "म बीर शम्शेरको दरबारमा छँदा"
भन्ने वाक्यबाट सुरु हुन्थ्यो । नेपालमा घण्टाघर बनाउँदा
नमुनाको रूपमा ऊ नेपाल आएको हो भन्ने उसको दाबी थियो
। तर अरु घडीहरूले उसको कुरा पत्याउँदैन थे । तैपनि
उसले यो कुरा भन्न कहिल्यै छाड्दैनथ्यो । राणा दरबारभित्र
हुने रोचक तथा सनसनीपर्ण घटनाहरू सुनाउन पाउँदा उसलाई
आनन्द लाग्थ्यो । त्यस्तै अरु घडीहरूले पनि उहिलेका
कुरा सुनाउँथे । तर बेट्रीले चल्ने आधुनिक घडीहरूसँग
त्यति धेरै अनुभव थिएन । उनीहरूसँग रमाइला कुरा पनि
थिएन । यसैले तिनीहरू उहिलेका कुरा खुइलिए भनेर बूढाहरूको
कुरालाई हाँसोमा उडाउँथे ।
मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन । ठिटा घडीहरूले
अनुशासनको पालन उतिसाह्रै गर्दैनथे । बूढा घडीहरूको
भनाइ के थियो भने घडीको मुख्य र एकमात्र काम नै मानिसलाई
समयको जानकारी गराउनु हो । यदि त्यो कर्तव्य पूरा गर्न
सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ हुँदैन । तर
तन्नेरी घडीहरू भने समय दिनेमात्रै हाम्रो काम होइन,
मिठो संगीत सुनाउनु र राम्रो भएर कोठा सजाउनु पनि घडीको
काम हो भन्थे । घडीहरूको मिटिङमा यो विषयमा निक्कै चर्काचर्की
छलफल हुन्थ्यो । यदि मिठो संगीत सुनाउने र कोठा सजाउने
काममात्रै गरेर ठिक समय दिनसकेन भने घरपटीले त्यस्तो
घडीलाई घुर्यानमा मिल्काउनसक्छ भनेर बूढा घडीहरूले ठिटा
घडीहरूलाई कहिले सम्झाउँथे, त कहिले तर्साउँथे ।
मिटिङमा कसैले वास्ता नगर्ने रोबोटको गुनासो बेग्लै
थियो । समय पालनमा उसलाई कसैले पनि उछिन्न सक्तैनथ्यो
। उसलाई पनि घडी मानेर अरुसमान व्यवहार गरिनुपर्छ भन्ने
उसको दाबी थियो । उसको के पनि भनाइ थियो भने यदि कुनै
पनि घडी बिग्य्रो भने उसले मरमत गर्नसक्छ । तर बूढो
पेण्डुलम घडी विग्य्रो भने बनाउन सकिन्छ भन्ने कुरामा
रोबोट आफैलाई विश्वास थिएन ।
रातभरि करायो दक्षिणा हरायो भनेझैँ ठिटा घडीहरूले मिटिङका
कुरालाई पालन गर्ने त के कुरा गंभीरतापूर्वक पनि लिएनन्
। पुरानो घडीहरूलाई नयाँ घडीहरूले टेर्दैटेरेनन् । उनीहरू
मौकाबेमौका बज्न र कराउन छाडेनन् ।
यसरी घडीहरूले फरकफरक र गलत समय बताउन थालेपछि घरको
काम गडबड हुनथाल्यो । खास गरी भान्छेले बेलामा भान्छा
तयार पार्न सकेन । बेलामा खाना नपाकेपछि विद्यार्थीहरू
ठिक समयमा स्कुल जान पाएनन् । छोरा बुहारीहरू बेलामा
अफिस र अरु काममा जान पाएनन् । शान्त स्वभावका घरबेटी
र उनकी पत्नीको आराम गर्ने, औषधी र खाना खाने अनि लेखपढ
गर्ने समय पनि गडबड भयो । बेलामा खाना, औषधी र आराम
नपाएपछि उनीहरू बिरामी पर्न थाले ।
अटेरी घडीहरूले यसरी हैरान पारेपछि एक दिन घरबेटीले
पुरानो पेण्डुलम घडीलाई बाकी राखेर अरु सबै घडी झिकेर
बुइँगलमा थन्क्याइदियो ।
राती बाह्र बज्यो । बूढो पेण्डुलम घडीले बाह्र पल्ट
खोक्यो र अरु घडीलाई मिटिङमा भाग लिन बोलायो । तर त्यो
दिन कुनै पनि घडीले मिटिङमा भाग लिएनन् । एक्लो रोबोटमात्रै
बूढो घडीको नजिक उभियो । बूढो घडीले सोध्यो, "अरु
घडी कहाँ गए ?"
"आज त घरबेटी रिसाएर सबैलाई बुइँगलमा राखिदिए
। सबैको बेट्री र चाँपी पनि झिकिदिएका छन् । कोही पनि
चुँ बोल्न नसक्ने भएका छन् ।" रोबोटले बडो दुःख
मनाउ गर्दै भन्यो ।
"मैले त भनेकै हुँ । यसरी अटेरी नहोऊ भनेर कति
सम्झाएँ । मानेनन् । आखिर यो दिन पनि देख्नुपर्यो म
बूढोले । यसरी म एक्लै बाँच्नसक्तिन होला । तिमी त रोबोट
हौ केही उपाय गर्नसक्छौ कि ?"
बूढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि पग्ल्यो
। तै पनि उसले भन्यो, "खै ती बैगुनीहरूको पनि के
भलो गर्ने ? मलाई कहिल्यै घडी नै ठान्दैनन् तिनीहरू
।"
रोबोटसँग निहोरा गर्दै बूढो घडीले भन्यो, "त्यसो
नभन रोबोट । बैगुनलाई गुनले मार्नुपर्छ । बरु अब उप्रान्त
अनुशासनमा बस्छु भनेर कबुल्याएर उनीहरूलाई जीवन दान
देऊ ।"
बूढो घडीको कुरा सुनेर रोबोट बुइँगलमा गयो । उसले त्यहाँ
थुप्रिएका घडीहरूलाई हेर्यो । ती घडीहरू मरेका गंगटाका
खपटाझैँ भुइँमा फैलिएका थिए । रोबोटले सबैले सुन्ने
गरी भन्यो, "तिमीहरू नभएर पेण्डुलम घडी साह्रै
पिरोलिएका छन् । उनले तिमीहरूको हालचाल बुझ्न र सकिन्छ
भने सबैलाई व्युँताउन उनले मलाई पठाएका हुन् । हुन त
तिमीहरूले मलाई घडी नै ठान्दैनौ । तर पेण्डुलम घडीको
कुरा काट्न नसकेर म यहाँ आएको हुँ । यदि तिमीहरूले मलाई
पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा
गर्छौ भने म तिमीहरू सबैलाई ब्युँताउनसक्छु ।"
रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरूको
अनुहार चहकिलो भयो । तिनीहरूले रोबोटसँग माफी मागे र
अब उप्रान्त उसलाई पनि आफूसरह ठान्ने अनि पेण्डुलम घडीको
आदेश पालन गर्ने बाचा गरे ।
राबोटले पनि निस्क्रिय भएका घडीहरूमध्ये कुनैमा बेट्री
राखेर अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो ।
उसले ती घडीहरूलाई तिनको पुरानै ठाउँमा सजाएर राखिदियो
।
भोलि बिहान ६ बज्दा सबै घडीले एकै समयमा एकै सुरमा
मिठो संगीत बजाएको सुनेर घरपटी छक्क र दंग भयो । उसले
रेडियो खोलेर ६ बजेको समाचार सुन्यो । सात बजे बुहारी
भान्छामा पसिन् । केटाकेटीहरू स्कुल जान तयार भएर भान्सामा
खाजा खान पस्दा सबै घडीले एकै सुर र संगीतमा नौ बजाएर
केटाकेटीको स्वागत गरे । सबै घडीले एकै सुरमा मिठो धुन
बजाउँदा बूढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो
।
२०६० मंसिर ४, बिहीबार
(कान्तिपुर कोसेलीमा, २०६० चैत २० गते प्रकाशित)
माथि
मूल पृष्ठमा
जाउँ
|