प्रसिद्ध
प्राचिन कथाहरू
पण्डोराको
बाकस
युनानी पौराणिक कथा
अनुवादकः विनय कसजू
संसारको सृष्टिका सुरुका दिनहरूमा मानिसहरू
निक्कै खुशी थिए । जताततै उज्यालो र हाँसो मात्रै थियो । दुःख
कष्ट भन्ने थिएन । घाम दिनदिनै लाग्थ्यो । देवताहरू मानिससँग
कुराकानी गर्न र रमाइलो गर्न पृथ्वीमा आउँथे ।
एक दिन इपिमिथस र उनकी पत्नी पण्डोरा घर बाहिर
फूलबारीमा फूलका बोटबिरुवाहरूको हेरबिचार गर्दै थिए । उनीहरूले
सन्देशबाहक देवता मर्करी आकाशबाट विस्तारै उनीहरूकहाँ आउन
लागेको देखे । उनले आफ्नो काँधमा एउटा गह्रुँगो बाकस बोकेका
थिए । बाकसको भारीले गर्दा उनी झुकेका थिए । उनी निक्कै थाकेका
देखिन्थे ।
इपिमिथसले मर्करीलाई भारी भुइँमा बिसाउन सघाए
। थाकेका मर्करीलाई पण्डोराले चिसो सर्बत खान दिइन् । मर्करीले
ल्याएको काठको बाकसमा अनौठा बुट्टा कुँदिएका थिए । बाकसलाई
चारैतिरबाट सुनौला डोरीले बाँधिएको थियो ।
मर्करीले लामो सास फेर्दै भने, "मेरा
प्रिय साथीहरू ! तपाईँहरूले मलाई एउटा काममा मदत गर्नुपर्यो
। आज चर्को घाम लागेको छ । यो बाकस निक्कै गह्रुँगो छ । मलाई
एउटा जरुरी काममा नगई भएको छैन । यसैले म नर्फकँदासम्म यो
बाकस यहीँ छाडे कसो होला ?"
"भैहाल्छ नि । यसमा हामीले गर्नुपर्ने
कुरै के छ र !" इपिमिथसले हाँस्दै जवाफ दिए ।
इपिमिथस र मर्करी मिलेर बाकसलाई उचालेर घरभित्र लगे ।
"यो बाकस यहाँ ल्याएको कसैले पनि देखेको
छैन भन्ने कुरामा तपाईँहरू ढुक्क हुनुहुन्छ कि हुनुहुन्न ?"
मर्करीले गम्भीर भएर सोधे, "कुनै पनि अवस्थामा कसैले
पनि यो बाकस खोल्नु हुँदैन । बुझ्नुभयो ?"
"यो कुराको कत्ति पनि चिन्ता नलिनुस्
।" इपिमिथस र पण्डोरा दुबैले भने र मर्करीलाई विदा गरे
।
मर्करी गइसकेपछि अचानक पण्डोरा टक्क अडिइन्
। उनले निधार खुम्च्याउँदै सासैसासले कुरा गर्दै भनिन्, "सुन
त इपिमिथस ! कसैले हाम्रो नाम लिएर बोलाइरहेको जस्तो मलाई
लाग्यो ।"
इपिमिथस र पण्डोरा दुबैजनाले बडो ध्यान दिएर
सुने । सुरुमा त उनीहरूले बाहिर उज्यालोमा चरा कराएको र रुखका
पात सुसाएको बाहेक केही पनि सुनेनन् । त्यसपछि उनीहरूले निक्कै
पर बाहिर "इपिमिथस ! पण्डोरा !" भनेर बोलाएको सुने
।
"हाम्रा साथीहरूले बोलाएजस्तो छ !"
इपिमिथसले दंग पर्दै भने ।
तर पण्डोरा अल्मलिएजस्ती देखिइन् । उनले टाउको
हल्लाउँदै ढुक्कसँग भनिन्, "होइन, मैले सुनेका स्वर त्यो
होइन ।"
"मलाई त साथीहरूले डाकेजस्तै लागेको छ
। जाउँ बाहिर गएर सबैसँग भेटौँ ।" इपिमिथसले हाँस्दै
भने ।
पण्डोराले अलि गम्भीर हुँदै भनिन्, "तिमी
जाऊ । म एक छिन यहीँ बस्छु ।"
"हुन्छ । म त गएँ ।" भन्दै इपिमिथस
बाहिर गए ।
उनी बाहिर जाने बित्तिकै पण्डोरा त्यो अनौठो
बाकसनेर गइन् र पर्खिरहिन् । केही सेकेन्ड नबित्दै फेरि उनले
अघिको जस्तै स्वर सुनिन् । टाढा कताकताबाट आएजस्तो अवाजले
उनलाई "पण्डोरा ! पण्डोरा !" भनेर बोलाउँदैथियो
। त्यो स्वर बतासले कानमा साउती गरेजस्तो साह्रै मसिनो थियो
। पण्डोरालाई त त्यो साँच्चैको स्वर नभएर उनको आफ्नै कल्पना
हो कि जस्तो पनि लाग्यो ।
पण्डोरा निहुरिन् र बाकसको ढक्कन नजिकै कान
थापेर सुनिन् । यस पटक भने उनले स्पष्ट स्वर सुनिन् । त्यो
बाकसले उनलाई नै बोलाइरहको रहेछ । "पण्डोरा !" भित्रबाट
बडो टिठलाग्दो स्वरले उनलाई केही काम गर्न विनम्रता पूर्वक
अनुरोध गरिरहेको थियो ।
"पण्डोरा ! हामीलाई बाहिर निकाल । हामी यहाँ अंध्यारोमा
थुनिएका छौँ । हामीलाई मुक्त हुन मदत गर ।"
यो सुनेर पण्डोर झसँग झस्किन् र बाकसदेखि केही
पर गएर उभिइन् । मर्करीले कसैलाई पनि बाकस खोल्न नदिनू भनेर
कडा चेतावनी दिएका थिए । तर त्यो स्वर साह्रै टिठलाग्दो र
दुखी थियो !
"पण्डोरा ! हामीलाई मदत गर, बिन्ती छ
हामीलाई मदत गर ।" बाकसभित्रबाट बारंबार अनुरोध आइरहेको
थियो ।
पण्डोराले उनीहरूको अनुरोध पूरा नगरी बस्न
सकिनन् । उनी भुइँमा घुँडाले टेकेर बसिन् र बाकसलाई कसेर बँधेको
सुनौला डोरीको गाँठो हतारहतार फुकाउन थालिन् । डोरी फुकाउँदाफुकाउँदै
पनि उनले कानेखुसीका स्वर र टिठलाग्दो अनुरोध निरन्तर सुनिरहिन्
। आखिरमा गाँठाहरू फुस्किए । टल्कने सुनौला डोरीहरू भुइँमा
झरे । उनले लामो सास फेरिन् । अनि बाकसको बिर्को उघारिन् ।
उत्तिखेरै पण्डोराले आफूले ठूलो गल्ती गरेको
थाहा पाइन् । त्यो बाकसभित्र संसार भरिका खराब जीवहरूलाई कोचेर
राखिएको रहेछ । त्यसभित्र मानिसहरूलाई दुःख दिने डस्ने, थुङने,
चिल्ने, टोक्ने घिनलाग्दा पुतलीजस्ता पखेटा भएका किराहरू थिए
। उनीहरू जहाँ जान्थे त्यहाँका मानिसहरूलाई दुःख सास्ती दिन्थे
। पण्डोराको गल्तीले गर्दा अब ती दुच्छर जीवहरू मुक्त भएका
थिए । तिनीहरू बाकसबाट हुलकाहुल निस्के र पण्डोराको वरिपरि
र उनको जिउमाथि उडनथाले ।
जीवनमा पहिलो पटक पण्डोराले पीडा र दुःख भनेको
के हो भन्ने थाहा पाइन् । उनी निराश भएर डाँको छाडेर रुन थालिन्
। अनि उनले जोडले बाकसको बिर्को बन्द गरिन् । तर बन्द गर्न
ढिला भइसकेको थियो ।
आफ्नी पत्नी रोए कराएको सुने र बाहिर बसेका
इपिमिथस दगुर्दै भित्र आए । बाकसबाट निस्केका किराहरू उड्दै
झ्याल र ढोकाबाट बाहिर जाँदाजाँदै थिए । तिनले इपिमिथसलाई
पनि टोके । जीवनमा पहिलो पटक उनी आफ्नी पत्नीसँग रिसाए र गाली
गर्न थाले । पण्डोरा पनि रिसाएर कराउन थालिन् । उनीहरूले आफूहरू
आपसमा झगडा गरिरहेछन् भन्ने कुरा पहिलो पटक थाहा पाए । अनि
उनीहरू निक्कै डराए ।
"मलाई बाहिर आउन देऊ !" एउटा तीखो
आवाज आयो । त्यो आवाज सुनेर दुबै जना तर्से र एकअर्कासँग टाँसिए
। आवाज बाकसभित्रबाट आएको थियो । "मसँग डराउनु पर्दैन
! मलाई बाहिर निस्कन देऊ । म तिमीहरूलाई मदत गर्छु ।"
भित्रबाट आएको आवाजले भन्यो ।
"अब के गर्ने ?" पण्डोराले डराउँदै
र अचम्म मान्दै इपिमिथससँग सासैसासले सोधिन् ।
"तिमीले गर्न नहुने गल्ती गरिसक्यौ ।
अब त्योभन्दा ठूलो गल्ती के होला र !" इपिमिथसले रिसाउँदै
भने । पण्डोराले आँखा चिम्लिन् र फेरि मर्करीको बाकसको बिर्को
उघारिन् ।
बाकसको अँध्यारो कुनाबाट पुतलीजस्तो
चम्किलो सेतो जीव निस्क्यो । त्यो आशा थियो
। त्यो जीवले पण्डोरा र इपिमिथसको जिउमा लागेको घाउहरूलाई
शितल पारिदियो । उनीहरूले आफ्नो दुखाइ केही हल्का भएको अनुभव
गरे । अनि त्यो जीव हान्निएर झ्लालबाट बाहिर दुःख र पीडाहरूको
पछिपछि गयो । भाग्यवश त्यस बेला देखि आशा मानिसहरूसँग
बस्न थाल्यो । साँच्चै, आशा नभएको भए यो
संसारमा बाँच्न कति गाह्रो हुन्थ्यो होला !
माथि
मूल पृष्ठमा जाउँ |