प्रसिद्ध
लोककथाहरू
रिप भान विंकल
अमेरिकी लोककथा
अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो
। त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस
बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन
उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो
काम छाडेर जहिले पनि अरुकै काम गरिरहेका हुन्थे ।
उनको यस्तो बानीले उनकी पत्नी साह्रै दिक्क थिइन् ।
उनी दिनभरि कचकच गरिरहन्थिन् । "रिप, आज तिमी श्रीमती
ग्रिनको भित्ता लिप्न व्यस्त छैनौ भने गोठमा मुसाको
प्वाल टाल । छिमेकी किसानको घुर डढाल्नुको सट्टा कुखुरालाई
चारो ख्वाऊ अनि गाईको दूध दुह । आर्ने ज्याकबको पर्खाल
बनाउन छाड । बारीमा गएर आलु गोड । गाडा सफा पार्ने काम
छ । ढल सफा गर्नुछ । आगन बढार्नुछ . . . ।" सँधैजसो
यस्तै कुरा हुन्थ्यो ।
पत्नीको कचकच सुन्नु पर्ला भनेर रिप वान विंकल प्रायः
काँधमा बन्दुक बोकेर आफ्नो इमानदार कुकुर उल्फलाई सँगै
लिएर पत्नीसँग एक बचन पनि नबोली घरबाट निस्कन्थे । पत्नीको
झिनो स्वर समेत नसुनिने ठाउँमा उनी पुग्न चाहन्थे ।
उनी पहाड, खोलाको तिरैतिर र सल्लाघारीमा घुम्थे जहाँ
चराहरूको चिरबिर, पात सुसाएको र उसको कुकुर थाकेर स्याँस्याँ
गरेको मात्रै सुनिन्थ्यो । घर फर्केपछि यसको बदलामा
घेरै कुरा सुन्नु पर्नेछ भन्ने उनलाई थाहा थियो । तर
दिनभरिको शान्तिपूर्ण र घमाइलो दिनको बदलामा यो उनका
लागि कुनै ठूलो कुरा थिएन ।
एक दिन यस्तै शान्त एकान्त वातावरणमा हराएको बेला रिप
वान विंकल रुखको सिँयालमुनि आराम गरिरहेको बेलामा उनले
कसैले बोलाएको सुने । "रिप वान विंकल ! रिप वान
विंकल ! रिप वान विंकल !" भनेर कसैले चिच्याएर
बोलाइरहेको थियो ।
उल्फ कुकुरले कान चनाखो पार्दै आवाज आएको दिशातिर हेर्दै
सुस्तरी भुक्यो । रिपले पनि त्यतातिर हेर्यो । हरिया
घाँसहरूको माझमा उनले निहुरिएको हरियो प्वाँख देख्यो
। त्यो प्वाँख चहकिलो रातो टोपीमा घुसारिएको थियो ।
अनि त्यो टोपी लामो दाह्री पालेको मानिसको टाउकोमाथि
थियो । त्यो मानिस रिपले लाएको बुट जुत्ताभन्दा अग्लो
थिएन । त्यसले काठले बनेको जाँड (बियर) राख्ने गोलो
भाँडो, ब्यारललाई बोकेर लैजाने कोशिस गर्दै थियो ।
त्यो बाउन्नेले रिपलाई बोलाउँदै भन्यो, "रिप वान
विंकल ! रिप वान विंकल ! रिप वान विंकल ! यो ब्यारेलको
भारीले म च्यापिन लागेँ । तिमी मलाई मदत गर्न सक्छौ
कि !"
रिपलाई अरुले अह्राएको काम गर्ने बानी परिसकेको थियो
। बाउन्नेको कुरा सुन्ने बित्तिकै उसलाई मदत गर्न उनी
तयार भए ।
ब्यारल गह्रुँगो थियो । रिपले एकातिरबाट उचालेको देखेर
बाउन्नेले लामो सासा फेर्दै भन्यो, "बेस गर्यौ
। अब हामी माथितिर लागौँ !" यसरी रिपले बाउन्नेलाई
आफ्ना बुटले कुल्चनबाट जोगाउँदै दुईतिर दुई जनाले उचालेर
पहाडको उकालो चढ्न थाले ।
यसरी एक घण्टाभन्दा धेरै उकालो हिँडेपछि बाउन्नेले रिपलाई
छङछङ गर्दै झरिरहेको छाँगोमा पुर्यायो । छाँगोको पछाडि
गोप्य बाटो थियो । त्यो बाटो भएर उनीहरू ठूलो गुफाभित्र
पुगे ।
गुफाभित्र धेरै बाउन्नेहरू थिए । जताततै बाउन्नेहरू
यताउता गरिरहेका थिए । केही बाउन्नेहरूले भोज ख्वाउनेहरूले
लाउने एप्रोन लाएका थिए । उनीहरूले रिपले ल्याएकाजस्ता
ब्यारलबाट अग्लाअग्ला मगहरूमा बियर भर्दै थिए । केही
बाउन्नेहरू नाइनपिन भनिने खेल खेलिरहेका थिए । उनीहरू
खेलमा रमाउँदै कराइरहेका थिए । धेरै बाउन्नेहरू बियर
खाएर मस्त भै बियर खाएको मग आपसमा ठोक्काउँदै त्यसैको
सुरमा ठूलोठूलो स्वरले गाइरहेका थिए ।
"कुर्सी तानेर बस ।" रिपको नयाँ साथीले रिपलाई
भन्यो र मगभरि बियर राखेर उसलाई खान दियो । "उकालोमा
भारी बोक्दा तिमी थाक्यौ होला । तीर्खा पनि लाग्यो होला
। दिल खोलेर बियर खाऊ ।" उसले भन्यो ।
"ओहो यति धेरै बियर कसरी खाने !" भन्दै छक्क
परेको रिप वान विंकलले बियरको ठूलो घुटको निल्दै भने
। "जे होस् । यो त साह्रै मिठो रहेछ !" उनले
ओँठ चाट्दै भने र फेरि आफ्नो मग बियरले भरे । कुनै पनि
बाउन्नेले उनलाई वास्ता गरेन । अनि रिपले बाउन्नेहरूले
नाइनपिन खेल प्रतियोगिता खेलिरहेको हेर्न थाले ।
"दिउँसोको समय बिताउने यो सबैभन्दा रमाइलो काइदा
रहेछ !" उनले अर्को मग बियर थप्दै मनमनै भने ।
उनले थपीथपी बियर खान थाले । उनलाई आफूले कति रक्सी
खाएँ भन्ने होसै भएन । उनी नजिकैको ठूलो ढुंगामाथि पल्टे
र भुसुक्क निदाए ।
रिप जाग्दा बाउन्नेहरू गइसकेका थिए । गुफा रित्तो थियो
। उनले हाई काढ्दै सँगै सुतेको उल्फलाई बोलाए । ती दुबै
जागे र जिउ तन्काए । उनीहरू हतारहतार गुफाबाहिर निस्के,
डाँडा ओर्ले र घरतिर लागे ।
घरको आगनमा पुग्ने बेलामा रिपले उल्फलाई भने, "एक
छिन पर्ख । मेरी पत्नी अहिले आकासपाताल उचाल्ने गरी
कराउन थाल्नेछिन् ।" उनले ढोका ठेल्ने हातो समातेर
बिस्तारै ढोकालाई घचेटेर खेल्न खोजे । तर सजिलोसँग ढोका
खुलेन । रिपले अलि जोड लगाए । तैपनि खुलेन । उनले ढोकामा
साँचो लाएको अडकल गरे । तर उनकी पत्नीले कहिल्यै पनि
ढोकामा साँचो लाउन्नथिन् ।
त्यही बेला घरको मूलढोका खुल्यो । ढोकाबाट रिसले चूर
भएकी महिला उभिएकी थिइन् । "को हौ तिमी ?"
ती महिला चिच्याइन् ।
ती महिला रिपकी पत्नी थिइनन् । यसैले उनले भने, "तिमी
मेरो घरको ढोकामा के गरिरहेकी छ्यौ ?" ती महिलालाई
रिपले पहिले कहिल्यै देखेका थिएनन् ।
"तिमी को हौ ? मेरो घरमा के गर्दैछ्यौ ?"
रिपले आत्तिँदै सोधे ।
"के रे ? तिम्रो घर रे ? म यो घरमा बस्न थालेको
उन्निस वर्षन्दा धेरै भयो !" महिलाले रिसाउँदै
भनिन् ।
रिपले आफ्नो वरिपरि र घरको बरण्डा अनि आगनमा हेरे ।
उनले टाउको तन्काएर हेरे । ती महिलाको कुरा ठिक थियो
। त्यो घर उनको थिएन । त्यो घर उनको घरजस्तै थियो ।
तर घरका झ्यालमा राखिएका पर्दाहरू बेग्लै थिए । आगनमा
राखिएका टेबुल कुर्सी पनि फरक थिए । गोठअगाडि राखिएको
घोडाले तान्ने गाडी पनि पनि उनको थिएन ।
"तर, ... म, ... कसरी ..." रिप भकभकाउन थाले
। "श्रीमती वान विंकल कहाँ छिन् त ?"
"श्रीमती वान विंकल ?" छक्क परेकी ती महिलाले
ट्वाल्ल परेर हेरीरही । "उनी त बीस वर्षअघि नै
यो गाउँ छाडेर गइन् । घुम्न गएको उनको लोग्ने हराएपछि
उनी यहाँ बस्नसकिनन् । अब तिमी यहाँबाट गइहाल, नत्र
प्रहरीलाई बोलाउनु पर्ला ।"
"बीस वर्ष!" रिप वान विंकल छक्कै पर्यो ।
उनले आफ्नो लामो दाह्री कन्याउन थाले । दाह्रीमा हात
पुग्ने बित्तिकै रिपको ध्यान दाह्रीतिर गयो । उनको दाह्री
बढेर घुँडासम्म पुगेको रहेछ । ती महिलाको कुरा साँचो
हुनुपर्छ । म त बीस वर्षसम्म निदाएछु !
पुरानो कुरा सम्झना आउनेबित्तिकै रिपको जिउ फतक्क गल्यो
। उनी काम्न थाले । उनले नजिकै उभिएको उल्फलाई ढाडस
दिँदै थपथपाए । अनि उनले आफ्नो अनुहार माथितिर फर्काउँदै
अलिकति मुस्कुराए । उनले अरुले नबुझ्ने गरी भने, "उल्फ,
कस्तो दिन आयो ! अब कत्ति पनि कचकच सुन्नै पर्दैन ।"
यति भन्दै रिप त्यहाँबाट बाहिर निस्के र मुखले रमाइलोसँग
सिठी बजाउँदै सडकको अर्को छेऊमा पुगे । तर रक्सी भट्टी
भने पहिले जहाँ थियो अहिले पनि त्यहीँ रहेछ । उनी भट्टीभित्र
पसे । त्यहाँ भएका मानिसहरू उनको कथा सुनेर निक्कै रमाए
। त्यस दिनदेखि उनलाई जाँड खान एक पैसा पनि खर्च गर्नु
परेन ।
मूल पृष्ठमा जाउँ |