a presentation of Dreams & Ideas

         
     
   

हान्स क्रि एन्डरसन

प्याउली फूल

हान्स क्रिस्चियन एन्डरसन
अनुवादकः शान्तदास

लौ, अब कथा सुन्नुहोस् ।

सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली फूल हावामा फरफर गर्दै नाचिरहेका थिए । फूलवारीमा फुलिरहेका फूलहरूले न्यानो घाम पाइरहेजस्तै घाँसको चउरमा फुलिरहेका ती सेता र पहेँल प्याउली फूलहरूले पनि घामबाट न्यानो माया पाइरहेका थिए । त्यसो भएकाले नै होला एक दिन बिहान एउटा प्याउली फूलले आफ्ना सेता पत्रहरू फिजाउँदै तिनका वीच रहेको सूर्यजस्तै देखिने सानो पहेँलो भाग प्रदर्शन गरिरहेको थियो ।

घाँसको माझ लुकिरहेको यस सानो फूललाई अरु कसैले हेरेनन् भन्ने कुरा कहिल्यै उसको मनमा लागेन । उ अत्यन्त सन्तोकी थियो । उ न्यानो सूर्यतिर र्फकन्थ्यो, त्यसलाई हेर्थ्यो र आकाशमा उड्दै गाइरहने जुरेलीको गीत सुनिरहन्थ्यो ।

प्याउली-फूल चाडका बेलामा जस्तै हँसिलो र दङ्ग थियो । त्यो दिन सोमबार थियो । केटाकेटीहरू जसरी स्कुलमा गएर आआफना कक्षामा बसी पाठहरू सिक्थे, त्यसरी नै घँसिलो चउरमा हरिया डाँठमा उभिदै त्यस फूलले पनि न्यानो घामबाट र आफना वरिपरि रहेका सबै कुराबाट पाठहरू सिक्ने गर्थ्यो ।

त्यस बेला सानो जुरेलीले सुनसान वातावरणमा आफूले भेट्टाएको आनन्दबारे प्रस्टसित र मीठो गरी गीत गायो । अनि प्याउली-फूलले त्यसरी माथि उडेर गाउन सक्ने सुखी चराप्रति सम्मान राखेर आकाशतिर हेर्यो, ऊ आफू पनि त्यसरी उड्न र गाउन नसकेकोमा अलिकति पनि खिन्न थिएन । "म हेर्न सक्छु नि, सुन्न पनि त सक्छु निँ, " उसले विचार गर्यो , "घामले मलाई न्यानो गरेर छुन्छ , हावाले मलाई म्वाई खान्छ, अहो, म कति भाग्यमानी छु !"

बारभित्रको फूलबारीमा थुप्रैथुप्रै भव्य र ठाडो गरी उभिएका फूलहरू थिए । जसको सुगन्ध कम छ उनै बढी घमन्डी देखिन्छन् ! साना पियोनीफूल आफूलाई गुलाफभन्दा पनि ठूला भनी देखाउन गमक्क फुलिरहेका छन् । र टुलिप-फूलहरू रङ्गचङ्गी छन् । यो कुरा तिनीहरूलाई थाहा थियो तर ती मैनबत्ती जत्तिकै ठाडो गरी उभिएका थिए , तिनलाई सबले देखुन भन्ने तिनको इच्छा थियो ।

फूलबारीभित्रका फूलहरूले बारभन्दा बाहिरको घाँसे चउरमा फुलिरहेको त्यस सानो फूलको वास्ता गरेकै थिएनन् । तर प्याउलीले भने तिनीहरूलाई आदर राख्थ्यो, उ सोच्थ्यो -"कतिबिध्न राम्रा र सम्पन्न ती फूलहरू ! हो, त्यो चरो अवश्य पनि तल आएर तिनीहरूसित भेट्नेछ । म पनि कति खुसी छु किनभने म तिनिहरूका नजिकै बस्न पाएको छु, तिनीहरूको सौन्दर्य मेरा यिनै आँखाले देख्न पाएको छु ।"

ठीक त्यही बेला "चिर्र चिरचिर !" जुरेली गाउँदै तल ओर्ल्यो । तर त्यो फूलबारीभित्रका पियोनी र टुलिप-फूलतिर गएन, त्यो त खुसीले हडबडाएको, अझ झन्डै तर्सिएको प्याउलीतिर पो आयो, प्याउलीलाई थाहै भएन, के गर्ने होला लौ, ऊ अत्यन्त चकित भयो । त्यो सानो चरो उफ्रँदै यताउति चर्यो- "अहो, कति नरम घाँस ! सुनको मुटु र चाँदीको लुगा लगाएको कस्तो मायालाग्दो सानो फूल !" किनभने प्याउलीको बीचको पहेँलो भाग सुनजस्तै देखिन्थ्यो र यसका चारैतिर फिँजिएका पत्रहरू चाँदीजस्तै सेता थिए ।

कति खुसी भयो प्याउली-फूल ! उसको सुखको अनुभव कसैले गर्न सक्तैनन्, कल्पनै गर्न सक्तैनन् । जुरेलीले आफ्ना चुच्चाले प्याउलीलाई म्वाईं खायो, प्याउलीको बखानमा गीत गायो, त्यसपछि नीलो अकाशमाथि उड्यो । केही समयपछि प्याउलीले बगैचाभित्रका फूलहरूलाई हेर्यो, अलिकति लजाएर र खुसी भएर । ती फूलहरूले सानो प्याउलीले पाएको सम्मान र आनन्दबारे पक्कै पनि थाहा पाएको हुनुपर्छ, तिनिहरूले प्याउली कति आनन्दित भएको थियो भन्ने कुरा देखेकै हुनुपर्छ ।

तर टुपिल-फूल भने पहिलेभन्दा पनि दोब्बर घमन्डी पाराले ठिङ्ग उभियो र त्यसको अनुहार रिसले रातो देखियो । पियोनी फूलहरूका हकमा ती यति ग्वाँजे छन्, के भन्ने, वास्तवमा तिनीहरूले एक शब्द पनि बोल्न सकेनन् अथवा तिनले बोलेका कुरा प्याउली-फूललाई अलिकति पनि सुनूँ सुनूँ लागेन । प्याउली-फूलले के थाहा पायो भने तिनीहरू रुष्ट थिए, त्यसले गर्दा प्याउली तिनीहरूदेखि दिक्क भयो । एकैछिनपछि चम्किलो तीखो चक्कु हातमा लिएर एक जना केटी फूलबारीमा आई, ऊ टुपिल-फूलतिर गई र एक-एक गदै तिनलाई काटी- "अहो ,कस्तो डरलाग्दो !" प्याउलीले सुस्केरा हाल्यो, "तिनको त सत्यनाशै भयो !"

त्यसपछि केटी टुलिप-फू ल लिएर त्यहाँबाट हिँडी ।

प्याउलीले खुशी व्यक्त गर्यो, फूलबारीको बारभन्दा बारिको घाँसे चउरमा उम्रिन पाएकामा, त्यसरी बेवास्ता गरिएको सानो फूल भएर रहन पाएकामा ! ऊ यसबारे साँच्चै कृतज्ञ छ, र घाम अस्ताएपछि उसले आफ्ना पत्रहरू बन्द गरेर सुत्न थाल्यो, उसले रातभरि घाम र जुरेलीबारे सपनाहरू देख्यो ।

भोलिपल्ट हाम्रो सानो प्याउलीले बिहानसितै चङ्गा भएर, प्रसन्न मुद्रामा, सफा नीलो आकाशमुनि चहकिलो घाममा आफ्ना पत्रहरू उघार्यो । त्यस बेला उसले चराको आवाज सुन्यो, त्यो आवाज भने दुःखपूर्ण रुवाई थियो ।

अपशोच ! बिचरो जुरेलीलाई साँच्चै दुःख परेको थियो । ऊ समातिएको थियो र खुला झ्यालबाहिर राखिएको एउटा पिंजडामा थुनिएको थियो । त्यसले फुक्का भएर स्वतन्त्र रूपले उड्दा पाइने आन्नदबारे गायो, त्यसले खेतमा पाइने भरखरका हरिया मकैका विषयमा गायो र खुला आकाशमा पखेटा फट्फटाउँदै उड्दाको आन्नद सम्झेर गायो । बिचरो, चरा साँच्चै दुःखित थियो, यौटा साँगुरो पिंजडामा त्यो कैदी भएर रहेको थियो ।

सानो प्याउलीले भित्री मनले नै जुरेलीलाई मद्दत गर्न चाहन्थ्यो तर उ कसरी सक्थ्यो र ? त्यो कुरा उसलाई थाहा नै छैन, उसले आफ्ना वरिपरिका राम्रा र रमाइला कुराजति सबै बिर्स्यो, उसले न्यानो घामलाई बिर्स्यो, आफ्नै पत्रहरू कति राम्रा र सेता छन् त्यो पनि बिर्स्यो । अपशोच, उसले खाली थुनिएको चरालाई मात्र सम्झिरह्यो जसका लागि ऊ आफू भने केही गर्न सक्तैनथ्यो ।

अकस्मात् दुई जना केटाहरू फूलबारीका बारबाट बाहिर चउरमा निस्के, तिनीहरूमध्ये एक जनासँग चक्कु थियो, त्यो चक्कु अघिन टुलिप-फूल काट्न आएकी केटीका हातमा रहेको चक्कुजत्तिकै लामो र लाग्ने थियो । तिनीहरू सोझै प्याउली-फूलतिर लम्कँदै आए, प्याउली-फूललाई के पत्तो तिनीहरू के चाहन्थे !

एक जना केटोले भन्यो- "जुरेलीका लागि ओछ्याउन अलिकति घाँस काटौं" र त्यसले प्याउली-फूललाई बीचमा पारेर यसका चारैतिरबाट जरै छुने गरी घाँस काट्न थाल्यो ।

"त्यस फूललाई चुँडालेर फाल्देउ ।" अर्का केटाले भन्यो । यो सुनेर प्याउली-फूल डरले काँप्यो, किनभने त्यसो गरियो भने ऊ मरिहाल्छ भन्ने कुरा उसलाई थाहा थियो, कैद गरिएको जुरेलीको पिंजडाभित्र राखिने भएको हुँदा कम्तीमा ऊ केही समयकका लागि भए पनि बाँच्न चाहन्थ्यो ।
"हैन, हैन यसलाई अलग्ग राख !" पहिलो केटाले भन्यो, "हेर यो कस्तो राम्रो छ !" त्यसैले उसलाई अलग्ग गरेर जुरेलीका पिंजडाभित्र राखियो ।

बिचरो चरो आफ्नो स्वतन्त्रता गुमेकोमा खुब रोयो र आफ्ना पखेटाले पिंजडाका फलामे डन्डीहरूमा हान्यो, सो फूलले केही बोल्न सकेन, चरालाई सान्त्वना मिल्ने एक लवजसम्म पनि उसका मुखबाट निस्केन, तर ऊ भित्रदेखि केही भन्न चाहन्थ्यो । यसरी नै सिङ्गो बिहान बित्यो ।

"यहाँ पानी छैन," कैद गरिएको जुरेलीले भन्यो, "तिनीहरू सबै बाहिर गएका छन् र तिनीहरूले मलाई बिर्सिसकेका छन् । एक थोपासम्म पनि पानी छैन । मेरो घाँटी सुकको छ र पर्पर पोलिरहेछ । मभित्र रन्किदो आगो र हिउँ छन् । वातावरण उराठिलो छ । अपशोच ! म मर्छु हुँला । अब मैले न्यानो घामसित बिदा माग्नुपर्छ, ती स्वच्छ हरिया रुखहरूसित र यस संसारका राम्राराम्रा सबै कुराबाट मैले बिदा लिनुपर्छ ।"

त्यसपछि उसले एकछिनलाई भए पनि तिर्खा बिर्सन चिसो घाँसमा आफ्नो चुच्चो घुसार्यो । त्यस बेला त्यसले प्याउली-फूललाई र उसलाई अभिवादन गरेर भन्यो- "तिमी पनि यहाँ ? तिमी हब यहीँ ओइलाउँछौ र झर्छौ । तिनीहरूले मैले पाएको त्यत्रो संसारको साटो मेरा लागि तिमी र तिमीसितैको केही घाँस ल्याइदिए । अब यहाँ भएको प्रत्येक दुबोलाई मैले हरियो रुख ठान्नुपर्छ ,तिम्रो प्रत्येक पत्रलाई सुगन्धित फूलका रूपमा लिनुपर्छ ! अपशोच ! मैले गुमाउनुपरेका कुरा मात्र तिमीले मलाई सम्झन लगायौ ।"

प्याउली-फूलले बिचार गर्यो - "अहो, मैले उसलाई सम्झाउन सक्नुपर्थ्यो, सान्त्वनादिन सक्नुपर्थ्यो !" तर के गर्ने, ऊ हलचल गर्न सक्तैनथ्यो, तर पनि उसका नरम पत्रहरूबाट निस्केको सुगन्ध अरु बेलाका भन्दा कडा थियो । चराले यो कुरा प्रस्टै थाहा पायो र तिर्खाले स्वाँस्वाँ गरिरहँदारहँदै पनि त्यसले वेदनालाई सहेर हरियो दुबोलाई चिथोर्यो र त्यसले फूललाई यस्सो पनि छोएन ।

साँझ पर्यो तर बिचरा चराका लागि एक थोपा पानी ल्याउनसमेत कोही आएन । त्यसले आफ्ना साना पखेटा फिंजायो र तिनलाई जोडजोडले हल्यायो । मीठो गीत गाउने त्यस चराको त्यस बेलाको आवाज रोदनयुक्त "पींपीं" मात्र निस्क्यो । त्यसको सानो टाउको फूलतर्फ झुक्यो र त्यसको मुटु तिर्खा र प्यासले छियाछिया भयो । फूलले पनि अहिले हिजो अस्तिजस्तै साँझ पर्दा आफ्ना पत्रहरू बन्द गर्न र सुत्न सकेन, ऊ पनि दुःखित हुँदै जमिनमा लड्यो ।

भोलीबिहान नहुँदासम्म केटाहरू त्यहाँ आएनन् । भोलिपल्ट चरा मरिसकेको देखेपछि तिनीहरू पनि डाँको छाडी रुन थाले, तिनीहरूले चरको लागि सानो चिहान खने र त्यहाँ तिनीहरूले फूलहरूको ओछयान लगाए । सानो रातो बट्टामा चराको शरीर राखियो र बिचरो चरालाई राजकीय सम्मानका साथ गाडियो । त्यो जिम्दो छँदा र गीत गाउँदा दुःख भोग्न लगाए तर अहिले त्यसलाई उच्च सम्मान दिन डाँको छोडी रोए !

प्याउली-फूल र नरम चाँस सडकमा फ्याँकिए । कसैले पनि त्यस फूलको वास्ता गरेनन्, जुन फूलले सानो चराको त्यत्रोविधि चिन्ता लियो, जुन फूलले चरालाई अलिकति भए पनि सान्त्वना दिन त्यत्रोविधि कामना गर्यो ।

साभारः "कथाकोसेली ६" (हान्स एन्डरसनका कथाहरु) बाट

माथि

 

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of