a presentation of Dreams & Ideas

         
     
   

चीनका प्राचीन नीतिकथाहरू

विभिन्न पुस्तक र वेबसाइटबाट संकलित एवं अनुदित

१ शंका
२ दया
३ अपसकुन
४ ड्रयागनको सोख
५ मलमको उपयोग
६ ड्रयागन मार्ने सीप
७ झुटो तारिफ
८ कुखुरा चोर
९ घण्ट चोर
१० के सजिलो के गाह्रो ?
११ आफ्नो र अरुमा फरक
१२ बालकलाई हुर्काउने तरिका
१३ नक्कली बाँसुरे
१४ अतिशयोक्ति
१५ जुत्ताको नाप
१६ चलाख स्याल
१७ लाल्टिनको उज्यालो
१८ बोलीको महत्व
१९ अध्ययनको महत्व
२० झोला चोरी
२१ गाली र ताली
२२ पैसाको पिर
२३ दुई जना सिकारी
२४ लोभको सीमा
२५ वाचा
२६ आधा दिनको विदा
२७ प्रधानमन्त्रीको नाति र मन्त्रीको नाति
२८ दुई जना भिक्षुको तीर्थयात्रा
२९ संगीतको पारखी
३० असन्तोष

१ शंका

एकपल्ट एक जना किरानको बंचरो हरायो । उसको मनमा छिमेकको केटोल बंचरो चोरेको शंका लाग्यो । उसले त्यो केटाका चालढाल राम्ररी नियालेर हेर्यो । उसलाई त्यो केटो ठ्याक्कै चोरजस्तो लाग्यो । उसले केटाको अनुहार राम्ररी हेर्यो । उसलाई केटाको अनुहार पनि चोरकै जस्तो लाग्यो । उसले केटोको कुराकानी सुन्यो र बुझयो । त्यो पनि उसलाई चोरकै जस्तो लाग्यो । सारमा, उसलाई त्यो केटोको सबै गतिविधि र बानी व्यहोरा चोरकै जस्तो लाग्यो ।

तर पछि उसले बनमा आफूले दाउरा काट्ने ठाउँमा हराएको बंचरो भेट्टायो । उसले बिर्सर बंचरो त्यहीँ छाडेको रहेछ ।

बंचरो भेट्टएपछि उसले छिमेकी केटोलाई हेर्यो । तर उसलाई त्यसको चालढाल चोरको जस्तो कत्ति पनि लागेन ।

माथि

२ दया

हानतानका मानिसहरूले नववर्षो उपलक्ष्यमा परेवा समातेर राजालाई उपहार दिन्थे । राजाले उनीहरूलाई इनाम दिन्थ्यो । राजाले ती परेवाहरू उडाएर तिनीहरूलाई मुक्ति दिन्थे । यो कामले राजा कति दयालु रहेछन् भन्ने ख्याति फैलिएको थियो ।

हानतानका मानिसहरूले राजाबाट इनाम पाउनका लागि बिचरा परेवाहरूलाई पासो थापेर समात्थे । केही परेवाको ज्यान पनि जान्थ्यो । यसरी राजाको दयालुपन देखाउनका लागि परेवाहरूले दुःख पाउनुपर्थ्यो ।

३ अपसकुन

एक जना मानिसको घरको आगनमा सुकेको रुख थियो । उसको छिमेकीले आगनमा सुकेको रुख राख्दा अपसकुन हुन्छ भनेर त्यो रुख काट्न लगायो । उसले छिमेकको कुरा मानेर रुख काट्यो ।

रुख काटेको देखेर छिमेकीले दाउरा माग्यो । छिमेकीको नियत देखेर ऊ झोँक्कियो । "असल छिमेकीको यही हो चाला !"

४ ड्रयागनको सोख

एक जना मानिस ड्रयागन भनेपछि हुरुक्कै गर्थ्यो । उसले आफ्नो घर, कोठाका भित्ताहरूमा ड्रयागनको चित्र र मूर्तिहरू सजाएर राखेको थियो । उसको ड्रयागनको सोख देखेर साँच्चैको ड्रयागन निकै खुशी भयो । एक दिन वास्तविक ड्रयागन त्यो मानिसको घरमा गयो र झयालबाट भित्र चियायो ।

साँच्चैको ड्रयागन घरमा पस्न लागेको देखेर त्यो मानिसको डरले होस हरायो । ऊ भागेर बैँगलमा लुक्न गयो । त्यो मानिस वास्तवमा ड्रयागनको सौकिन होइन रहेछ, ड्रयागनजस्तो देखिने बस्तुको सौकिन रहेछ भन्ने कुरा साँच्चैको ड्रयागनले बुझ्यो र फर्क्यो ।

५ मलमको उपयोग

सुङ राज्यमा एक जना मानिसले हात नफुट्ने मलम बनायो । धोबीले जाडोमा त्यो मलम लगाएर लुगा धुँदा हात फुट्दैनथ्यो । उसले मलम बनाएर धोबीहरूलाई बेच्ने बिचार गर्यो ।

मलमको कुरा सुनेर एक जना मानिसले त्यो बनाउने विधि किन्न माग्यो । धोबीको घरघरमा गएर मलम बेच्नुभन्दा मलम बनाउने विधि बेच्नु बेस ठानेर उसले चाँदीको सय सिक्कमा मलम बनाउने विधि बेच्यो ।

मलम बनाउने विधि किन्ने मानिसले त्यो विधि राजालाई उपहार दियो । केही समयपछि सुङ राज्य र ये राज्यबीच लडाइँ भयो । जाडोको बेलामा लडाइँ भएको हुनाले दुबै राज्यका फौजका सिपाहीहरूलाई लडन गाह्रो भयो । तर सुङ राज्यका सिपाहीहरूले जाडोमा लाउने मलम लगाएर लर्डाईँ जिते । खुशी भएर मलम बनाउने विधि उपहार दिने मानिसलाई राजाले जग्गाजमिन बिर्ता दिए ।

माथि

६ ड्रयागन मार्ने सीप

चु फिङ ड्रयागन मार्ने सीप सिक्न ची लिईकहाँ गयो । उसले आफ्नो सबै सम्पत्ति खर्च गरेर तीन वर्षम्म त्यहाँ बसेर ड्रयागन मार्ने सीप सिक्यो । परीक्षामा ऊ उत्तीर्ण पनि भयो ।
तर ड्रयागन त काल्पनिक जीव हो जो कथाहरूमा मात्रै पाइन्छ । यसैले चु फिङले सारा सम्पत्ति र तीन वर्षमेहनत गरेर सिकेको सीपको उपयोग गर्न पाएन ।

७ झुटो तारिफ

एउटा राजाको धनुवाण चलाउने सोख थियो । तर उनी पन्ध्र किलोभन्दा गह्रँुगो धनु चलाउन सक्तैनथे । तै पनि उनलाई आफू ठूलो धनर्वीर हुँ भन्ने लाग्थ्यो ।

एक दिन राजाले आफ्न सेनापतिहरूलाई धनुवाण चलाउने प्रतियोगितामा निम्त्यायो । पहिलो सेनापतिले धनुबाण उचाल्न खोजेको स्वाङ पार्दै भन्यो, "महाराज यो धनु कम्तीमा पनि तीस पैँतीस किलो गह्रुँगो होला । यस्तो धनुष चलाउने शक्ति महाराजसँग मात्रै छ । अरु कसैले यसलाई चलाउन सक्तैन ।"

उसको कुरा सुनेर राजा दंग परे । त्यसपछि अर्को सेनापतिको पालो आयो । उसले पनि पहिलो सेनापतिले जस्तै धनुवाण उचाल्न खोजेको स्वाङ पार्दै राजाको तरिफ गर्यो । सेतापतिहरूको झुटो तारिफले गर्दा राजाले वास्तविक कुरा जान्नै पाएन ।

८ कुखुरा चोर
एक जना मानिसले दिनदिनै छिमेकीको कुखुरा चोथ्र्यो । कसैले उसलाई चोर्नु खराब काम हो भनेर सम्झायो । त्यसपछि कुखुरा चोरले बचन दियो, "ठिक छ, त्यसो भए म अब दिनदिनै चोर्दिन महिनाको एउटा कुखुरा चोर्नेगर्छर्ुु यसरी आइसालसम्म चोर्ने बानी नै छाडिदिन्छु ।"

चोर्ने काम राम्रो होइन भन्ने बुझि सकेपछि पनि त्यो काम तुरुन्तै नछाडेर वर्षदिनसम्म पर्खनु ठिक हो त -

९ घण्ट चोर
एक जना मानिसले कुनै घरको ढोकामाथि पित्तलको घण्टी झण्ड्याएको देख्यो । उसले घण्ट चोर्ने विचार गर्यो । घण्टलाई हातले छुनेबित्तिकै त्यो बज्न सक्छ र ऊ समातिन सक्छ भन्ने उसलाई लाग्यो । उसलो घण्टको आवाज नसुनिने एउटा उपाय सोच्यो ।
उसले आफ्ना दुबै कान थुन्यो र घण्टलाई समात्यो । घण्ट बज्यो । उसले घण्टको स्वर नसुने पनि वरिपरिका मानिसले सुने र ऊ पक्रियो ।

१० के सजिलो के गाह्रो ?

एक पल्ट छी राज्यको राजाले दरबारको चित्रकारसँग सोध्यो, "कसको चित्र बनाउन सबैभन्दा गाह्रो हुन्छ ?"

चित्रकारले जवाफ दियो, "महाराज मानिस, जानवर र जीवजन्तुको चित्र बनाउन गाह्रो हुन्छ ।"

"अनि कसको चित्र बनाउन सजिलो हुन्छ त ?" राजाले फेरि सोधे ।
"भूतप्रेतको चित्र बनाउन सजिलो हुन्छ । महाराज !" चित्रकारले तुरुन्तै जवाफ दियो । साँच्चै हो, जसको अस्तित्व नै छैन त्यसको चित्र बनाउँदा कसले खोँट लाउँछ र !

माथि

११ आफ्नो र अरुमा फरक

मुसलधारे पानी परेर एक जना धनी मानिसको घरको एकातिरको भित्ता भत्कियो । उसको छोराले भन्यो, "बा, आजै यो भित्ता टालेनौँ भने घरमा चोर पस्न सक्छ ।"

उसको छिमेकीले पनि आजै भित्ता टाल्नुपर्छ भन्ने सल्लाह दियो । तर त्यो दिन भित्ता टाल्न मानिस पाइएन ।

संयोगले राती चोर पसेर धेरै रूपैयाँपैसा र गहना चोर्यो । अनि त्यो धनी मानिसलाई आफ्नो छोराको बुद्धि देखेर खुशी लाग्यो भने छिमेकीमाथि चोरको शंका लाग्यो ।

१२ बालकलाई हुर्काउने तरिका

एक दिन चङ सनकी स्वास्नी किनमेल गर्न बजार जान लागेकी थिई । उसको सानो छोराले पनि सँगै जान्छु भनेर जिद्दी गर्दै रुन लाग्यो । उसले छोरालाई भनिन्, "छोरा, तिमी घरमै बस । म फर्केर आएपछि तिमीलाई कुखुराको खसी काटेर ख्वाउँछु है ।" छोरा मान्यो ।

साँझ ऊ घर र्फकँदा चङ सनले साँच्चै नै खसी काट्न पानी उमालिरहेको थियो । उसले लोग्नेलाई रोक्दै भनी, "मैले त छोरालाई भुलाउन पो खसी काट्ने कुरा गरेकी थिएँ ।"
चङ सनले भने, "तिमी केटाकेटीलाई यसरी झुक्याउनु हुँदैन । बालकहरूल आमाबाबुको सिको गर्छन् । तिमीले छोरालाई झुक्याएर उसलाई ढाँट्न सिकाउँदैछ्यौ । यसरी आमाबाबुले ढाँटे भने बालकहरूले उनीहरूलाई पत्याउन छाड्छन् । केटाकेटी हुर्काउने तिम्रो तरिका एकदम बेठिक छ ।" यति भन्दै चङ सनले खसी काट्यो ।

१३ नक्कली बाँसुरे

छी राज्यका राजा स्वेनको बाँसुरी सुन्न सोख थियो । उनी एक्लो बाँसुरी बादकले बजाएको भन्दा धेरै जनाले एकै चोटि बजाएको सामूहिक बाँसुरी बादन रुचाउँथे । उनको दरबारमा तीन सय जना बाँसुरेहरू थिए ।

नानक्वो नाम गरेको एक जना चलाख मानिसले पनि दरबारमा बाँसुरी बजाउने जागिरको माग्यो । राजाले राम्रै तलब दिएर उसलाई बाँसुरेहरूको समूहमा राख्यो ।

वास्तवमा नानक्वो बाँसुरी बजाउन कत्ति पनि जान्दैनथे । तर तीन सय जना बाँसुरेहरूको भीडमा उनी एक्लोले बाँसुरी बजाउन नजानेर केही फरक पर्दैनथ्यो । अरुले बाँसुरी बजाउँदा उसले पनि बाँसुरी बजाएको स्वाङ पाथ्र्यो । यसरी उसले आरामसँग जीवन गुजारी हरेको थियो ।

राजा स्वेनको मृत्युपछि उनका छोरा राजा भए । तर उनी सामूहिक बाँसुरी बादनका सौकिन थिएनन् । उनलाई एक जनाले बजाउने एकल बाँसुरी बादन मन पथ्र्यो । यो कुरा थाहा पाउने बित्तिकै छट्टु नानक्वो जागिर छाडेर भाग्यो ।

१४ अतिशयोक्ति

एक जना मानिसले लडाइँमा भाला र तरवारको मारबाट जोगिने ढाल र तीखो भाला बनाएर बेच्थ्यो । ऊ भन्थ्यो, "मैले बनाएको ढाल यति बलियो हुन्छ कि कुनै पनि औजारले यसलाई छेद्न सक्तैन । अनि मैले बनाएको भाला यति तिखो र बलियो हुन्छ कि यसले कुनै पनि बस्तुलाई छेद्न सक्छ ।"

उसको कुरा सुनिरहेको एक जना मानिसले ऊसँग सोध्यो, "तिमीले बनाएको भालाले तिमीले बनाएकै ढालमा हान्यो भने प्वाल पर्छ कि पर्दैन नि ?"
त्यो मानिससँग यो प्रश्नको जवाफ थिएन ।

माथि

१५ जुत्ताको नाप

एक जना मानिस नयाँ जुत्ता किन्न मेलामा गयो । बजारमा पुगेर उसले जुत्ताको नाप घरमै छुटेको थाहा पायो । ऊ दगुर्दै घर गयो र नाप लिएर आयो । तर त्यति बेलासम्म मेलाको बजार उठिसकेको थियो । यसैले उसले जुत्ता किन्न पाएन ।

उसको गुनासो सुनेर कसैले ऊसँग सोध्यो, "तिमीले कसको लागि जुत्ता किन खोजेका थियौ ?"
"मैरै लागि किन्न खोजेको हो ।" उसले जवाफ दियो ।
"त्यसो भए जुत्ताको नाप लिन घर जानु किन पर्यो ? जुत्ता पसलमै जुत्ता लाएर हेरे हुन्नथ्यो ?"
"हो त नि !" त्यो मानिसको बुद्धि बल्ल फिर्यो ।

१६ चलाख स्याल

सिकार खेल्न निस्केको एउटा बाघले स्याललाई समात्यो । स्यालले भन्यो, "तिमीले मलाई खान हुँदैन । किनकि देवताले मलाई पशुहरूको राजा नियुक्त गरेको छ । मलाई खायौ भने देवता रिसाउनेछन् । मेरो कुरा पत्याउन्नौ भने मेरा पछिपछि आऊ । म पशुहरूको राजा हुँ कि होइन तिमीले थाहा पाइहाल्नेछौ ।"

स्यालको कुरा ठिक हो कि होइन भनी बुझ्न बाघ स्यालको पछिपछि बनमा गयो । बनका पशुहरू बाघलाई देखेर कोही भागे कोही लुके । तर बाघले स्याल राजा भएको हुनाले ऊसँग डराएर पशुहरू भागेको ठान्यो ।

१७ लाल्टिनको उज्यालो

कुनै गाउँमा केही केटीहरू साँझ एक ठाउँमा भेला भएर लुगा सिउने, स्वेटर बुन्नेजस्ता घरेलु काम गर्थे । राती काम गर्ने हुनाले लाल्टिन बाल्नु पर्थ्यो । लाल्टिनमा उनीहरूले पालैसँग मट्टीतेल राख्ने गर्थे ।

तीमध्ये एउटी केटी साह्रै गरिब थिई । उसले लाल्टिनमा तेल हाल्न सक्तिन थी । यसैले अरु केटीहरूले उसलाई आफ्नो समूहबाट निकाल्ने निधो गरे ।

उनीहरूको निर्णय सुनेर त्यो केटीले भनी, "मैले तेल राख्न सक्तिन । यसैले म अरुभन्दा पहिले यहाँ आउँछु र यो घर बढार्छु । सुधरसफाइ गर्छु । गुन्द्री र चकटी मिलाउँछु । तिमीहरूको लाल्टिनले यो पूरै कोठा उज्यालो हुन्छ । यो उज्यालोले मेरो पनि भलो गरेर के बिग्र्यो र ! यसको लागि बेग्लै खर्च लाग्दैन । मैले पनि त सकेको काम गरेकी छु नि । किन मलाई निकाल्छौ ?"

उनको भनाइ सबैलाई चित्त बुझयो । उनी पनि अरुझैँ त्यो समूहमा नियमित रूपले सामेल भई ।

माथि

१८ बोलीको महत्व

एक दिन एउटा उल्लुले परेवासँग भन्यो, "म अब यो ठाउँ सँधैका लागि छाडेर जाँदैछु ।"
"किन जान लागेको र कहाँ जान लागेको ?" परेवाले उल्लुसँग सोध्यो ।

उल्लुले भन्यो, "मेरो बोली यहाँ कसैले पनि रुचाएनन् । यसैले म पूर्वतिर बसाइ र्सर्दैछु ।"

उसको कुरा सुनेर परेवाले भन्यो, "तिमीले आफ्नो बोली फेर्यौ भने त सबै कुरा ठिक भइ हाल्छ नि । तिमीले बोली फेरेनौ भने पूर्वमा गए पनि जहाँ गए पनि तिमीलाई कसैले पनि रुचाउने छैन ।"

१९ अध्ययनको महत्व

एक पल्ट एक जना राजाले आफ्नो मन्त्रीलाई भन्यो, "म अब सत्तरी वर्ष लागेँ । मलाई अहिले पनि किताब पढने र विभिन्न विषयको अध्ययन गर्ने इच्छा छ । तर मेरो विचारमा अब मेरो उमेर अध्ययन गर्ने उमेर होइनजस्तो मलाई लाग्छ ।"
मन्त्रीले राजालाई सल्लाह दिए, "महाराज, हजुर किन दियो बन्नु हुन्न ?"
यो कुरा सुनेर राजालाई रिस उठ्यो । उनले भने, "मैले तिमीसँग ठट्टा गरेको होइन । गम्भीर कुरा गर्दैछु ।"

"महाराजसँग म कसरी ठट्टा गर्न सक्छु र ! मैले पनि गम्भीर कुरा गरेको हुँ । मैले जानेसम्म कसैले युवा अवस्थामा अध्ययन गर्ने रुचि लियो भने भविष्यमा ऊ विहानको सूर्ूयझैँ तेजिलो हुन्छ । यदि बूढेसकालमा अध्ययन गर्न थाल्यो भने उसको भविष्य दियोको प्रकाशजस्तो हुन्छ रे ! हुनत दियोमा धेरै उज्यालो हुँदैन तैपनि अंध्यारोमा बाटो नदेखी हिँडनुभन्दा त दियोको उज्यालोमा हिँडनु कता हो कता बेस हुन्छ ।"

माथि

२० झोला चोरी

मेलामा निक्कै भीड थियो । अचानक एक जना मानिसले आफ्नो झोला हरायो भनेर चिच्यायो । कसैले उसको छालाको झोला चोरेछ । उसको कुरा सुनेर वरिपरिका मानिसहरू सतर्क भए । कसैले उसलाई सहानुभूति दिन थाले भने कोही चोर समात्न जान तम्सिए ।

त्यस्तैमा उसले आफ्नो गोजी छाम्यो र हाँस्दै भन्यो, "केही भएन । अब पिर मान्नु पर्ने कारण छैन ।"

"के झोला भेट्टियो ?" कसैले सोध्यो ।

उसले भन्यो, "होइन । मेरो चोरिएको झोलाको साँचो मसँगै रहेछ । अब चोरले झोलाबाट पैसा निकाल्न सक्तैन ।"

२१ गाली र ताली

कसैले बाटोको छेउमा इनार बनायो । तिर्खाएका बटुवाहरूले पानी खान पाएर खुशी भए । उनीहरूले इनार बनाउने मानिसको खुबै तारिफ गरे । यस्तो राम्रो ठाउँमा इनार बनाएकोमा उनीहरूले उसको गुणगान गरे ।

तर केही दिनपछि अंध्यारो रातमा एक जना बटुवा इनारमा खसेर मर्यो । त्यसपछि सबै मानिसहरूले त्यो इनार बनाउने मानिसलाई निन्दा गर्न थाले । कस्तो कुठाउँमा इनार बनाएछ भनेर उसको बद्ख्वाई गरे ।

२२ पैसाको पिर

युङचओ गाउँका बासिन्दाहरू पौडी खेल्न निक्कै सिपालु थिए । एक पल्ट त्यहाँ बाढी आएको थियो । पाँचछ जना गाउँलेहरूले एउटा सानो डुँगामा बसेर नदी तर्ने निधो गरे । नदीको माझमा पुगेपछि डुँगा फुट्यो । तर सबै जना पौडन जान्ने हुनाले उनीहरू पौडी खेल्दै नदी तर्न थाले । उनीहरूमध्ये एक जना मानिस पौडन अरुभन्दा सिपालु थियो । तर ऊ अरुभन्दा पछि पर्न थाल्यो । उसका साथीहरूले किन पौडन नसकेको भनेर सोधे ।

"मेरो कम्मरमा चाँदीको एक हजार सिक्क बाँधिएको छ । त्यसैको भारले गर्दा म पछि पर्दैछु ।" उसले भन्यो ।

"त्यसो भए कम्मरमा बाँधेको पैसा तुरुन्तै फ्याँक, नत्र तिमी डुब्नेछौ ।" उसका साथीहरूले उसलाई सल्लाह दिए । तर उसले पैसा फ्याँक्न मानेन ।

उसका सबै साथीहरू नदीको किनारमा आउँदा पनि ऊ नदीको माझमै थियो । साथीहरूले हेर्दाहेर्दै ऊ पानीमा डुब्न लाग्यो । साथीहरू चिच्याए, "कम्मरको पैसा फ्याँक र आफ्नो ज्यान जोगाऊ । मरेपछि पैसाको के काम ?"

तर उसले पैसा फ्याँक्न मानेन । पैसासँगै ऊ पनि पानीमा डुबेर बेपत्ता भयो ।

२३ दुई जना सिकारी

जलहाँसको बथान आकासमा उडिरहेको थियो । दुई जना सिकारी ती हाँसलाई मार्न धनुबाण ताकिरहेका थिए । एक जना सिकारीले भन्यो, "हेर त यी जंगली हाँसहरू कति मोटा छन् । यिनलाई पोलेर नुनखुर्सानीसँग खानु कस्तो मिठो होला !"

अर्को सिकारीले भन्यो, "होइन जलहाँसको त कवाफ मिठो हुन्छ । मैले यी हाँसको कवाफ पकाएर खान्छु ।"

धेरै बेरसम्म ती सिकारीहरूबीच हाँसलाई पोलेर खाने कि कवाफ पकाएर खाने भन्ने कुरामा बहस चल्यो । उनीहरूको बहस नटुंगिदै जलहाँसको बथान उडेर डाँडा काट्यो ।

माथि

२४ लोभको सीमा

वाङ नाम गरेकी एक जना बूढी महिला रक्सी भट्टी चलाएर गुजारा गर्थी । एक जना ताओ धर्मका अनुयायी बेलाबेलामा उसको भट्टीमा रक्सी खान आउँथ्यो । तर उसले रक्सी खाएको पैसा तिर्दैनथ्यो । तैपनि बूढी महिलाले उसलाई केही पनि भन्दैनथी ।
एक दिन त्यो ताओ अनुयायीले भन्यो, "मैले तिम्रो भट्टीमा धेरै रक्सी खाइसकेँ । तिमीले कहिल्यै पैसा मागिनौ । तिम्रो गुन तिर्न अब म तिम्रो लागि एउटा इनार खनिदिन्छु ।" इनार खनेर त्यो मानिस गयो ।

इनारबाट पानीको सट्टा मिठो रक्सी निस्कन थाल्यो । बूढी महिलाले इनारबाट निकालेको रक्सी बेच्न थाली । तीन वर्षम्म रक्सी बेचेर उसले धेरै पैसा कमाई ।
एक दिन ताओ अनुयायी फेरि आइपुग्यो । उसले बूढीसँग सोध्यो, "इनारबाट निस्केको रक्सी बेस छ कि छैन ?"

बूढीले जवाफ दिई, "रक्सी त साह्रै राम्रो छ । तर इनारबाट रक्सीको कट निस्कन्न । कट नभएर सुँगुर पाल्न गाह्रो भइरहेछ ।"

उसको कुरा सुनेर ताओ अनुयायी मुसुक्क हाँस्यो । उसले भट्टीको भित्तामा यो श्लोक लेख्यो :
आकाशको बरु सीमा होला तर लोभको सीमा छैन ।
रक्सीको छलेखेलो छ तैपनि कट नभएकोमा गुनासो छ !

यो लेखेर ताओ अनुयायी हरायो । त्यस दिनदेखि इनारबाट रक्सी निस्कन छाड्यो ।

२५ वाचा

एक जना घुस्याहा हाकिम थियो । तर उसले बडो इमान्दार भएको स्वाङ पार्थ्यो । एक दिन उसले भगवानको नाम लिएर सबैको सामुन्ने यस्तो वाचा गर्यो : "यदि मैले दायाँ हातले घुस लिएँ भने मेरो दायाँ हात कुहियोस् । बायाँ हातले घुस लिएँ भने बायाँ हात कुहियोस् ।"

केही दिनपछि एक जना मानिस उसलाई चाँदीको एक सय सिक्का घुस दिन आयो । उसलाई त्यो सिक्का लिन मन त थियो, तर उसले स्वाङ पार्दै भन्यो, "यो काम राम्रो होइन । मैले घुस लिन्न भन्ने किरिया खाएको छ । जुन हातले घुस लिन्छु त्यो हात कुहिएर जाओस् भन्ने वाचा गरिसकेको छु ।"

उसको मातहतमा काम गर्ने एक जना कर्मचारीले उसको मनको कुरा बुझेर भन्यो, "हजुरले यो पैसा आफ्नो हातले नलिइकन लुगाको बाहुलाबाट लिनु भए भइहाल्यो नि । कुहिए पनि त्यही बाहुला कुहुन्छ । हात त कुहुन्न ।

घुस्याहा हाकिमलाई उसको कुरा निक्कै चित्त बुझयो ।

२६ आधा दिनको बिदा

एक पल्ट एक जना ठूला हाकिमलाई रमाइलो गरी समय बिताउन कुनै बौद्ध विहारमा जान मन लाग्यो । उसका कर्मचारीहरूले ऊ त्यहाँ जानुभन्दा तीन दिनअघि विहारका भिक्षुहरूलाई हाकिम आउँदैछ भन्ने सूचना दिए । विहारका सबै भिक्षुहरू हाकिमको स्वागतको तयारी गर्न जुटे ।

बौद्ध विहार डाँडामाथि थियो । त्यसको वरिपरि बाँसको बाक्लो जंगल थियो । वातावरण निकै शान्त थियो । त्यहाँ पुगेर हाकिम निकै खुशी भयो । खाना खानुभन्दा पहिले उसले अलिकति रक्सी खायो । अनि उसले भिक्षुहरूलाई कविता सुनाउन थाल्यो :
बाँसका गाँजहरूको माझमा मन्दिरको अनौठो वैभव,
भिक्षुहरूसँग सत्संग गर्ने अपूर्व अवसर,
कति सुखमय छ आजको दिन,
मेरो आधा दिनको यो बिदाको क्षण !

कविता सुनेर एक जना पाका भिक्षु हाँस्न थाल्यो । हाकिमले उनीसँग हाँस्नुको कारण सोध्यो ।

भिक्षुले जवाफ दियो, "तपाइँको लागि त यो आधा दिनको बिदा हो । तर हाम्रो लागि भने लगातार तीन दिनसम्म खटेर मेहनत गर्नु पर्यो ।"

माथि

२७ प्रधानमन्त्रीको नाति र मन्त्रीको नाति

एक जना प्रधानमन्त्रीको नाति ऐस आराममा डुबेर कंगाल भयो । दुई छाक खान पनि दुःख भयो । उधारो लिँदै खान थाल्यो । एक दिन उसले कसैसँग एक बोरा चामल उधारो लियो । चामल बोकाउने पैसा नभएकोले उसले आफैले बोकेर घर लैजान थाल्यो । तर केही पाइला हिँडेपछि ऊ थाक्यो ।

त्यसै बेला उसले एक जना झुत्रो लुगा लाएको मानिस आउँदै गरेको देख्यो । उसले त्यो मानिसलाई अलिकति चामल ज्याला दिएर चामलको बोरा बोक्न लगायो । तर केही पर पुगेपछि त्यो मानिस पनि हिँडन सकेन । यो देखेर प्रधानमन्त्रीको नातिले भन्यो, "म त प्रधानमन्त्रीको नाति भएकोले यो बोरा बोक्न सकिन । तर तिमी त गरिब मजदुर देखिन्छौ । तैपनि तिमी भारी बोक्न सक्ने रहेनछौ । कस्तो बेकामको मानिस रहेछौ !"
उसको कुरा सुनेर झुत्रो लुगा लाएको मानिसले जवाफ दियो, "यसमा मेरो केही दोष छैन । म पनि त मन्त्रीको नाति हुँ ।"

२८ दुई जना भिक्षुको तीर्थयात्रा

सछ्वान प्रान्तको अमेइ पर्वतमा धेरै बौद्ध विहार थिए । विहारमा धेरै भिक्षु बस्थे । ठूला विहारमा बस्ने भिक्षुहरू धनी थिए । साना विहारमा वस्ने भिक्षुहरू गरिब थिए ।
एक दिन सानो विहारमा बस्ने एक जना गरिब भिक्षुले दक्षिण चीन सागरको एउटा टापुमा रहेको फूथ्यो पर्वतको तीर्थयात्रामा जाने निधो गर्यो । ऊ ठूलो विहारमा बस्ने धनी भिक्षुसँग बिदाबारी हुन गयो ।

अमेइ पर्वतबाट फूथ्यो पर्वत पुग्न झण्डै डेढ हजार किलोमिटर यात्रा गर्नुपर्थ्यो । बाटोमा अनेकौँ नदी, पहाड, जंगल पार गर्नुपर्थ्यो । गरिब भिक्षुको तीर्थयात्रामा जाने कुरा सुनेर धनी भिक्षुले अचम्म मान्दै भन्यो, "तिमी के को भरमा यति लामो यात्रामा निस्कन लागेका छौ ? कसले तिमीलाई मदत गर्दैछ ?"

गरिब भिक्षुले जवाफ दियो, "मेरो लागि एउटा पानीको भाँडा र एउटा भिक्षापात्र भए पुग्छ । तिर्खा लाग्दा पानीको भाँडामा पानी ओवाएर खाउँला । भोक लाग्दा भिक्षापात्रमा भिक्षा थापेर खाउँला ।"

धनी भिक्षुले भन्यो, "फूथ्वो पर्वतको तीर्थयात्रा गर्न मैले धेरै वर्षदेखि तयारी गर्दैछु । तर कुनै न कुनै कुरा अपुरो भएर अहिलेसम्म जान सकेको छैन । यो तीर्थयात्रालाई तिमीले यति सजिलो ठानेका रहेछौ ।"

गरिब भिक्षु झण्डै वर्षदिनपछि फूथ्वो पर्वतको तीर्थ यात्रा गरेर फर्क्यो । अनि ऊ धनी भिक्षुसँग भेट्न गयो । धनी भिक्षुले ऊ तीर्थयात्राबाट फर्केको देखेर अप्ठ्यारो र लाज मान्दै भन्यो, "तिमी तीर्थयात्राबाट फर्कि पनि सक्यौ ! तर म भनेँ अहिले पनि तयारी गर्दैछु !"

२९ संगीतको पारखी

एक जना वाद्यवादक प्राचीन बाजा बजाउँथ्यो । एक पल्ट मेलामा उसले बाजा बजाउन लागेको देखेर धेरै मानिसहरू उसको वरिपरि झुम्मिएर संगीत सुन्न थाले । बादकको स्वर मिठो थिएन र संगीत पनि आकर्षक थिएन । यसैले उसको वरिपरि श्रोताहरूको भीड घटदैगयो । आखिरमा एक जना मात्रै श्रोता बाकी रह्यो । त्यो मानिस प्राचीन संगीतको पारखी होला भन्ने उसले ठान्यो र बडो नम्र भएर ऊसँग सोध्यो, "हजूरलाई मेरो संगीत राम्रो लाग्यो ? कृपा गरेर संकोच नमानी कन मेरो संगीतको बारेका आफ्नो अमूल्य विचार भन्नुहोस् ।"

त्यो मानिसले जवाफ दियो, "होइन । मलाई संगीतको बारेमा केही पनि थाहा छैन । तपाईँले बाजा राख्नु भएको टेबुल मेरो हो । त्यो टेबुल घर लैजान म मर्खेर बसेको हुँ ।"

३० असन्तोष

एक जना मानिको देउतासँग भेट भयो । उसले देउतासँग आफ्नो दुःख पोख्यो । देउताले आफ्नो औँला एउटा ढुंगातिर औँल्यायो । त्यो ढुंगा सुन बन्यो । देउताले त्यो सुन त्यो मानिसलाई दियो । तर त्यो मानिसलाई त्यतिले पुगेन ।

देउताले फेरि नजिकैको सिंहको मूर्तितिर आफ्नो औँला सोझ्यायो । त्यो मूर्ति पनि सुनको बन्यो । त्यो मूर्ति पाएर पनि मानिसको चित्त बुझेन ।

झिजो मान्दै देउताले सोध्यो, "आखिर तिमीलाई के चाहियो भन त ?"
मानिसले तुरुन्तै जवाफ दियो, "मलाई हजुरको औँला दिनु भए बेस हुन्थ्यो ।"

माथि

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of