a presentation of Dreams & Ideas

         
     
    बाल चौतारी

अंकलको चिठी

बाल संसार वेबसाइट हेर्ने सबै पाठकहरूलाई स्वागत ।

यो बालसंसार वेबसाइट नेपाली भाषा बोल्ने र बुझ्ने पाठकहरूका लागि हो । तैपनि धरै पाठकहरूबाट अंग्रेजी भाषामा पनि कथा चाहियो भनेर आग्रह गर्नु भएको हुँदा यसमा अंग्रेजीमा पनि कथा राख्न थालेकाछौँ । नेपाली परिवेश र नेपाली भाषाका कथा अंग्रेजीमा दिँदा नेपाली बालसाहित्यको प्रचार प्रसार र परिचय विश्वभरि हुने आशाले पनि अंग्रेजी भाषामा नेपाली बालकथा राख्न उत्साहित भएका हौँ ।
साथै केही बालपाठकले अंग्रेजी भाषामा कथा लेख्ने इच्छा गरेको हुनाले पनि यो काम थालिएको हो । बालपाठक र दर्शकहरूसँग नेपाली वा अंग्रेजी कुनै पनि भाषामा लेखेका मौलिक कथा पठाउनुहुन अनुरोध गर्दै आएका छौँ । तर अहिलेसम्म कसैले पनि आफूले लेखेका कथा पठाउनु भएको छैन । यसको मतलब कि त बालबालिकाहरूको इन्टरनेटमा पहुँच अझै हुन सकेको छैन वा बालसंसार वेबसाइट बारे थोरै मानिसलाई मात्रै थाहा छ ।

यी दुबै समस्यालाई कसरी सुधार्न सकिन्छ ?  तपाईँसँग कुनै उपाय छ भने लेखि पठाउनु होला । धेरै गुन मान्ने छौँ । सहयोगका लागि धन्यवाद !

बालचौतारीको यो पाना तपाईँहरूको बिचार पोख्ने र अंकलको कुरा बुझ्ने अथवाबालबालिका र अंकलबीच कुराकानी छलफल गर्ने पेज हो । यसकालागि तपाईँहरूको चिठीपत्र, विचार, लेख, रचना पठाउनु होला ।

इमेल ठेगानाः
bhetauna@gmail.com

कसजू अंकल

पहिलेका चिठी

चिठी र सुझावका लागि धन्यवाद

बालसंसार वेबसाइट इन्टरनेटमा राखेको आज डिसेम्बर १४ सम्म २५ दिनमात्रै भयो । यसबीच हामीलाई संसारका विभिन्न भागबाट चिठीपत्र र विचार प्राप्त भएको छ । यसका लागि बालबालिका र अभिभावकहरूलाई हार्दिक धन्यवाद दिन्छौँ ।
नोभेम्बर २६ पछि चिठी पठाउनु हुनेहरूमा कौशल आचार्य, काठमाडौँ, प्रशन्न श्रेष्ठ, Quy nhon, भियतनाम, नवीना प्रधान, वासिंगटन, अमेरिका, ध्रुवराज भट्टराई, बर्दघाट, नवलपरासी, माधवराज तिवारी, बेलकोट, बिदुर, नुवाकोट, अनन्त वाग्ले, काठमाडौँ, सबिना, सामाखुशी, कुसु आचार्य, काठमाडौँ, सन्दिप अधिकारी, लेखनाथ, कास्की, रिया चौधरी, काठमाडौँ, आर्या, काठमाडौँ, उषा बालपत्रिका, परासी, नवलपरासी, शिव कार्की, बर्दिया, मनिष श्रेष्ठ, काठमाडौँ, राम अधिकारी, चितवन, गाङदेन लाचुङपा, गान्तोक, सिक्किम, संविधान आचार्य, काठमाडौँ, पूजा श्रेष्ठ, हेटौँडा, मकवानपुर, नरेशवीर शाक्य, काठमाडौँ, पारस दाहाल, काठमाडौँ, नयन स्पर्स, भक्तपुर, शैलेश, पोखरा र रवीन्द्र महर्जन, काठमाडौँ हुनुहुन्छ । तपाईँहरू सबैलाई धन्यवाद छ ।

योमरी

योमरी सबैलाई मन पर्छ । यसैले होला यसको नाम यो मरी अर्थात् मनपर्ने रोटी रखिएको । हुन पनि योमरी नरुचाउने को होला र !

नेपालको पहाड र तराईमा असार साउनमा धान रोपिन्छ र मंसिरमा धान पाक्छ । धानबाली भित्र्याएपछि नयाँ धान कुटेर चामल बनाइन्छ । त्यो चामललाई काँचै दही, केरा र गुलियो कुरा मिसाएर न्वागी बनाएर देउतालाई चढाएपछि मानिसहरुले पनि खान्छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा र उपत्यकाबाहिर बस्ने नेवार मुदायमा नयाँ चामलको पिठोको योमरी बनाएर खाने चलन छ ।

योमरी केटाकेटीदेखि बूढाबूढीसम्म सबैले रुचाउँछन् । योमरीभित्र तिल मिसाएको खुदो, गुँड वा चिनीको लेदो राखिएको हुन्छ । योमरी बनाउन चामलको पिठो मुछेपछि भुक्क परेको गाजरजस्तो आकार बनाइन्छ र त्यसलाई एउटा हत्केलामा राखेर अर्को हातको औँलाले घुमाउँदै गुँडको लेदो राख्ने खोपिल्टो बनाइन्छ । लेदो राखेपछि खोपिल्टो टालिन्छ र माथि चराको टाउको वा कुनै आकार बनाइन्छ । त्यसपछि बफाउने भाँडा वा मम पकाउने भाँडामा राखेर योमरीलाई बफाइन्छ । एकैछिनमा योमरी तयार हुन्छ । अचेल योमरीभित्र तिल र गुँडको सट्टा खुवा, फुल, काजुकिसमिस पनि राखेर बनाउन थालिएको छ ।

न्वागी खानको लागि राम्रो बार हेरिन्छ । तर योमरी योमरी पुन्हीको दिनमा बनाइन्छ । मंसिर महिनामा पर्ने पूर्णिमाको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ । यो दिन अन्नकी देवी अन्नपूर्णाको पूजा गर्ने चलन छ । चामलको पिठोबाट योमरी र पिठोकै गणेश, कुमार, लक्ष्मी, कुबेर आदि देवी देवताको मूर्ति बनाइन्छ । ती मूर्ति र योमरीलाई धानको भकारीमाथि राखेर चार दिनसम्म पूजा गरिन्छ । अनि प्रसादको रूपमा योमरी खाइन्छ । योमरी पुन्हीको दिन साँझ केटाकेटीहरु छिमेकको घरघरमा गएर योमरी पुन्हीको गीत गाउँदै योमरी माग्छन् । कुनै कुनै समुदायमा योमरी पुन्हीको राती मुकुण्डो लाएर देवी देवताको नाच पनि हुन्छ ।

बालपुस्तकालय
गएको साता बालपुस्तकालयबारे दुइटा खबर छापिएका छन् । ललितपुरको पुल्चोकमा रहेको राष्ट्रिय पुस्तकालयमा बाल शाखा छ । त्यो शाखा खुलेको दश वर्ष भइसक्यो । त्यहाँ बालबालिकाका लागि रमाइला किताब र पत्रपत्रिकाहरू पनि छन् । त्यो पुस्तकालय शनिवारको विदाको दिनमा पनि खुल्छ । तर हिँजोआज त्यहाँ बालबालिकाहरू जान छाडेछन् । शनिबारको दिनमा दशबाह्र जना र अरू दिनमा तीनचार जना बालबालिका मात्रै त्यहाँ जाने रहेछन् । सित्तैमा किताब र पत्रपत्रिका पढन पाइने पुस्तकालयमा किन बालबालिकाहरू जाँदैनन् भन्ने कुरा बुझ्नु जरुरी छ । त्यहाँ कम्प्युटर, इन्टरनेट, कोठाभित्र खेल्नमिल्ने खेल आदि सुविधा भए बालबालिकाहरू त्यहाँ झुम्मिन्थे कि ?
अर्कोतिर भृकुटी मण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा पढ्न जाने बालबालिकाको सख्या बढेकाले पुस्तकालयले बालशाखा खोल्न लागेको खुशीको खबर आएको छ । बालबालिकामा पुस्तक पढ्ने बानी भएन भने उनीहरुको पढाइ कमजोर हुन्छ । अमेरिका र युरोपका विकसित मुलुकहरुमा पनि बालबालिकाहरूले धेरै समय टेलिभिजन हेरेर बिताउँदा उनीहरुको पढाइ बिग्रेको र खराब लतमा लागेको कुरा सुनिन्छ । टेलिभिजनले बालबालिकामा नराम्रो प्रभाव पारेर समाजमा बेग्लै समस्या परेको कुरा अनुसन्धानकर्ताहरूले बताएका छन् । ती देशमा पनि बालबालिकालाई किताबतिर आकर्षित गर्न जोड दिइन्छ । हामीकहाँ यो नयाँ समस्याले जरा गाड्न नपाउँदै उपाय सोचिहाल्नु बुद्धिमानी हुनेछ ।

कथा आएन
तपाईँहरूमध्ये धेरैले आफ्नो चिठीमा बालसंसार वेबसाइटलाई रुचाएको कुरा लेख्नु भएको छ भने केहीले कम्प्युटरमा नेपाली अक्षर देखिएन भन्ने गुनासो गर्नु भएको छ । नेपाली अक्षर कस्तो कम्प्युटरमा देखिन्छ भनेर पहिले पनि नेपाली र अंग्रेजी भाषामा लेखिसकेको छु । जसले आफ्नो कम्प्युटरमा हेर्नु भएको छ उहाँले अरूलाई भनेर सघाउनु होला ।

तपाईँहरूले कथा नपठाएकोमा दुःख लागेको छ । यो बेवसाइट नेपाली भाषा बुझ्ने र लेख्ने सबैको लागि हो । यसमा पठाइने कथा नेपाली भाषामा नै लेखेर पठाउनुपर्छ । अंग्रेजीमा लेखेर हुँदैन । नेपाली भाषामा लेख्ने बानी बसाल्न र नेपाली भाषालाई फैलाउन यो वेबसाइटले सघाउने आशा हामीले लिएका छौँ । यसैले नेपाली भाषामा नै कथा लेखेर पठाउन फेरि पनि आग्रह गर्छु । बालसंसारलाई चिठी पठाएर उत्साहित गर्ने बालबालिका र अभिभावकहरूलाई फेरि पनि धन्यवाद दिन्छु । साथै यो वेबसाइट हेर्ने सबैसँग आफ्नो प्रतिक्रिया पठाउन अनुरोध गर्छौँ ।
आउने साता बालबालिका र अभिभावकका धरै चिठी पाउने आश गर्दै बिदा माग्छु । धन्यवाद ।
कसजू अंकल
Kasajoo Uncle



२००५ नोवेम्बर २६, विसं २०६२ मंसिर ११ गते शनिवार

इन्टरनेटमा बालसंसार हेरिरहनुभएका बालबालिकालाई बालचौतारीमा स्वागत छ ।

साझा चौतारी
बालचौतारी तपाईँहरूको बिचार पोख्ने र अंकलको कुरा बुझ्ने पेज हो । यो पानालाई बालबालिका र अंकलबीच कुराकानी छलफल चलाउने पृष्ठको रुपमा विकास गर्ने विचार छ । यसकालागि तपाईँहरूको चिठीपत्र, विचार, लेख, रचना नभइहुँदैन ।

तपाईँहरूको विचार
बालसंसार वेबसाइट इन्टरनेटमा राखेको आज नोवेम्बर २६ सम्म ६ दिनमात्रै भयो । यसबीच विभिन्न देशबाट बालबालिका र अभिभावकहरूले पठाएको चिठी पायौँ । धेरै जनाले बालसंसार वेबसाइटमा नेपालीमा कथा पढन पाएकोमा खुशी हुँदै धन्यवाद दिनु भएको छ । केहीले यो वेबसाइट कति दिगो होला भनेर शंका गर्नु भएको छ र दिगो बनाउने सुझाव दिनु भएको छ । केहीले भने अंग्रेजी भाषामा कथा राख्न सुझाव दिनुभएको छ । कसैकसैले भने कम्प्युटरमा नेपाली फन्ट हेर्न नसक्ने समस्या पर्यो भन्नु भएको छ । बालसंसारलाई चिठी पठाएर उत्साहित गर्ने बालबालिका र अभिभावकहरूलाई हामी भित्री मनले धन्यवाद दिन्छौँ । साथै यो वेबसाइट हेर्ने सबैसँग आफ्नो प्रतिक्रिया पठाउन अनुरोध गर्छौँ ।

चिठी र सुझाव पठाउनेहरूलाई धन्यवाद
शुभम रिजाल, काठमाडौँ, दिनेश, काठमाडौँ, जितेन, बुटवल, सबिना थापर, दिल्ली, भारत (कथासहित), उमेश, काठमाडौँ, बिपिन मुल्मी, ललितपुर, मनोज चेम्चोङ, दोहा, कतार, अजय वन्त, काठमाडौँ, बसन्त घिमिरे, इटहरी, ध्रुवराज भट्टराई, नवलपरासी, हितेश महर्जन, पाटन, सूर्य आचार्य, टोकियो, जापान, राजु महर्जन, हेटौँडा, प्रो. पुष्पराज शर्मा, काठमाडौँ, दिपक रोका, काठमाडौँ, घनश्याम पोखरेल, काठमाडौँ, माधवराज तिवारी, विदुर, नुवाकोट, नारायणकुमार श्रेष्ठ, Enschede, नेदरल्याण्ड, एलिसा शाक्य, काठमाडौँ, अभिषेक आचार्य, माले, मालदिव, अपार, बनेपा, दिपक धामी, बेंग्लोर, भारत, आकृश शर्मा पौडेल, डेट्रोइट, सं.रा. अमेरिका ।

आफ्नै इमेल ठेगाना बनाउनुस्,
यो युग आईटी अर्थात् सूचना प्रविधिको युग हो । आईटीले जीवनका हरेक कामलाई सघाइरहेको छ । विकसित देशका बालबालिकाहरूको आआफ्नै इमेल एड्रेस हुन्छ । उनीहरू आफ्नो होमवर्क इमेलबाटै पठाउँछन् । नबुझेको कुरा शिक्षकसँग च्याट वा इमेलबाट सिक्छन् ।

हरेक बालबालिकाको आफ्नै इमेल ठेगानाहुनु इज्जत, सम्मान, स्वाभिमानको कुरा हो । यसबाहेक इमेलले संसारसँग तपाईँको सोझै सम्पर्क बढाउँछ । यसैले आफ्नै इमेल ठेगाना बनाउनुस् । हटमेल, याहु, जिमेल आदिबाट इमेल ठेगाना बनाउन सक्नुहुन्छ । संसारको जुनसुकै ठाउँबाट पनि तपाईँले आफ्नो इमेल चेक गर्न सक्नुहुन्छ ।

अभिभावकज्युहरूसँग अनुरोध
आईटीको पहुँचमा भएका सबै अभिभावकज्युहरूसँग आफ्ना बालबालिकालाई इमेल ठेगाना बनाउन सघाउनुहुन हामी विनम्र आग्रह गछौँ । संसारका कुनै पनि भागमा बस्ने र नेपाली बोल्ने बालबालिकालाई आफ्नो रचना पठाउन र यो वेबसाइट हेरेर प्रतिक्रिया लेख्न अनुरोध गर्र्छौँ । अभिभावकज्यूसँग पनि आफ्ना बालबालिकालाई रचना र प्रतिक्रिया पठाउन प्रेरित गर्न आग्रह गर्र्छौँ । धन्यवाद ।

मनमा बिझेको कुरा
शिक्षक कि राक्षस ?

सुनसरी जिल्लाको भाडगाउँ सिनवारी (भासी) गाविसमा पर्ने झुम्का बजारको ब्रिलियन्ट बोर्डिङ स्कुलमा कक्षा तीनमा पढने नौ वर्षा विद्यार्थी सुरज चौधरीलाई वर्डमिनिङ नघोकेको भनेर शिक्षक फुलचन्द चौधरीले कक्षाकोठामा ६०० पटक उठबस गराएछ । घर पुगेपछि सुरज ओछ्यानबाट उठन पनि सकेनन् । अहिले उनी अस्पतालमा छन् । उनको जिउ दुखेको निको त होला तर मन दुखेको निको होला ? स्कुल र शिक्षक भनेपछि उनी जीवनभरि नतर्सलान् ? अहिलेको जमानामा पनि विद्यार्थीलाई यातना दिएर पढाउने शिक्षकलाई सर भन्ने कि राक्षस ?

कथा सुनाउने सीडी
नेपाली भाषामा गीत, संगीत, भजनआदि मनोरंजनका सामग्री सुनाउने क्यासेट र सीडी त पाइन्थ्यो तर कथा सुनाउने सीडी पाइन्नथ्यो । अहिले बालहितको लागि काम गरिरहेको संस्था सिविनले बालकथाहरूको सुन्ने क्यासेट उत्पादन गरेको छ । यसमा विनयकुमार कसजूका ३० वटा बालकथाहरू छन् । कथामा संगीत र कथाको पात्रअनुसार पशुपंछीको स्वर पनि राखिएको छ । भावना शर्माले मिठो स्वरमा कथा वाचन गर्नुभएको छ । दृष्टिविहीन र अक्षर नचिन्नेहरूका लागि पनि यो सुन्ने सीडी निक्कै उपयोगी छ ।

नेपाली भाषामा वेबसाइट किन ?
तपाइँहरूलाई थाहै छ कि सय जनामा पाँच जना नेपालीले पनि अंग्रेजी भाषा बोल्न जान्दैनन् । तर वेबसाइटमा नब्बे प्रतिशतभन्दा धेरै सामग्री अंग्रेजी भाषामा छ । यसैले सय जनामा पंच्यानब्बे जना नेपालीका लागि वेबसाइटहरू तमासा जस्तो मात्रै बनेको छ । इन्टरनेटमा बालबालिकाबालागि हजारौँ वेबसाइटहरू अंग्रेजी भाषामा पाइन्छन् तर नेपालीमा पढ्ने सामग्री साह्रै थोरै छ ।

नेपाली भाषा बोल्ने र बुझ्नेहरू नेपालमा मात्रै छैनन् संसारका विभिन्न भागमा छरिएका छन् । संसारका विभिन्न ठाउँमा बस्ने नेपाली बुझ्ने बालबालिकालाई मात्रै होइन अभिभावकहरूलाई पनि नेपालीमा पढने सामग्री चाहिन्छ । नेपाली भाषाको सहित्यको भण्डार बढाउन र नेपाली भाषा र साहित्यको प्रचार र विकासका लागि पनि नयाँ प्रविधि नअपनाई सुखै छैन ।

बालसंसार वेबसाइट बारे
बालसंसार वेबसाइट बालबालिकाको हितको लागि सुरु गरिएको हो । यसको उद्देश्य व्यवसाय गरेर नाफा कमाउनु होइन । यसैले यो वेबसाइटमा बालबालिकाको हित नहुने कुनै पनि खालको विज्ञापन राखिने छैन । यसलाई अझ आकर्ष, उपयोगी र दिगो बनाउन चाहनुहुन्छ भने स्वागत छ । सहयोग गर्न चाहनुहुने व्यक्ति वा संस्थाले सम्पर्क गर्नुहुन अनुरोध गछौँ ।

तपाईँहरूकै आशा र भरोसा
नेपाललाई नयाँ सूचना प्रविधिको युगमा पुर्याउने जिम्मा अब बालबालिकाको काँधमाथि छ । तपाईँहरूले इन्टरनेट र इमेलको कत्तिको उपयोग गर्नुहुन्छ भन्ने कुराले तपाईहरू आईटीको उपयोग कति गर्नुहुन्छ वा यसमा कत्तिको लाग्नुहुन्छ भन्ने जनाउँछ ।

आउने साता बालबालिका र अभिभावकका धरै चिठी पाउने आश गर्दै बिदा माग्छु । धन्यवाद ।

कसजू अंकल
Kasajoo Uncle

Can't read this page in your computer?
All the text in Balsansar website is in Unicode Nepali. To read this font you need to have Windows 2000, Windows xp or other advanced operating systems in your computer that supports Unicode. Thank you.

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of