इसपका नीतिकथा
पाँचौँ भाग
१०१
सिंह र खरायो
एक पल्ट एउटा सिंहको जम्काभेट खरायोसँग भयो । खरायो सुतिरहको
थियो । सिंहले खरायोलाई समात्नै लागेको थियो । अचानक उसले
एउटा हरिण देख्यो । सिंह खरायोलाई छाडेर हरिणको पछि लाग्यो
। यसैबीच खरायो जाग्यो र त्यहाँबाट कुलेलम ठोक्यो ।
धेरै बेरसम्म लखेट्दा पनि सिंहले हरिणलाई समात्न सकेन । ऊ
खरायो भएको ठाउँमा फर्क्यो । खरायोलाई पनि नदेखेपछि उसले मनमनै
भन्यो, "हातमा परेको खानेकुरा छाडेर ठूलो कुराको लोभ
गर्दा फोस्सामा परेँ ।"
१०२ गोठभित्र चितुवा
एउटा भोको चितुवा गोठभित्र पस्यो । किसानले चितुवा समात्ने
बिचारले गोठको ढोका थुन्यो । रिसाएको चितुवाले गोठका
भेँडाहरू मार्यो । त्यसपछि गोरुहरूमाथि हमला गर्यो
। अब किसान आफैमाथि चितुवाले हमला गर्ने डर भयो । उसले
हत्तपत्त गोठको ढोका खोलिदियो र चितुवा भाग्यो ।
अनाहकमा भेँडा र गोरु नोक्सान भएकोमा किसान पछुतायो
। तर यो सबै हेरिरहेकी उसकी पत्नीले भनी, "एक कोस
पर चितुवा कराउँदा पनि डराउने तिमी डरछेरुवाले चितुवासँग
एउटै गोठमा थुनिने आँट कसरी गर्यौ ?"
१०३ दुष्ट कुकुर
एउटा कुकुर साह्रै टोकाहा थियो । मानिस देख्ने बित्तिकै
ऊ टोक्न दगुरिहाल्थ्यो । धेरै मानिसहरूले उसको गुनासो
गरेपछि उसको मालिकले उसको घाँटीमा घण्टी झुण्ड्याइदियो
। अब कुकुर कहाँ छ भनेर मानिसहरूले सजिलैसँग थाहा पाउन
थाले ।
घाँटीमा घण्टी बाँधिएपछि कुकुर मख्ख पर्यो । मालिकले
उसलाई माया गरेर इनाम दिएजस्तो लाग्यो । ऊ जहाँ गए पनि
घाँटी हल्लाउँदै घण्टी बजाउँदै जानथाल्यो । यो देखेर
एउटा बूढो कुकुरले उसलाई भन्यो, "किन यस्तो फुर्ती
गरेर हिँडछस् ? तेरो घाँटीमा बाँधिएको घण्टी कुनै बहादुरीको
चिनो होइन । न त त्यो कुनै गर्व गर्नुपर्ने बस्तु नै
हो । त्यो त मानिसहरूले तँ आएको चाल पाउन् भनेर सूचना
दिने साधन हो । त्यो घण्टी त तँ दुष्ट होस् भन्ने जनाउने
सार्वजनिक सूचना हो बुझिस् । आफ्नो बेइज्जत हुने कुरालाई
यसरी गर्वको रूपमा लिनु हुँदैन ।"
१०४ मुसा, भ्यागुता र चिल
मुसा सँधै जमिनमा बस्थ्यो । तर उसले पानी र जमिन दुबै
ठाउँमा बस्ने भ्यागुतासँग मित लायो । एक दिन भ्यागुतालाई
उटुँग्याइँ गर्न मन लाग्यो । उसले आफ्नो र मुसाको खुट्टा
एकै ठाउँमा बाँध्यो । उनीहरू सँगसँगै उफ्रँदै चौरमा
खानेकुरा टिप्न थाले । त्यसपछि भ्यागुताले मुसालाई बिस्तारै
आफू बस्ने पँधेरातिर लग्यो । पँधेराको डिलमा पुगेर भ्यागुतो
अचानक पानीमा फालहाल्यो । भ्यगुता सँगै मुसा पनि पानीमा
पुग्यो । भ्यागुता पानीभित्र पसेर केके नै गरेँ भनेर
दंग पर्दै खेल्न थाल्यो । तर मुसा पानीमा निसास्सिएर
मर्यो ।
मरेको मुसा पानीमा तैरिरहेको देखेर आकाशमा उडिरहेको
चिल तल झर्यो र मुसालाई पंजाले समातेर आकाशतिर लाग्यो
। मुसाको खुट्टा भ्यागुताको खुट्टासँग बाँधिएको हुनाले
भ्यागुता पनि मुसासँगसँगै आकाशमा पुग्यो । मुसा खान
खोजेको चिलले भ्यागुता पनि खान पाएर दंग पर्यो । कुकर्म
गर्दा यस्तै फल पाइन्छ ।
माथि
१०५ मयुर र सारस
मयुरको नजिकैबाट एउटा सारस हिँडिरहेको थियो । मयुरले
आफ्नो सुन्दर पखेटा र पुच्छर फिँजार्यो र जिउमा कुनै
बुट्टा र रंग पनि नभएको निख्खुर सेतो सारसलाई होच्याउँदै
भन्यो, "हेर म राजाजस्तै गरी सिंगारिएको छु । इन्द्रेणीका
सातै रंग र सुनौला रंगको बुट्टाले मेरो शरीर सजिएको
छ । तिम्रो जिउमा हेर त रंगको एक थोपा पनि छैन ।"
"हो, तिमीले ठिक भन्यौ । तर म उडेर स्वर्गसम्म
पुग्नसक्छु । मेरो स्वर ताराहरूले समेत सुन्न सक्छन्
। तर तिमी सँधै यही जमिनमा, गोबरमा खेल्ने कुखुराहरूको
बीचमा रमाएर बस्छौ । राम्रो प्वाँख हुँदैमा राम्रो भाग्य
हुँदैन ।"
१०६ नुन व्यापारी र गधा
एक जना नुनु व्यापारी नुन किनेर गधामाथि लादेर गाउँतिर
जाँदै थियो । बाटोमा खोला पर्थ्यो । खोला तर्दा संयोगले
गधाको खुट्टा चिप्लिएर पानीमा बुड्यो । पानीबाट निस्कँदा
गधाले आफ्नो भारी हलुँगो भएको चाल पायो । पानीमा भिजेर
नुन पग्लेपछि भारी हलुँगो हुने नै भयो ।
व्यापारीले अर्को पटक पनि उसलाई नुनको भारी नै बोकायो
। खोला तर्ने बेलामा ऊ आफै पानीमा पस्यो । केही बेर
पानीमा बसेर उठ्दा उसको भारी स्वात्तै घट्यो । ऊ दंग
परेर पानी बाहिर निस्क्यो । व्यापारीले गधाको चाल बुझयो
।
अर्को पटक व्यापारीले गधालाई काम्लोको भारी बोकायो
। यस पल्ट पनि भारी हलुँगो बनाउने विचारले गधा पानीमा
पस्यो । तर काम्लोले पानी सोसेर उसको भारी पहिलेभन्दा
धेरै गह्रुँगो भयो । गधा आफ्नो चालले आफै फस्यो ।
१०७ मूर्ति व्यापारी
एक जना मूर्तिकारले देवताको मूर्ति बनाएर बजारमा बेच्न
लग्यो । तर मूर्ति किन्ने ग्राहक नभेटेपछि ऊ मूर्तिको
प्रचार गर्दै ठूलो स्वरले चिच्याउन थाल्यो, "भगवानको
मूर्ति किन्नुस् । यो मूर्ति जसले घरमा राख्छ उसलाई
फाइदै फाइदा हुन्छ । उसको धन सम्पत्ति बढ्छ । राम्रो
जागिर पाउँछ । खेतीपाती सप्रन्छ । लौ किनिहाल्नुस् ।"
उसको नजिकै बसेर उसको कुरा सुनिरहेको एक जना मानिसले
भन्यो, "यो मूर्ति यति गुणकारी भए तिमी आफैले घरमा
किन राख्दैनौ ? तिम्रै भाग्य सप्रने थियो ।"
उसको कुरा सुनेर मूर्ति व्यापारीले भन्यो, "यो
मूर्तिले बिस्तारै फाइदा दिन्छ । मलाई तुरुन्तै पैसाको
खाँचो छ ।"
१०८ गोठालो र ब्वाँसो
एक जना गोठालोले ब्वाँसोको पाठो भेटायो र घरमा ल्याएर
पाल्न थाल्यो । उसले पाठोलाई छिमेकको कुखुरा र भेडाका
पाठा चोर्न सिकायो । उसले पनि चाँडै नै चोर्न जान्यो
। एक दिन ब्वाँसोको पाठोले गोठालोसँग भन्यो, "तिमीले
मलाई चोर्न सिकाएको हुनाले अब तिमी पनि चनाखो हुनुपर्छ
। नत्र तिम्रै भेँडाको पाठो हराउला ।"
१०९ बिरामी हरिण
एउटा हरिण बिरामी भएर चौरको एउटा कुनामा एक्लै बसिरहेको
थियो । उसका साथीहरू उसको हालखबर बुझन आए । जोजो आए
प्रत्येकले उसको घाँसको केही भाग खाएर गए । भेट्नेहरू
यति धेरै आएकि उसको खानेकुरा नै बाकी रहेन । केही दिनपछि
हरिण मर्यो । तर ऊ बिरामी परेर होइन भोकले मर्यो ।
खराब साथीहरू भयो भने यस्तै हुन्छ ।
११० भाले मारी पछुतो
एउटी महिलाको घरमा दुइटी नोकर्नी थिए । महिलाले नोकर्नीहरूलाई
भालेको डाकमा उठाउँथिन् र दिनभरि काममा जोताउँथिन् ।
बिहान सबेरै भाले बास्ने बित्तिकै उठ्नु पर्दा उनीहरूलाई
साह्रै गाह्रो लाग्थ्यो । यसैले उनीहरूले भालेलाई मार्ने
निधो गरे । एक रात उनीहरूले भालेको घाँटी निमोठिदिए
।
तर भाले नभएपछि ती महिलालाई समयको अडकल हुन छाड्यो ।
अब उनले भाले बास्नुभन्दा धेरैपहिले नै उनीहरूलाई उठाएर
काममा लगाउन थालिन् ।
माथि
१११ दाउरे र जल देवता
एक जना दाउरे खोलाको छेऊमा रुख काटिरहको थियो । अचानक
उसको हातबाट रुख काट्ने बंचरो खोलामा खस्यो । खोला गहिरो
थियो । यसैले उसले बंचरो भेट्टाउन सकेन । दाउरा काट्न
पाएन भने ऊ भोकै बस्नुपर्थ्यो । यसैले खोलाको छेऊमा
बसेर ऊ रुन थाल्यो । उसको दुःख देखेर जल देवता उसको
अगाडि आए र किन रोएको भनी सोधे । दाउरेले रुनुको कारण
बतायो । त्यसपछि जलदेवता पानीभित्र पसे र सुनको बंचरो
हातमा लिएर देखाउँदै दाउरेसँग तिम्रो बंचरो यही हो कि
भनी सोधे ।
दाउरेले हातमा सुनको बंचरो लियो र ओल्टईपल्टाई हेरेपछि
भन्यो, "यो मेरा बंचरो होइन । मेरो बंचरो त फलामले
बनेको थियो ।"
यो सुनेर जल देवता फेरि पानीमा पसे । यस पटक उनले चाँदीको
बंचरो हातमा लिएर आए । दाउरेले फेरि त्यो बंचरो लिएर
हेर्यो र यस पटक पनि त्यो बंचरो मेरो होइन भनेर फर्कायो
।
अनि जल देवता फेरि पानीमा डुबे र फलामको बंचरो लिएर
आए । आफ्नो बंचरो देखेर दाउरे दंग पर्यो । उसले बंचरो
लिँदै जल देवतालाई धन्यवाद दियो ।
दाउरेको इमान्दारीबाट प्रभावित भएर जल देवताले उसलाई
सुन र चाँदीको बंचरो पनि उपहार दिए ।
घर फर्केर दाउरेले बनमा भएको घटना साथी र छिमेकीहरूलाई
पनि सुनायो । उसको कुरा सुनेर अर्को दाउरेले तुरुन्तै
बनमा गएर सुनको बंचरो हात पार्ने बिचार गर्यो । उसले
जानीजानी खोलामा बंचरो फाल्यो र खोलाको छेऊमा बसेर रुन
थाल्यो । जल देवता आएर किन रोएको भनेर सोधे । उसले आफ्नो
बंचरो पानीमा खसेको कुरा सुनायो । जल देवता पानीमा पसे
र हातमा सुनको बंचरो लिएर बाहिर आए । "तिम्रो बंचरो
यही हो ?" जल देवताले सोधे । लोभी दाउरेले हत्तपत्त
भन्यो, "हो, मेरो बंचरो यही हो ।"
दाउरेको लोभ र बेइमानी देखेर जल देवता रिसाए । उनी
सुनको बंचरो लिएर पानी भित्र पसे र दाउरे जत्ति रोए
कराए पनि निस्केनन् । दाउरेले आफ्नो फलामको बंचरो पनि
गुमायो ।
११२ गधा र गधाको ग्राहक
एक जना मानिसलाई गधा किन्न मन लाग्यो । गधाको मालिकसँग
उसले गधा घर लगेर जाँचेर राम्रो लाग्यो भने किन्छु भन्यो
। गधाको मालिकले उसको कुरा मंजुर गर्यो ।
मानिसले गधा घर लग्यो र अरु गधाहरूलाई राखेको तबेलामा
छाडिदियो । त्यो गधा अरु सबै गधालाई छाडेर तबेलाको सबैभन्दा
अल्छी र खंचुवा गधाको छेउमा गयो र भुस खान थाल्यो ।
यो देखेर मानिसले गधा उसको मालिकलाई फर्काइदियो । यति
चाँडै गधा कसरी जाँच्यो होला भनेर गधाको मालिक छक्क
परेर ऊसँग सोध्यो । उसले जवाफ दियो, "मैले अरु
जाँच गर्नै परेन । उसले जस्तो साथी राज्यो ऊ पनि त्यस्तै
होला भन्ने मैले अडकल गरिहालेँ । जसले पनि आफूजस्तै
साथी रोज्छ भनेको साँच्चै हो ।"
११३ सूर्यको विरुद्ध भ्यागुताको
उजुरी
एक पल्ट सूर्यले बिहे गर्ने विचार गरेको कुरा सबैलाई
सुनायो । यो कुरा सुनेर भ्यागुताहरूले आकाशलाई गुनासो
गरे । भ्यागुताहरूको ट्यारट्यार सुनेर वाक्क भएका देवताले
उनीहरूसँग किन सूर्यको विरुद्ध गुनासो गरेको भनेर सोधे
। एउटा भ्यागुता अगाडि सरेर भन्यो, "सूर्य एक्लो
हुँदा त उसले हाम्रो पोखरी, पँधेरा, ओसिलो जमिन सुकाइदिन्छ
र हामी सुख्खा र गर्मीले अकालमा मर्नुपर्छ । अब सूर्यले
बिहे गरेर अर्को सूर्य जन्माएपछि हाम्रो हालत के होला
?"
माथि
११४ भेँडाको पाठो र ब्वाँसो
एउटा ब्वाँसोले भेँडाको पाठोलाई पछ्यायो । पाठो भाग्दै
एउटा मन्दिरभित्र पस्यो । ब्वाँसोले पाठोलाई बाहिर बोलाउँदै
भन्यो, "पुजारीले भेट्टायो भने तँलाई बली दिनेछ
। त्यसैले बाहिर आइज ।" त्यसको जवाफमा पाठोले भन्यो,
"तेरो आहारा बन्नु भन्दा त मन्दिरमा बली चढ्नु
बेस ।"
११५ सिंह र गोठालो
एउटा सिंह जंगलमा घुम्दै थियो । उसको खुट्टामा काँढा
बिझ्यो । ऊ खोच्याउँदै हिँडदै थियो । त्यही बेला उसले
एक जना गोठालोलाई देख्यो । उसले पुच्छर हल्लाउँदै गोठालोलाई
बडो मायालाग्दो स्वरले बोलायो । मानौँ उसले भन्दै थियो,
"म दुःखमा परेको छु । मलाई तिम्रो मदत चाहिएको
छ ।"
गोठालोले आँट गरेर उसको नजिक गयो र उसको खुट्टा जाँच्यो
। उसको पंजामा गडेको काँढा भेट्टायो । उसले सिंहको पंजालाई
आफ्नो काखमा राखेर त्यहाँ गडेको काँढा झिकिदियो । त्यसपछि
सिंह कृतज्ञ हुँदै जंगलतिर लाग्यो ।
केही समयपछि एक पल्ट त्यही गोठालो झुटो आरोप लागेर
पक्रियो । उसलाई उसले गर्दै नगरेको अपराधबापत सिंहको
आहार बनाउने सजाय सुनाइयो । तर सिंहको खोरमा उसलाई राख्दा
सिंहले उसलाई चिन्यो । त्यो त्यही सिंह थियो जसको खुट्टाबाट
गोठालोले काँढा झिकिदिएको थियो । सिंहले उसलाई हमला
गर्नुको सट्टा उसको नजिक गएर आफ्नो पंजा उसको काखमा
राखिदियो ।
यो कुरा राजाकहाँ पुग्यो । राजाले गोठालोको कुरा सुनेपछि
सिंहलाई बनमा लगेर छाडिदियो र गोठालोलाई पनि माफी दियो
।
११६ सिंह र हात्ती
भाले बासेको सुनेर सिंह डराउँथ्यो । यो कुरा उसको बल
र स्वाभिमानलाई सुहाउने कुरा थिएन । सिंहले सोच्थ्यो,
"म सबैभन्दा बलियो छु । सुन्दर र फुर्तिलो पनि
छु । हमला गर्न बेजोड छु । मेरा दाँतहरू र पंजाहरू पनि
बलिया छन् । मलाई सबैले बनको राजा मान्छन् । यस्तो हुँदाहुँदै
पनि मलाई कुखुराको भालेले तर्साउँछ । यो त साह्रै लाजमर्नु
कुरा हो ।" यस्तो बिचार आउँदा उसलाई कहिलेकाहीँ
मर्न मन लाग्थ्यो ।
यस्तो पिर लिएर सिंह बनमा घुमिरहेको बेलामा उसको भेट
हात्तीसँग भयो । हात्ती र सिंहको बीचमा भलाकुसारी भयो
। हात्तीले कुरा गर्दैगर्दा उसले लगातार कान हल्लाइरहेको
देखेर सिंहलाई अचम्म लाग्यो । उसले हात्तीसँग किन यसरी
एकछिन पनि नबिराइकन कान हल्लाइरहेको भनेर सोध्यो ।
त्यही बेला हात्तीको निधारमा एउटा भुसुना बस्यो । अनि
हात्तीले जवाफ दियो, "तिमीले देखेनौ यो सानो भुसुना
किरालाई । यो भुसुना मेरो आँखामा पस्यो भने मैले केही
पनि देख्दिन अनि म मर्छु ।"
हात्तीको कुरा सुनेर सिंहले भन्यो, "यति विशाल
जीव पनि त्यति सानो भुसुनासँग डराउँछ भने मैले कुखुरासँग
डराउनुमा दुःख मान्नुपर्ने कारण नै छैन । अब मेरो कुनै
गुनासो छैन । म त हात्तीभन्दा धेरै राम्रो अवस्थामा
रहेछु ।"
११७ सिकारी र तित्रा
एउटा तित्रा सिकारीको पासोमा पार्यो । तित्राले आफूलाई
नमार्न बिन्ती गर्दै सिकारीसँग भन्यो, "दया गरेर
मलाई नमार्नु होस् । यसको बदलामा मैले अरु धेरै तित्राहरूलाई
बोलाएर तपाईँको पासोमा पार्न सघाउनेछु ।"
तित्राको कुरा सुनेर सिकारीले भन्यो, "तैँले आफ्ना
दाजुभाइ र आफन्तहरूलाई फँसाएर आफ्नो ज्यान जोगाउन खोज्दैछस्
। त्यसैले तेरो ज्यानलाई अब सास्ती दिईदिई मार्नुपर्छ
।"
११८ किसान र स्याउको बोट
किसानको बारीमा स्याउको एउटा बोट थियो । त्यसमा फल फल्न
छाडेको थियो । रुखमा चरा र किराफटेंग्रा मात्रै बस्थे
। यसैले किसानले त्यो रुख काट्ने निधो गर्यो । उसले
बंचरोले रुख काट्न खोज्दा चरा र किराहरूले किसानसँग
रुख नकाट्न अनुरोध गरे । उनीहरूले किसानलाई मिठो गीत
सुनाएर उसको थकाइ मेटिदिने बाचा गरे । तर किसानले उनीहरूको
कुरा मानेन । उसले रुख काट्न थाल्यो ।
यसरी दुईतीन चोट हानेपछि रुखको फेँदमा एउटा प्वाल भेट्टियो
। त्यो प्वाल रुखको फेँदमा भएको ठूलो टोड्कोको मुख रहेछ
। टोडकोमा मौरीको घार रहेछ । अनि घारमा ताजा, बाक्लो
सुनौला रंगको मिठो मह रहेछ । मह चाखेर किसान दंग पर्यो
। उसले बंचरो बिसायो र वपरिपरि ढुंगा र माटो राखेर रुखलाई
जोगाउने उपाय गर्न थाल्यो । केही मानिसहरू आफ्नो फाइदाका
लागि मात्रै अरुको भलो गर्न तम्सन्छन् ।
माथि
११९ बाख्रीको दाढी
बाख्रीहरूले देउतासँग पुकारा गरेर दाढी पाए । यो कुरा
बोकाहरूलाई मन परेन । उनीहरूले पोथी जातीलाई सम्मानको
चिन्ह दिएकोमा देउतासँग गुनासो पोखे । बोकाहरूको कुरा
सुनेर देउताले भने, "उनीहरूको दाढी भएर के भयो
। यो त खोक्रो सम्मान हो । वास्तवमा बलिया र साहसी त
तिमीहरू नै छौ । आफूभन्दा कमजोरहरू बाहिर देखावटी रूपमा
आफू बराबर देखिएर के भयो र !"
१२० भाले र चोरहरू
केही चोरहरू एउटा घरमा पसे । तिनीहरूले घरमा कुखुराको
एउटा भालेबाहेक केही भेटाएनन् । तिनीहरूले त्यही भाले
चोरेर लगे । चोरहरूले भालेलाई काट्ने बेलामा भालेले
चोरहरूसँग आफूलाई नमार्न बिन्ती गर्दै भन्यो, "मलाई
नमार्नुस् । किनकि म मानिसहरूका लागि निक्कै काम लाग्ने
चरा हुँ । मैले मानिसहरूलाई सबेरै जगाएर काममा लाग्न
प्रेरित गर्छु ।"
चोरहरूले भने, "त्यही कारणले त हामीले तँलाई मार्न
लागेको हो । तैँले मानिसहरूलाई जगाइदिँदा हाम्रो काममा
बाधा पर्छ । हाम्रो काम नै बिफल हुन्छ ।" राम्रो
गुण पनि दुष्टहरूका लागि बैगुन हुन्छ ।
१२१ मानिसका दुइटा झोला
एउटा पुरानो लोककथाको भनाइअनुसार हरेक मानिस जन्मदा
आफूसँग दुइटा झोला लिएर जन्मन्छ । एउटा झोला उसको अगाडितिर
झुण्डिएको हुन्छ र अर्को झोला पछाडितिर हुन्छ । अगाडिको
झोलामा उसको छिमेकीहरूका बैगुनहरू भरिएको हुन्छ भने
पछाडिको झोलामा उसका आफ्नै बैगुनहरू भरिएका हुन्छन्
। यसै कारण उसले छिमेकीका बैगुनहरू तुरुन्तै देख्छ तर
आफ्ना बैगुनहरू दैख्नसक्तैन ।
१२२ घोडा र घोडी
एक जना किसानले एउटा घोडा र एउटी घोडी पालेको थियो ।
घोडाले दिनभरि खेतमा हलो जोत्थ्यो भने घोडी चौरमा घाँस
खाँदै खेलिरहन्थी । घोडा राती मात्रै चौरमा चर्न पाउँथ्यो
। एक दिन घोडीले घोडालाई भन्यो, "किन तिमी यति
धेरै मेहनत गर्छौ ? तिम्रो ठाउँमा म भएको भए मैले यस्तो
मेहनत गर्ने थिइन । किसानले मलाई कार्रा लायो भने मैले
लात्तले हान्ने थिएँ ।"
घोडालाई घोडीको सल्लाह चित्त बुझयो । भोलि पल्ट उसले
त्यस्तै गर्यो । घोडा अटेर भएको देखेर किसानले त्यसको
ठाउँमा घोडीलाई हलो जोत्न लगायो ।"
१२३ ब्वाँसो र लोखर्के
एक पल्ट एउटा लोखर्के रुखका हाँगाहरूमा उफ्रँदै खेल्दै
गर्दा झुक्किएर सुतेको ब्वाँसोमाथि खस्यो । ब्वाँसोले
उसलाई समातेर खान खोज्यो । लोखर्केले उसलाई नमार्न ब्वाँसोसँग
बिन्ती गर्यो । ब्वाँसोले भन्यो, "हुन्छ । म तिमीलाई
छाडिदिउँला तर मलाई एउटा कुरा भन त । हामी ब्वाँसोहरू
सँधै यस्तो दुःखी छौँ । तर तिमीहरू भने सँधै दंग परेर
खेलि रहन्छौ ।"
लोखर्केले भन्यो, "पहिले मलाई रुखको हाँगामाथि
जान देऊ अनि त्यहाँबाट मैले मेरो सुखको रहस्य भनुँला
।"
ब्वाँसोले उसलाई छाडिदियो । लोखर्के रुखको हाँगामाथि
पुग्यो र त्यहीँबाट ब्वाँसोलाई भन्यो, "तिमी जहिले
पनि अरुको कुभलो चिताइरहन्छौ । खराब विचारले गर्दा तिम्रो
मुटु पोलिरहन्छ । यसैले तिमी सँधै दुःखी हुन्छौ । हामी
लोखर्केहरू कसैको कुभलो चिताउँदैनौँ । जसलाई पनि सघाउन
खोज्छौँ । यसैले हामी सँधै सुखी हुन्छौँ ।"
१२४ मुसा, भाले र बिरालो
एउटा सानो मुसा बाहिर घुम्न निस्केको थियो । घरको वरिपरि
घुमेर फर्केपछि उसले आफ्नी आमालाई भन्यो, "आमा,
आमा, मैले दुइटा जीवहरू देखेँ । तीमध्ये एउटा डरलाग्दो
थियो । अर्को दयालु देखिन्थ्यो ।"
"ती जानवर हेर्दा कस्ता थिए बाबु ?" आमाले
सोधी ।
सानो मुसाले जवाफ दियो, "एउटा डरलाग्दो थियो ।
ऊ छाती तन्काएर हिँडिरहेको थियो । उसको टाउकोमा रातो
सिउर थियो । उसका पंजा मसिना र तीखा थिए । उसका आँखा
गोलो थिए । नाख तीखो थियो । मलाई देख्ने बित्तिकै उसले
एउटा खुट्टा उचालेर बेस्सरी करायो । म त डराएर भागेँ
।"
"ए, त्यो त कुखुराको भाले हो," मुसाकी आमाले
भनी, "त्यसले कसैको कुभलो गर्दैन । त्योसँग डराउनु
पर्दैन । अर्को जन्तु कस्तो थियो नि ?"
"अर्को सुधो जानवर पल्टेर घाम तापिरहको थियो ।
उसको घाँटी सेतो थियो । जिउभरि कालो र सेतो टाटेपाटे
कमलो भुत्ला थियो । खुट्टा पनि नरम थिए । जिब्रोले जिउ
चाटिरहको थियो । मलाई देखेर उसले लामो मसिनो पुच्छर
बिस्तारै हाल्लायो ।" सानो मुसाले भन्यो ।
उसको कुरा टुंगिन नभ्याउँदै आमा मुसाले भनी, "ए
बाबु, त्यो त बिरालो हो । त्यो त हाम्रो सबैभन्दा ठूलो
शत्रु हो । त्यसबाट सँधै टाढा बस्नुपर्छ, नत्र एकै गाँस
पार्छ ।"
१२५ बिरालोको घाँटीमा घण्टी
एउटा बिरालोले मुसाहरूलाई सखाप पार्दै थियो । मुसाहरूको
वंशै नाश हुने डर थियो । संकट टार्न मुसाहरूको बैठक
बस्यो । बिरालोबाट कसरी जोगिने भन्ने विषयमा धेरै बेर
छलफल भयो तर कुनै काम लाग्ने उपाय निस्केन ।
आखिरमा एउटा सानो मुसाले उपाय निकाल्यो । उसले भन्यो,
"बिरालो चाल मारेर आएको हामीले थाहै पाउँदैनौँ
। हामीसँग भाग्ने समय नै हुँदैन । यसैले हामी मारिन्छौँ
। यदि बिरालो नजिक आएको थाहा पाउन पाए हामीले भाग्ने
समय पाउँने थियौँ । अनि हाम्रो ज्यान जोगिन्थ्यो । यसैले
मेरो बिचारमा बिरालोको घाँटीमा घण्टी झुण्ड्याइदिन पाए
त आनन्दै हुन्थ्यो । ऊ आएको कुरा घण्टीले थाहा हुन्थ्यो
र भाग्न पाइनेथियो ।"
उसको सुझाव सुनेर एउटा बूढो मुसाले भन्यो, "तिम्रो
सुझाव अति राम्रो छ । तर बिरालोको घाँटीमा कसले घण्टी
बाँध्ने ? तिमी आफै अगाडि सरेर घण्टी बाँध्ने काम पनि
गर्यौ भने हामीले तिमीलाई स्याबासी दिन्छौँ ।"
माथि
भाग १ भाग
२ भाग ३
भाग ४ भाग ५
भाग ६
मूल पृष्ठमा जाउँ
|