इसपका नीतिकथा
चौथो भाग
७६ सिंहको छाला ओढेको गधा
एउटा
गधाले कतै बाट सिंहको छाला भेट्टाएको थियो । उसले त्यो छाला
ओढेर बनका सोझासिधा जानवरहरूलाई तर्साउँथ्यो । एक दिन उसको
भेट फ्याउरो सँग भयो । उसले त्यसलाई पनि तर्साउन खोज्यो ।
तर गधाको स्वर सुन्ने बित्तिकै फ्याउरोले भन्यो, "तैँले
नकराइकन मलाई तर्साउन खोजेका भए सायद म डराउने थिएँ ।"
७७ शरीर र अंगहरूबीच झगडा
एक पल्ट मानिसको शरीरको पेट र अरु अंगबीच विवाद पर्यो
। हात, गोडा, आँखा, कान, नाक आदि अंगहरूले भने, "काम
गर्ने हामी यो पेट भने दिनभरि बसीबसी खान्छ । मिठोमिठो
कुरा सबै यसैको थैलोमा जान्छ । यो त साह्रै अन्याय भयो
। यो स्वार्थी पेटलाई खुशी पार्न हामी मरिमेटी काम गर्न
सक्तैनौँ ।"
यति भनेर शरीरका अंगहरूले हडताल गरे । अंगहरूले काम
नगरेपछि पेटले खान पाएन । पहिले त पेट दुःखी भयो । तर
पेटमा अन्न नपरेपछि अंगहरू र पूरै शरीर गल्यो । उनीहरू
यति कमजोर भए कि कुनैले पनि काम गर्नसकेनन् । उनीहरूलाई
आफ्नो मूर्खताप्रति पछुताउनु पर्यो ।
७८ गँगाटो र फ्याउरो
एउटा गँगटोलाई खोलाभित्र दुलोमा बस्न मन लागेन । ऊ चौरमा
बसाइ सर्यो । चौरमै किराफटेँग्रा खोजेर बस्न थाल्यो
। एउटा भोकाएको फ्याउरो सिकार खोज्दै चौरमा आयो । उसले
गँगटोलाई सजिलैसँग देख्यो । भोकाएको हुनाले उसले गँगटोलाई
कर्याप्पै टोक्यो र खान थाल्यो । मर्ने बेलामा गँगटोले
आफैलाई भन्यो, "मेरो यो दुर्गति हुनु स्वाभाविकै
हो । पानीभित्रको आफ्नो स्वाभाविक बास छाडेर बिरानो
ठाउँमा आउँदा यस्तै हुन्छ । आफ्नो भाग्यप्रति सन्तुष्ट
हुनसके मात्रै सुखी भइने रहेछ ।"
७९ नाच्ने बाँदरहरू
एक जना राजकुमारले केही बाँदरहरूलाई नाच्न सिकाउने बिचार
गर्यो । मानिसको नक्कल गर्न सिपालु भएका हुनाले उनीहरूले
चाँडै नै मानिसले जस्तै नाच्न सिके । राम्रा लुगा र
मुकुण्डो लगाइदिँदा त उनीहरू राजाको दरबारका अरु नर्तकहरू
जस्तै नाच्ने भए । दरबारमा बाँदरहरूको नाच बारंबार देखाउन
थालियो ।
एक पल्ट दरबारमा बाँदरहरूको नाच भइरहेको बेलामा एक
जना दरबारियालाई एउटा उटुँग्याइँ गर्न मन लाग्यो । उसले
गोजीबाट एक मुठी भुटेको चना झिक्यो र नाचिरहेका बाँदरहरूको
अगाडि चना छरिदियो । बाँदरहरूले चना देखेपछि नाच्न बिर्से
। उनीहरूले दामी लुगा र मुकुण्डोको वास्तै नगरी भुइँको
चना टिपेर खान थाले । चना टिप्ने मेसोमा उनीहरूबीच लुछाचुडी
भयो । तिनले लाएका गहना र मुकुण्डोको बिजोग भयो । यसरी
बाँदरको नाच दर्शकहरूको हाँसोमा टुंगियो ।
माथि
८० कुकुर, भाले र फ्याउरो
कुकुर र भाले मित लाएका थिए । एक पल्ट उनीहरू घुम्न
निस्के । साँझ उनीहरू एउटा रुखमा बास बसे । भाले रुखको
हाँगामा बस्यो भने कुकुर रुखको फेँदमा बनेको टोडकोमा
बस्यो ।
बिहान झिसमिसे भएपछि आफ्नो बानी अनुसार भाले बास्यो
। ऊ ठूलो स्वरले धेरै पटक करायो । संयोगले एउटा फ्याउरोले
भाले बासेको सुन्यो । उसले आज बिहानै मिठो खाजा खान
पाइने भयो भन्ने विचार गर्दै भाले बसेको रुखनेर गयो
। उसले भालेलाई भन्यो, "यस्तो मिठो स्वर भएको चरासँग
सँगत गर्न पाए कस्तो बेस हुन्थ्यो ।"
तर भालेलाई उसको कुरामाथि शंक लाग्यो । उसले भन्यो,
"तपाईँलाई स्वागत छ । तर एउटा काम गर्नु हुन्छ
कि ? रुखको फेँदमा टोडकोमा मेरो भरिया सुतेको छ । उसलाई
उठाउनु भयो भने उसले ढोका खेल्ने छ अनि तपाइँ माथि मकहाँ
आउनु होला ।"
फ्याउरोले त्यसै गर्यो । ऊ रुखको टोडमा पुग्ने बित्तिकै
कुकुर जाग्यो । कुकुरले फ्याउरोलाई च्याप्प समातेर टुक्राटुक्रा
पारिदियो ।
८१ बाज, बिरालो र बँदेल
एउटा बाजले रुखको टुप्पामा गुँड बनाएको थियो । रुखको
माझमा एउटा ठूलो टोडकोमा बिरालो बास बसेको थियो । रुखको
जरामा खाल्टो खनेर बंदेल र उसका पाठाहरू बसेका थिए ।
उनीहरू सुखसँग बसिरहेका थिए । तर बिरालोको मनमा उटुँग्याइँ
गर्ने बिचार आयो ।
बिरालो रुखको टुप्पामा गयो र बाजलाई भन्यो, "तिम्रो
र मेरो पनि विनाश नजिक आउँदै छ । तल बसेको बँदेलले दिनदिनै
रुखको जरा खनिरहेको तिमीले देखेकै छौ । उसले हामी बसेको
यो रुखलाई ढाल्न खोज्दैछ । रुख ढलेपछि उसले तिमी र तिम्रा
बालबच्चाहरू अनि मलाई पनि खाने दाउ गर्दैछ ।
यस्तो तर्साउने कुरा सुनेर बाज रिसायो र चिन्तित पनि
भयो ।
त्यसपछि बिरालो रुखको फेँदमा गयो र बँदेललाई भन्यो,
"तिम्रा बालबच्चहरू खतरामा छन् । तिमी खानेकुरा
खोज्न बाहिर गएको बेलामा यो रुखको टुप्पामा बसेको बाज
तिम्रा बच्चामाथि जाइलाग्छ ।
यसरी बाज र बिरालोको बीचमा बैमनस्य फैलाएर बिरालो आफ्नो
टोँडकोभित्र लुकेर बस्यो । रात परेपछि ऊ खानेकुरा खोज्न
बाहिर जान्थ्यो । तर दिउँसो डराएको बहाना गरेर लुकेर
बस्थ्यो ।
उता बाज बंदेलले रुख ढालेर चल्ला मार्ला भन्ने डरले
दिनभरि गुँड नछाडी बस्थ्यो । अर्कोतिर बँदेल पनि बाजको
डरले कतै जान छाड्यो । यसरी बाज र बँदेलको परिवार एकअर्कोको
डरले खाना खोज्न पनि नगई बस्न थाल्यो । यसरी धेरै दिन
भोकै बस्दा दुबै परिवारको अन्त्य भयो । बिरालोलाई भने
भोज भयो ।
८२ किसान र उसका छोराहरू
एक जना किसान निक्कै बूढो भइसकेको थियो । आफू मरेपछि
छोराहरूले मेहनत गरेर खेतीपाती गर्लान् कि नगर्लान्
भन्ने उसलाई चिन्ता थियो । बिरामी परेर अब मर्ने भएँ
भन्ने भएपछि उसले सबै जना छोराहरूलाई डाक्यो र भन्यो,
"हेर छोराहरू, मेरो बारीमा मैले धेरै पैसा गाडेर
लुकाएको छु ।"
बाबु मरेपछि छोराहरूले खन्ने औजार लिए र बारीको कुनाकाप्चा
सबैतिर खनेर गाडेको धन खोजे । बारी सबै खन्दा पनि धन
भेट्टिएन । तर एउटा फाइदा के भयो भने । गहिरोसँग बारी
खनेकोले बारी निक्कै मलिलो भयो र त्यो सालको बाली निक्कै
सप्रेर उनीहरूले धेरै अन्न भित्र्याए ।
माथि
८३ किसान र फ्याउरो
एउटा फ्याउरोले किसानको कुखुरा चोरेर हैरान पारेको थियो
। एक पल्ट त्यो फ्याउरो किरानले थापेको पासोमा पर्यो
। फ्याउरोसँग बदला लिने उद्देश्यले किसानले फ्याउरोको
जिउ वरिपरि तेलले भिजेको डोरी बेर्यो अनि डोरीमा आगो
लगाएर उसलाई छाडिदियो ।
आगोले पोलेर आत्तिएको फ्योउरो किसानको खेतमा पस्यो ।
खेतमा पाकेको पहेँलो धान परालसँगै सुकाएर भित्र्याउन
ठिक्क पारिएको थियो । फ्याउरोको जिउमा लागेको आगो खेतको
परालमा पनि सल्क्यो । बिचरा किसानले त्यो साल एक गेडा
धान पनि स्याहार्न पाएन ।
८४ दुइटी छोरीको बाबु
एक जना मानिसका दुइटी छोरी थिए । जेठी छोरीको बिहे बगैँचे/मालीसँग
भयो भने कान्छी छोरीको बिहे माटाका भाँडा बनाउने कुमालसँग
भयो ।
बिहे भएको केही दिनपछि छोरीहरूको सँचोबिसँचो बुझ्न बाबु
छोरीहरूको घरमा गयो । पहिले ऊ जेठी छोरीकहाँ गयो र छोरीसँग
भलाकुरसारी गर्यो । छोरीले भनी, "सबै कुरा बेसै
छ । तर पानी राम्ररी परेको छैन । ठूलो पानी पर्यो भने
रुख बिरुवा सप्रन्थे । आम्दानी राम्रो हुन्थ्यो ।"
जेठी छोरीको घरबाट फर्केको केही दिनपछि ऊ कुमालसँग
बिहे गर्ने कान्छी छोरीको घरमा गयो । उसले छोरीसँग सँचोबिसँचो
सोधेपछि छोरीले भनी, "मलाई सबै कुरा पुगेकै छ ।
मेरो एउटा मात्रै इच्छा छ । त्यो के भने पानी नपरे हुन्थ्यो
। चर्को घाम लाग्यो भने हामीले बनाएका माटाका भाँडा
राम्ररी सुक्ने थिए । अनि भाँडा बेचेर राम्रो आम्दानी
हुने थियो ।"
छोरीको कुरा सुनेर बाबु अलमल्ल पर्यो । उसले भन्यो,
"जेठी माग्छे पानी, कान्छी माग्छे घाम । म एक्लो
बूढो कतातिर जाम ?"
८५ मृगको पाठो र उसकी आमा
मृगको एउटा फुच्चे पाठोले एक पल्ट आफ्नी आमालाई भन्यो,
"आमा, तिमी कुकुरभन्दा ठूलो छौ, त्याभन्दा छिटो
दगुर्न सक्छौ । तिमीसँग दुइटा तीखा सिङ पनि छन् । तिमीसँग
आफ्नो रक्षा गर्ने साधन हुँदा हुँदै पनि किन तिमी कुकुरसँग
यस्तो विधि डराउँछौ आमा ?"
"हो छोरा मसँग तिमीले भनेका सबै कुरा छन् तर एक्लो
कुकुर भुकेको सुन्ने बित्तिकै मेरो होस उड्छ । म सकेसम्म
जोडले भाग्न थाल्छु । डराएपछि कुनै पनि तर्कले काम गर्ने
रहेनछ ।"
८६ लडाकू भाले र बाज
गोठको रजाइँ गर्ने विषयमा कुखुराका दुइटा भालेबीच घमासान
लडाइँ भइरहेको थियो । आखिरमा एउटा भाले भाग्यो । भगुवा
भाले गोठको एउटा कुनामा बसेर चुप लागेर बस्यो । जित्ने
भाले अग्लो पर्खालमाथि चढ्यो र घमण्डले छाती फर्काउँदै
र पखेट फट्फटाउँदै भएभरको बल झिकेर बास्यो । उसले गोठमाथि
आफ्नो एकलौटी अधिकार भएको घोषणा गर्यो ।
एउटा बाज भालेहरूको लडाइँ हेर्दै आकाशमा उडिरहको थियो
। उसले पर्खालमाथि सानसँग बासिरहको भालेमाथि हमला गर्यो
र पंजामा गाँजेर आफ्नो गुँडतिर लग्यो ।
हरुवा भाले तुरुन्तै बाहिर आयो । त्यसपछि उसले गोठको
रजाइँ आफूले गर्ने घोषण गर्यो । घमण्डले बिनाश निम्त्याउँछ
भनेको साँच्चै हो ।
८७ उपियाँ र साँढे
एउटा उपियाँले साँढेसँग यस्तो प्रश्न सोध्यो, "तिमी
यति विशाल र बलियो भएर पनि किन मानिसको चाकरी गर्छौ
? मानिसले तिमीमाथि अन्याय गर्दा पनि सहन्छौ । किन ?
मलाई हेर त म यति सानो जीव भएर पनि मानिसहरूमाथि दया
नगरी उनीहरूकै रगत खाएर बाँच्छु ।"
साँढेले जवाफ दियो, "मलाई मानिसले माया गर्छ ।
दानापानी ख्वाउँछ । मेरो जिउ मुसार्छ । बेलाबेलामा काँध
थपथपाएर स्याबासी दिन्छ । म मानिसप्रति अकृतज्ञ हुन
चाहन्न ।"
"यस्तो स्याबासीबाट मलाई बचाऊ ! मेरो जिउमा यसरी
थपथपायो भनेत म एक चोटीमै खुत्रुक्कै हुन्छु ।"
उपियाँले भन्यो ।
माथि
८८ झिँगा र मह
कोठामा महको भाँडो घोप्टिएर मह पोखिएको थियो । केही
झिँगाहरू महतिर लोभिए । उनीहरू महमाथि बसेर आत्तिँदै
मह खान थाले । उनीहरूले आफ्नो खुट्टा महमा अडकिएको चालै
पाएनन् । मह खाएर अघाएपछि उनीहरू उडन खोजे तर महमा खुट्टा
बेस्सरी टाँसिएको हुनाले उनीहरू उम्कन सकेनन् । मर्ने
बेलामा उनीहरूले भने, "केही बेरको आनन्दका लागि
हामीले ज्यान गुमायौँ । कस्ता मूर्ख रहछौँ हामी !"
८९ सिकारी र सर्प
एक जना सिकारी चरा समात्ने औजार लिएर बनतिर गयो । एउटा
रुखको हाँगामा राम्रो चरा देखेर उसले त्यसलाई समात्ने
विचार गर्यो । चरा समात्नका लागि उसले पासो मिलाउन
थाल्यो । उसको पूरै ध्यान हाँगामाथि बसेको चरातिर थियो
। उसले बारम्बार चरालाई हेरिरहेको थियो । यसले गर्दा
उसले आफ्नो खुट्टानेर सर्प सुतिरहको चालै पाएन । अचानक
उसको खुट्टा सर्पको जिउमाथि पर्यो । रिसाएको सर्पले
उसलाई डस्यो । सर्पको बीषले बेहोस हुँदै उसले सोच्यो,
"अरुलाई मार्न पासो थाप्दाथाप्दै म आफै मृत्युको
पासोमा परेँ । मलाई धिक्कार छ ।"
९० फ्याउरो र चितुवा
फ्याउरो र चितुवाबीच को धेरै सुन्दर छ भन्ने विषयमा
विवाद पर्यो । चितुवाले आफ्नो जिउमा सजाइएको कालोकालो
थोप्ला एकएक ओटा गरेर देखायो र आफ्नो सुन्दरताको बयान
गर्न थाल्यो । तर उसलाई बीचैमा रोकेर फ्याउरोले भन्यो,
"तर म तिमीभन्दा धेरै सुन्दर छु, किन भने मेरो
शरीर होइन दिमाग सजिएको छ ।
९१ फ्याउरो र दाउरे
सिकारी कुकुरहरूबाट लखेटिको एउटा फ्याउरो दाउरेको नजिकै
आइपुग्यो । उसले दाउरेसँग शरण माग्यो । दाउरेले उसलाई
आफ्नो छाप्रोभित्र लुक्न भन्यो । उसले त्यसै गर्यो
। एक छिनपति सिकारीहरू फ्याउरोलाई खोज्दै आए । उनीहरूले
दाउरसँग फ्याउरोलाई देख्यौ कि भनेर सोधे । दाउरेले देखिन
भन्यो । तर उसले आफ्नो छाप्रोतिर औँल्यायो । मुखले देखिन
भने तापनि उसले छाप्रोतिर इसारा गरिरहको थियो । तर सिकारीहरूले
उसको इसारातिर ध्यान दिएनन् । उसको कुरा पत्याएर उनीहरू
फ्याउरोलाई खोज्न अगाडि बढे ।
सिकारीहरू टाढा गएपछि फ्याउरो छाप्रोबाट निस्क्यो र
दाउरेसँग बोल्दै नबोली बनतिर जान लाग्यो । फ्याउरोको
यस्तो चाल देखेर दाउरेले भन्यो, "तिमी कति अकृतज्ञ
रहेछौ । तिम्रो ज्यान जोगाएकोमा धन्यावादसम्म नदिई जान
लाज लाग्दैन ?"
फ्याउरोले जवाफ दियो, "यदि तिम्रो भनाइ तिम्रो
कामसँगै मिल्ने भए अनि तिम्रा हातहरूले तिम्रो भनाइको
ठिक उल्टो काम नगरेको भए निश्चय नै मैले तिमीलाई हृदयदेखि
धन्यवाद दिनुपर्थ्यो ।"
९२ बोका र गोठालो
एउटा बोका बथानबाट भाग्यो । गोठालोले निक्कै प्रयास
गर्दा पनि ऊ बथानमा फर्कन मानेन । गोठालोलाई रिस उठ्यो
। उसले बोकालाई ढुंगाले हान्यो । ढुंगाले लागेर बोकाको
सिङ भाँच्चियो ।
बोकाको सिङ भाँच्चिएको देखेर मालिकले उसलाई सजाय गर्ला
भनेर गोठालो डरायो । उसले बोकालाई सिङ भाँच्चिएको कुरा
मालिकसँग नभन भनेर अनुरोध गर्यो । बोकाले जवाफ दियो,
"मैले नभनेर के गर्ने मेरो सिङले भनिहल्छ । लुक्न
नसक्ने कुरा किन लुकाउने ?"
९३ खरायो र सिकारी कुकुर
एउटा सिकारी कुकुरले खरायोलाई लखेट्न थाल्यो । केही
बेरपछि उसले लखेट्न छाड्यो । त्यो देखेर गोठालोले कुकुरलाई
जिस्क्याउँदै भन्यो, "तिमी दुईमध्ये खरायो नै धेरै
दौडन सक्ने रहेछ ।" यो सुनेर कुकुरले जवाफ दियो,
"तिमीले हामी दुइबीच फरक देखेन छौ । म खानेकुराका
लागि दौडिरहको थिएँ भने खरायो ज्यान जोगाउन दौडिरहको
थियो ।"
९४ खरायो र सिंह
जानवरहरूको सभामा एउटा खरायोले प्रस्ताव राख्यो, "सबै
जानवर बराबरी हुनुपर्छ । कसैले कसैमाथि अन्याय गर्न
पाउन्न ।"
उसको कुरा सुनेर सिंहले भन्यो, "हेर खरायो, तिम्रा
शब्दहरू सुन्नका लागि मिठा छन् । तर तिनमा हाम्राजस्ता
दाँत र नंग्रा छैनन् ।"
माथि
९५ घोडा र घोडसवार
एक जना घोडसवार सिपाही थियो । उसले आफ्नो घोडाको निक्कै
स्याहार सुसार गर्थ्यो । लडाइँ चल्दासम्म उसले घोडालाई
आफ्नो प्यारो साथीलाई जस्तै माया गर्यो । आफ्नै हातले
पोसिलो अन्न ख्वायो । तर लडाइँ रोकिएपछि उसलाई वास्ता
गर्न छाड्यो । अन्नको सट्टा भुस खान दियो । आफू चढ्नुको
सट्टा गह्रुँगो भारी बोकायो । काठ, दाउरा ढुँगा ओसार्न
लगायो । उसलाई साह्रै हेला गर्यो ।
केही समयपछि लडाइँ फेरि सुरु भयो । सिपाहीलाई फेरि
लडाइँमा जानु पर्यो । उसले घोडामाथि फौजी साजबाज सहित
काठी कस्यो । अनि ऊ घोडामाथि चढ्यो । तर उसलाई घोडाले
धान्न सकेन । ऊ लोट्यो । बिचरो घोडाले भन्यो, "मालिक
अब तपाईँ पैदल नै लडाइँमा जानुपर्छ । तपाइँले मलाई घोडाबाट
गधा बनाइदिनु भयो । अब अचानक म कसरी फेरि घोडा बन्न
सक्छु र !"
९६ कौवा र परेवा
परेवाहरूलाई खोर बनाइ दिएर सँधै चारो ख्वाएको देखेर
एउटा कौवालाई पनि परेवाजस्तै हुन मन लाग्यो । उसले आफ्नो
जिउमा सेतो रोगन पोत्यो र परेवाको हुलमा मिसिएर बस्न
थाल्यो । कौवा नबोलेसम्म परेवाहरूले उसलाई पनि आफूजस्तै
ठाने र सँगै खान खेल्न दिए । तर ऊ कराउन थालेपछि उनीहरूले
उसको असली रूप थाहा पाए र उसलाई गुँडबाट धपाइदिए ।
कौवा फर्केर आफ्नै बथानमा गयो । तर उसको रंगले गर्दा
कौवाहरूले उसलाई आफ्नो बथानमा बस्न दिएनन् । यसरी दुइटा
डुँगामा चढ्न खोज्दा न यताको न उताको भयो ।
९७ बाँदर्नीको बच्चा
जंगलमा कुन जानवरको बच्चा सबैभन्दा राम्रो छ भन्ने प्रतियोगिता
भइरहको थियो । बाँदरनीले आफ्नो काखको बच्चा लिएर प्रतियोगिता
भएको ठाउँमा गई र आयोजकहरूलाई बच्चा देखाई । नहुर्केको
बाँदरको बच्चाको रौँ पनि थिएन । नाक थ्याप्चो थियो ।
हेर्दै नराम्रो !
बाँदरको बच्चाले पनि सौर्न्दर्य प्रतियोगितामा भाग
लिएको देखेर सबै पशुहरू हाँसे । व्यंग्य गरे । तर बाँदर्नीले
आफ्नो बच्चाको तरिफ गर्दै भनिन्, "आयोजकहरूले यसलाई
पुरस्कार दिन्छ कि दिन्न म भन्न सक्तिन । तर मलाई के
थाहा छ भने कम्तीमा पनि म उसकी आमाको दृष्टिमा यो बच्चा
सबैभन्दा मायालाग्दो, सबैभन्दा सुन्दर र सबैभन्दा सुशील
छ ।"
९८ चखेवा र उसका चल्लाहरू
चखेवाले गहुँको खेतको बीचमा गुँड बनाएको थियो । गहुँ
पाक्ने बेलामा चल्ला पनि हुर्के । चल्लाहरू उडन सिक्दै
थिए । त्यसै बेला खेतको धनी किसान आएर पाकेको गहुँ काट्ने
बेला भइसकेको थाहा पायो । उसले भन्यो, "भोलि नै
छिमेकीहरूलाई बोलाएर ल्याएर यो गहुँ काट्नु पर्यो ।"
चखेवाको चल्लाले यो कुरा सुनेको थियो । उसले यो कुरा
साँझ आफ्नी आमालाई सुनायो । किसानले गहुँ काटेपछि चखेवाको
गुँड भत्कन्छ, अनि त्यसपछि कहाँ बस्ने भन्ने आसयले चल्लाले
त्यो कुरा सुनाएको थियो । तर आमा चखेवीले भनी, "डराउनु
पर्ने बेला अझै आइसकेको छैन । अरुको सहायताले काम गर्ने
मानिसले बेलामा काम गर्नसक्तैन ।"
केही दिनपछि फेरि किसान गहुँ हेर्न आयो । गहुँको बाला
लत्रेर झर्न लागेको उसले देख्यो । उसले भन्यो, "अब
त भएन । भोलि म आफै आएर गहुँ काट्छु ।"
साँझ चारा खोजेर आउँदा चखेवीलाई उसका चल्लाहरूले किसानले
भनेको कुरा सुनायो । चल्लाको कुरा सुनेर आमा चखेवीले
भनी, "अब एक छिन पनि यहाँ बस्नु हुँदैन । पक्कै
पनि किसानले भोलि बिहानै आएर गहुँ काट्न थाल्नेछ । जसले
आफै काम गर्छु भन्छ उसले पक्कै पनि गर्छ ।"
९९ सिंह र बँदेल
गर्मीको दिन थियो । पानीका मुहानहरू सुकेका थिए । तिर्खाले
छटपटाएको सिंह र बँदेल एकै चोटि एउटा सानो पँधेरामा
पुगे । पँधेरामा पानी सुक्नै लागेको थियो । कसले पहिले
पानी खाने भन्ने कुरामा बँदेल र सिंहबीच झगडा भयो ।
उनीहरू आपसमा डरलाग्दो सँग लडन थाले ।
धेरै बेर लडेर दुबै जानवर थाकेपछि उनीहरूले आफ्नो वरिपरि
हेरे । उनीहरूभन्दा केही पर स्याल, गिद्ध र ब्वाँसाहरू
भोज खान पर्खेर बसेको उनीहरूले देखे । उनीहरूले अचानक
लडाइँ रोके र मित्रताको हात मिलाउँदै भने, "स्याल
र गिद्धको आहार बन्नुभन्दा त साथी बन्नु बेस ।"
१०० सिंह र डल्फिन
एउटा सिंहले समुद्रको किनारामा घुम्दाघुम्दै डल्फिन
माछाले पानीबाट टाउको बाहिर निकालेको देख्यो । सिंहले
डल्फिनसँग मित्रताको प्रस्ताव राख्यो । डल्फिनले पनि
सिंहको प्रस्ताव खुशीसँग मान्यो । उनीहरूले जानवरहरूमध्ये
सबैभन्दा असल मित्र बन्ने र एकअर्कालाई आपत आइपर्दा
सघाउने बाचा गरे ।
केही दिनपछि सिंहको राज्यमाथि जंगली अर्नाहरूले हमला
गरे । सिंहले डल्फिनसँग मदत माग्यो । तर डल्फिन कसरी
जमिनमा आएर सिंहलाई मदत गर्न सक्थ्यो र ! सिंहले उसलाई
धोकेबाज भनेर गाली गर्यो । अनि डल्फिनले जवाफ दियो,
"मित्र, मलाई दोष नदेऊ । प्रकृतिलाई दोष देऊ ।
उसले मलाई समुद्रको राजा बनाए पनि जमिनमा हिँडनै नसक्ने
बनाइदिएको छ । म के गरुँ ?"
माथि
भाग १ भाग
२ भाग ३
भाग ४ भाग ५
भाग ६
मूल पृष्ठमा जाउँ
|