इसपका नीतिकथा
दोस्रो भाग
२६
चार साँढे र सिंह
एउटा खेतमा चार वटा साँढे बस्थे । एउटा सिंह बेलाबेलामा खेतमा
घुम्न जान्थ्यो । उसले साँढेहरूमाथि आक्रमण गर्न धेरै पटक
कोसिस गर्यो । सिंहले आक्रमण गर्दा ती साँढेहरू मिलेर एक
ढिक्का हुन्थे । सिंहले जताबाट हमला गरे पनि उनीहरूले तीखो
सिंङले उसलाई घाइते पार्थे ।
आखिरमा एक दिन सांढेहरूको बीचमा झगडा भयो । उनीहरू
मिलेर चर्न छाडे र खेतको बेग्लाबेग्लै कुनामा एक्लाएक्लै
चर्न जान थाले । यसरी एक्लै चरेको बेलामा सिंहले सजिलैसँग
हमला गर्यो र एकएक वटा सांढेलाई पालैपालै गरेर मारेर
खायो । भाइ फुटे गँवार लुटे भनेको यही हो ।
२७ फ्याउरोको सय दाउ बिरालोको
एक दाउ
एउटा फ्याउरोले शत्रुबाट जोगिनका लागि ऊसँग थुप्रै उपायहरू
छ भनेर बडो फुर्ती लगायो । "मसँग झोलाभरि दाउपेच
छन् । म सयौँ उपायद्वारा शत्रुबाट जोगिनसक्छु"
फ्याउरोले भन्यो ।
"मसँग त एउटा मात्रै दाउ छ । तर त्यही एउटा दाउले
पनि म शत्रुबाट जोगिनसक्छु ।" बिरालोले भन्यो ।
त्यही बेला उनीहरूले एक हुल सिकारी कुकुरहरू उनीहरूतिर
दगुर्दै आइरहेको देखे । बिरालो हत्तपत्त उफ्रेर रुखमाथि
चढ्यो र रुखका हाँगा र पातहरूबीच लुक्यो । "मेरो
तरिका यही हो ।" बिरालोले भन्यो । उसले फ्याउरोसँग
सोध्यो, "तिम्रो तरिका के हो नि ?"
तर फ्याउरोले कुन दाउ चाल्ने भन्ने सोच्नै भ्याएन ।
सिकारी कुकुरहरूले उसलाई समाते र मारे ।
फ्याउरोको दुर्गति देखेर बिरालोले मनमनै भन्यो, "बरु
एउटै दाउ बेस । बेलामा काम नलाग्ने सय वटा दाउ जानेर
के गर्ने ?"
२८ फ्याउरो र कौवा
एउटा कौवाले ठोँडमा रोटी च्यापेर उडेको एउटा फ्याउरोले
देख्यो । कौवा एउटा रुखको हाँगामा बस्यो । कौवाको मुखको
रोटी देखेर फ्याउरोलाई लोभ लाग्यो । उसले त्यो रोटी
कौवाको मुखबाट फुत्काउने जुक्ति निकाल्यो ।
फ्याउरो कौवा बसेको रुखको हाँगामुनि गयो र बडो मिठो
स्वरले भन्यो, "कौवा बहिनी ! तिमीलाई संचै छ ?
तिमी त कति राम्री भइछ्यौ । तिम्रो पखेटा कस्तो टलक्क
टल्केको ! तिम्रा गाजलु आँखा कति चम्केका ! तिम्रो स्वर
पनि त्यत्तिकै मिठो छ होला हैन र ? तिमीलाई त चराकी
रानी बनाउनु पर्ने हो । धेरै दिनदेखि तिम्रो सुरिलो
स्वर सुन्न मन लागेको थियो । बल्ल आज मौका पाइयो । एउटा
मिठो गीत सुन्न पाए त तिम्रो ठूलो गुन मान्ने थिएँ ।"
फ्याउरोको कुरा सुनेर कौवा मख्ख पर्यो । उसले आफ्नो
ठोँडमा रोटी च्यापेको बिर्स्यो र गर्वले फुलेर आँखा
चिम्लेर गीत गाउन थाल्यो । का..का...का !
गीत गाउन कौवाले मुख खोल्ने बित्तिकै उसको मुखको रोटी
तल खस्यो । रोटी भुइँमा पर्न नपाउँदै फ्याउरोले च्याप्प
सामात्यो । रोटी खाँदै फ्याउरोले कौलालाई भन्यो, "यो
रोटीको बदलामा मैले तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु
। कसैले तारिफ गरेर फुर्काउँदैमा नफुर्क । झुटो प्रशंसा
नपत्याऊ ।"
२९ फ्याउरो र बोका
एक पल्ट एउटा फ्याउरो गहिरो इनारभित्र खस्यो । ऊ इनारबाट
बाहिर आउन सकेन । त्यसै बेला एउटा दाह्रीवाल बोका पानी
खान इनारमा आइपुग्यो । इनारभित्र के गर्न लागेको भनेर
बोकाले फ्याउरोसँग सोध्यो । फ्याउरोले भन्यो, "खडेरी
पर्दैछ भन्ने कुरा तिमीले सुनेका छैनौ ? त्यसैले मैले
धेरै दिनलाई पुग्ने गरी पानी खान आएको नि । तिमीले पनि
पानी खाने भए भित्र आऊ ।"
फ्याउरोको कुरा सुनेर बोका इनारभित्र जान हतारियो ।
ऊ उफ्रेर झ्वाम्लांग इनारमा हामफाल्यो ।
त्यसै बेला फ्याउरो बोकाको जिउमाथि चढयो र दुइटा खुट्टाले
उसको टाउकोमाथि टेकेर इनारबाहिर निस्क्यो । बोकासँग
विदा हुने बेलामा फ्याउरोले भन्यो, "आपतमा परेको
मानिसले दिएको सल्लाह कहिल्यै नमान्नु बुझ्यौ ?"
माथि
३० फ्याउरो र अंगुर
गर्मीको दिन थियो । घाममा हिँडदाहिँडदा थाकेको एउटा
फ्याउरो अंगुर बारीमा पस्यो । उसले त्यहाँ भर्खर पाक्न
लागेका अंगुरका ठूलाठूला रसिला झुप्पाहरू देख्यो । "यो
अंगुर खाएर तिर्खा मेट्नु कस्तो मज्जा होला !"
फ्याउरोले मनमनै भन्यो ।
अंगुरको झुप्पा भेट्टाउन फ्याउरो उफ्र्यो । तर अंगुरका
लहरा अग्लो ठाउँमा भएकोले उसले भेट्टाउन सकेन । ऊ धेरै
पटक उफ्र्यो तर उसले भेट्टाउन सक्दैसकेन ।
आखिरमा निराश भएर "यी अंगुरहरू पक्कै पनि अमिला
होलान् ।" भन्दै ऊ अंगुरको बगैँचाबाहिर निस्क्यो
।
३१ फ्याउरो र सिंह
एउटा फ्याउरोले पहिलो पल्ट सिंहलाई देख्दा यस्तो गरी
तर्स्यो कि ऊ भागेर ओडारभित्र लुक्न गयो । अर्को पल्ट
भेटदा ऊ त्यति धेरै डराएन । तैपनि ऊ सिंहभन्दा केही
पर बसेर सिंहलाई हेरिह्यो । तेस्रो पल्ट भेटदा फ्याउरो
सरासर सिंहको नजिक गयो र भलाकुसारी गर्यो । सिंहको
नजिकै धेरै बेरसम्म बस्यो । उसले सिंहको जहान परिवारको
बारेमा पनि सोध्यो । विदा हुने बेलामा उसले सिंहसँग
फेरि कहिले भेटने भनेर पनि सोध्यो । छुट्टिँदा उसले
कुनै औपचारिक अभिवादन गरेन । पुच्छर फर्काएर घरतिर लाग्यो
। यसैले भनिन्छ धेरै घनिष्ट भयो भने मानमर्यादा रहन्न
।
३२ फ्याउरो र मकुण्डो
एउटा फ्याउरो संयोगले नाटक घरको भण्डारमा पस्यो । उसले
त्यहाँ कसैले उसलाई घुरेर हेरिरहेको चाल पायो । पहिले
त ऊ तर्स्यो । तर अलि नजिक गएर हेर्दो उसलाई हेर्ने
एउटा मकुण्डो रहेछ भन्ने थाहा पायो । त्यो मकुण्डो नाटक
खेल्दा कलाकारले लाउने रहेछ । अनि फ्याउरोले मकुण्डोलाई
भन्यो, "तिमी त दुरुस्तै मान्छजस्तै देखिन्छौ ।
तर तिम्रो मगज रहेनछ बिचरा ! बाहिरी रूपले मात्रै कतिबेर
झुक्याउन सकिन्छर ?"
३३ फ्याउरो र लाम्खुट्टे
एक पल्ट एउटा फ्याउरोको पुच्छर एउटा झयाङमा अडकियो ।
ऊ त्यहाँबाट कतै जान सकेन । रात परेपछि लाम्खुट्टेहरूको
बथाल आएर उसको रगत चुस्न थाल्यो । पुच्छर अडकेको हुनाले
उसले तिनीहरूलाई धपाउन सकेन । उसको रगत पिएर लाम्खुट्टेहरू
निक्कै रमाए ।
फ्याउरोको दुर्दशा देखेर एउटा दुम्सीलाई दया लाग्यो
। उसले फ्याउरोको नजिक गएर भन्यो, "ओ हो ! लाम्खुट्टेले
कस्तो दुःख दिएछ तिमीलाई ! तिम्रो रगत चुस्ने लाम्खुट्टेहरूलाई
धपाइ दिउँ कि ?"
दुम्सीको कुरा सुनेर फ्याउरोले भन्यो, "तिम्रो
सहयोगको लागि धन्यवाद छ । तर यी लाम्खुट्टेलाई धपाउने
काम नगर ।"
"किन ? तिमीलाई यसरी दुःख दिइरहेका लाम्खुट्टेलाई
धपाउनु पर्दैन ?" दुम्सीले छक्क पर्दै सोध्यो ।
फ्याउरोले जवाफ दियो, "हेर यी लाम्खुट्टेहरूले
सकेसम्म मेरो रगत खाइसके । यिनीहरूको पेट भरिइसक्यो
। तै पनि लोभले गर्दा यिनीहरूले मलाई छाडन सकेका छैनन्
। यदि तिमीले यिनीहरूलाई धपायौ भने अरु भोका लाम्खुट्टेहरू
आउने छन् । अनि तिनीहरूले पाए भने मेरो सास पनि बाकी
राख्ने छैनन् ।"
३४ फ्याउरो र सारस
फ्याउरो र सारस निक्कै मिल्ने साथी थिए । उनीहरूको एकअर्काको
घरमा आवत जावत थियो । एक पल्ट फ्याउरोले सारसलाई घरमा
भोज खान डाक्यो । उसलाई सारससँग ठट्टा रमाइलो गर्न मन
लाग्यो । यसैले उसले भोज खाने बेलामा उसको अगाडि एउटा
पातलो थालमा मासुको सुरुवा राखेर दियो । आफ्नो लागि
पनि उसले थालमै सुरुवा राख्यो ।
फ्याउरोले थालको सुरुवा जिब्रोले चाट्दै मजासँग खायो
। तर सारसको ठोँड लामो भएको हुनाले उसले थालबाट सुरुवा
खान सकेन । बिचरा सारस भोकै फर्कनु पर्यो । फर्कने
बेलामा फ्याउरोले भन्यो, "तिमीलाई सुरुवा मन परेनछ
। मलाई माफ गर ।"
"माफ माग्नु पर्ने कुरै छैन । बरु अर्को पटक मकहाँ
भोज खान आऊ न ।" बिदा हुने बेलामा सारले भन्यो
।
केही दिनपछि सारसले फ्याउरोलाई भोज खान डाक्यो । तर
त्यो दिनको भोज लामो घाँटी भएको सुराहीमा राखेर दिइएको
थियो । सारसले लामो ठोँडले सजिलैसँग सुराहीभित्रको सुरुवा
खायो । तर बिचारा फ्याउरोको मुख सुराही भित्र पसेन ।
उसले सुरुवाको गन्ध सुँघेर अनि सुराहीको बाहिर चाटेर
चित्त बुझाउनु पर्यो ।
विदा हुने बेलामा सारले भन्यो, "तिमीले भोज खान
नसकेकोमा मलाई खुशी नै लागेको छ किनकि जस्तालाई तस्तै
भन्ने आहानै छ ।"
माथि
३५ पुच्छर नभएको फ्याउरो
एक पल्ट एउटा फ्याउरोको पुच्छर उसलाई समात्न राखेको
धरापमा फँस्यो । उसले पुच्छर फुस्काउन सकेन । ज्यान
फाल्नुभन्दा पुच्छर फाल्नु बेस भनेर उसले घरापबाट बल
गरेर उम्कन खोज्दा उसको पुच्छर फेँदबाट चुँडियो ।
पुच्छर नभएपछि त्यो फ्याउरोलाई आफ्नो समूहमा जान लाज
लाग्यो । ऊ केही दिन ओडारभित्र लुकेर बस्यो । तर यसरी
कति दिन काम चल्थ्यो र !
एक दिन ऊ दरिलो मुटु लिएर अनि हँसिलो अनुहार बनाएर
ओडारबाट बाहिर निस्क्यो । उसले बनका सबै फ्याउराहरूको
भेला डाक्यो । सबै फ्याउरा भेला भए पछि उनीहरूको अगाडि
उसले एउटा प्रस्ताव राख्यो, "हामी फ्याउराहरूको
लागि हाम्रो पुच्छर साह्रै झंझट रहेछ । वास्तवमा यो
एउटा श्रापजस्तै हो । लौ मलाई हेर पुच्छर नभएपछि म कति
फुर्तिलो भएको छु । पुच्छरबिनाको जिऊ साह्रै हल्का पनि
हुन्छ । दगुर्न, हिँडन, चल्न सजिलो हुने रहेछ । सिकारी
कुकुले लखेट्दा पनि भाग्न सजिलो हुन्छ । पुच्छर भएन
भने थचक्क बस्न पनि सजिलो । यो पुच्छरको कुनै कामै छैन
। यसैले तिमीहरू सबैले आआफ्नो पुच्छर काटेर फ्याँक ।"
पुच्छर नभएको फ्याउरोको कुरा सुनेर एउटा बूढो फ्याउरोले
भन्यो, "यी सबै कुरा त ठिक छ । तर आफ्नो पुच्छर
नगुमाएको भए तिमीले हामीलाई हाम्रो यो पहिचान, हाम्रो
जिउको अभिन्न गहना बनेको यो पुच्छरबाट अलग हुने प्रस्ताव
राख्ने थियौ त ? स्वार्थ लुकेको सल्लाह पत्याउनु हुँदैन
भन्ने भनाइ पनि छ ।"
३६ फ्याउरो, भाले र कुकुर
जुनेली रातमा एउटा फ्याउरो किसानको कुखुराको खोरमा पुग्यो
। त्यहाँ उसले अग्लो ठाउँमा एउटा भाले बसेको देख्यो
। उसले भालेलाई भेट्टाउन सक्तैनथ्यो ।
"कस्तो राम्रो खबर, कस्तो राम्रो खबर !" फ्याउरो
करायो ।
"के खबर हो त्यस्तो ?" परैबाट भालेले सोध्यो
।
बनका राजा सिंहले बनलाई शान्तिको क्षेत्र घोषणा गरेका
छन् । अबदेखि सबै पशुपन्छीहरू बनमा मिलेर बस्नु पर्ने
छ । कसैले कसैलाई मार्न, घाइते बनाउन र कुनै प्रकारको
हानी पुर्याउन पाउने छैन । सबै पशुपन्छी दाजुभाइजस्तै
मिलेर बस्नु पर्ने छ ।"
त्यो सुनेर भालेले भन्यो, "यो त साह्रै राम्रो
समाचार रहेछ । हेर त त्यहाँ को आउँदै छ । उसलाई पनि
यो समाचार सुनाउनु पर्यो ।"
"त्यतातिरबाट को आउँदैछ ?" फ्याउरोले सोध्यो
।
"अरु कोही होइन । हाम्रो मालिकले पालेको सिकारी
कुकुर हो । उसलाई पनि यो खबर सुनाउ न । बेसै होला ।"
सिकारी कुकुर आउन लागेको सुनेर फ्याउरोको होस उड्यो
। ऊ त्यहाँबाट भाग्ने सुरले पछिपछि हट्न थाल्यो । उसको
चाल देखेर भालेले सोध्यो, "किन ? कहाँ जान लागेको
तिमी ? राम्रो खबर सुनाउने होइन ? शान्ति क्षेत्रको
घोषणा भएको उपलक्ष्यमा उसलाई बधाइ दिने होइन ?"
"बधाइ दिन त हुन्थ्यो । तर उसले राजाको घोषणा
सुन्नै पाएको छैन कि ? त्यसो भयो भने त उसले मलाई कहाँ
बाकी राख्ला र ?" यति भन्दै फ्याउरो बनतिर दौड्यो
। कहिलेकाहीँ दुष्टहरू आफ्नै जालमा फँस्छन् ।
३७ भ्यागुतो र साँढे
पँधेरामा भुडी पल्टाएर आराम गरिरहेको जंगी भ्यागुतोलाई
फुच्चे भ्यागुतोले भन्यो, "ए बा ! मैले यस्तो डरलाग्दो
दैत्य देखेँ । त्यो पहाड जत्रो थियो । त्यसको टाउकामा
सिङ थिए । पछाडि लामो पुच्छर थियो । त्यसका खुट्टामा
दुइदुवटा खुर थिए ।"
"धत् लाटा ! त्यो त किसानको गोठको साँढे हो ।
त्यो त्यति ठूलो पनि छैन । ऊ अवश्य पनि मभन्दा केही
अग्लो होला । तर म ऊ जत्तिकै मोटो हुनसक्छु । लौ हेर
।" यति भनेर जंगी भ्यागुतोले आफ्नो जिउ सकेसम्म
फुलायो र छोरासँग सोध्यो, "त्यो साँढे यति ठूलो
थियो ?"
"ओहो ! कहाँ न कहाँको ठूलो थियो त्यो त ।"
फुच्चेले जवाफ दियो ।
जंगे भ्यागुताले फेरि आफ्नो जिउ फुलायो । अनि उसले फेरि
फुच्चेसँग सोध्यो, "के त्यो यति ठूलो थियो त ?"
"बा, त्यो त तपाईँभन्दा कता हो कता ठूलो थियो
।" फुच्चेले भन्यो ।
फुच्चेको कुरा सुनेर जंगे भ्यागुताले लामो सास तान्यो
र फेरि आफ्नो जिउ फुलाउन थाल्यो । ऊ फुलेर भकुण्डोजस्तो
भयो । उसले फेरि सोध्यो, "अब त पक्कै पनि त्यो
सँढे यति ठूलो थियो होला ...."
यति भन्दाभन्दै जंगे भ्यागुताको जिऊ फुटयो र ऊ मर्यो
। धेरै घमण्ड गर्दा नासिन्छ भनेको यही हो ।
माथि
३८ राजा खोज्ने भ्यागुताहरू
एउटा पोखरीमा भ्यागुताहरू आनन्दसाथ जीवन विताइरहेका
थिए । उनीहरू दिनभरि पानीमा खेल्थे । भोक लागेको बेलामा
किरा मारेर खान्थे । पोखरीमा उनीहरूको कुनै शत्रु पनि
थिएन । उनीहरूलाई कुनै चिन्ता थिएन । तर उनीहरूमध्ये
कसैकसैको के बिचार थियो भने यसरी आफूखुशी भएर बाँच्नु
उचित होइन । उनीहरूलाई नियन्त्रण गर्ने कोही न कोही
त हुनुपर्छ । एक जना राजा हुनुपर्छ । अनि राज्य चलाउने
संविधान पनि हुनुपर्छ ।
यस्तो विचार गरेर उनीहरूले सृष्टिकर्ता ब्रहृमाजीकहाँ
निवेदन दिए । उनीहरूले आफूहरूमाथि शासन गर्न एक जना
राजा पठाइदिन विन्ती गरे ।
भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजी हाँसे । उनले पोखरीको
पानीमा काठको एउटा मुढा खसालिदिए । मुढा खस्दा पोखरीको
पानी निकै छचल्कियो । पानीमा अचानक ठूलो छाल आएको देखेर
भ्यागुताहरू डराएर पोखरीको किनारामा गए र पोखरीको माझमा
झरेको विशाल जीवलाई हेर्न थाले । केही बेरपछि त्यो मुढा
चल्न छाड्यो । यो देखेर केही भ्यागुताहरू मुढाको नजिकै
गए । कसैले त्यसलाई छुने आँट पनि गरे । तै पनि त्यो
चलेन । त्यसपछि एउटा फुर्तिलो भ्यागुता उफ्रेर मुढामाथि
चढ्यो र नाच्न थाल्यो । अनि त सबै भ्यागुताहरू मुढामाथि
चढेर उफ्रन, नाच्न र तलमाथि गर्न थाले ।
केही दिन त भ्यागुताहरूको लागि रमाइलै भयो । तर पछि
उनीहरूले त्यो मुढाको वास्ता गर्न छाडे । उनीहरूलाई
फेरि पनि चित्त बुझेन । उनीहरूले फेरि ब्रह्माजीकहाँ
विन्ती गरे, "प्रभु, हामीलाई साँच्चिकै राजा चाहियो
। यस्तो राजा जसले हामीमाथि शासन गर्नसक्छ ।"
भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजीलाई रिस उठ्यो ।
यसैले उनले पोखरीमा एउटा बकुल्ला पठाइदिए । पोखरीको
डिलमा बसेर बकुल्लाले एकएक गर्दै भ्यागुताहरूलाई खान
थाल्यो । केही दिनपछि पोखरीका भ्यागुताहरू सिद्धिन थाले
। बाकी भ्यागुताहरू पछुताए । निर्दयी राजा हुनु भन्दा
राजै नहुनु बेस रहेछ भनेर उनीहरूले बुझे । तर अब पछुताएर
के काम !
३९ खरायो र कछुवा
एक पल्ट एउटा खरायोले अरु जानवरहरूको अगाडि कत्तिको
दगुर्न सक्छु भन्ने फुर्ती लगायो । उसले भन्यो, "दौड
प्रतियोगितामा म कहिल्यै हारेको छैन । लौ यहाँ मसँग
दौडन बाजी थाप्ने कोही छ भने अगाडि आऊ"
उसको हाँक सुनेर एउटा कछुवाले कत्ति पनि नआत्तिइकन भन्यो,
"म तिम्रो हाँक स्वीकार गर्छु ।"
"यस्तो ठट्टा नगर भाइ । म त बाटोभरि तिम्रो वरिपरि
नाच्दैनाच्दै दगुर्न सक्छु । के कुरा गरेको तिमीले ?"
खरायोले भन्यो ।
"तिम्रो फुर्ती तिमीसँगै राख । लौ दगुर्ने तयारी
गर ।" कछुवाले भन्यो ।
त्यसपछि दौड प्रतियोगिताको तयारी भयो । कहाँदेखि कहाँसम्म
दौडने भन्ने निधो गरियो । दौड सुरु भयो । खरायो दगुरेर
एकै छिनमा बेपत्ता भयो । केही पर पुगेर उसले पछाडि हेर्यो
। कछुवा कतै देखिएन । कछुवालाई होच्याउन ऊ बीच बाटोमै
आराम गर्न पल्टयो र एकै छिनमा निदायो ।
कछुवा भने बाटोमा कत्ति पनि नअडिइकन बिस्तारै हिँडिरह्यो,
हिँडिरह्यो । केही बेरपछि खरायो निँदबाट ब्युँझ्यो ।
उसले कछुवालाई दौड सकिने लक्षमा पुग्नै लागेको देख्यो
। ऊ बेतोडसँग दगुर्न थाल्यो । तर उसले जति कोसस गरे
पनि कछुवालाई भेट्टाउन सकेन । अनि कछुवाले भन्यो, "निरन्तर
लागि रहृयो भने विस्तारै हिँडे पनि जितिन्छ ।"
४० खरायो र भ्यागुताहरू
बनमा सबैजसो पशुहरूले खरायोहरूलाई नै हेप्थे । उनीहरूको
बस्ने, खाने, खेल्ने सबै ठाउँमा अरु जानवरकै मनोमानी
हुन्थ्यो । एक्लो जन्तु देख्दा पनि खरायोहरूको भागाभाग
हुन्थ्यो । एक पल्ट जंगली घोडाको बथान आएर उनीहरूको
घर भएको चौरमा उफ्रे, खेले । उनीहरूको सबै घर भत्के
। यो देखेर खरायोहरू साह्रै निराश भए । उनीहरूले नजिकैको
पोखरीमा गएर डुबेर मर्ने निधो गरे ।
खरायोको बथान पोखरीको किनारामा पुग्दा त्यहाँ खेलीरहेका
भ्यागुताहरू तर्सेर पानीभित्र हामफाले । आफूहरूसँग भ्यागुताहरू
डराएको देखेर एउटा खरायोले भन्यो, "ओ हो ! हामी
भन्दा कातर, हामीसँग डराउने जन्तु पनि हुने रहेछ । हामी
त त्यति धेरै कमजोर रहेन छौँ ।"
यस्तो कुरा थाहा पाएपछि उनीहरूले पोखरीमा डुबेर मर्ने
बिचार त्यागे । आफूभन्दा कमजोर जीव जहाँ पनि हुनेरहेछ
।
माथि
४१ जरायो र सिकारी
एउटा जरायोले पोखरीमा पानी खाँदै थियो । उसले पानीमा
आफ्नो छाया देख्यो । आफ्नो रूप देखेर ऊ दंग पर्यो ।
उसले मनमनै आफ्ना सिङहरूको तारिफ गर्यो । "आहा
कति राम्रा मेरा सिङ ! यस्तो राम्रो सिङ भएको जरायो
अरु को होला ! कुनै राजाको मुकुटभन्दा मेरो सिङ कम छैन
। बरु मेरा यी खुट्टाहरू मेरो सिङसँग सुहाउने खालका
छैनन् । यी मसिना खुट्टाहरूको सट्टा मोटा र सिङलाई सुहाउने
खुट्टा भए कति बेस हुने थियो ।"
त्यसै बेला एक जना सिकारी आइपुग्यो र उसमाथि बाण हान्न
थाल्यो । जरायो बेतोडले भाग्यो । उसका मसिना खुट्टाहरूको
मदतले ऊ एकै छिनमा सिकारीबाट उम्क्यो । दगुर्दादगुर्दै
ऊ बाक्लो रुखहरूको झ्याङभित्र पस्यो । तर उसको सिङ रुखका
होँचा हाँगाहरूमा अल्झ्यो र ऊ त्यहीँ अडिकयो । एकै छिनपछि
उसलाई खोज्दै सिकारी त्यहाँ आइपुग्यो ।
मर्ने बेलामा जरायोले भन्यो, "मैले मेरा काम लाग्ने
खुट्टाहरूको बदख्वाइँ गरे । तर, मैले तारिफ गरेको मेरै
सिङले नै मेरो ज्यान लियो ।"
४२ घोडा, सिकारी र जरायो
घोडा र जरायोबीच झगडा भयो । घोडाले सिकारीको मदत लिन
खोज्यो । ऊ सिकारीकहाँ गयो र जरायोसँग बदला लिनको लागि
मदत माग्यो । सिकारीले घोडालाई मदत गर्न मंजुर त गर्यो,
तर उसले एउटा सर्त राख्यो, "यदि तिमीले जरायोलाई
जित्ने हो भने तिमीले मेरा केही कुरा मान्नु पर्छ ।
तिमीले यो फलामको लगाम मुखमा राख्नु पर्छ , अनि तिम्रो
पिठयुँमा काठी कसेर मैले चढन पाउनु पर्छ । यसो भयो भने
मैले तिमीलाई मेरो सुरमा हिँडालेर जरायोलाई पछ्याउन
सजिलो हुन्छ ।"
घोडाले सिकारीको सर्त मंजुर गर्यो । सिकारीले घोडाको
मुखमा लगाम लगायो र उसमाथि काठी कस्यो । सिकारीको मदतले
घोडाले जरायोलाई जित्यो । त्यसपछि उसले सिकारीसँग भन्यो,
"अब मेरो पिठयुँबाट ओर्ल र मेरो मुखबाट लगाम पनि
झिक ।"
यो सुनेर सिकारीले भन्यो, "किन आत्तिन्छौ ? बल्ल
त मैले तिमीमाथि चढ्न थालेको छु । केही दिन यस्तै गरी
बसन । के को हतार छ र !"
तिमीले आफ्नो उद्देश्य पूरा गर्नका लागि कसैलाई आफूलाई
उपयोग गर्न दिन्छौ भने उसले आफ्नै उद्देश्य पूरा गर्न
तिम्रो उपयोग गर्छ ।
४३ ज्यामी र बुलबुल चरी
गर्मीको दिन थियो । एक जना ज्यामीले राती बुलबुल चरीको
गीत सुन्यो । उनलाई बुलबुलको स्वर यति मिठो लाग्यो कि
उसले बुलबुलको गीत सुनेर रात काट्यो ।
भोलिपल्ट उसले बुलबुललाई समात्न पासो थाप्यो र समात्यो
पनि । ज्यामी दंग पर्यो । उसले बुलबुललाई भन्यो, "मैले
तँलाई समातेर पिँजडामा राखेँ र तँ मेरो कब्जामा छस्
। अब तैँले मलाई गीत सुनाइराख्नु पर्छ ।"
"हामी बुलबुल चरीहरूले पिँजडाभित्र बसेर कहिल्यै
गाउँदैनौँ । मिठो गीत गाउन त हामीलाई खुला आकाश चाहिन्छ
।" बाठो बुलबुलले भनी ।
"त्यसो भए तँलाई म पोलेर खान्छु । तेरो मासु निक्कै
स्वदिलो हुन्छ भन्ने मैले सुनेको थिएँ ।" ज्यामीले
भन्यो ।
"होइन । मलाई नमार । मलाई स्वतन्त्र छाडिदियौ
भने मैले तिमीलाई तीन वटा राम्रा कुरा सिकाउँछु । ती
तीन वटा कुरा मेरो जिउको एक टुक्रा मासुभन्दा धेरै काम
लाग्नेछन् ।" चरीले भनी ।
ज्यामीले बुलबुल चरीलाई छाडिदियो । बुलबुल उडेर नजिकको
रुखको हाँगामा गएर बसी र भन्न थाली, "बन्धनमा परेका
मानिसको कुरा नपत्याऊ । यो भयो पहिलो कुरा । आफूसँग
जे छ त्यो नगुमाऊ । अनि तेस्रो कुरा हो, आफूले सँधैका
लागि गुमाएको कुराको दुःख मनाउ नगर ।" यति भनेर
बुलबुल चरी उडेर गई ।
४४ सिंह र मुसो
निदाएको सिंहको याल (गर्दनमाथिको रौँ ) मा चढेर एउटा
फुच्चे मुसा तलमाथि गर्दै खेलिरहेको थियो । उसको खेलले
सिंह जाग्यो । सिंहले मुसालाई समात्यो र त्यसलाई खान
मुख बायो । कालको मुखमा पस्न लागेको मुसाले सिंहसँग
बिन्ती गर्यो, "महाराज ! क्षमा पाउँ । अबदेखि
यस्तो अपराध गर्ने छैन । बरु म बाँचेँ भने कुनै दिन
हजुरलाई मदत गरुँला ।"
एउटा फुच्चे मुसाले सिंहलाई मदत गर्ने ! मुसाको कुरा
सुनेर सिंहलाई हाँस्यो । उसले भै हल्यो भनेर त्यो मुसालाई
छाडिदियो ।
केही दिनपछि सिंह सिकारीको पासोमा पर्यो । सिकारीहरूले
उसलाई ज्युँदै राजाकहाँ लैजान चाहन्थे । यसैले उनीहरूले
सिंहलाई पासो समेत एउटा रुखमा बाँधे र सिंहलाई बोक्नसक्ने
गाडा खोज्न गए ।
त्यही बेला फुच्चे मुसाले सिंहलाई बाँधिएको देख्यो
। सिंहलाई गुनको बदला तिर्ने बेला यही हो भन्ने बिचारले
उसले सिंहको पासोका धागाहरू दाँतले टोक्दै चुँडाल्न
थाल्यो । केही बेरमा सिंह पासोबाट मुक्त भयो । सिंहसँग
बिदा हुने बेलामा मुसाले भन्यो, "मैले कुनै दिन
मदत गरुँला भनेको थिएँ । गरिन त महाराज ?" यसैले
भनिन्छ साथी भनेको सानै भए पनि महान हुन सक्छ ।
माथि
४५ सिंह र मूर्ति
मानिस बलियो कि सिंह बलियो भन्ने विषयमा मानिस र सिंहबीच
विवाद चलिरहको थियो । मानिससँग बुद्धि पनि भएकोले ऊ
सिंहभन्दा बलियो हुन्छ भनेर मानिसले तर्क गरिरहको थियो
। तर सिंहले ऊ नै बलियो छु भनेर जिद्दी गरिरहेको थियो
।
"त्यसो भए मसँग आऊ मैले तिमीलाई मानिस सिंहभन्दा
बलियो हुन्छ भन्ने प्रमाण दिन्छु ।" मानिसले भन्यो
।
ती दुबै एउटा बगैँचामा गए । बगैँचामा सुन्दर फूल र
रुखहरूको साथै कलात्मक मूूर्तिहरू पनि सजाएर राखिएका
थिए । मानिसले सिंहलाई एउटा मूर्तिको अगाडि लग्यो र
मूर्ति देखाउँदै भन्यो, "नपत्याए हेर । यो मूर्तिको
मानिसले कसरी सिंहलाई पछारेर उसको बंगारा च्यातेको छ
हेर ।"
मूर्तिलाई हेरेपछि सिंहले भन्यो, "यो त ठिक छ
। तर यसले मानिस बलियो हुन्छ भनेर कसरी साबित गर्छ ।
किन भने यो मूर्ति त मानिसले नै बनाएको हो । सिंहले
मूर्ति बनाएको भए पक्कै पनि मानिसलाई पछारेर खाएको मूर्ति
बनाउँथ्यो होला । आफू खुशी प्रमाण बनाएर त भएन नि ।"
४६ प्रेममा फँसेको सिंह
एक पल्ट एउटा सिंह एउटी राम्री तरुनीको प्रेममा फँस्यो
। उसले तरुनीका आमाबाकहाँ गएर उनीहरूकी छोरी माग्यो
। बिचरा बूढा बाआमा अलमल्लमा परे । बनको राजालाई हुन्न
भन्न पनि भएन । तर त्यस्तो हिंसक जन्तुलाई छोरी दिन
पटक्कै मन थिएन । अनि बाबु चाहिँले सिंहलाई भन्यो, "हजुरलाई
ज्वाइँ बनाउन पाउनु हाम्रो ठूलो सौभाग्य हो । तर हाम्री
छोरी साह्रै सानी र कोमल छे । हजुरले माया गर्दा उनको
जिउमा घाउ लाग्न सक्छ । यसैले हजुरले आफ्ना तिखा नंग्रा
र दांत निकाल्नु भयो भने हजुरको प्रस्तावमाथि खुशीसाथ
बिचार गरौँला ।"
सिंह प्रेममा यति पागलजस्तै भएको थियो कि उसले भविष्यको
बिचारै नगरी आफ्ना दाँत र नंग्रा झिक्न लगायो र बुचो
भयो । अब ऊ मृग त के कुरा चरा मार्न पनि नसक्ने भयो
। अनि ऊ आफ्नी प्रेमिकाको आमाबाकहाँ फेरि गयो । सिंहको
बुचे अनुहार र लाचार अवस्था देखेर केटीका आमाबा हाँसे
र उनीहरूले लाठोले पिटदै सिंहलाई धपाइदिए । प्रेमले
जस्तै जंगली र दुष्टलाई पनि कज्याउन र तहलाउन सकिन्छ
भनेको यही हो ।
४७ सिंह, फ्याउरो र पशुहरू
एक पल्ट एउटा सिंहले "म साह्रै बिरामी परको छु
। मेरो अन्तिम इच्छा सुन्न र भेटन आओ" भनेर बनमा
उर्दी लगायो ।
बिरामी राजालाई भेटन सबैभन्दा पहिले एउटा बोका गयो
। ऊ सिंहको गुफभित्र पसेको धेरै बेरपछि एउटा भेडा गुफभित्र
पस्यो । त्यसको केही बेरपछि एउटा मृग पस्यो । तर चाँडै
नै सिंह निको भयो । एक दिन ऊ गुफको मुखमा आएर बाहिर
हेर्यो । उसले एउटा फ्याउरोलाई देख्यो ।
"तिमी किन भित्र नआएको ? मलाई भेट्न आउनु पर्दैन
?" सिंहले फ्याउरोलाई सोध्यो ।
"क्षमा पाउँ सरकार !" फ्याउरोले भन्यो, "गुफभित्र
थुप्रै जानवरहरू गएको देखेँ । तर कोही पनि फर्केको देखिन
। भित्र गएका जानवरहरू नफर्केसम्म म बाहिरै बसेर सरकारको
सुस्वास्थ्यको कामना गर्छु किनकि भित्र जान त सजिलो
छ । बाहिर आउन गाह्रो रहेछ ।"
४८ सिंहको भाग
एक पल्ट एउटा सिंह फ्याउरो र स्याललाई संगै लिएर सिकार
खेल्न गयो । धेरै बेर सिकार खोजेपछि आखिरमा उनीहरूले
एउटा जरायो मारे । जरायोको मासु कसरी भाग लाउने भन्ने
सवाल उठयो । सिंहले भन्यो, "जरायोलाई चार भाग लगाऊ
।"
फ्याउरो र स्यालले जरायोको छाला काढे र मासुलाई चार
भागमा छुटयाए । अनि सिंह भाग लाएको मासु अगाडि उभियो
र मासु कसरी भाग लाउने भन्ने निर्णय सुनाउन थाल्यो :
"म बनको राजा भएको हुनाले पहिलो भाग मेरो हुन्छ
। भाग कसरी लाउने भन्ने निर्णयकर्ताको हैसियतले दोस्रो
भाग पनि मैरै हुन्छ । यो सिकार मार्न मेहनत गरेको हुनाले
तेस्रो भाग स्वतः मेरो भयो । बाकी रह्यो चौथो भाग ।
लौ यो भाग छुने कस्को हिम्मत छ अगाडि आऊ त ?"
फ्याउरो र स्याल टांगमुनि पुच्छर लुकाएर भागे । भाग्दाभाग्दै
फ्याउरोले भन्यो, "ठूलाबडासँग मिलेर काम गर्दा
मेहनत त खुब गर्नुपर्छ, तर भाग खाने बेलामा हिस्स परिन्छ
।"
४९ मानिस र बन
एक जना मानिस बंचरो लिएर बनमा गयो । बंचरोको बिँड थिएन
। उसले रुखहरूसँग कुनै विशेषकामका लागि एउटा हाँगा माग्यो
। रुखहरू उदार थिए । उनीहरूले मानिसलाई एउटा हाँगा दिए
। मानिसले त्यो हाँगालाई ताछेर बंचरोको बिँड बनायो ।
त्यसपछि उसले धमाधम रुखहरू काट्न थाल्यो । आफ्नो शत्रुलाई
आफैले औजार दिएर आफ्नो विनाश निम्त्याएकोमा रुखहरूले
आफ्नो मूर्खता थाहापाए ।
५० मानिस र काठको मूर्ति
प्राचिन कालमा मानिसहरूले ढुंगा, माटो, रुख, मूर्ति
आदिलाई पूजा गर्थे । तिनीहरूसँग सुखी जीवनका लागि बरदान
माग्थे । एक जना मानिसले आफ्नो बाबुबाट एउटा काठको मूर्ति
पाएको थियो । उसले सँधै त्यो मूर्तिको पूजा गर्थ्यो
र आफ्नो जीवन सुखी बनाइ दिन प्रार्थना गर्थ्यो । तैपनि
उसको जीवन सुखी हुनसकेन । उसलाई काठको मूर्ति देखेर
रिस उठ्यो । एक दिन उसले त्यो मूर्तिलाई भुइँमा बजारेर
फुटाल्यो । त्यस भित्रबाट थुप्रै सुनका सिक्का निस्केर
भुइँभरि छरिए ।
भाग १ भाग २
भाग ३ भाग
४ भाग ५
भाग ६
माथि
मूल पृष्ठमा जाउँ
|