विनय कुमार
कसजुका कथा
पानीघट्ट कि बतासेघट्ट ?
जाँतेकिराले
बनाएको जाँतोमा पिसेको मकै, गहुँ, चामलको पिठोको रोटी मिठो
हुन्छ भनेर बनका जीवजन्तुहरूले भन्थे । उसले बडो मेहनत गरेर
वर्षभरिमा पाँचछ वटा जाँतो बनाउँथ्यो । उसले बनाएको जाँतो
खोलाको तिरमा घट्ट राखेर बस्ने भ्यागुताहरूले किन्थे । खोला
किनारामा भ्यागुताहरूले लस्करै घट्ट राखेका थिए । घटेरा भ्यागुताहरूको
घट्टको जाँतो खिइएर बेलाबेलामा फेर्नुपर्थ्यो । कहिलेकाहीँ
खोलामा बाढी आएर घट्ट बगाउँथ्यो । त्यसो हुँदा पनि भ्यागुताहरूलाई
नयाँ जाँतो चाहिन्थ्यो । यसरी जाँतेकिरा र घटेरा भ्यागुताहरूको
गुजारा हुन्थ्यो ।
तर यो वर्ष जाँते किराले बनाएको जाँतो एउटा पनि बिकेन
। भ्यागुताहरूको घट्ट पनि नचलेको हुनाले उनीहरू दिनभरि
बगरमा पेट पल्टाएर सुत्थे र साँझ खोलाको किनारामा जमेको
लेऊ र किराफटेंग्रा खाएर गुजारा गर्थे । खोला किनाराका
पानीघट्टमा मकै, गहुँ, चामल पिसाउन सँधै आउने कमिला,
मुसा, छेपारो आदि जीवहरू अब पानीघट्टमा आउन छाडेर बतासेघट्टमा
पिठो पिसाउन जान थालेका थिए ।
बनको माझमा गोब्रेकिराले बतासबाट चल्ने घट्ट राखेको
थियो । पानीघट्टमा पिसेको पिठोभन्दा बतासेघट्टमा पिसेको
पिठोको रोटी मिठो हुन्छ भनेर बनमा हल्ला चलेको थियो
। बतासेघट्टमा पिठो पिसाउँदा ज्याला पनि पानी घट्टको
भन्दा सस्तो थियो । बतासेघट्टमा पानीघट्टमा जस्तो ढुंगाको
गह्रुँगो जाँतो चाहिँदैनथ्यो । बतासेघट्टमा हलुँगो खालको
फलामे चक्काले पिठो पिस्थ्यो । पानीघट्ट खोलाको किनारमा
भएको हुनाले त्यहाँ जान आउन उकालो ओरालो हिँडनु पर्थ्यो
र धेरै समय लाग्थ्यो । तर बतासेघट्ट बनको माझमा भएकोले
सजिलैसँग आउनजान सकिन्थ्यो । यसैले बनका सबैजसो जीवजन्तुहरू
गोब्रेकिराको बतासेघट्टमा अन्न पिसाउन जान्थे ।
पानीघट्टमा अन्न पिसाउन बनका जीवजन्तुहरू जान छाडेपछि
घटेरा भ्यागुताहरूको आम्दानीको बाटो हरायो । जाँते किराको
पनि काम भएन । उनीहरू बतासेघट्टको बदख्वाइ गर्दै बनका
जीवजन्तुहरूलाई आफ्नो घट्टमा आउन प्रचार गर्न थाले ।
एक दिन बतासेघट्ट बिग्र्यो । बनका जीवजन्तुहरू अन्न
पिस्न फेरि पानीघट्टमा जानु पर्यो । भ्यागुताहरूले यो
मौकाको फाइदा उठाउन खोजे । उनीहरूले पिठो पिस्ने ज्याला
बढाइदिए । यसरी बनका जीवजन्तुहरूले महँगो ज्याला तिरेर
फेरि पुरानै घट्टमा पिठो पिस्न जानुपर्ने भयो । उता
गोब्रेकिराले भ्यागुता र जाँतेकिरा मिलेर आफ्नो बतासेघट्ट
बिगारि दिएको आरोप लगाएर बनका जीवजन्तुहरूलाई घटेरा
भ्यागुताहरूको विरुद्ध उक्सायो । बनका जीवजन्तुहरूमध्ये
कसैले भ्यागुताको पक्षमा त कसैले गोब्रेबिराको पक्षमा
लागेर कुरा गर्न थाले । फलस्वरुप बनमा अशान्ति हुनथाल्यो
।
एक दिन पँधेर्नीकिराले भ्यागुता, जाँतेकिरा र गोब्रेकिरा
सबैलाई पँधेरामा डाकिन् । उनले एउटै बनमा बसेर बाझाबाझ
गर्नु बेस होइन भनेर सम्झाइन् । उनले आआफ्नो पीरमर्का
सुनाउन सबै पक्षसँग अनुरोध गरिन् ।
घटेरा भ्यागुताले भन्यो, "बनमा बतासे घट्ट चल्न
थालेपछि मेरो घट्टमा जीवजन्तुहरू आउन छाडे । मेरो आम्दानी
हरायो । जहान केटाकेटी भोकै हुन थाले । जाँते किराको
पनि काम भएन । अब हामी कसरी बाँच्ने ?"
भ्यागुताको कुरा सकिएपछि गोब्रेकिराले भन्यो, "पल्लो
बनमा गएको बेलामा मैले त्यहाँ बतासे घट्ट चलाएको देखेँ
। पानी घट्टको दाँजोमा यो घट्ट निक्कै सजिलो र किफायती
पनि हुनेरहेछ । बनका जीवजन्तुले सजिलो र सस्तोसँग अन्न
पिसाउन सकुन् र मलाई पनि दुई चार पैसा फाइदा होस् भनेर
मैले बतासे घट्ट राखेको हुँ । संसारमा पुरानो चलन सँधै
रहिरहन्न । सबै कुरा फेरिन्छ । नयाँ इलम आएपछि पुरानो
इलम हराउँछ । अब भ्यागुता मामाले पनि पुरानो इलम छाडेर
नयाँ काममा हात हाल्नु पर्यो । यदि मामाले पानीघट्ट
नै चलाउने हो भने पनि अन्न पिस्नुभन्दा पनि बिजुली निकाल्ने
घट्ट चलाउनु बेस हुन्छ ।"
घट्टबाट बिजुली निकाल्ने कुरा सुनेर भ्यागुताले पत्याएन
। तर पँधेर्नीकिराले पल्लो गाउँमा पानीघट्टबाट बिजुली
निकालेको आफैले देखेको कुरा सुनाएपछि भ्यागुताले पत्यायो
। तर उसले एउटा शंका निकाल्यो, "यदि पानीघट्टबाट
बिजुली निस्कन्छ भने बतासेघट्टबाट पनि त बिजुली निस्कन्छ
होला । त्यसो भए गोब्रे भान्जाले नै विजुली निकाल्ने
काम गरेर अन्न पिस्ने काम पानीघट्टलाई छाडे भइहाल्यो
नि ।"
गोब्रेकिरा चलाक मात्रै होइन बुद्धिमान पनि थियो ।
उसले भन्यो, "हेर्नुस् मामा, बिजुली निकाल्न एक
नासले मिसिन घुम्नुपर्छ । मिसिन कहिले छिटो कहिले ढिलो
घुम्यो भने बिजुलीको शक्ति तलमाथि हुन्छ र बिजुलीबाट
चल्ने मिसिन र बत्तीहरू पनि बिग्रन्छन् । पानीबाट मिसिन
चलाउँदा एकै नासले चल्छ र एकै नासको बिजुली निस्कन्छ
। तर, बतासको गति एकै नासको हुँदैन । यसले गर्दा मिसिनको
गति ढिलो चाँडो भएर बिजुली कहिले मधुरो हुन्छ भने कहिले
चहकिलो हुन्छ । यसैले पानीघट्टबाट बिजुली निकाल्नु बेस
हुन्छ भनेको हो ।"
पँधेर्नीकिराले पनि गोब्रेकिराको कुरामा सही थापिन्
। भ्यागुताहरूलाई पनि गोब्रेकिराको कुरा चित्त बुझ्यो
। घटेरा भ्यागुताहरूले पानीघट्टमा बिजुली निकाल्ने डाइनामो
जडान गरेर बनमा बिजुली बाल्ने र अन्न पिसाउन आउनेहरूको
अन्न पनि पिस्ने निर्णय भयो ।
जाँतेकिराको गुजाराको लागि पँधेर्नी किराले उसलाई आफ्नो
पँधेरामा आएर बस्न निम्त्याइन् । जाँतेकिरा पनि चिप्लेकिराले
झैँ जाँतो फालेर हलुँगोसँग पँधेरामा डुल्दै पानीको लेऊ,
पात र किराहरू खाएर गुजारा चलाउन मंजुर भयो ।
बनमा मेलमिलाम ल्याउन खोजेकोमा सबैले पँधेर्नी किरालाई
धन्यवाद दिए । बनमा बिजुली बाल्न पाइने भयो भनेर सबै
जीवजन्तु दंग परे । भ्यागुता र गोब्रेकिराले एक अर्कालाई
सघाउने अनि पानीघट्टबाट बिजुली निकाल्ने काममा गोब्रेकिराले
पनि मदत गर्ने भयो । रातीराती बत्ती बाल्दै बाटो देखाउने
जिम्मा लिएकी जुनकिरी पनि अब मेरो काम हलुँगो हुने भयो
भनेर खुशी भइन् ।
(हेर्म्बर्गबाट कोपनहेगन रेलमा यात्रा गर्दा पानीजहाजभित्र
पसेको रेलमा बसेर लेखेको । स्थानीय समय साँझको ७.३५
बजे । १२ अक्टोवर, २००३ ।)
माथि
मूल पृष्ठमा जाउँ
|