विनय कुमार कसजुका कथा
मुसा र खुत्रुके
दुले मुसा लुरे बिरालोसँग भन्दा काले सर्पसँग धेरै
डराउँथ्यो । लुरे बिरालो मुसाको दुलोभित्र पस्न सक्तैनथ्यो
। तर काले सर्प भने दुलोभित्र पसेर मुसा खान्थ्यो ।
कालेबाट जोगिन एक पल्ट दुलेले साँगुरो र बांगोटिंगो
दुलो खन्न थाल्यो । खन्दैजाँदा उसले जमिनमुनि गाडेको
घ्याम्पो भेट्टायो । घ्याम्पोभित्र पुराना चाँदीका मोहर
थिए ।
दुलेलाई चाँदीको मोहोरको मोल र महत्व थाहा थिएन । उसलाई
त टल्कने, गोलो गुड्ने कुरा देखेर रमाइलो लाग्यो । एउटा
मोहोर मुखमा च्यापेर ऊ दुलोबाहिर आयो ।
दुले बस्ने घरको घरपेटीको छोरा रामु पाँच कक्षामा पढ्थ्यो
। ऊसँग एउटा खुत्रुके थियो । उसले कहिलेकाहीँ दुई चार
पैसा खुत्रुकेमा खसाल्थ्यो । खुत्रुकेमा धेरै पैसा सँगालेर
धेरै खेलौना किन्ने उसको इच्छा थियो । तर किताब कापी
कलम किन्न र स्कुलको फिस तिर्न पनि रामुलाई धौधौ पर्थ्यो
। त्यसैले उसले चाहे अनुसार पैसा खुत्रुकेमा राख्नसक्तैनथ्यो
। पैसाको सट्टा उसले पुराना टाँक, माझमा प्वाल भएको
फलामको वासर र सिसीको बिर्को च्याप्टो पारेर बनाएको
ढ्याक पनि त्यसभित्र राख्थ्यो ।
रामुले खुत्रुकेमा मोहर जस्तो गोलोगोलो कुरा खसालेको
दुलेले देखेको थियो । यसैले आफूले भेट्टाएको चाँदीको
मोहोर पनि उसले रामुको खुत्रुकेमा खसाल्यो । खुत्रुकेभित्र
टाँक र फलामजस्ता नबज्ने बस्तु भएकोले दुलेले त्यसमा
मोहर खासाल्दा पनि मिठो स्वर निस्केन ।
भोलिपल्ट दुलेले फेरि अर्को मोहर ल्यायो र खुत्रुकेमा
खसाल्यो । यस पटक भने पहिले खसालेको मोहरसँग ठोक्किएर
छिन्द्रिङ आवाज आयो । दुइटा मोहर ठोक्किएर बजेको सुन्दा
दुलेलाई मज्जा आयो । दुले दगुर्दै दुलोभित्र पस्यो र
फेरि अर्को मोहर लिएर आयो । तेस्रो मोहोर खुत्रुकेमा
खसाल्दा झन मिठो स्वर सुनियो । यसरी दुलेले नियमित रूपमा
मोहर ल्याउँदै खुत्रुकेमा खसाल्न थाल्यो ।
दशैँ आउन लागेको थियो । रामुको स्कुलमा छुट्टी सुरु
भइसकेको थियो । अरु केटाकेटीलाई झैँ रामुलाई पनि दशैँमा
राम्रो लाउन र मिठो खान मन लाथ्यो । उसका दौँतरीहरूले
झैँ उसलाई पानि मोटर, हवाइजहाजजस्ता खेलौना खेल्न मन
लाग्थ्यो । तर रामुको बा बिरामी भएर धेरै दिनसम्म थला
परेकोले काममा जान सकेन । काममा नगए पछि आम्दानी भएन
। दशैँ मनाउन नभइनहुने पूजाआजाको सर्जाम जुटाउन पनि
उसलाई धौधौ भइरहेको थियो ।
एक दिन राती दुलेले चाँदीका मोहर खुत्रुकेमा राख्नै
लागेको बेलामा लुरे बिरालोले उसलाई देख्यो । बिचरा दुले
आत्तिएर भाग्न खोज्दा खुत्रुके भुइँमा खस्यो । माटोको
खुत्रुके भुइँमा ठोक्किने बित्तिकै फुट्यो । त्यसभित्रका
चाँदीका मोहर मात्र हैन टाँक, टिनको बिर्को र फलामका
वासर पनि लथालिङ भएर भुइँमा छरिए ।
खुत्रुके फुटेको आवाज सुनेर रामुको निँद खुल्यो । उसका
बा आमा पनि के भयो ? भन्दै रामु सुतेको ठाउँमा आए ।
उनीहरूले भुइँभरि चाँदीका सेता मोहर छरिएको देखेर अचम्म
माने । त्यही बेला दुले मुसा आत्तिँदै भागेको उनीहरूले
देखे ।
रामुकी आमाले दंग पर्दै भनिन्, "दशैँको बेलामा
भगवानले हामीलाई राम्ररी दशैँ मनाउन् भनेर खुत्रुकेमा
पैसा भरिदिएजस्तो छ !"
रामुको बाले भने, "खै भूतप्रेत वायुको छल हो कि
? यो पैसा त धामीलाई नदेखाई चलाउनु हुँदैन ।"
आफूले चाहेको कुरा किन्न पाइने भयो भनेर मख्ख परेको
रामुले बाको कुरा सुनेर भन्यो, "यो पैसा पक्कै
पनि मुसाले खुत्रुकेमा राखिदिएको हुनुपर्छ । तपाईँहरूले
मुसा दगुरेको देख्नु भएन र ?"
"त्यसो भए फेरि अर्को खुत्रुके ल्याएर त्यही ठाउँमा
राखेर हेरौँ न त ।" रामुकी आमाले उपाय निकालिन्
।
भोलि पल्ट रामुको बाले कुमाल गाउँबाट नयाँ खुत्रुके
ल्याएर पहिले राखेको ठाउँमा राख्यो ।
राती कहिले मुसा आउला र खुत्रुकेमा पैसा खसाल्ला भनेर
रामु अबेलासम्म नसुती बस्यो । निँदमा उसले मिठो सपना
देख्यो ।
एक हुल मुसा दुलोबाट निस्कन थाले । उनीहरू सबैले एकएक
वटा चाँदीका मोहर बोकेका थिए । रामुले मुसा गन्न थाल्यो
। एक, दुई, तीन, चार, ..... सयसम्म गन्दा पनि दुलोबाट
निस्कने मुसाको ताँती सकिएन । रामु दंग परेर हेरिरहृयो
।
आखिरमा एउटा ढाडे मुसा निस्क्यो । त्यो मुसा बिरालो
जत्रो थियो । उसले टाउकोमा सकीनसकी एउटा खुत्रुके बोकेको
थियो । खुत्रुकेभरि चाँदीका मोहर थिए । यसैले खत्रुके
निक्कै गह्रुँगो थियो । अचानक त्यो मुसा लोट्यो । उसको
टाउकोबाट खुत्रुके खस्यो र फुट्यो । खुत्रुकेबाट चाँदीका
हजारौँ मोहर भुइँभरि छरिए । रामुका खुट्टामा पनि चाँदीका
मोहर पोखिए । ढाडे मुसा आत्तिएर दुलो भित्र पस्यो ।
तर अचम्म ! भुइँमा छरिएका चाँदीका सबै मोहर मौरीझैँ
भुइँबाट उडेर ढाडे मुसाको पछिपछि उड्दै दुलो भित्र पसे
। उसको खुट्टामाथि पोखिएका मोहर पनि उडेर दुलोभित्र
गए ।
यो देखेर रामु आत्तियो ।
'आम्मै' भन्दै ऊ निँदबाट व्युँझ्यो । उसले सपनाको कुरा
बाआमालाई सुनायो । उनीहरूले मुसाले गाडेको धन फेला पारेको
अडकल गरे । रामुको बाले भन्यो, "पक्कै पनि हाम्रो
घरमा, नभए नजिकै कतै पैसा गाडेको हुनर्ुपर्छ । मुसाको
दुलो खन्यो भने त्यो पैसा भेटिन्छ होला ।"
त्यो दिनदेखि उनीहरूले मुसाहरू कहाँबाट निस्कन्छन्,
कहाँ जान्छन्, के खान्छन् भनेर चियो गर्न थाले ।
खुत्रुके फुटेर तर्सेर दुले मुसाले फेरि मोहर बोकेर
आउने हिम्मत गरेन । ऊ मोहर भएको घैँटोतिर जानै छाड्यो
।
केही दिनपछि रामुका बाआमा मिलेर बारी खन्ने कोदालो
लिएर मुसाको दुलो खन्न थाले । केही बेर खनेपछि दुलोबाट
काले सर्प निस्क्यो । ऊ त्यहाँ मुसा खान गएको थियो ।
रामुको बाले कोदालोले सर्पको टाउको किचेर मारिदियो
। काले सर्प मुसाहरूको सबैभन्दा ठूलो शत्रु थियो । त्यसलाई
मारेकोमा मुसाहरू रामुको परिवारको गुन माने । सर्प नभएकोले
दुले मुसा र उसका आफन्तहरू उफ्रँदै खेल्दै बस्न थाले
। तर दुलेले रामुको गुन बिर्सेन। उसले बेलाबेलामा चाँदीका
मोहर ल्याएर रामुको खुत्रुकेमा राख्न छाडेको छैन ।
सानेपा, ललितपुर, २०६२ असार २४ गते
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |