a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

मूर्ख खरायो

इन्द्रजात्राको दिन टुंडिखेलमा भएको दौडमा सबैलाई उछिनेर चङ्खे खरायोले तक्मा पाएको थियो । उसले अब ओलम्पिक दौडमा भाग लिन्छु भनेर साथीहरूलाई सुनाउँथ्यो । हुन पनि चङ्खेलाई दौडमा जित्ने कोही पनि निस्कनसकेन । यसैले होला ऊ दिनदिनै मात्तिन थाल्यो । उसले आफूलाई संसारको सबैभन्दा छिटो दगुर्ने धावक बन्ने घोषण गर्यो ।

उसले अरू जानवरहरूलाई गन्न र टेर्न छाड्यो । आफूभन्दा ठूला र आदर गर्नुपर्ने जीवहरूलाई उसले जिस्क्याउँथ्यो र भाग्थ्यो । अरूभन्दा कछुवालाई उसले देखी सहन्नथ्यो, किनकि धेरै पहिले कछुवाले उसलाई दौडमा जितेर उसको बेइजत गरेको थियो । हुन त गल्ती चङ्खेकै थियो किनभने कछुवाले उसलाई उछिन्न सक्तैन भनेर ढुक्क भएर ऊ बटोमै निदाएको थियो ।
चङ्खे धेरै नै मात्तिन थालेपछि उसका साथीहरूले उसको शेखी झार्ने बिचार गरे । उनीहरूले गोप्य रूपमा सल्लाह गरे र खरायोलाई रानीपोखरीको कछुवासँग दौडाउने निधो गरे ।

साथीहरूको कुरा सुनेर चङ्खे हाँस्यो । उसले भन्यो, "फेरि पनि त्यही कछुवासँग दौडने ? कस्तो दिक्क लाग्छ । बरु स्याल वा चितुवासँग बाजी राख्न पाए हुन्थ्यो । त्यही कछुवासँग कति पटक दगुरिरहने ? उहिले झैँ अहिले पनि म बाटैमा सुतुँला र कछुवाले जित्ला भन्ने कल्पना नगर । म त्यो काँठे खरायो होइन । यो प्रतियोगिता जितेपछि मलाई एक बोरा गाजर चाहिन्छ । लौ कहाँबाट कहाँसम्म दगुर्ने ? कहिले दगुर्ने ? भन । म तयार छु ।"

एकाबिहानै सडकमा गाडीहरू कम गुडिरहेको बेला पारेर खरायो र कछुवाको दौड प्रतियोगिता गर्ने निधो भयो । रानीपोखरीबाट नागपोखरीसम्म दौडाउने सहमति भयो । चङ्खेका साथीहरू रानीपोखरीको डिलमा भेला भए । रानीपोखरीमा बस्ने गम्भीरसिंह कछुवा दौडिन तयार भयो । चङ्खे र गम्भीरेले हात मिलाए । दौड सुरु भयो ।

खरायो उफ्रेर एकै छिनमा हरायो । कछुवा भने गम्भीर अनुहार लाएर बिस्तारै अगाडि बढ्न थाल्यो । दगुर्नसक्ने केही जानवर चङ्खेलाई भेट्टाउन उसको पछिपछि लागे भने धेरैजसो जानवरहरू गम्भीरेको पछि लागे । केही पर पुगेपछि गम्भीरे र अरू केही जन्तु एउटा पसलमा पुगे र त्यहाँबाट टेलिफोनमा कुरा गर्न लागे ।

नागपोखरीमा गम्भीरेको भाइ अल्छेसिंह कछुवा बस्थ्यो । गम्भीरेले उसैसँग फोनमा कुरा गर्यो । उसले चङ्खे खरायो ऊसँग दगुर्ने बाजी लाएर नागपोखरी आउँदै गरेको कुरा भन्यो । अनि चङ्खे त्यहाँ आइपुग्ने बित्तिकै कसरी स्वागत सत्कार गर्ने भनेर अह्रायो ।

चङ्खे खरायो उफ्रँदै नागपोखरीमा पुग्दा थाकेर लखतरान परेको थियो । तैपनि गम्भीरे कछुवाभन्दा चाँडै पुग्ने कुरामा ऊ ढुक्क थियो । तर अफसोच ! उसले नागपोखरीको डिलमा गम्भीरे खरायो आरामसाथ बसेर केरा खाइरहेको देख्यो । पहिले त उसले पत्याउनै सकेन । तर त्यो खरायोको व्यवहारले गर्दा पत्याउन करै लाग्यो ।

नागपोखरीको डिलमा बसेर केरा खाँदै गरेको कछुवाले चङ्खेलाई देख्ने बित्तिकै अगाडि सरेर ऊसँग हात मिलायो र भन्यो, "ओहो ! कति ढिला गरेको चङ्खे ? म त अघि नै आएर चार कोसा केरा खाइसकेँ । लौ तिम्रो लागि गाजर राखिदिएको छु । खाऊ र थकाइ मेट ।"

उनीहरू कुरा गर्दागर्दै अरू जानवरहरू पनि नागपोखरीमा आइपुगे । सबैको सामु चङ्खेले कछुवासँग दौडमा हारेको स्वीकार गर्यो । त्यस दिन देखि चङ्खे खरायोले आफूलाई सबैभन्दा छिटो दगुर्ने जीव भन्न छाडयो ।

(कान्तिपुर, कोपिलामा २०६२ भदौ २४ गते प्रकाशित ।)

माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of