विनय कुमार कसजुका कथा
लाले झन रातो भयो
तिहारको बेला थियो । घरघरमा फलफूलको जमघट थियो । व्योँरा,
भोगटे, निबुवा, सुन्तलाजस्ता अमिलो जातका फलहरूको चहलपहल
थियो । सुनजस्ता पहेँला र मगमग बसाउने मालभोग केराको
फूर्ति बेग्लै थियो । नास्पातीको गन्ती नै थिएन । तर
सबैभन्दामाथि राताराता गाला भएको स्याउ सानसँग बसेको
थियो ।
लाली लाएजस्ता गाला भएकोले अरू फलफूलले स्याउलाई लाले
भनेर बोलाउँथे । हुन पनि लाले स्याउ निक्कै मायालाग्दो
थियो । भुक्क परेका, म्वाइ खाउँजस्ता गाला, अनि जिब्रै
रसाउने बास्ना । उसलाई माया नगर्ने को होला र ?
त्यहाँ भेला भएका फलफूलहरूले आआफ्नो अनुभव सुनाउन थाले
।
मोटे भोगटे धादिङबाट आएको रहेछ । उसले आफू रुखबाट झर्दा
एक जना केटोको टाउकोमा लागेर केटो भुइँमा लडेको कुरा
सुनायो । उसको कुरा सुनेर अरू फलहरू खुबै हाँसे । तर
बेकसुरमा त्यो केटोले दुःख पाएकोमा भने भोगटे दुखी थियो
।
काभ्रेबाट आएको व्योँराले आफूलाई टिप्न आउने मानिसको
हातमा काँडाले घोचेर रगत निकालिदिएको कुरा बडो फूर्तिसँग
भन्यो । उसको कुरा सुनेर अरू फलफूलले त्यो मानिसलाई
खुच्चिङ भने ।
फर्पिङको नास्पातीले भन्यो, "म धेरै अग्लो रुखमा
फलेको थिएँ । पाकेका नास्पातीको गुलियो रस खान अरिंगालहरू
निक्कै पल्केका थिए । एक दिन एउटा केटो झोला लिएर रुख
चढ्यो । म नजिक आएपछि उसले मलाई टिप्न मतिर हात पसार्दा
एउटा अरिंगाल आएर उसको औँलामा चिल्यो । बिचरा केटो चिच्याएर
तल खस्यो । एक मनले त मलाई खुशी लाग्यो । अरिंगाललाई
धन्यवाद पनि दिएँ । तर बिचरो केटोलाई अस्पताल लैजानु
पर्यो । धेरै दिनसम्म ऊ खुट्टामा प्लास्टर लाएर बैसाखी
टेकेर हिँड्यो । स्कुल जान पनि सकेन । उसको दुर्दशा
देखर मेरो आँखामा आँसु आयो । यसैले म अमिलो भएँ ।"
नास्पातीको कुरा सुनेर अरू फलफूल पनि गम्भीर भए ।
त्यसपछि लालेको पालो आयो । उसले भन्यो, "मेरो
अनुभव अरूको भन्दा रमाइलो खालको छ ।"
"कसरी ?" सबैले एकै स्वरले सोधे ।
लालेले भन्न थाल्यो, "म हावाइजहाजमा बसेर यहाँ
आएको हुँ । म मुस्ताङको जोमसोममा जन्मेको हुँ । त्यहाँ
साह्रै जाडो हुन्छ । मलाई टिपेपछि मानिसहरूले केही दिन
चिसो कोठामा राखे । त्यसपछि काठको बाकसमा बसेर भरियाको
पिठ्युँमा चढेर म बाग्लुङ पुगेँ । एउटी महिला माइत गएकी
रैछन् । उनका माइतीले कोसेलीपातको रूपमा मलाई उनको झोलामा
राखिदिए । अनि म बसमा चढेर काठमाडौँ आइपुगेँ ।"
"यसमा रमाइलो कुरा के छ ? त्यो भन न ।" केके
नै रमाइलो कुरा सुन्न पाइएला भन्ने आश गरेर बसेका फलफूलले
स्याउलाई हकारे ।
"पर्ख पर्ख । गाँठी कुरा त भन्नै बाकी छ ।"
लालेले नआत्तिइकन भन्न थाल्यो, "मेरो रमाइलो यात्रा
काठमाडौँ आएपछि सुरु भयो । बाग्लुङबाट आएको भोलिपल्टै
मलाई ल्याउने महिलाको श्रीमानले म र मेरा साथी स्याउहरूलाई
आफ्नो अफिसमा लिएर गए । अफिसमा उनले अफिसका सहकर्मीहरूलाई
ससुरालीबाट पठाएको स्याउ भन्दै बाँडे । सहकर्मीहरूले
आआफ्नो भागको स्याउ घरमा लगे । मलाई लिएर जाने मानिसले
मलाई एउटी महिललाई उपहार दिए ।
ती महिलाको भाइ भोलि पल्ट विहान जोमसोम जान लागेको
रहेछ । ती महिलाले मलाई साइतको सगुनको रूपमा आफ्नो भाइको
हातमा राखिदिइन् । यसरी म हवाइजहाजमा बसेर फेरि मेरो
जन्मस्थल पुगेँ । रमालो भयो ।
भाइले मलाई होटलकी स्याउजस्तो गाला भएकी सानीलाई उपहार
दिए । म त्यही होटलको पछाडिको बगैँचामा हुर्केको थिएँ
। होटलमा दिनदिनै नयाँनयाँ पाहुनाहरू बास बस्थे । एकदुई
रात बस्थे र विदा हुन्थे । एक दिन आफूसँगै राखेपछि सानी
नानीले मलाई होटलमा बास बस्ने अर्को पाहुनालाई विहान
विदा हुने बेलामा हातमा राखिदिइन् । यसरी झण्डै एक साताको
यात्रापछि म यो घरमा आइपुगेको हुँ ।"
"यस्तो पनि हुन्छ र ? त्यतिन्जेल त तिमीलाई कसै
न कसैले काटेर खाइसक्नु पर्ने होइन र ?" अरू फलफूलले
छक्क पर्दै सोधे । धेरैले लालेको कुरा पत्याएनन् । तर
लालेले भन्यो, "लौ नपत्याए हेर्दै जाओ । मलाई पूरा
विश्वास छ, म चाउरी परेर नकुहिएसम्म यसरी नै डुलिरहने
छु । नत्र यही कोठामा बसिरहने छु । त्यतिन्जेल तिमीहरू
सबै कहाँ पुगिसक्ने छौ भन्न सकिन्न ।"
साँच्चै त्यस्तै भयो । त्यो मानिसले एउटा ठूलो फोटो
फ्रेममा सजाएर ल्यायो र कोठाको दराजमाथि राख्यो । फोटोको
अगाडि लालेलाई राख्यो र मुसुक्क हाँस्यो । फोटोलाई चिनेर
लाले पनि दंग परेर हाँस्यो । त्यो फ्रेममा जोमसोमको
होटलकी सानी नानीको फोटो थियो । स्याउजस्ता गाला भएकी
नानीको फोटो राम्रो लागेर होल त्यो मानिसले बैठकमा सजाएको
थियो । अनि लाले सानीकै बारीमा फलेको थियो र सानीले
नै उसलाई मायाले हुर्काएकी थिई । यो कुरा थाहा पाए सानी
कत्ति खुशी हुन्थी होली भन्ने सोचेर लाले मनमनै हाँस्यो
। लाले हाँस्दा उसको गाला भुक्क फुल्यो र ऊ झन रातो
भयो ।
२०६१ मंसिर ४ गते
माथि
शीर्षक
मूल
पृष्ठमा जाउँ |