a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

कृतज्ञता

खोलाको दुई किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरू पनि बोटमुनि झुम्मिरहन्थे । कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको आँप छानीछानी टिप्थे । तर धेरैजसो मानिसहरू बगरका ढुंगा र दाउराको झटारोले हानेर आँप झार्थे । यसरी आँप झार्दा पाकेकोभन्दा पनि काँचा रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे ।

गुलियो फल दिने गुनिलो आँपको बोटलाई ढुंगा र झटारोले हानेर हाँगा भाचिदिने काँचा आँप खेर फालिदिने मानिसहरूको यस्तो व्यवहार देखेर दुबै बोटहरू दुखी हुन्थे । तर उनीहरू लाचार थिए । एक साल पश्चिम किनाराको बोटले साह्रै दिक्क भएर पूर्वी किनाराको बोटसँग गुनासो पोख्दै भन्यो, "यस्तो मिठो फल फलाउने हामीलाई ढुंगा र झटारोले हानेर हामीमाथि मानिसहरूले साह्रै अन्याय गर्न थाले । अब हामी कि त फल्नै छाडौँ कि अमिलो फलमात्रै फलाऔँ ।"

उसको कुरा सुनेर पूर्वी बोटले भन्यो, "हेर भाइ, आँप फलाउनु हाम्रो धर्म हो । मिठो गुलियो आँप फलाउने हाम्रो गुणलाई किन व्यार्थमा खेर फल्ने ? जहाँसम्म ढुंगा र झटारो हानेर दुःख दिने कुरा छ त्यो आआफ्नो स्वभाव र गुण धर्म हो । मलाई त मानिसहरू मेरो छाहारीमा बसेर आँप चुसीचुसी, हात चाटीचाटी खाएको देख्दा बडो आनन्द लाग्छ । उनीहरूले आँप टिप्न हानेको झटारो मलाई आफ्नै केटाकेटीले सानासाना पाइतलाले हानेर माया गरेजस्तो लाग्छ ।"

दुई बोटको सल्लाह मिलेन । आँपको मौसम आएपछि दुबै बोटमा आँप फल्यो । पश्चिमको बोटमा पूर्वकोमा भन्दा थोरै फल्यो । आँप पाक्न थालेपछि मानिसहरू पश्चिमको बोटको आँप अमिलो भएको देखेर छक्कै परे । पूर्वीबोटको आँप भने पहिलेजस्तै स्वादिलो थियो ।

मानिसहरू पूर्वी बोटमा झुम्मिएर ढुंगा र झटारो हानेको देखेर पश्चिमी बोटलाई आफूले थोरै र अमिलो आँप फलाएकोमा ठिकै गरेछुजस्तो लाग्यो । तर त्यो बोटमा कसैले किरा लागेको, कसैले आँखा लागेको त कसैले बोक्सी लागेको अडकल गरेर उपचारको लागि थोत्रा पुराना जुत्ता, फुटेका हाँडी, थोत्रा लुगा त्यसका हाँगामा झुण्ड्याउन थाले । कसैले बोटमुनि झारपात र घुर बटुलेर आगो बालेर खुर्सानी पोलेर धुँवाए । आँपको बोट झन दुखी भयो ।

केही दिनपछि वर्षाको मौसम सुरु भयो । बाढी आएर खोला निक्कै उर्लियो । दुबै बोटको फेँदमा खोलाले हानेर बोट नै ढल्ने डर भयो । खोलामा पानी केही घटेपछि मानिसहरू खोलाको किनारामा आँपको बोट वरिपरि भेला भए । उनीहरूले तार जालीहरू ल्याए र पूर्वी आँपको बोटलाई जोगाउन बोटको वरिपरि जाली राखेर त्यसभित्र ढुंगा भरेर बोटलाई बाढीले बगाउन नसक्ने गरी बलियो वाँध बाँधे ।

अमिलो फल दिने पश्चिमतिरको बोटलाई कसैले पनि वास्ता गरेन ।

२०५८ माघ १४ आइतबार

(कान्तिपुरको साप्ताहिक कोसेली कोपिला शुक्रवार फागुन ३ गते २०५८ को अंकमा प्रकाशित)


माथि

 


मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of