विनय कुमार कसजुका कथा
कर्केको केबुलकार
फुच्चे
लोखर्केको आँखा सानैदेखि टेढो थियो । उसका साथीहरूले उसलाई
कर्के भनेर बोलाउँथे । कर्के आफ्नी आमासँग पिपलको अग्लो रुखको
टोडकोमा बस्थ्यो । टोडको भुइँभन्दा दुई तले घरजति अग्लो हाँगामा
थियो । टोडको सानो तर गहिरो थियो । कर्केकी आमाले टोडकोभित्र
सुकेका घाँस पराल र पातहरू ओछयाएर न्यानो कोठा बनाएकी थिई
। कोठाको एक छेऊमा बाहिरबाट बटुलेर ल्याएका ओखर, सुपारी, सुकेका
फलफूल राख्ने ठाउँ थियो । अर्को छेऊमा कर्केका खेलौनाहरू थिए
।
उनीहरू बस्ने त्यो पिपलको रुख गाउँको नजिकै थियो ।
रुख धेरै झयाँगिएको र तीन तले घरभन्दा अग्लो थियो ।
पिपलको रुखमा फल्ने पहेँला फल मौरी, बारुला, चरा, चमेरा,
मुसा, लोखर्के आदि सबैले रुचाउँथे । पिपलको बोटको टुप्पामा
चिलको गुँड थियो भने तलतलका हाँगामा कौवाको गुँड थियो
। राती भुद्रुङ, चमेरा र अरु चरा पनि रुखमा बास बस्थे
।
कर्केले खाएर बाकी रहेको ओखरका बोक्रा, बाहिर घुम्न
जाँदा भेट्टाएका कागतका टुक्रा, टिन र प्लास्टिकका बिर्को
र सानासाना भाँडाहरू बटुलेर कोठामा राख्थ्यो । उसले
नचाहिने सामान थुपारेर कोठा साँगुरो भयो भनेर उसकी आमा
कराउँथी । तर कर्के भने ती थोत्रा सामानलाई खेलौना बनाएर
खेल्न रुचाउँथ्यो । ऊ गाउँतिर घुम्न गएको बेलामा गाउँका
केटाकेटीले त्यस्ता सामान बटुलेर खेलेको देख्थ्यो र
उसलाई पनि खेल्न मन लाग्थ्यो ।
एक पल्ट कर्केले ओखरको गुदी खाएपछि बाकी रहेको आधा
ओखरको डुँगा बनायो । उसले ओखरको माझमा बाँसको झिँजा
अड्यायो अनि झिँजामा पात राखेर पालले चल्ने डुँगा जस्तो
बनाएर खाल्टोमा जमेको पानीमा राखिदियो । बतास चल्दा
पातलाई बतासले घचेट्यो र ओखरको डुँगा आफै सररर पानीमा
बगेर अर्को छेऊमा पुग्यो ।
आफ्नो नयाँ खेलौना देखेर कर्के आफै दंग पर्यो । उसले
त्यो खेल धेरै पटक दोहोर्यायो । उसले बनका अरु साथीहरूलाई
पनि डाक्यो र आफ्नो सिर्जना देखायो । उएटी पुतली उडदै
आई र म डुँगामा बसुँ है भन्दै डुँगाको एक छेऊमा बसी
। पुतली हलुँगी थिई यसैले डुँगा पल्टेन, अलिकति हल्लियो
मात्रै । पातभन्दा पुतलीका पखेटा ठूला थिए । उसले पखेटा
फिँजार्दा बतासको चाप अघिभन्दा धेरै पर्यो । डुँगा अघिभन्दा
धेरै छिटो पानीको पल्लो छेऊमा पुग्यो । त्यसपछि मौरी,
बारुलाहरू डुँगामा चढे । उनीहरू नडराइकन चढेको देखेर
गोब्रेकिरा, कमिला आदि उड्न नसक्ने किराहरू पनि डुँगामा
चढेर पानीको खाल्टोको अर्को छेऊमा पुगे ।
ओखरको डुँगा त बडो काम लाग्ने कुरा रहेछ भनेर कर्केका
साथीहरूले उसको तरिफ गरे । कर्के खुशीले मख्ख पर्यो
। उसलाई यस्तो नयाँनयाँ काम गर्ने जाँगर बढ्यो ।
एक दिन कर्केले गाउँबाट नरिवलको साह्रो बोक्रा ल्यायो
। सिपालु मानिसले नरिवल फुटाल्दा ठिक्क आधाभाग निस्केर
कटौराजस्तो बनेको थियो । उसले कटौराको दुईतिर प्वाल
पारेर लहराले बाँधेर बाल्टिनजस्तो गरी बोक्न मिल्ने
बनायो । नारिवलको बोक्राको बाल्टिनजस्तो भाँडामा खानेकुरा
र उसको अरु खेलौना बाहिरबाट बोकेर रुखको टोडकोमा पुर्याउन
कर्केलाई निक्कै सजिलो भयो । यस्तो काम लाग्ने भाँडा
बनाएको देखेर उसकी आमा पनि खुशी भई र अरुको अगाडि कर्केको
तरिफ गर्न थाली ।
कर्केले एक दिन गाउँमा गएको बेलामा चुँडेको चंगाको धागो भेट्टायो
। धागो मोटो र बलियो थियो । उसले गाउँमा मानिसले खाँबोमाथि
डोरी टाँगेर लुगा सुकाएको देखेको थियो । उसलाई
पनि त्यस्तै गरी धागो टाँग्न मन लाग्यो । उसले धागोको एउटा
टुप्पा आफू बस्ने टोडकोको हाँगामा बाँध्यो र अर्को टुप्पा
नजिकैको खनियाको बोटमा बाँध्यो । अब उसलाई खनिया खान जानको
लागि पिपलको बोटको भुइँमा झर्नु परेन ।
दुई हातले धागोमा झुण्डिएर ऊ लहैलहै गर्दै खनियाको
रुखमा पुग्थ्यो र पेटभरि खनिया खाएपछि त्यही धागोमा
झुण्डिदै र्फकन्थयो । तर उसले धागोको बाटोबाट खनिया
बोकेर टोडकोमा लैजानसक्तैनथ्यो । उसले यसको लागि पनि
जुक्ति निकाल्यो ।
कर्केले नरिवलको बोक्राको बाल्टिनलाई पिपल र खनियाको
बोटको बीचमा टाँगेको धागोमा झुण्डयायो । अनि त्यसमा
बसेर उसले हातले धागो समात्दै बाल्टीलाई पिपलबाट खनियाको
बोटसम्म र खनियाको बोटबाट पिलको बोटसम्म लग्यो । यसरी
उसले धागोबाट आफू र खनिया पनि ओसारपसार गर्ने व्यवस्था
गर्यो । आफ्नो जुक्ति सफल भएपछि उसले साथीहरूलाई पालैपालो
बाल्टिनमा राखेर ओहोरदोहोर गरायो । कर्केको बुद्धि देखेर
उसका साथीहरू निक्कै दंग भए । उसकी आमा दंग नहुने त
कुरै भएन । साथीहरूको सल्लाहअनुसार उसले धागोमाथि बाल्टिन
झुण्डयाएर आवतजावत गर्ने व्यवस्थाको नाम झोलुंगे गाडी
राख्यो ।
खनिया पाकेको बेलामा खनिया ओसार्न त सजिलो भयो तर त्यो
काम सँधै गर्नु पर्दैनथ्यो । उसलाई त बाहिरबाट बटुलेका
खानेकुरा ओसार्नुपर्थ्यो । भुइँबाट टोडकोसम्म ओखर, सुपारी
फलफूल ओसार्न कर्केकी आमालाई पनि साह्रै मेहनत गर्नु
पर्थ्यो । यसैले उसले भुइँदेखि टोडकोसम्म सामान ओर्सार्ने
अर्को झोलुंगे गाडी बनायो ।
अब, कर्के र उसकी आमाले बनबाट बटुलेर ल्याएको मालसामान
झोलुंगे गाडीमा राख्थे । त्यसपछि कर्केले गाडीको एक
छेऊमा अर्को धागो बाँध्थ्यो । अनि ऊ धागोको अर्के छेऊ
समातेर पिपलको रुखमा चढेर टोडकोमा पुग्थ्यो र त्यहाँबाट
धागो तानेर झोलुंगे गाडीलाई टोडकोमा पुर्याउँथ्यो ।
यसरी कर्केको नयाँनयाँ काम गर्ने बुद्धि र जाँगरले गर्दा
उसकी आमालाई पनि निक्कै सजिलो भयो ।
कर्केको यो काम पिपलको रुख र वरिपरि बस्ने अरु चराचुरुंगीका
लागि रमाइलो लागे पनि उनीहरूले यसलाई खेलको रूपमा लिएका
थिए । तर एक दिन त्यहाँ चराचरुंगी र साना जीवजन्तुहरूले
झोलुंगे गाडिको महत्व बुझे । किनकि त्यो गाडी नभएको
भए उनीहरूको गुँडमा भएका फुल, चल्ला र साना जीवजन्तुका
छाउराहरूको ज्यान जोगिने थिएन ।
झोलुंगे गाडी बनेको केही दिनपछि पिपलको रुखमा एउटा
सर्प आउन थाल्यो । सर्प रातीराती आउँथ्यो र चराहरूको
गुँडका फुल, चल्ला र छाउराहरू खान्थ्यो । त्यसलाई घपाउने
उपाय उनीहरूसँग थिएन । बरु उनीहरूले बसाइ नै सर्ने बिचार
गरे । अग्लो रुखमाथि गुँडमा भएका फुल, चल्ला र छाउराहरूलाई
भुइँमा पुर्याउन कर्केको झोलुंगे गाडीले मदत गर्यो ।
कर्केले चराका गुँडहरू भएको हाँगामा धागो टाँगेर झोलुंगे
गाडीबाट सबैका फुल, चल्ला र छाउरा ओरालिदियो । चरा र
जन्तुहरूले कर्केको धेरै गुन माने र उसलाई फलफूल र खानेकुरा
इनाम दिए ।
एक दिन कर्के र उसकी आमाको ज्यानमाथि नै खतरा आइलाग्यो
। एउटा डरलाग्दो बनबिरालो पिपलको रुखमाथि चढन थाल्यो
। कौवा, ढुकुर र सारौँ चराहरूले ठूलो स्वरले चिच्याएर
उनीहरूलाई र्सतर्क गराए । चराहरू कराएको सुनेर कर्के
र उसकी आमाले टोडकोबाट बाहिर हेरे । बनबिरालो रुखमाथि
चढिरहेको देख्यो । उनीहरू रुखबाट ओर्लेर भाग्नसक्ने
अवस्था थिएन । कर्केले तुरुन्तै भाग्ने जुक्ति निकाल्यो
। उसले झोलुंगे गाडीको धागो फुकायो । त्यसभित्र उसकी
आमालाई राख्यो र आफू पनि बस्यो अनि हतारहतार धागो तान्दै
अर्को रुखमा पुग्यो । त्यहाँबाट उनीहरू बनबिरालोले भेट्टाउन
नसक्ने सुरिलो रुखको टुप्पामा पुगे । बनबिरालो हिस्स
परेर फर्क्यो ।
२०६१ असार ३ गते ।
माथि
मूल पृष्ठमा
जाउँ
|