विनय कुमार कसजुका कथा
जूलियासँग च्याट
नेपालमा बाघहरूका लागि सबैभन्दा रमाइलो र सुरक्षित
ठाउँ चितवनको जंगल हो । तैपनि त्यहाँ बस्ने बाघ र बघिनीको
एक जोडीले पहिलो बेतमा जन्मेका चार वटा डमरु मध्ये बल्लतल्ल
एउटा डमरुलाई शिकारीको हातबाट जोगाउन सकेको थियो । उनीहरूले
डमरुको नाम डम्बरसिङ राखेका थिए । डम्बरसिङ तन्नेरी
बाघ भइसकेको थियो । ऊ आफ्नै दमाली खोज्न थालेको थियो
।
एक दिन डम्बरसिङ जंगलमा घुम्दाघुम्दै एउटा मचान मुन्तिर
पुग्यो । मचानको वरिपरि कोही पनि नदेखिएपछि ऊ बिस्तारै
मचानमाथि गयो । त्यहाँ आठदश जना मानिस बस्न मिल्ने गरी
लामो डेस्क र बेंच राखिएका थिए । डेस्कमाथि दुरबिन,
क्यामरा र ल्यापटप कम्प्युटर थियो । तर त्यहाँ कोही
पनि थिएन । जंगलको अध्ययन गर्न आएका मनिसहरूले सबै सामान
छाडेर खाजा खान गएजस्तो थियो । ऊ छक्क पर्यो । कम्प्युटरमा
उसले एउटी भर्खरकी कोरली बघिनीको फोटो देख्यो । उसलाई
त्यो फोटोको बारेमा जान्न सकसक लाग्यो ।
डम्बरसिङ बेंचमाथि चढ्यो । उसले कम्प्युटरलाई छुँदै
त्यहाँ भएका अक्षर पढ्न थाल्यो । फोटोमा भएकी बघिनीको
नाम जुलिया रहेछ । जुलियाको बिहे गर्ने उमेर भएको हुनाले
एउटा योग्य दुलाहा चाहिएको रहेछ । दुलाहा चितवनको जंगलमा
बस्ने र शुद्ध र घरानिया बाघ जातको चाहिएको रहेछ । पढ्दैजाँदा
डम्बरसिङलाई आफूले खोजेजस्ती बघिनी पाउने भएँ भन्ने
लाग्यो ।
जुलियालाई कहाँ भेटने होला ? उसलाई जान्न मन लाग्यो
। उसले कम्प्युटरको कीबोर्डको एउटा की थिच्यो । जुलिया
मुसुक्क हाँसी र "हाई" भनेर बोलाई । डम्बरसिङ
छक्क पर्यो । उसले वरिपरि जुलिया छे की भनी हेर्यो ।
तर त्यो आवाज त क्म्प्युटरबाट आएको थियो । यसैले उसले
पनि आफ्नै भाषामा "हाई" भनेर जवाफ दियो ।
त्यसपछि जुलिया र डम्बरसिङले भ्वाइस च्याट गर्न थाले
। उनीहरूको च्याट अक्षरमा नभएर आवाजमा हुनथाल्यो । डम्बरले
आफ्नो चिनारी र आफूबस्ने ठाउँ बतायो । जुलियाले पनि
आफ्नो परिचय दिई । दुबै जनाले एकअर्कालाई मनपराए ।
जुलियाले डम्बरलाई आफूकहाँ निम्त्याई । डम्बरले कहाँ
र कसरी आउने भनी सोध्यो । जुलियाले जंगलका गार्डहरूको
आँखा छल्दै चोरबाटोबाट आउने सल्लाह दिई । उसले कम्प्युटरमा
बाटोको नक्सा बनाएर पनि देखाई । अनि जंगलबाहिर साँझको
बेला आजै पर्खेर बस्छु है भन्दै उसले "बाई"
गरी र कम्प्युटरको मोनिटरबाट बिलाई ।
डम्बरसिङ दंग परेर एक्लै हाँस्यो । मचानबाट उसले चारैतिर
हेर्यो । कतै जुलिया देखिन्छे कि भन्ने आश थियो उसको
। तर जुलियाको सट्टा आफ्नी आमा ठूलो स्वरले गर्जेको
उसले सुन्यो । डम्बरलाई खोज्दै उसकी आमा यहाँ आइपुगेकी
थिई ।
डम्बरसिङलाई आपत पर्यो । अब के गर्ने ? आमालाई सबै
कुरा सुनाउने कि नसुनाउने ? जुलिया चितवन बनकी होइनन्
। यसैले आमाले ऊसँग बिहे गर्न दिने छैनन् भन्ने उसलाई
लाग्यो । यसैले ऊ आमासँग जोगिने बिचार गर्यो । ऊ मचानबाट
ओर्लेन । आमाले उसलाई मचान वरिपरि नदेखेपछि बनको अर्को
भागतिर खोज्न गई ।
कम्प्युटरमा फेरि जुलियासँग च्याट गर्न पाइन्छ कि भनेर
डम्बर एक छिन पर्खेर बस्यो । तर अलि पर मानिसहरू बोलेको
आवाज सुनेर ऊ आत्तिँदै मचानबाट ओर्ल्यो । जुलियाले देखाएको
बनबाट निस्कने बाटो उसले राम्ररी सम्झेको थियो । जुलियासँग
साँझको पहिलो भेटको कल्पना गर्दै र कहिले साँझ पर्ला
भनेर पर्खँदै ऊ यताउता भौँतारियो । आजको दिन उसलाई साह्रै
लामो लाग्यो । आज किन घाम यति ढिलो ढल्केको होला ? उसलाई
घामसँग पनि रिस उठ्यो । बुर्लुक्क उफ्रेर घामलाई झापड
दिन खोज्यो ।
बडो मुस्किलले घाम डुब्यो । डम्बरसिङले वरिपरि हेर्यो
र चालमारेर बनबाट बाहिर जाने चोरबाटोमा लुसुकलुसुक हिँडन
थाल्यो । हात्ती र गैँडासँग पनि लडनभिड्न नडराउने डम्बरसिङ
आज रुखको हाँगामा चरा कराउँदा पनि झस्कन्थ्यो । जुनको
उज्यालोमा पनि कसैले देख्छ कि भनेर ऊ होशियार थियो ।
तर उसलाई गोहोरो र लाटोकोसेरोबाहेक कसैले देखेन ।
आखिरमा ऊ बनको छेऊमा पुग्यो । उसले बनबाहिर केही पर
एउटी बघिनीलाई देख्यो । शायद ऊ जुलिया नै थिई । ऊ जुलिया
भएको ठाउँमा पुग्न हतारियो । तर जुलियाको नजिक नपुग्दै
बन्दुकको आवाज आयो । त्यसपछि बिचरा डम्बरसिङ बेहोस भयो
।
होसमा आउँदा उसले आफूलाई बिल्कुलै नयाँ ठाउँमा देख्यो
। उसको वरिपरि जंगल थिएन न त जुलिया नै थिई । उसका वरिपरि
फलामका ठूलाठूला पिंजडाहरू थिए । ती पिंजडामा कुनैमा
गैँडा, कुनैमा मृग, कुनैमा बाँदर राखिएका थिए । ऊ आफै
पनि एउटा ठूलो पिँजडाभित्र थियो । उसको पिँजडासँगै अर्को
पिँजडामा एउटी बघिनी थिई । तर ऊ जुलिया थिइन ।
नयाँ पाहुना होसमा आएको देखेर बघिनी डम्बरको पिँजडाको
बारसम्म आई र उसलाई स्वागत गरी । डम्बरले जुलियाको खोजीमा
निस्कँदा मानिसको जालमा परेर चिडियाखानामा आइपुगेको
कुरा बघिनीबाट थाहा पायो । उसले आफ्नो नाम जुलिया बताई
। डम्बर छक्क पर्यो । उसले भन्यो, "तर जुलिया त
भर्खरकी छे ।"
उसको कुरा सुनेर जुलियाले मुसुक्क हाँस्दै भनी, "त्यो
मेरो दश वर्षअघिको फोटो हो । चिडियाखानाका कर्मचारीहरूले
तिमीलाई यहाँ ल्याउन त्यो फोटो देखाएका होलान् । अब
म बूढी भएँ । मासु पनि चपाउन सक्तिन । मलाई हेर्न मानिसहरू
पनि आउन छाडे । मलाई पालेर अब चिडियाखानालाई केही फाइदा
छैन । यसैले तिमीलाई यहाँ ल्याएको हो ।"
जुलियाको कुरा सुनेर डम्बरसिङ भीरबाट खसेजस्तै भयो
। अब बाकी जीवन यहीँ फलामे बारभित्र बिताउनु पर्ने भयो
भन्ने कल्पनाले पनि ऊ अत्तालियो । उसले आफूलाई माया
गर्ने आफ्नी आमालाई सम्झ्यो । जुलियासँग च्याट गरेको
दिनमा उसकी आमाले मचान मुन्तिर खोज्न आउँदा उसलाई भेटाएको
भए आज उसले यो अवस्था भोग्नु पर्ने थिएन भनेर ऊ धुरुधुरु
रुन थाल्यो । ऊसँग जुलिया पनि रोई । जुलियामात्रै होइन
तिनीहरूको वरिपरि बस्ने सारा जीवजन्तु आफ्नो स्वतन्त्र
जीवन गुमेको सम्झेर रोए र नयाँ पाहुनालाई सहानुभूति
जनाए ।
चिडियाखानामा हरेक पल्ट नयाँ पाहुना आउँदा सारा जीवजन्तु
र पशुपंछी यसरी नै रुन्छन् र एकअर्कालाई ढाडस दिने गर्छन्
।
(कान्तिपुर, कोपिलामा, २०६२ वैशाख १६ गते प्रकाशित
।)
माथि
शीर्षक
मूल
पृष्ठमा जाउँ |