विनय कुमार कसजुका कथा
झयापुल्लेको
बिजोग
झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो
। त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो
। ऊ राती आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा,
बा र तीन वटी दिदीहरुले उसलाई कपाल काट्न् धेरै पटक
भन्दा पनि उसले मानेन ।
एक दिन साँझ भात खाने बेलामा झयापुल्लेले उधुमै मच्चायो
। उसले कसैको पनि कुरा टेरेन । उल्टै रिसाएर ऊ भात नखाई
सुत्न गयो ।
झयापुल्ले सुत्न गएपछि उसका आमा, बा र दिदीहरुले उसलाई
कसरी तह लाउने भन्ने सल्लाह गरे । उसको कपाल नकाटी हुँदैन
भन्ने निधो भयो । राती ऊ मस्तसँग निदाएको बेलामा उसको
कपाल काटिदिने योजना बन्यो । तर ऊ मुडुलो नदेखिने गरी
कपाल छोटो मात्रै पार्ने सल्लाह भयो ।
राती झयापुल्लेकी आमा उठिन् र सुस्तरी उसको कोठामा
गइन् अनि धारिलो कैंचीले बिस्तारै झयापुल्लेको कपाल
अलिअलि काटिदिइन् ।
केही बेरपछि झयापुल्लेको बा उठ्यो । आमाचाहिँले झयापुल्लेको
कपाल काटिसकेको कुरा उसलाई थाहा भएन । ऊ पनि चाल मारेर
झयापुल्लेको कोठामा गयो र थाहा नपाउने गरी कपाल छोटयाइदियो
।
रात धेरै छिप्पिइसकेपछि झयापुल्लेकी ठूली दिदी उठिन्
। सल्लाह अनुसार उसले पनि सुस्तरी झयापुल्लेको कोठामा
गएर उसको कपाल काटेर आफ्नो कोठामा आएर निदाइन् ।
ठूली दिदीले झयापुल्लेको कपाल काटेको कुरा मस्त निद्रामा
परेका दुइटी बहिनीहरुले थाहा पाएनन् । उनीहरुले पनि
पालैसँग चाल मारेर झयापुल्लेको कोठामा गएर कपाल काटिदिए
।
भोलि बिहान झयापुल्ले उठ्दा उसले आफ्नो ओछयानभरि रौंका
गुजुल्टा छरिएको देख्यो । ऊ हत्तपत्त ऐना हेर्न गयो
। ऐनामा उसले एउटा मुडुला भालु देख्यो । उसले हात टाउकोमा
लगेर छाम्यो । ऐनाको मुडुला भालुले पनि त्यस्तै गरेको
देखेर ऊ एक्कासी चिच्यायो । "मलाई कसले मुडुला
बनाइदियो ?" ऊ रुन कराउन र भुइँमा लडिबुडी गर्न
थाल्यो ।
झयापुल्ले रोएको सुनेर सबै जना उसको कोठामा पुगे ।
उसको मुडुलो कपाल देखेर उनीहरु सबै छक्कै परे । अनि
एकअर्कालाई हेर्दै सोध्न थाले ।
आमा, "कसले यति छोटो गरेर काटिदियो ? मैले त थारै
मात्रै काटेकी थिएँ ।"
बा, "तिमीले पनि यसको कपाल काटिदिइछौ ?"
ठूली दिदी, "कसैले पनि काटेन होला भनेर मैले पनि
थोरै काटिदिएकी थिएँ ।"
"हे भगवान मैले पनि यसको कपाल काटेकी थिएँ ।"
माइली दिदीले भनिन् ।
"पाँचै जनाले कपाल काटिदिँदा हेर मेरो भाइको अनुहार
कास्तो भयो । बिचारा !" भन्दै कान्छी दिदी भाइसँगै
रुन थालिन् ।
साँचल, सानेपा, ललितपुर
२०५६।४।११
(कोपिला, कान्तिपुर बालकोसेलीमा २०५९ मंसिर २० गते
शुक्रबार प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |