विनय कुमार कसजुका कथा
जर्मनीको दाँते
निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका
थिए । ती खेलौनामध्ये एउटा खेलौना अनौठो खालको थियो
। बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले
नै गर्नुहुनेछ ।
निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा
पनि बुवासँगै थिइन् । त्यहाँ छँदा उनको जन्मदिनमा उनका
बुबाका साथीहरूले धेरै खेलौना उपहार दिएका थिए । ती
खेलौनाहरूमध्ये त्यो अनौठो खेलौना पनि थियो । त्यो खेलौना
काठले बनेको थियो । उसको लुगा सिपाहीको जस्तो थियो ।
टाउकोमा ठूलो लाम्चो टोप लाएको थियो । ठूला आँखा, तीखा
जुँगा, बाहिरै देखिने सेतासेता दाँत, सिंहको जस्तो कान
ढाक्ने कपाल अनि बोके डाढी । तल्लो ओठदेखि च्युदोसम्मको
अंग सँधै तलमाथि हल्लिरहन्थ्यो । एकान्तमा भेट हुँदा
तर्साउलाजस्तो उसको अनुहार थियो ।
उसको वास्तविक नाम दाँते होइन । तर बुइँगलका अरु खेलौनाहरू
र मुसाहरूले उसलाई यही नामले चिन्छन् । नेपाल आएकोमा
पहिले उसले निकै पछुतो मानेको थियो । तर अब ऊ नेपालमै
बसोबास गर्न चाहन्छ । बाकी कथा उसैको मुखबाट सुनौँ ।
निमाका साथीहरूले मलाई देख्ने बित्तिकै नाकमुख खुम्च्याउँदै
भन्ने गर्थे, "छया, कस्तो खेलौना हो यो । हेर्दै
डरलाग्दो । भो योसँग नखेलौँ । यसलाई परै राख ।"
निमाको घरमा आएदेखि म बेकम्मा भएँ । मेरो केही इज्जत
बाकी रहेन । नेपाल आएपछि पनि केही समय त निमाका आमाबाले
मलाई उनीहरूको बैठक कोठामा सजाएर राखे, तर मलाई केही
काम दिएनन् । काम नगरी बस्नुपर्दा म निक्कै दुखी थिएँ
। मेरो उदास अनुहार देखेर होला एक दिन उनीहरुले मलाई
बुइँगलमा सारे ।
बुइँगलमा आएपछि मेरो जीवनको उद्देश्य नै फेरियो । त्यहाँ
अरु पनि थुप्रै खेलौनाहरू थिए । धेरैजसो खेलौना बूढा,
थोत्रा, खुइलिएका र मिल्काउने अवस्थामा थिए । तर म भर्खरको
ठिटो थिएँ ।
यस्तो काम गर्ने उमेरमा बुइँगलमा थन्किनुपर्दा मलाई
झन दुःख लाग्यो । अरु खेलौनाहरूले कस्तो बेकम्मा रहेछ
यो त । यो उमेरमै बुइँगलमा थन्क्याइदिएछन् भनेर जिस्क्याउन
थाले । तिनीहरूको घोचपेच सुन्दासुन्दा मलाई दिक्क लाग्थ्यो
। किन नेपाल आएँ हुँला भनेर मलाई पछुतो लाग्न थाल्यो
।
रात पर्यो कि बुइँगलमा खेलौनाहरूको बैठकजस्तै हुन्थ्यो
। खेलौनाहरूले पालैसँग आआफ्नाअनुभव सुनाउँथे । मेरो
पालो आएपछि मलाई बोल्न पनि दिन्नथे । यो अल्छी, कामचोरको
पनि के कुरा सुन्नु भनेर उनीहरू आआफ्नो ठेगानतिर लाग्थे
।
बुइँगलमा मुसाहरू पनि थिए । कहिले काहिँ बिरालो र र्सप
आएर मुसालाई सखाप पार्थे । मुसाहरूले चोरेर ल्याएका
सामानहरू त्यहीँ थुपारेर राख्थे । तिनीहरूले आफूलाई
काम नलाग्ने माल सामान पनि चोरेर ल्याउँथे । ती मुसाहरूले
पनि अरु खेलौनाको लहैलहैमा लागेर मलाई जिस्क्याउँथे
। बेकम्मा , कामचोर भनेर गिज्याउँथे ।
एक पल्ट बुइँगलका मुसाहरूमाथि ठूलो आपत आइलाग्यो ।
घरधनीले मुसा हिँडने सबै प्वाल टालिदिए । अनि मुसा मार्नका
लागि ठाउँठाउँमा धराप पनि थापे । चारपाँच वटा ठिटा मुसाहरू
अकालमा मरे । मुसाहरू बुइँगल छाडेर जान नसक्ने अवस्था
आयो । उनीहरूले चोरेर बुइँगलमा लुकाएर राखेका सबै अन्न
र अरु खानेकुरा तुरिन थाल्यो । उनीहरू भोकै पर्न थाले
।
खान मिल्ने सबै कुरा सकिए पनि उनीहरूसँग सुपारी र ओखर
निक्कै बाकी थियो । त्यहाँ भएको सुपारी र ओखरमात्रै
फोरेर खान सके पनि उनीहरूलाई झण्डै एक महिना पुग्ने
खानेकुरा थियो । तर उनीहरूले सुपारी र ओखर फोर्न सक्तैनथे
।
भोका मुसाहरूले खेलौना खाएर बाँच्न सकिन्छ कि भनेर
खेलौनाका हात गोडा र अनुहार पनि टोक्न, चपाउन थाले ।
बिचरा खेलौनाहरूको बेहाल भयो । मेरै हात खुट्टा पनि
धेरै पटक टोके । मेरो कपाल र दाह्री त बाकी नै राखेनन्
। यस्तै हो भने अब हामी खेलौनाहरू सबै मुसाका पेटमा
पुग्ने भयौँ ।
एक दिन मुसाहरूले भोकले मेरा हात गोडा र गाला टोक्न
थाले पछि अचानक मैले मेरो कर्तव्य सम्झेँ । मेरो हात
गोडा खान तम्सेका मुसाहरूलाई मैले भनेँ, "पर्ख
तिमीहरूले खान हुने कुरा यो बुइँगलमा अझै बाकी छ ।"
मेरो कुरा सुनेर ती भोका मुसाहरूले अपत्यारिलो ढंगले
मतिर हेर्दै सोधे, "खेलौनाहरूबाहेक अझै के बाकी
छ र खान हुने कुरा ?"
मैले बुइँगलको कुनामा भएको ओखर र सुपारीको थुप्रो देखाउँदै
भने, "तिमीहरूले मेहनत गरेर संगालेको यत्रो पोषिलो
खाने कुरा बाकी नै छ । किन आत्तिन्छौ ?"
मेरो कुरा सुनेर सबैले एकै स्वरले भने, "त्यो
फोरेर खानसक्ने भए त हाम्रो त वंशै विनाश हुनबाट जोगिन्थ्यो
नि । तर हामी त्यो फोरेर खान सक्तैनौँ ।"
उनीहरूको कुरा सुनेर मलाई हाँसो उठ्यो । टिठ पनि लाग्यो
। मैले एउटा मुसालाई सुपारी र ओखर ल्याएर मेरो मुखमा
राखिदिन भने ।
"तिम्रो मुखमा राखिदिएर हाम्रो पेट भरिन्छ ? कस्तो
ठग रहेछ यो त । हामीलाई त मूर्खै ठान्याछौ कि क्या हो
?" भोका मुसाहरू रिसाए ।
मैले भनेँ । "हेर म खेलौना हुँ । तिमीहरूलाई झैँ
मलाई भोक लाग्दैन र खानु पनि पर्दैन । एउटा सुपारी वा
ओखर ल्याएर त हेर म के गर्नसक्छु ।"
खान नपाएर दुब्लाएका मुसाहरूले सकीनसकी केही सुपारी
र ओखर मेरो अगाडि ल्याए । मैले एउटा सुपारी मुखमा राखेँ
र दाँतले टोकेर टुक्राटुक्रा पारेर मुसाहरूको अगाडि
राखिदिएँ । भोका मुसाहरूले आत्तिँदै सुपारीका टुक्राहरू
खाए । त्यसै गरी मैले आठदश वटा सुपारी र ओखर फोरेर मुसाहरूलाई
दिएँ । धेरै दिनपछि उनीहरूको पेटमा खाने कुरा परेको
हुनाले उनीहरू बोल्न र चल्नसक्ने भए ।
मुसाहरूलाई भोक लाग्यो कि ओखर र सुपारीजस्ता साह्रो
कुरा फोरेर दिनु अब मेरो नियमित काम हुन थाल्यो । उनीहरूले
मलाई माया र इज्जत पनि गर्न थाले । मेरो कुरा सुन्न
थाले । मेरो गुन सम्झना गर्दै उनीहरूले मेरो दाह्री
जुँगामा रौँ थपेर लामो बनाइदिने र मलाई दोसल्ला ओढाउने
निधो गरे ।
अर्कोतिर मलाई देखिनसहने खेलौनाहरूले पनि मैले गर्दा
उनीहरू मुसाको आहार बन्नु नपरेकोमा गुन मानेछन् । उनीहरूले
पनि मलाई काँधमा बोकेर अबिरजात्रा गर्दै बुइँगल घुमाउने
कार्यक्रम बनाए ।
मलाई सम्मान गरेको दिनमा सबैले मेरो तरिफ गरे । परोपकार
नै सबैभन्दा ठूलो धर्म हो र अर्काको लागि बाँच्ने नै
सबैभन्दा महान हुन्छ भनेर बूढो मुसाले भनेको म कहिल्यै
बिर्सन्न ।
हुनत मलाई अहिले पनि मेरो देश निक्कै माया लाग्छ ।
तर स्वदेश र्फकन नपाएकोमा अब पहिलेजस्तो दुःख लाग्दैन
। जहाँ बसे पनि आफ्नो कर्तव्य गर्ने नै हो । अब म दिक्क
भएर बस्दिन । मलाई मुसा र खेलौना सबैले माया गर्छन्
। जर्मनीमा मलाई नोन नाका वा नट क्राकर भन्थे भने यहाँ
साथीहरूले मलाई मायाले दाँते भन्छन् । काम अनुसार नाम
दिएकोमा मलाई खुशी नै लागेको छ ।
तर मलाई एउटा कुराको अझै दुःख र आशा पनि छ । मुसा र
खेलौनाहरूले मेरो महत्व बुझेर इज्जत गरे तर निमाले अझै
पनि मलाई चिन्न सकिनन् । हरेक वर्ष नेपालमा तिहार आउँछ
। तिहारमा लाखौँ सुपारी र ओखर फोरिन्छ । तर सुपारी र
ओखर फोर्न म दाँतेलाई कसैले पनि सम्झन्न । आउने तिहारमा
त पक्कै सम्झलान् र बुइँगलबाट सरेर बैठक कोठामा बस्न
पाउँला भन्ने आशा मैले मारेको छैन ।
साँचल सानेपा, ललितपुर
२०६० कार्तिक १८ गते ।
(कोपिला, कान्तिपुर बालकोसेली २०६० पुस मा प्रकाशित
। )
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |