विनय कुमार कसजुका कथा
देउताको मकै
धेरै वर्ष अघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा
रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको
एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम
जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान
परिवारबाट आएका थिए ।
उनीहरू नेपालमा आएर पनि खेतीपाती गर्न रुचाउँथे । गाउँगाउँमा
घुम्थे र नयाँ जातको रुखबिरुवा देखे भने त्यसको बिऊ
बटुल्थे । आफू बसेको डेराको सानो बारीमा पनि उनीहरूले
तरकारी उमार्थे । उनीहरू मकैको धेरै प्रकारको परिकार
बनाएर खान रुचाउँथे । उनीहरूले बेलाबेलामा मकैको केक
बनाउँथे । मकैको केक खाएर अरु शिक्षकहरू छक्कै पर्थे
।
रिडीबजारदेखि एक किलो मिटरजति माथि उकालो चढेपछि मलिलो
बारी भएको एउटा गाउँ आउँछ । त्यहाँको माटोको रंग रातो
भएकोले त्यो गाउँलाई नै रातामाटा भनिन्छ । त्यो गाउँमा
खुबै राम्रोसँग मकै फल्थ्यो । एक पल्ट त्यो गाउँमा एउटा
मकैको बोटमा अचम्मैसँग घोँगा लाग्यो । मकैको बोटको हरेक
पात निस्केको ठाउँमा मकै फलेको देखेर मानिसहरू छक्कै
परे । एउटा बोटमा दशबाह्र घोँगा मकै लागेको देखेर गाउँलेहरूले
यो देवताकै चमत्कार हो भन्ने हल्ला गरे ।
देउताको मकै भनेर कसैले पनि त्यो मकै भाँचेर खाएन ।
बरु मकैको बोटलाई पूजा गरेर धुप बालेर बोटमा रातो र
सेतो धजा बाँधिदिए । मकै पाकेपछि जग्गा धनी किसानले
वरिपरिको मकै भाँचेर स्याहारे तर त्यो मकै भाँचेनन्
।
अचम्मको मकैको हल्ला सुनेर एक दिन जोन र मार्था घुम्दै
रातामाटा पुगे । उनीहरूले मकैको बोट सामान्यभन्दा अलि
बढी सप्रेको देखे । उनीहरूले अनुसन्धान गर्न भनेर एक
घोँगा मकै किन्न मागे । तर किसानले भन्यो, "देउताको
मकै हो । म त भाँच्दिन ।"
जोनले सय रूपैयाँको नोट देखाएपछि किसानले आफै भाँचेर
लैजाने भए लैजाउन भन्यो । जोनले पनि एक सय रूपैया दिएर
एक घोँगा मकै भाँचेर लिए । बाकी मकै बारीमा त्यसै सुकेर
कौवाले खाएर सिध्याइदियो ।
केही महिनापछि जोन र मार्था दुबै जना अचानक बिरामी
परे । रिडीबजारसम्म मोटर बाटो नबनेको हुनाले हेलिकप्टर
आएर उनीहरूलाई लिएर गयो । त्यसपछि रिडीबजारमा धेरै जना
पिसकोर स्वयंसेवकहरू आए, गए । रिडी बजारका बासिन्दाहरूले
उनीहरूलाई बिस्तारै बिर्से ।
झण्डै पच्चिस वर्षपछि मार्था र बुल फेरि रिडीबजारमा
आए । त्यस बेला रिडीमा मोटर बाटो बनिसकेको थियो । तैपनि
उनीहरू हेलिकप्टरमा चढेर आए । उनीहरूले बीसबाइस वर्षको
छोरा पनि सँगै ल्याएका थिए ।
पच्चिस वर्षपछि जोन र बुला निक्कै फेरिइसकेका थिए ।
उनीहरू सरासर हाई स्कुल कहाँ छ भन्दै सोद्धै स्कुलको
आफिसमा पुगे । उनीहरू आफैले आफ्नो परिचय दिए पछि मात्रै
पुराना शिक्षकहरू र बजारका बूढापाकाहरूले उनीहरूलाई
चिने । त्यस बेला उनीहरूलाई चिन्ने मानिस रिडीमा कमै
थिए ।
त्यति बेला रिडी हाई स्कुलको वाषिर्क उत्सवको तयारी
हुँदै थियो । उनीहरू वाषिर्कोत्सवको अवसर पारेर आएका
रहेछन् । वाषिर्क उत्सवको अवसरमा उनीहरूले स्कुललाई
कहिल्यै बिर्सन नसकिने अपत्यारिलो उपहार दिए । उनीहरूले
हाई स्कुलको नयाँ भवन बनाउन पचास लाख रूपैयाँ चन्दा
दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई पढाउनको
लागि अमेरिकामा बुल फाउण्डेसन नामक कोषको स्थापना गरेको
कुरा सुनाए । साथै हरेक वर्ष पाँच जना जेहन्दार विद्यार्थीहरूलाई
अमेरिकामा लगेर पढाउने घोषणा गरे ।
बुल दम्पतीको उदारता देखेर रिडीबजारका बासिन्दाहरू
छक्कै परे । तर अझै छक्क पार्ने कुरा त अर्कै थियो ।
जोन बुलले भन्यो, "तपाइँहरूले देउताको मकै फलेको
घटना बिर्सिसक्नु भयो होला । तर त्यही मकैले गर्दा हाम्रो
भाग्य चम्क्यो । त्यो एक घोँगा मकै हामीले हाम्रो देशमा
लगेर अनुसन्धान गर्यौँ । त्यहाँ लगेर पनि त्यस्तै भयो
। हरेक पातसँग एक घोँगा मकै फल्यो । हामीले त्यो मकैको
बिऊ उत्पादन गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौँ
र त्यसको बिऊ उत्पादन गरेर बेच्न थाल्यौँ । किसानहरूले
हाम्रो मकैको बिऊ निक्कै रुचाए । हाम्रो मकै बिऊ कम्पनी
खुबै चल्यो । फलस्वरूप हामी यत्रो सम्पत्ती कमाउन सफल
भयौँ । यदि हामी यहाँ नआएको भए हामी अहिले सामान्य किसान
नै हुने थियौँ । म यो ठाउँ र यहाँका बासिन्दा तपाइँहरू
प्रति आभारी छु । यो ऋणको बोझ हलुँगो पार्न म यहाँ आएको
हुँ ।"
जोनको कुरा सुनेर सबै जनाले ताली बजाए । मार्थाले थपिन्,
"त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन
पनि अटुट रह्यो । मकैको बिऊको पेटेन्ट अधिकार हामी दुबैको
नाममा संयुक्त रूपमा भएको हुनाले हामी कहिल्यै छुट्टिएनौँ
। हाम्रो छोरा टनी बुललाई तपाइँहरूको देशमा ल्याउन पाउँदा
मलाई कत्ति खुशी लागेको छ । टनी पनि निक्कै खुशी छ ।"
जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई
भेटेर उपहार दिन खोजे । तर किसानको परिवार ऋण लागेर
घरखेत बेचेर मधेस झरिसकेको रहेछ । उसको बारेमा गाउँमा
कसैलाई पनि थाहा रहेनछ । यो कुरा सुनेर उनीहरूलाई साह्रै
दुःख लाग्यो ।
सौराहा, चितवन
२०५७ माघ १२
(नवयुग मासिक, वर्ष१४, अंक ५, २०६० चैतमा प्रकाशित
।)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |