विनय कुमार कसजुका कथा
छेपारोको फुल
"ए नफुटाल्" भन्दा भन्दै सरुले छेपाराको फुल
फुटाइहाल्यो ।
सरुका बा बारीमा तरकारी रोप्न कुटोले माटो खुकुलो पार्दै
थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा
खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरू
१५?२० वटा भेटिए !
"बा, के हो यो ?" सरुले उत्सुक भएर सोध्यो
।
"छेपाराका फुल यही हो थाहा पाइराख ।" बाले
भने ।
"किन त गिलो छ नि ? पुड्के च्याउ जस्तो पो छ त
! " सरुले एउटा फुल हातमा लिँदै सोध्यो ।
"छेपाराको फुल यस्तै हुन्छ ।" बाले भने ।
"छेपारी कसरी ओथारो बस्छे त बा !" सरुले
जान्न खोज्यो ।
बाले बेलिविस्तार लगाउँदै भने, "हेर र्सपले झैँ
छेपाराले पनि माटामुनि फुल पार्छ र छोड्छ, ओथारो बस्दैन
। समय पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छन् ।"
"यसभित्र बच्चा छ त बा ?" भन्दै सरुले एउटा
फुल कोदालीले थ्याच्च थिचिदियो । बाले रोक्ने मौकै पाएनन्
।
फुलबाट सेतो झोल र पूरा नबनेको छेपारोको बच्चा निस्क्यो
। सरुले "छ्या" भन्दै माटाले ढाक्न खोज्यो
।
"के गरेको सरु यस्तो ?" बाले रिसाउँदै भने
"यस्तो नकाम पनि गर्न हुन्छ ?"
बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो । "छेपारो
विषालु हुन्छ हैन र बा ? यसले टोक्यो भने मरिन्छ भन्छन्
नि ! यस्तो शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा
?"
छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले, "हेर
छेपारो हाम्रो शत्रु हैन मित्र हो । किनभने यसले बारीमा
तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेंग्रा खाइदिन्छ
। स्कूलमा तिमीलाई यस्तो कुरा सिकाउँदैनन् र ?"
सरोवरले "थाहा छैन" भन्ने भावले टाउको हल्लायो
र फुल फुटाएकोमा पछुतो मान्यो । बाबु छोरा मिलेर बाँकी
फुल माटोले राम्ररी ढाकिदिए ।
भरे सुत्ने बेलामा पनि सरोवरको मनमा छेपाराको कुरा
खेलिरहेको थियो ।
सरुले झयालमा रातो टाउको भएको छेपारोले आफुलाई हेरिरहेको
देख्यो । ऊ डरायो । तर छेपारोले टाउको तलमाथि गरेर केहीबेर
चलाएर आँटा चिम्लेको देखेपछि उसको डर घट्यो ।
"सरु बाहिर आऊ न बारीमा खेल्न जाउँ न ।"
सरुले मीठो आवाजमा कसैले डाकेको सुन्यो । तर त्यहाँ
छेपारो बाहेक अरु कोही थिएन । ऊ उठ्यो र झयालतिर गयो
। छेपारो फुत्त उफ्रेर झ्यालबाहिर सुन्तलाको हागाँमा
पुग्यो ।
सरुले सुन्तलाको बोटमाथि हेर्यो । त्यहाँ सुन्तलाको
फूल भर्खरै फुल्न लागेको थियो । तर पतेरा लागेर फूललाई
हानी पुर्याइरहेको थियो । सरुले त्यहाँ दसपन्ध्र ओटा
छेपाराहरू देख्यो । ती छेपाराले सुन्तलाका फूल र पातमा
लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए ।
छेपाराहरू सुन्तलाका हाँगा हाँगामा उफ्रँदै खेल्दै
पतेरा खाँदै रमाइरहेका थिए । सरुले दिउँसो छेपाराका
फुल फुटाएकोमा निक्कै पछुतो मानिरहेको थियो । यत्तिकैमा
उसले छेपाराहरू कुरा गरिरहेको सुन्यो ।
"हेर यसपाली यो बारीमा कीरा सबै सखाप पार्नु पर्छ
।" एउटाले भन्यो ।
"हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखवारी
गर्ने !" अर्को छेपारोले कुरा काट्यो ।
"हैन त्यो सानो बाबुले त अन्जानमा फुटालेको हो
। पछि जतन गरेर अरु फुल त माटाले ढाकिदियो नि । अन्त
भए फुल जम्मै फालिदिन्थे वा अरु जीवले खाइदिन्थे, यो
ठाउँका मान्छेले हाम्रो काम बुझेका छन् यसैले अब हामी
सँधै यही बस्नुपर्छ ।" पहिलो छेपारोले भन्यो ।
यी कुरा सुनेर सरोवर अनायास चिच्यायो, "हुन्छ
हुन्छ । अब म तिमीहरूलाई केही गर्दिन ।"
सरोवर निद्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन्,
"के भनेको ? के गर्दिन भनेको सरु ?"
सरुको निद्रा खुल्यो । ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो
।
(बालपत्रिका मुना मासिक, वर्ष२, अंक ९, भदौ २०४९ मा
प्रकाशित ।)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |