विनय कुमार कसजुका कथा
बिरालोको बनबास
सुरी बिरालो कसैको घरको पाल्तु बिरालो होइन । ऊ सहरको
एउटा बाक्लो बस्तीमा बस्थ्यो । दिनभरि घरघर चाहार्थ्यो
। कसैको घर र भान्छामा झ्याल ढोका खुला देख्ने बित्तिकै
ऊ लुसुक्क भित्र पस्थ्यो र त्यहाँ भएको दूध, मासु, माछा
चट पार्थ्यो । यसरी उसको गुजारा चलिरहेको थियो ।
तर केही समयदेखि उसलाई पेट भर्न गाह्रो हुन थालेको
थियो । चोरको डर र असुरक्षाले गर्दा मानिसहरू घरका ढोकाहरू
बलियो बनाएर सँधै बन्द गरेर राख्न थालेका थिए । झ्यालहरूमा
पनि फलामका जाली राखेर हावामात्रै छिर्नसक्ने बनाइएका
थिए । बजारमा माल सामान महँगो भएकोले मानिसहरूले अन्न
दाल र तरकारी आदि खाद्य सामग्री बडो सुरक्षित गरी राख्थे
। घरभित्र मुसा आउन नदिन विभिन्न उपाय गर्थे । सुरीलाई
भान्छामा पस्न निकै गाह्रो थियो । मुसा पनि पाइन छाडेको
थियो ।
फलस्वरूप सुरीलाई आगनमा र फोहोर फाल्ने ठाउँमा फालिएका
बासी र फ्याँकिएका खानेकुराहरू खाएर गुजारा गर्नु पर्यो
। फोहोर फाल्ने ठाउँमा पनि कुकुर र कौवासँग जम्काभेट
हुन्थ्यो । कुकुरले सुरीलाई देखी सहँदैनथ्यो । तर कौवासँग
भने ऊ डराउँदैनथ्यो । बिस्तारै कौवासँग उसको मितेरी
बढन थालेको थियो ।
सुरी खान नपाएर दुब्लाउँदै गएको देखेर कौवालाई टिठ
लाग्यो । एक दिन उसले भन्यो, "ए सुरी, तिमी यहाँ
दुःख पाएर बस्नुभन्दा बनमा गएर किन आरामसँग बस्दैनौ
? बनमा तिमी जस्तै थुप्रै जानवरहरू मजासँग बसेका छन्
। तिम्रै साइनो पर्ने बनबिरालाहरू पनि माछामासु खाएर
आरामसँग बाँचेका छन् । कुकुरले तिमीलाई देखी सहन्न ।
तिमी यहाँ यसरी हेपिएर बसेको देख्दा मलाई त साह्रै दुःख
लाग्यो । तिमी बनमा गएर बस्छौ भने मैले तिमीलाई त्यहाँ
पुर्याइदिन सक्छु । बनमा मेरा साथीहरू पनि छन् । उनीहरूले
पनि तिमीलाई सघाउने छन् ।"
कौवाको कुरा सुनेर बिरालोलाई बनमा जाने इच्छा त जाग्यो,
तर उसले बनमा बाघ, चितुवा, भालु, स्यालजस्ता डरलाग्दा
र हिंसक जानवरहरू हुन्छन् । तिनले भेट्टायो भने मारेर
खान्छन् भन्ने सुनेको थियो । यसैले उसले बिरालोसँग सोध्यो,
"कौवा भाइ, तिम्रो कुरा सुन्दा त बनमा जानु बेसै
होला जस्तो लाग्यो । तर त्यहाँ बाघ, भालु, चितुवा, स्याल,
बँदेलजस्ता डरलाग्दा जीवजन्तु छन् भन्छन् । तिनले मलाई
बाकी राख्लान् ?"
कौवाले भन्यो, "तिम्रो कुरा ठिक हो । त्यहाँ डरलाग्दा
जानवरहरू छन् । तर मर्ने मार्ने डर कहाँ छैन र ? यहाँ
पनि त कुकुरले भेट्टायो भने तिमीलाई बाकी राख्दैन ।
बनमा पनि त्यस्तै हो । त्यहाँ धेरै साथीहरू बनायो भने
खतराबाट जोगिन त्यति गाह्रो छैन । खरायो र मृगजस्ता
सोझासिधा जानवर पनि त त्यहाँ मजासँग बाँचेकै छन् । हो,
त्यहाँ अरुसँग मेलमिलाप गरेर बस्न जान्नुपर्छ । शत्रुबाट
जोगिने उपाय जहाँ पनि त्यही हो ।"
कौवाको कुरा सुरीलाई चित्त बुझ्यो । एक दिन कौवाको
पछि लागेर सुरी बनमा पुग्यो । बनमा सुरीलाई देखेर न्याउरीमुसा,
खरायो, भ्याकुर, ढुकुर, जुरेलीजस्ता चराहरू डराए । तिनीहरू
झयाङ र झाडीहरूमा लुक्न गए । कौवाले ठूलोठूलो स्वरले
आफ्ना साथीहरूलाई डाक्यो ।
एकै छिनमा बनको माझमा कौवा र बिरालोको वरिपरि चराहरू
भेला भए । कौवाले सबैसँग बिरालोको परिचय गरायो । उसले
बनमा बिरालोलाई बस्ने व्यवस्था कहाँ गर्ने भनेर अरुसँग
सल्लाह गर्यो ।
न्याउरीमुसाले सुझाव दियो, "यहाँबाट पश्चिमतिर
एउटा ठूलो फँडेरको बोट छ । त्यसमा एउटा ठूलो टोडको छ
। अहिलेलाई सुरी त्यहीँ बस्नु बेस होला ।"
न्याउरीमुसाको कुरा सुनेर ढुकुरले भन्यो, "तर
त्यो रुखको टुप्पामा त चिलले गुँड बनाएको छ । उसले त्यहाँ
बस्न देला र ?"
"त्यो फँडेरको रुखमा त अस्ति मैले एउटा कालो सर्प
देखेको थिएँ । त्यो सर्प त्यही टोडकोमा पो बस्छ कि के
थाहा ? त्यहाँ बस्नु सुरीलाई बेस होलाजस्तो मलाई लाग्दैन
।" जुरेलीले थप्यो ।
सबैको कुरा सुनेपछि कौवाले भन्यो, "मेरो बिचारमा
सुरी अहिले फँडेरको टोडकोमा बस्नु नै बेस होला जस्तो
लाग्यो । किन भने अहिले चिलले गुँडमा चल्ला कोरल्न लागेको
छ । कालो सर्प उसको फुल खान त्यहाँ गएको हुनुपर्छ ।
चिलले देख्यो भने उसलाई बाकी राख्दैन । सायद चिलले सर्पलाई
मारि पो सक्यो कि । तैपनि, आफ्नो फुल र चल्लालाई सर्पबाट
जोगाउन र ऊ चारो खोज्न गएको बेलामा उसको गुँडको रेखदेख
गर्न चिललाई एक जना धराले भए बेसै हुन्छ । सुरीले यो
काम गरिदियो भने त उसलाई चिलले नै पाल्न पनि सक्छ ।"
"यो त साह्रै राम्रो उपाय भयो ।" अरु जीव
र चराहरूले कौवाको कुरामा सही थापे । तर सुरी कहिले
पनि टोडकोमा बास बसेको थिएन । उसलाई डर पनि लाग्यो ।
सहरमा घरभित्र न्यानो भुँग्रोमा वा थाङनामा सुत्ने उसको
बानी थियो । उसले टोडकोमा बस्ने सुविधा कस्तो होला भनेर
सोध्यो ।
कौवाले सहरमा सुरी कसरी बस्ने गर्थ्यो भन्ने कुरा बनका
साथीहरूलाई सम्झायो । कौवाको कुरा सुनेर चराहरूले तुरुन्तै
सुकेका घाँस र झिंजाहरू बटुलेर फँडेरको रुखको टोडकोमा
थुपारे । गुँड बनाउन सिपालु ढुकुरले सुकेका घाँस र झिँजा
राम्ररी मिलाएर सुरीका लागि न्यानो ओछ्यान बनाइदियो
।
चराहरूले चिललाई पनि सुरीको कुरा सुनायो । सुरुमा त
उसलाई आफू बस्ने रुखमा बिरालोलाई बस्न दिने कुरा चित्त
बुझेन । तर कौवाले बिरालोले उसका चल्ला र गुँडको रखवारी
गर्छ भनेपछि ऊ चुपलाग्यो । तैपनि कतै बिरालो भोकाएको
बेलामा चल्लामाथि आँखा गाडने त होइन भनेर उसले शंका
गर्यो । उसले भन्यो, "मेरा चल्लामाथि आँखा गाडेको
थाहा पाएँ भने मैले बिरालोलाई बाकी राख्ने छैन । यो
कुरा उसलाई राम्ररी सम्झाइदिनू ।"
चिलको चुच्चो र नंग्रा कति तिखा र बलिया हुन्छन् भन्ने
सुरीलाई थाहा थियो । उसलाई एक पल्ट गोठको छानामा सुतेको
बेलामा एउटा चिलले झम्टेको थियो । त्यसको दाग उसको जिऊमा
नमेटिने गरी कोरिएको थियो ।
रात परेपछि सुरी रुखको टोडकोमा सुत्न गयो । ऊ टोडको
भित्र पस्न लाग्दा एउटा सानो जीव आत्तिएर बाहिर निस्क्यो
र रुखबाट उफ्रेर भुइँमा पछारियो । टोडको खाली र न्यानो
देखेर बनको कुनै जीव त्यहाँ बस्न थालिसकेको रहेछ । सुरी
बिस्तारै भित्र पस्यो र सुकेका घाँसको ओछ्यानलाई खुट्टाले
चाँपेर मिलाएर त्यसमाथि बस्यो ।
टोडकोभित्र निस्पट्ट अँध्यारो थियो । सहर बजारमा जस्तो
बिजुली त्यहाँ थिएन । सुरीलाई निद लागेन । उसलाई एक
मन किन कौवाको कुरामा लागेर बनमा बस्न आएँ हुँला भनेर
पछुतो पनि लाग्यो । रात छिप्पिँदै थियो । सुरीको मनमा
कुरा खेलिरहेको थियो । यत्तिकैमा एउटा ठूलो चरा आएर
जोडले पखेट भ्याटभ्याट गर्दै टोडकोको बाहिर हाँगामा
बस्यो । सुरी निक्कै डरायो । उसले चालमारेर टोँडकाबाट
बाहिर हेर्यो ।
चिल जत्रै एउटा लाटोकोसेरो मुसा, किराफटेंग्रा खोज्न
निस्केको रहेछ । लाटोकोसेरो दिनभरि सुत्छ र रात परेपछि
मात्रै ऊ चारो खोज्न निस्कन्छ । किनकि उसले दिउँसोभन्दा
राती राम्ररी देख्नसक्छ भन्ने सुरीलाई थाहा थियो । राती
मुसा मार्न ऊ सहर बजारमा पनि पुग्थ्यो । कहिलेकाहीँ
राती मुसा खोज्न निस्कँदा सुरीसँग लाटोकोसेरोको जम्काभेट
हुन्थ्यो ।
लाटोकोसेरोका तीखा आँखाले टोडकोभित्र बिरालो भएको थाहा
पायो । सहरबजारमा बस्ने बिरालो कसरी बनमा आयो भनेर ऊ
छक्क पर्यो । त्यो टोडकोमा उसले बसाइ सर्ने बिचार गरेको
थियो । बिरालो आएर बसिसकेको थाहा पाएर उसलाई रिस पनि
उठ्यो । तर बिरालोसँग ऊ जोरी खोज्न सक्तैनथ्यो । ऊ हुकुक्,
हुकुक् गर्दै ठूलो स्वरले करायो र फेरि भ्याटभ्याट गदै
त्यहाँबाट उडेर अर्को रुखको हाँगामा बस्न गयो । सुरी
सुकेको घाँसको ओछ्यानमा पल्टेर निदाउने कोशिस गर्यो
।
सुरीले आँखा खोल्दा बाहिर उज्यालो भइसकेको थियो । चराहरू
फँडेरको रुखको हाँगामा बसेर गीत गाइरहेका थिए । सुरी
कहिले बाहिर निस्कला भनेर कौवा का का गदै पर्खिरहेको
थियो । सुरी आँखा मिच्दै बाहिर आयो । राती अबेलासम्म
निदाउन नसकेकोले बिहान सबेरै उठ्न नसकेको कुरा उसले
साथीहरूलाई सुनायो ।
कौवाले सुरीलाई बन देखाउन लिन आएको रहेछ । उनीहरू सबैभन्दा
पहिले बनको बीचमा बग्ने खोलामा गए । खोलामा बिरालोजस्तै
तर पानीभित्र पसेर माछा समात्ने जीव ओतहरू पौडिखेल्दै
माछा मारिरहेका थिए । कौवाले उनीहरूसँग सुरीको परिचय
गराइदियो । ओतहरूले सुरीलाई पानीमा आएर माछा मार्न निम्त्याए
। सुरीलाई पानीमा पस्न डर लाग्यो । ऊ कहिल्यै पौडी खेलेको
थिएन । सुरीले छिपछिपे पानीमा खेलिरहेका सानासाना माछाहरू
समातेर चित्त बुझायो । धेरै बेर मेहनत गरेपछि सुरीले
चारपाँच वटा भुरा माछा समात्न सक्यो । त्यति माछा सुरीलाई
एक गाँस पनि हुँदैनथ्यो । फर्कने बेलामा ओतहरूले सुरीलाई
केही ठूला माछा दियो । सुरी दंग पर्यो ।
सुरीले कौवालाई पनि माछा खान दियो र आफूले पनि खायो
। त्यसपछि कौवा र सुरी खोलाको किनारै किनार बनको माथिल्लो
भागमा घुम्न गए । अलि माथि डाँडाको काखमा ओडारहरूतिर
देखाउँदै कौवाले भन्यो, "तिमी सकेसम्म त्यतातिर
नजानु । ती ओडारहरूमा बाघ, चितुवा, स्यालहरू बस्छन्
। खोलापारि बन बिरालो बस्छ । ओतहरूले माछा मारेको ठाउँमा
कहिलेकाहीँ मानिसहरू पनि माछा मार्न र गाई भैँसीलाई
पानी ख्वाउन आउँछन् । चितुवाले गाई बाख्रा खाइदियो भने
गाउँका मानिसहरू चितुवा मार्न आउँछन् । त्यसबेला उनीहरूले
चितुवा मात्रै होइन बनका जीवजन्तु जसलाई पाए पनि मार्छन्
। त्यस बेला मानिसहरूसँग जोगिन गाह्रो हुन्छ ।"
कौवाको कुरा सुरीलाई रमाइलो लाग्यो, किनकि उसलाई मानिससँग
डर लाग्दैनथ्यो ।
यसरी सुरी कौवासँग धेरै बेर बनमा डुल्यो । भोक लागेको
बेलामा कहिले जंगली मुसा, कहिले माछा, कहिले भ्यागुता
खायो । कौवाले उसलाई अरु जीवजन्तु र चराहरूसँग पनि परिचय
गराइदियो । बनका बाटाहरू पानीका मुहान र खोल्साहरू,
बँदेल र दुम्सी बस्ने ओडारहरू देखाइदियो । पँधेरा र
खहरेमा लगेर भ्यागुता र गँगटा समात्न सिकायो । दिनभरि
डुलेपछि उनीहरू सुरी बस्ने फँडेरको रुखमा फर्के । कौवाले
अरु पशुपंछीलाई पनि डाक्यो । फँडेरको रुख मुनि बसेर
उनीहरूले दिनभरि कसले के गर्यो भनेर सुनाए ।
भोलिपल्ट बिहानै चिलले सुरीलाई बोलायो र भन्यो, "सुरी,
आज म चारो खोज्न अलि टाढा जान्छु । म नभएको बेलामा कालो
सर्प आउला होस गर्नु । तिमीले सकेनौ भने अरुसँग पनि
मदत माग्नु ।"
तर सर्पसँग बिरालो कहिल्यै लडेको थिएन । लाटोकोसेरोले
सर्पलाई मार्न त सक्थ्यो तर ऊसँग सुरीले चिनजान र मितेरी
गरिसकेको थिएन । अर्को कुरा लाटोकोसेरो राती मात्रै
सिकार खेल्न निस्कन्थ्यो । चिलका चल्लालाई सर्पबाट जोगाउने
काम सुरीलाई गाह्रो लाग्यो । उसले चिलसँग सोध्यो, "चिल
दिदी, सर्पसँग अहिलेसम्म म लडेको छैन । उसँग लड्न पर्यो
भने कसको मदत माग्नु पर्ला ?"
चिलले आँखा ठूलो पार्दै जवाफ दियो, "यति सजिलो
कुरा पनि तिमीलाई थाहा रहेनछ । सर्पको एक नम्बरको शत्रु
न्याउरीमुसा हो । ऊसँग गुहार मागे भइहाल्छ ।"
तर सुरीलाई देखेर न्याउरीमुसा डराउँथ्यो । न्याउरीसँग
सुरीको चिनजान भइसकेको थिएन । यसैले सुरी दगुर्दै कौवाकहाँ
गयो र चिलसँग भएको सबै कुरा सुनायो । कौवाले सुरीलाई
न्याउरीमुसाको दुलो छेऊ लिएर गयो ।
न्याउरीमुसा फँडेरको रुखदेखि केही पर बरको रुखमुनि
बस्थ्यो । उसलाई बरको बोटमा फल्ने राता र पहेँला गेडा
खुबै मिठो लाग्थ्यो । कौवाले बोलाएको सुनेर ऊ दुलोबाट
बाहिर निस्क्यो । तर बाहिर बिरालोलाई देख्ने बित्तिकै
ऊ दुलोभित्रै फक्र्यो र भित्रबाटै कौवालाई भन्यो, "तिमीले
मलाई झुक्याएर मार्न आँट्यौ कि क्या हो ? किन मेरो घरमा
मेरो शत्रुलाई लिएर आएको ? मेरो घर देखेपछि अब उसले
मेरो वंश नै सखाप पार्न बेर लाउने छैन ।"
"मिज्जु, तिमी डराउनु पर्दैन । ऊ कुनै जंगली बिरालो
होइन । उ त मेरो साथी सुरी हो । सहरबाट आएको । निर्धक्क
भएर बाहिर आए हुन्छ । अनि सँगै बसेर अरु कुरा गरौँला
।" कौवाले भन्यो ।
कौवाको कुरामा विश्वास गरेर न्याउरीमुसा बाहिर आयो
। कौवाले सुरीसँग उसको परिचय गराइदियो । सुरी र न्याउरीमुसाले
आपतविपत पर्दा एकअर्कालाई सघाउने बाचा गरे । सुरीले
कालो सर्पको बारेमा न्याउरीलाई भन्यो । न्याउरीले भन्यो,
"हो, त्यो कालो सर्प केही दिन भयो यतैतिर आएको
छ । कुनै ठूलो बिज्याइँ नगरेसम्म त उसलाई मार्न भएन
। तर तिमीलाई दुःख दिनथाल्यो भने मैले उसलाई बाकी राख्दिन
। परेको बेलामा बोलायौ भने म आइहाल्छु ।"
न्याउरीमुसाको सहयोग पाउने भएपछि सुरी ढुक्क भयो र
घरतिर लाग्यो ।
नभन्दै दिउँसो चिल बाहिर गएको बेलामा कालो सर्प फँडेरको
रुखमा आयो । त्यस बेला सुरी खाने कुरा खोज्न अलि पर
गएको थियो । कालो सर्पले सुरी बसेको टोडकोभित्र चियायो
। त्यहाँ कोही नदेखेपछि ऊ माथि चढ्यो । सर्प चिलको गुँडतिर
जान लागेको देखेर जुरेली करायो । जुरेली जोडले कराएको
सुनेर सुरी बिरालो आत्तिँदै आफू बसेको फँडेरको रुखमा
पुग्यो । उसले परैबाट मोटो कालो सर्प रुखको टुप्पामा
पुग्न लागेको देख्यो ।
सर्पलाई धपाउन सुरी छिटोछिटो रुखमा चढ्न थाल्यो । तर
आत्तिएर हतारमा चढा ऊ बीचैमा नपुग्दै चिप्लिएर भुइँमा
खस्यो । सर्प चिलको गुँडमा पुग्नै आँटेको थियो । बिरालोले
न्याउरीमुसालाई सम्झ्यो र चिच्याएर उसँग गुहार माग्न
थाल्यो । संयोगले न्याउरीमुसा घरैमा रहेछ । ऊ दगुर्दै
आयो । बिरालोले रुखको टुप्पामा कालो सर्प देखायो ।
कालो सर्प सरासर रुखको टुप्पामा पुग्यो । उसले चिलको
गुँडमा चल्लाहरू देख्यो । ती चल्लाहरू चारा खोज्न गएकी
आमालाई पर्खेर बसेका थिए । कालो सर्पलाई देखेर तिनीहरूले
आफ्नी आमा फर्केजस्तो ठाने । तिनीहरूले चारो खानको लागि
मुख बाउन थाले । यही मौका छोपेर कालो सर्पले एउटा चल्लालाई
गाँज्यो । शिकार मुखमा राखेर ऊ बिस्तारै फर्क्यो र रुखबाट
ओर्लन थाल्यो ।
यही बेला न्याउरी मुसा रुखको टुप्पामा पुग्यो र सर्पको
पछिल्तिरबाट उसको घाँटी अँठयायो । न्याउरीको अचानकको
हमलाले सर्प आत्तियो । सर्पको मुखमा चल्ला भएको हुनाले
ऊ न्याउरीमाथि जाई लाग्नसकेन । सर्प र न्याउरी दुबै
रुखबाट भुइँमा पछारिए । सर्प सम्भालिन नपाउँदै न्याउरी
फेरि सर्पमाथि जाइलाग्यो । उसले सर्पको घाँटी बेस्सरी
अँठयायो । सर्पले बेस्सरी पुच्छर हल्लायो र छटपटाउन
थाल्यो । धेरै बेर घाँटी अँठ्याएपछि सर्प चल्मलाउन छाड्यो
।
कालो सर्प मरेकोमा चराहरूले खुशी मनाए । उनीहरूले न्याउरीमुसा
र बिरालोको निक्कै गुन माने । न्याउरीको मितेरी देखेर
बिरालो दंग पर्यो तर चिलको एउटा चल्ला मरेको हुँदा अब
कसरी चिललाई मुख देखाउने होला भनेर ऊ निक्कै चिन्तित
भयो ।
साँझपख चारो बोकेर चिल गुँडमा आयो । उसले आफ्नो गुड
लथालिंग भएको, चल्लाहरू डरले गुटुमुटु परेर बसेको देख्यो
। एउटा चल्ला घटेको पनि उसले थाहा पायो । उसले बिरालोमाथि
नै शंका गर्यो । उसलाई सुरी बिरालोसँग रिस उठयो । चल्लाहरूलाई
चारो नख्वाइकन ऊ सुइँइँय उडेर रुखको टोडकामा पुग्यो
। टोडकोभित्र बिरालो दुःखी भएर बसिरहेको थियो । चिल
आएको थाहा पाएर सुरी बिस्तारै बाहिर निस्क्यो । तर ऊ
टोडकोबाहिर पूरा निस्कन नपाउँदै रिसाएको चिलले उसलाई
तीखा नंग्राले च्यापेर आकाशतिर उडायो । बिचरा सुरी म्याउँम्याउँ
गर्दै गुहार माग्न थाल्यो ।
चिलले बिरालोलाई आकाशतिर लगेको देखेर जुरेली आत्तियो
। ऊ कौवालाई खोज्न गयो । कौवा गाउँबाट सुरीको लागि खाने
कुरा लिएर आउँदै थियो । जुरेलीको कुरा नटुँगिदै कौवा
पनि आकाशतिर उडयो । उसले चिललाई निक्कै माथि आकाशमा
पुगेको देख्यो । त्यहाँबाट चिलले बिरालोलाई खसालिदियो
भने त उसको हाडखोर पनि बाकी रहने थिएन । कौवा आत्तिँदै
चिल भएतिर हानियो ।
कौवा चिलको नजिक पुग्दा चिलले बिरालोलाई थुंगिरहेको,
बिरालोको टाउकोबाट रगत बगिरहेको देख्यो । उसले रिसाएको
चिललाई बास्तविक कुरा भनेर सम्झाउने कोशिस गर्यो । सुरुमा
त सर्पले उसको चल्ला मारेको कुरा चिलले पत्याएन । तर
मरेको सर्प देखाइदिने बाचा गरेपछि उसको रिस अलिकति घट्यो
। तैपनि सुरी हुँदाहुँदै सर्पले कसरी रुखमा चढने मौका
पायो ? यसमा उसको पनि दोष छ भन्यो । कौवाले चिलका चल्लाहरूको
रक्षा गर्न बिरालोले न्याउरीमुसासँग मितेरी गरेको कुरा
सुनाएपछि ऊ अलि नरम भयो । त्यसपछि उनीहरू बिस्तारै भुइँमा
ओर्लन थाले ।
बनको बीचमा फँडेरको रुखमुनि न्याउरीमुसा, जुरेली, ढुकुर
र अरु चराहरू बिरालोको दुर्दशामाथि चिन्तित भएर बसिरहेका
थिए । उनीहरूको नजिकै मरेको सर्प लम्पसार परेको थियो
। भुइँमा आइपुग्दा बिरालोको सास बाकी थियो । न्याउरीमुसाले
उसको घाउ सफा गरेर "मिज्जु, कस्तो छ तिमीलाई ?"
भनेर सोधेपछि उसले मधुरो स्वरमा म्याउँ गर्यो ।
भुइँमा सर्पको लास र वरिपरि न्याउरीमुसा र चराहरूलाई
देखेपछि चिलको रिस मर्यो । तर सर्पको मुखमा आफ्नो प्यारो
चल्लालाई देखेपछि उसले आँसु थाम्न सकेन । उसको चल्लालाई
सर्पबाट जोगाउन नसकेकोमा बिरालोको तर्फबाट कौवाले माफी
माग्यो । न्याउरीमुसा र अरु चराहरूले पनि चिललाई सम्झाए
। त्यसपछि चिल आफ्ना बाकी चल्लालाई आहार ख्वाउन बिस्तारै
रुखको टुप्पातिर उड्यो ।
घाइते बिरालो तंग्रिन केही दिन लाग्यो । उसलाई कौवा,
न्याउरीमुसा र चराहरूले मिलेर हेरबिचार गरे । उनीहरूले
बनबाट जडी बुटी ल्याएर उसको घाऊमा लगाइदिए । ओतहरूले
माछा पठाइदिए । चिलले पनि चल्लाको लागि ल्याएको माछा
र मासुमध्ये अलिकति सुरीलाई पनि दिन थाल्यो ।
सुरी बलियो भएर हिँडनसक्ने भएपछि उसले बनका साथीहरूलाई
आफू सहर फर्कने बिचार सुनायो । बनको चरा बनमै रमाएझैँ
सहरको बिरालो सहरमै रमाउने रहेछ भन्ने कुरा सुरीका साथीहरूले
बुझिसकेका थिए । यसैले उनीहरूले मन गह्रुँगो गरेर सुरीलाई
बिदा दिने निधो गरे । उनीहरूले सुरीलाई बेलाबेलामा उनीहरूसँग
बनमा भेट्न आउने बाचा गराए । कौवाले बनका साथीहरू र
सुरीको बीच संचोबिसंचोको खबर पुर्याउने कबुल गर्यो ।
बनबाट बिदा हुने बेलामा सुरीलाई न्याउरीमुसाले एक थैली
ओखर र सुपारी उपहार दियो । चिलले मासुको सुकुटी दियो
। ओतहरूले सुकेका माछाको भारी नै दिए । चराहरूले शुभकामना
दिए । अनि कौवालाई अधि लाउँदै पिठयुँमा उपहारहरूको भारी
बोकेर सुरी सहरतिर लाग्यो ।
साँचल, सानेपा, ललितपुर
२०६१ जेठ २६ गते ।
(मुसालाई दोसल्ला बालकथा संग्रहमा प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |