a presentation of Dreams & Ideas

         
     
   

विनय कुमार कसजुका कथा

भालेले घडी किन्यो

मुखियाको घरमा समय बताउने काम गर्नु गाह्रो छ भन्ने कुरा गाउँका भालेहरूलाई थाहा थियो । ठिक समयमा नबास्ने भालेलाई उनले तरकारी बनाएर खान्थे । भैरवलाई भाकल गरेको भालेलाई पनि छाड्दैनथे । उनी भालेको डाकमा उठेर पँधेरामा नुहाउन जान्थे । सबै काम ठिक समयमा गर्न खोज्थे । उनको घरमा भाले र कुखुराहरू खाली हुन्नथ्यो । उनलाई बिल्कुल ठिक समयमा बास्ने भाले चाहिन्थ्यो ।

मुखियाको बानी गाउँमा सबैलाई थाहा थियो । गाउँलेहरूले उनलाई घण्टा घण्टामा बज्ने घडी किन्ने सल्लाह नदिएका होइनन् । तर उनी भन्थे, "घडीभन्दा भाले सस्तोमा पाइन्छ । घडी बिग्र्यो भने खान हुँदैन भालेलाई काटेर खान हुन्छ । घडीलाई दिनदिनै दम दिनुपर्छ । भालेलाई दम दिनु पनि पर्दैन । आफैले चारो खोजेर खान्छ । घडी किन्ने झंझट किन बेसाउने ?"

जख्खु भाले मुखियाको घरमा आएको धरै भएको थिएन । तैपनि मुखियाको बानी उसलाई पनि थाहा थियो । ऊ एकाविहानै बासेर घर र छरछिमेकलाई जगाउँथ्यो । त्यसपछि ऊ आगन र गोठमा चर्न जान्थ्यो । उसको पछिपछि पाँचछ वटी पोथीहरू पनि चर्न जान्थे । जख्खुको रगत चुहिएलाजस्तो रातो सिउर र गालामुनि घडीको पेण्डुलमजस्तै हल्लिइरहने सिंदूरे लोलो देखेर कुखुरीहरू दंग पर्थे । जख्खुले आफ्ना बलिया नंग्राले भुइँ कोतरेर चारो खोज्थ्यो । माटो मुनि सानातिना किरा फटेंग्रा भेट्टाउँदा जख्खुले पोथीहरूलाई डाक्थ्यो । पोथीहरू उछिनपाछिन गर्दै जख्खुको छेऊमा जान्थे र किरा टिप्थे । कहिलेकाहीँ ढुँगामुन्तिर गँड्यौला भेटिन्थ्यो । गँड्यौला भेटिएको थाहा पाउने बित्तिकै पोथीहरू भालेतिर दगुर्थे । तर जख्खुले चल्ला कोरल्न बसेकी माऊ कुखुरीलाई गँड्यौला खान डाक्थ्यो । अरु कुखुरालाई भन्दा माऊ कुखुरीलाई बढी पोसिलो खाना चाहिन्छ भन्ने जख्खुलाई थाहा थियो ।

मुखियाको कुखुरा राख्ने खोर फराकिलो थियो । खोरको पूर्व र दक्षिणतिरको भित्तामा झयाल भएकोले उज्यालो र हावा पनि आउँथ्यो । पूर्वमा झिसमिस उज्यालो हुन लागेको सजिलैसँग थाहा पाउन सकिन्थ्यो । यसैले खोरभित्र बसे पनि समय थाहा पाएर बास्न गाह्रो थिएन । खोरमा कुखुरा धेरै थिए । पाँचछ वटी पोथीले लगालग फुल पार्दै थिए । दुइटी पोथी चल्ला कोरल्न बसेकी थिई भने एउटीले चल्ला हुर्काउँदै थिई । जख्खु भालेले खोरका पोथीहरूलाई मात्रै होइन भर्खर बास्न सिक्दै गरेका तन्नेरी भालेहरूलाई पनि माया गर्थ्यो । उनीहरूलाई सुरिलो स्वरमा टाढाटाढासम्म सुनिने गरी बास्न सिकाउँथ्यो ।

जख्खु धेरै अनुभवी थियो । उसले तन्नेरी भालेहरूलाई चिलबाट जोगिन र चल्लाहरूलाई पनि जोगाउने तरिकाहरू सिकायो । स्याललाई तर्साउन कसरी कराउने र कसरी पखेटाले हिर्काउने भन्ने सिकाउन उसले गोठमा आएको डाँग्रे कुकुरलाई तर्साएर देखाउँथ्यो । जख्खु सबैको प्यारो बनेको थियो ।

तर जख्खुको भित्री मनमा सँधै एउटै पिर थियो । उसलाई कुन दिन बिहान बास्दा समय मिलेन भने मुखियाले तरकारी बनाउँछ भन्ने चिन्ता लागिरहन्थ्यो ।

जख्खु भालेले दम दिएर चल्ने पेण्डुलम घडी देखेको थियो । घडी एकएक घण्टामा ट्वाङट्वाङ बजेर समय बताउँथ्यो । मुखियाको घरमा कुनै उपायले त्यस्तो बज्ने घडी भैदिए उसलाई सँधै जिउ जाने पिरले छाड्ने थियो । तर त्यस्तो घडी कहाँ पाइन्छ उसलाई थाहा थिएन ।

जख्खु सँधै चिन्तित भएको देखेर एक दिन चौरमा खेलिरहेको बेलामा पोथीहरूले ऊसँग उसको चिन्ताको कारण सोधे । पहिले त जख्खुले भन्न मानेन । केही पिरै छैनजस्तो गर्यो । तर पोथीहरूले हामीले मदत गरेर तिम्रो पिर हट्छ कि भनेर जिद्दी गरेपछि उसले आफ्नो मनको कुरा खोल्यो ।

मुखिया साह्रै कडा स्वभावका छन् भन्ने खोरका सबै कुखुरालाई थाहा थियो । मुखियाले धेरै भालेलाई तरकारी बनाइसकेको उनीहरूले देखेका थिए । तर जख्खु भाले बेग्लै खालको थियो । उसलाई मदत गरेर मुखियाको रिसबाट जोगाउन सकिन्छ कि भनेर उनीहरूले सल्लाह गरे र एउटा टुंगोमा पुगे ।

खोरमा पाँच वटी कुखुरीहरूले फुल सँगालेका थिए । चल्ला निकाल्न उनहरूले फुल कोरल्ने सुरसार गर्दै थिए । जख्खुलाई मदत गर्न ती कुखुरीहरूले आआफ्नो फुल दिन तयार भए । सल्लाहअनुसार खोरमा जम्मा भएका सबै फुल लिएर जख्खु भाले र केही पोथीहरू गाउँको नजिकै लाग्ने साप्ताहिक हाट बजारमा पुगे । उनीहरूले एउटा पसलमा फुल बेचे र पैसा पोको पारे । त्यसपछि उनीहरू घडी खोज्न बजारमा निस्के ।

उनीहरू बजारमा घुम्दै थिए । अचानक एउटा पसलमा धेरै किसिमका घडीहरू ट्वाङट्वाङ बजेको सुने । उनीहरू पसलमा गए । त्यहाँ थरीथरीका हेर्दै राम्रा कोठा सजाउने र संगीत बजाउने घडीहरू थिए । एउटा घडी थाल जत्रो थियो । त्यो घडीको माझमा बास्न लागेको भालेको चित्र थियो । उनीहरू सबैले रमाएर त्यो घडी हेरेको देखेर पसलेले घडीको पछाडितिरको स्विच थिच्यो ।

अचम्म ! घडीको माझमा भएको भालेले पखेटा फट्फटायो र कुखुरी काँ भनेर तीन पल्ट बास्यो । त्यसपछि भित्रबाट ट्वाङट्वाङ बजेको आवाज आयो । उनीहरूले त्यो घडीको मोल कति पर्छ अनि दम दिनर्ुपर्छ कि पर्दैन भनेर पसलेसँग सोधे । पसलेले भन्यो, "यो घडीलाई दम दिनु पर्दैन । एकपल्ट बेट्री राखेपछि वर्षदिनसम्म चल्छ । यो घडीको सबैभन्दा राम्रो बानी के छ भने यो उज्यालो भएपछि मात्रै कराउँछ । अँध्यारोमा यो घडी कराउँदैन । राती हल्ला गर्दैन ।"

घडीको गुन सुनेर उनीहरू दंग परे । जख्खु भालेले त्यस्तै घडी खोजेको थियो । तर अघि फुल बेचेर जम्मा पारेको पैसाभन्दा घडीको मोल अलि बढी रहेछ । अब के गर्ने ? उनीहरूले अझ धेरै फुल संगालेर अर्को साताको हाटबजारमा आउने विचार गरे । उनीहरू पसलबाट बाहिर जान लागेको देखेर पसलेले भन्यो, "तिमीहरूसँग कति पैसा छ हेरुँ त ।"

जख्खुले पैसाको पोको उसलाई दियो । पसलेले पैसा गनेपछि भन्यो, "हुनत यो घडीको मोल घटाउन मिल्दैन तै पनि तिमीहरूले रहर गरिहाल्यौ । अहिले यत्ति पैसामा घडी लैजाऊ । तर अर्को साता आउँदा मलाई धेरै फुल ल्याइदेऊ नि ।"

उनीहरू दंग भएर घडी लिएर गाउँमा फर्के र कोही नभएको बेलामा घडी मुखियाको घरभित्र राखिदिए । साँझ मुखिया घरमा फर्कँदा कोठाको भित्तामा थालजत्रो टल्कने घडी देखेर खुशी भए । घडीको बीचमा भएको बास्न लागेको भालेको चित्र उनलाई निक्कै मन पर्यो । खोरको भाले बासेझैँ यो घडीभित्रको भाले पनि बासे कति बेस हुन्थ्यो होला भनेर कल्पना गर्दै उनी सुते ।

"कुखुरी काँ, कुखुरी काँ, कुखुरी काँ" कोठाभित्रै भाले बासेको सुनेर मुखिया छक्क पर्दै ओछयानबाट जर्याकजुरुक उठे । बाहिर गोठनेरको खोरमा पनि जख्खु भाले बासिरहेको थियो । उनले घडीतिर हेरे । भाले बासेको स्वर बन्द भएपछि घडीले ट्वाङट्वाङ बजाएर समयको संकेत दियो । मुखियाले घडीको भाले बासेको हो कि होइन ठम्याउन सकेनन् । तर उनलाई शंका थियो । त्यसैले उनी पँधेरातिर नगैकन एक घण्टपछि फेरि घडीको भाले बास्छ कि बास्दैन होला भनेर ओछ्यानमै पर्खेर बसे ।

ठिक एक घण्टा बितेपछि घडीको भालेले पखेटा फट्फटायो । छाती फर्कायो र घाँटी उचालेर पछाडितिर लगेर तीन पटक "कुखुरी काँ" गरेर बास्यो अनि घडीभित्रबाट ट्वाङट्वाङ आवाज आउनथाल्यो । घडीको करामात देखेर मुखिया दंग परे । अब सबै काम ठिकठिक समयमा गर्न पाइने भयो भनेर उनी ढुक्क भए । उता खोरमा भएका कुखुराहरूको पिर पनि हरायो । जख्खु भालेलाई सबैरे उठनु पर्ने चिन्ता पनि भएन र मुखियाको तरकारी बन्नुपर्ने खतरा पनि मेटियो । तर उसले समयमा बास्ने आफ्नो बानी भने छोडेन । मुखियाको कोठाको भित्ताको घडी बज्ने र जख्खु बास्ने समय उस्तैउस्तै हुन्थ्यो । घडीको भाले र खोरको भाले एकै चोटी बासेको सुनेपछि मुखियालाई सबेरै भएको कुरामा शंकै हुँदैनथ्यो । बुद्धिमान जख्खु भाले सैयौँ नाति नातिना र पनाति पनातिनाहरूलाई हुर्काउँदै बूढो भएसम्म बाँच्यो ।

साँचल, सानेपा
२०६१ कार्तिक ९ गते ।

(कान्तिपुर कोपिला २०६१ पुस २३ गते शुक्रबार प्रकाशित)


माथि

शीर्षक

मूल पृष्ठमा जाउँ

   
     
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of