विनय कुमार कसजुका कथा
बाघको सत्कार
चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर
हिँड्थ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा
गैँडा छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित
भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो
गर्नसकेन । उसकी श्रीमतीले भनिन्, "जे भए पनि निम्तोको
अपमान गर्न हुँदैन । जाँदैमा केही बिग्रन्न ।"
छोरी गैँडा अलि हच्किन् । के कामले बोलाएको हो नबुझी
किन जाने ? उनले नजाने विचार पोखिन् । तर कान्छा गैँडालाई
दिदीको कुरा चित्त बुझेन । बाघको घरमा निम्तो खान जाने
भनेपछि ऊ खुशीले फनक्क धुमेर नाच्यो ।
बाघको निम्तोमा के कारणले नजाने ? पत्याउनसकिने बहाना
पनि चाहियो । आउन्न भन्ने आंट पनि चाहियो । तर उनीहरूसँग
ती दुबै कुरा थिएन । यस कारण गैँडा परिवार निम्तो मान्न
जाने तयारीमा लाग्यो ।
गैँडाले आफू र कान्छाको लागि दौरा सुरुवाल, कोट, टोपी
र जुत्ता किनेर ल्यायो । श्रीमती र छोरीले गुन्यूचोलोको
व्यवस्था गरे । बाघको गुफामा जाँदा केकस्तो व्यवहार
गर्नुपर्छ भनेर जहानभित्रै छलफल भयो । सबैले नङ काटे
। खोलामा गएर नुहाए । खोलामा पौडी खेल्दा कान्छा गैँडाले
एउटा सहर माछा समात्यो । उनीहरूले त्यो माछा जतन गरेर
बाघलाई कोसेली लगिदिने निधो गरे ।
छिमेकी गैँडाको मदत लिएर श्रीमती र छोरी पनि सिंगारिए
। साँझपख गुलाफ, चम्पा, चमेली आदि बासना आउने फूलहरू
जिऊभरि दलेर गैँडा परिवार बाघको गुफामा निम्तो खान गयो
। गुफाभित्रको सजावट देखेर गैँडापरिवार चकित पर्यो ।
चितुवा, स्याल, दुम्सी, ढेँडूहरू पाहुनाहरूको खातिरदारी
गर्न तैनात थिए ।
गैँडाहरूले जीवनमा कहिल्यै नखाएका, जंगलमा नपाइने स्वादिष्ट
परिकारहरू, पहिलो पटक खान पाए । उनीहरू प्रशन्न भए ।
बाघ र बघिनीको आदेशमा चितुवा, स्यालहरूले उनीहरूलाई
थपीथपी ख्वाए ।
माछा कोसेली ल्याएकोमा गैँडालाई धन्यवाद दिँदै बाघले
भन्यो, "हाम्रा खोलानालामा अझै पनि यस्ता माछा
बाकी रहेछन् । यी माछाको स्वाद तिख्खर भए पनि कांढा
धेरै हुन्छ होइन ? कांढा भएको माछा खानु निक्कै जोखिम
हुन्छ ।" बघिनीले त्यो माछा स्याललाई घरमा लगेर
खाऊ भनेर दिइन् ।
बिदा हुने बेलामा बघिनीले सोधिन्, "छोरीको बिहे
कहिले गर्ने हो ? भोज ख्वाउने हैन ?" श्रीमती गैँडाले
विनम्र हुँदै भनिन्, "भोज खान छोरीकै बिहे किन
पर्खनु पर्छ र फुर्सत भए पाउकष्ट गर्नुहोस् न हाम्रो
घरतिर पनि ।"
श्रीमती गैँडाको कुरा सकिन नपाउँदै बघिनीले भनिहालिन्,
"हुन्छ नि त । गुफामा बस्दाबस्दा दिक्क लाग्यो
। तिमीकहाँ आएर एक दिन रमाइलो गरौँला ।"
घर आइपुगेपछि गैँडा र गैँडिनीले एकै चोटी मुख खोले,
"बाघ र बघिनीको स्वागत सत्कार कसरी गर्ने ?"
छोरी बुद्धिमती थिइन् । उनले भनिन्, "बाघको निम्तोमा
केही रहस्य छ जस्तो मलाई पहिले नै लागेको थियो । अब
त झन घरैमा आउने भए । जे भए पनि उनीहरूको सत्कार त गर्नै
पर्यो ।" कान्छा गैँडा भने मिठोमिठो खान पाइने
भयो भनेर दंग पर्यो ।
केही दिनपछि बघिनीले गैँडाको संचोबिसंचो बुझ्न स्याललाई
पठाइन् । वास्तवमा संचोबिसंचो बुझ्ने त बहानामात्रै
थियो । खास उद्देश्य त गैँडाहरूले कहिले भोज खान डाक्छन्
भनेर बुझ्नु र यदि बिर्सेको भए सम्झाउनु थियो । यसैले
गैँडा परिवारले स्यालमार्फत बाघलाई सपरिवार भोज खाने
निम्तो पठायो ।
गैँडाको निम्तो पाएपछि बाघ र बघिनीले आफ्नो भित्रिया
दूत चितुवालाई गैँडाकहाँ पठायो । बाघ गुफामा बस्थ्यो
भने गैँडा झाडीचौरमा बस्थ्यो । गुफाभित्र ठूलाठूला कोठाहरू,
भान्छा कोठा, भण्डार कोठा, सुत्ने कोठाहरू, नुहाउने
कोठा, चर्पी, पौडीखेल्ने पोखरी आदि विभिन्न सुविधाहरू
थिए । त्यहाँ चर्पी सफा गर्नेदेखि खानेकुरा पकाउने भान्छे
र बैठक सजाउने बैठकेजस्ता विभिन्न काम गर्ने नोकर चाकरहरू
थिए । गैँडा बस्ने झाडीचौरमा न त कोठा थियो न त भान्छा
नै । चर्पी र पोखरीको त कुरै भएन ।
गैँडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैँडालाई भन्यो,
"गैँडा दाइ, बाघ भनेको बनको राजा हो । राजाको सम्मान
तिम्रो यो झाडीमा गर्न गाह्रो छ । तैपनि बाघले निम्तो
स्वीकारिसक्नु भएको छ । यो नै तिम्रो लागि ठूलो सौभाग्यको
कुरा हो । यदि तिमीले साँच्चै नै बाघको सत्कार गर्ने
हो भने मैले भनेजस्तो गर्नुपर्छ । अनिमात्रै बाघ परिवार
लिएर यहाँ पाल्नुहुन्छ ।"
गैँडा र उनीकी श्रीमतीले केके गर्नुपर्छ होला भनेर
उत्सुक हुँदै सोधे । चितुवाले भन्यो, "पहिलो कुरा
त बाघ सपरिवार आउनुहुने हुनाले उहाँहररूको सुखसुविधा
हर्नको लागि गुफाका सबैजसो नोकरचाकर पनि उहाँहरू सँगै
आउँछन् । सबै जना यहाँ अटाउँदैन । यो ठाउँ त्यति सुरक्षित
छैन । यसैले सबै जना बस्न र खानका लागि चौरमा पालले
बेरेर बस्ने व्यवस्था गर्नुपर्छ । बाघको परिवार र नोकरचाकर
गरेर जम्मा पचास साठी जना जति आउलान् ।"
चितुवाको कुरा सुनेर गैँडा दम्पती छक्कै पर्यो । उनीहरूले
छोरीको बिहेमा पनि यति धेरैलाई बोलाउने बिचार गरेका
थिएनन् । चितुवाको कुरा अझै सकिएको थिएन । उसले भन्यो,
"जहाँसम्म खानेकुराको परिकारको कुरा छ, बाघले यो
बनको कुनै पनि खानेकुरा खानुहुन्न । गुफामा दिनदिनै
चाहिने खानेकुरा सबै सातडाँडा पारिको जंगलबाट आउँछ ।
बाघलाई बँदेल र मृगको मासु मनपर्छ, बघिनीलाई मजुर, कालिज
र तित्राको मासु चाहिन्छ अनि डमरुलाई कलिलो खरायोको
मासु चाहिन्छ । अरु नोकरचाकरलाई अर्नाको मासु भए पनि
हुन्छ । बँदेल, मृग, खरायो र अर्ना गरेर सय वटा चौपाया
र पचास वटाजति मजुर, कालिज र तित्रा भए मनग्गे पुग्छ
।"
चितुवाले ती चौपाया र चराहरूको साथै अरु चाहिने कुरा
पठाउने काम सातडाँडा पारिको जंगलको कुन होटलले पठाउँछ
भन्ने ठेगाना पनि बताइदियो । "खाने कुरा पकाउन
पनि त्यही होटलले भान्छे पठाउँछ । चौरमा टाँग्ने पाल,
सोफा र टेबुलहरू पनि होटलले नै पठाइदिन्छ । तिमीहरूले
केही पनि गर्नुपर्दैन, केवल होटलको बिल तिरिदिए पुग्छ
। उहिले त बाघ आफैले शिकार खेल्न जानु पर्थ्यो । अरुले
मारेको कुरा बाघले खान पनि खानुहुँदैनथ्यो । तर अहिले
त साह्रै सजिलो भएको छ ।"
"ओ हो निक्कै सजिलो पो रहेछ त बाघलाई भोज ख्वाउन
। बिल तिरिदिए मात्रै पुग्ने रहेछ । आफूले केही पनि
गर्नैपर्ने हरेनछ ।" चितुवाको कुरा सकिएपछि गैँडा
दम्पतीले लामो सास फेर्दै भने ।
गैँडाले बाघको सत्कारमा भोज ख्वाउन लागेको खबर बनमा
डढेलोझैँ फैलियो । सबै पशुपंछीले अचम्म माने । धेरैले
पत्याएनन् । घाँस खानेले शिकार खानेलाई कस्तो भोज ख्वाउने
होला ! त्यसमाथि बाघ र गैँडा त पुस्तैनी बैरीहरू हुन्
। उनीहरूको बीचको यो मेलको उद्देश्य र परिणाम के होला
भनेर धेरै सशंकित भए ।
केही दिनपछि बनको माझको ठूलो चौरमा पाल टाँगेर भोजको
आयोजना भयो । गैँडाले बाघ परिवार अनि सबै नोकर चाकरहरूलाई
निम्त्यायो । सातडाँडा परिको बनको होटलले राम्रो इन्तिजाम
गरेको थियो । दिनभरि चौरमा खानपिन गरेर तृप्त भएपछि
साँझपख बाघ, बघिनी, डमरु र चितुवा, स्याल, ब्वाँसो आदि
नोकरचाकरहरू ठूलोठूलो स्वरले डकार्दै बाघको गुफातिर
लागे । बिदा हुने बेलामा बाघले गैँडालाई सम्मान स्वरुप
बनबाहु नामक पदवी दिए ।
भोज सकिएपछि होटलले गैँडासँग भोज र सबै सेवाको पैसा
माग्यो । पैसाको रकम सुनेर गैँडा अत्तालिएर झण्डै मुर्छा
परेन । गैँडा परिवारले चर्ने गरेको सम्पूर्ण चौर बेचेर
पनि त्यो रकम तिर्न पुग्दैनथ्यो । गैँडाले होटलसँग एक
साताको म्याद माग्यो ।
बाघको शरणमा नगई होटलको ऋण तिर्नु संभव थिएन । बाघले
गैँडाप्रति सहानुभूति देखाउँदै भन्यो, "किन यति
घेरै खर्च गरेर भोज ख्वाउनुपर्थ्यो ! जे हुनु भइहाल्यो
। होटलको ऋण तिर्न मैले सकेको मदत गरुँला । होटलवालालाई
म भनिदिउँला । थोरैथोरै गरेर किस्ताबन्दीमा तिर्न उसलाई
मनाउँला । हुँदैन ?"
गैँडासँग किस्ताबन्दीमा थोरैथोरै तिर्ने पैसा पनि थिएन
। उसको आम्दानीको कुनै बाटै थिएन । उसले बाघलाई आफ्नो
बाध्यता सुनायो ।
गैँडाको कुरा सुनेर बाघले मुसुक्क हाँस्दै भन्यो, "त्यसो
भए आम्दानी हुने एउटा काम गर्नसकिन्छ ।"
बाघले आम्दानीको के उपाय बताउला भनेर सुन्न गैँडा उत्सुक
भयो । बाघले भन्यो, "अहिले हाम्रो बनबाट पनि केही
पशुहरू विदेशमा काम गर्न गएका छन् । विदेशमा काम गरेर
उनीहरूले निक्कै कमाएर यहाँ पठाइ पनि रहेका छन् । तिमी
पनि सपरिवार विदेश जान्छौ कि त ?"
विदेशमा गएर काम गरेर कमाउने कुरा गैँडाले कहिल्यै
सुनेको थिएन । बनको हरियो घाँस खाएर दिन गुजारिरहेको
गैँडाले केही पनि काम जानेको थिएन । उसले बाघसँग सोध्यो,
"हामीजस्तो अल्छीले गर्ने काम कस्तो होला ? कति
कमाइन्छ होला ?"
"विदेशमा गएर केही गर्नुपर्दैन । त्यहाँ पनि बसीबसी
खाने नै हो । तिमीलाई एकदम सुहाउने काम छ । हाम्रो जंगलमा
पाइने तिमीहरूको जातको एकसिंगे गैँडा अरु कुनै पनि जंगलमा
पाइन्न । यसैले विदेशमा हाम्रो जगलको गैँडाको निक्कै
ठूलो माग छ । तिमीहरू पूरै परिवार विदेशको प्राकृतिक
संग्रहालयमा गएर काम गर्नथाल्यौ भने सातडाँडा परिको
होटल नै किन्नसकिने पैसा कमाउने छौ ।"
बाघको कुरा सुनेर गैँडा रनभुल्लमा पर्यो । आफू जन्मेको,
हुर्केको, खेलेको प्यारो बन कसरी छाडेर जाने होला भन्ने
विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा
नयाँनयाँ ठाउँ हेर्न पाइने, कमाउन पनि पाइने र ऋण पनि
तिरिने विचारले ऊ मख्ख पनि पर्यो ।
बाघको कृपाले अहिले गैँडा परिवारको चारै जना बेलायतको
चिडियाखानामा जीवन गुजारिरहेका छन् । चिडियाखानाले पठाएको
रकमले बाघ परिवारले सातडाँडा परिको जंगलको होटलको सत्कार
र मेजमानीको मोज गरिरहेको छ ।
सानेपा, ललितपुर, २०६० पुस ८, मंगलबार ।
(शब्द-संयोजन साहित्यिक मासिक, वर्ष१, अंक १ २०६१ बैशाखमा
प्रकाशित)
माथि
शीर्षक
मूल पृष्ठमा जाउँ |