|
|
हान्स
क्रि एन्डरसन
फूलकुमारी
हान्स क्रिस्चियन एन्डरसन
अनुवादकः शान्तदास
एउटी असाध्य जाती बूढी थिई । उसका छोराछोरी कोही थिएनन्
र यही कुरामा ऊ सँधै पिरिइरहन्थी । तर एक दिन एउटी जादुगर्नी
उसका अघिल्तिर टुप्लुक्क देखा परी र उसले कोदोजत्रो
एक गेडा अन्न उसको हातमा राखिदिएर भनी, "लौ, जतन
गरी रोप्नु, चिताएको कुरा पाउलिस् ।" उसले त्यस
गेडालाई सानो भाँडामा जतनसाथ रोपी । केही समयपछि त्यस
भाडाँमा बोट उम्रियो र त्यसमा रङ्गीविरङ्गी फूल फुल्न
थाले । ती फूलहरू कमलका फूलजस्तै देखिन्थे । अचम्मको
कुरो के थियो भने एउटा फूलभित्र त बूढीऔंलाभन्दा पनि
सानी एउटी बच्ची थिई । अनि बूढीले त्यसको नाउँ फूलकुमारी
राखी ।
एक दिन राती ओखरका बोक्राका कोक्रामा फूलकुमारी निदाइरहेको
बेला एउटी बूढी भ्यागुती फुत्त उफ्रेर झ्यालबाट भित्र
पसी र उसले कराउँदै भनी, "कस्ती राम्री बाबै !
यसलाई त म मेरो छोरोसँग विहा गराउँछु ।" देख्तैमा
डरलाग्दी त्यस बूढी भ्यागुतीले सानी फूलकुमारीलाई बोकेर
बगैंचातिर लगी ।
भोलिपल्ट बिहान फूलकुमारी बिउँझी । हिजो राती ओखरका
कोक्रामा सुतिरहेकी आफू अहिले कमलका पातमा कसरी पुगियो
उसलाई अचम्म लाग्यो र ऊ डराएर रुन थाली । एक छिनपछि
छोरालाई खोज्न हिँडेकी बूढी भ्यागुती फर्की र उसले भनी,
"देख्यौ नानी, यो मेरो छोरो, अबदेखी यो तिम्रो
लोग्ने, है ।" त्यसपछि छोरो भ्यागुतो "ट्वारट्वार,
ट्वारट्वार" कराउन थाल्यो । बूढी भ्यागुताका कुरा
सुनेर पोखरीका माछाहरूको हृदयमा करुणा जाग्यो । माऊ
भ्यागुतो र छोरो यस्सो अन्त लागेको बेला माछाहरूले फूलकुमारी
रहेको पातको डाँठ टोकेर चुँडाले अनि तानेर परतिर लगे
।
त्यसपछि त फूलकुमारी पानीमा उत्रिँदैउत्रिँदै निक्कै
पर पुगी । फेरि छिरबिरे पुतलीले पनि फूलकुमारी बसेको
पात तान्दै अझ पर पुर्याइदियो । यसरी फूलकुमारी बूढी
भ्यागुतीका हातबाट उम्किई । तर अचानक त्यस पात माथि
एउटा गोब्रेकिरा उड्दै आइपुग्यो । उसलाई फूलकुमारी असाध्य
राम्री लाग्यो र उसले फूलकुमारीलाई तर्साउँदै टपक्क
टिपेर रुखमाथि लग्यो । तर गोब्रेकिराका अरु साथीहरूले
फूलकुमारीलाई असाध्य नराम्री भनेपछि त्यस गोब्रेकिराले
फूलकुमारीलाई रुखबाट तल ल्याएर जंगलमा छाडिदियो । फूलकुमारी
जंगलमा एक्लै भई । उसले कैयौँ दिन फूलका बीउहरू मात्र
खाएर बिताई । तर चराचुरुङ्गीहरूका मीठा चिरबिर गीत सुनेर
उसले गर्मीका दिनहरू सुखपूर्वक बिताई । त्यसपछि शरद
पनि वित्यो र हिउँद सुरु भयो । मिठा गीत गाउने चराचुरुङ्गीहरू
न्याना देशहरूतिर बसाइ सरे । फूलकुमारी फेरि एक्लै भई,
निर्दयी हिउँद साह्रै डरलाग्दो, त्यसमाथि झन हिउँ पनि
पर्न थाल्यो ।
एक दिन जाडाले लुगलुग कामिरेकी फूलकुमारीका अघिल्तिर
यौटी बूढी मुसी आई र दया देखाउँदै उसले भनी, "नानी,
तिमी त कठ्याङ्ग्रिइछौ, बिचरी, मकहाँ आउनु ल, हिउँदभरि
मेरो घरमा बस्नु है ।" त्यसपछि त्यस मुसीले फूलकुमारीलाई
खान दिई र आफूसँगै राखी । फूलकुमारीले पनि त्यही बसेर
हिउँद बिताई । एक दिन बूढी मुसीले भनी, "नानी,
चाँडै नै यहाँ यौटा छुचुन्द्रो आउँदै छ । तिमीले उसलाई
एउटा राम्रो कथा सुनाउनु है ।" नभन्दै केही दिनपछि
नै छुचुन्द्रो त्यहाँ आइपुग्यो । भलाकुसारीपछि छुचुन्द्राले
फूलकुमारीलाई सूरुङ्गको बाटो गरी त्यहाँबाट उसको घर
हेर्न जान निम्तो गर्यो । एक दिन सँगै डुलिरहँदा तिनीहरूको
एउटा गौंथली चरी थला परेकी देखे । छुचुन्द्राको हृदयमा
दया थिएन । तर फूलकुमारी भने अति दुःखी भई । त्यसैले
फूलकुमारीले पनि छिनछिनमा गएर गौथलीको हेरचाहा गरी ।
केही दिनपछि गौंथली चरी बिसेक भई र फुर्तिलो भएर उड्न
थाली तर त्यस बेला फूलकुमारी भने निराश भएकी थिई किन
भने उसको विहा छुचुन्द्रोसँग छिट्टै हुँदै छ । त्यस
छुचुन्द्रालाई न्यानो घाम, हँसिला फूलहरू, नीलो खुला
आकाश र मीठा गीत गाउने गौथली चरी मन पर्दैन्थ्यो । बूढी
मुसी पनि फूलकुमारीको बिहाको तयारी गर्न लागिरहेकी थिई
। आखिरमा फूलकुमारीले भनी, " मुसी काकी, म त बिहा
गर्दिनँ, म यसमा राजी छैन ।" तर बूढी मुसीले भने
हप्काई, "बाठी नबन, हेर नानी, यस्तो कुरा गरेको
मलाई मन पर्दैन । त्यो तिम्रो लागि लायकको छ फेरि उसको
भन्छाकोठा र गुफा कस्तो राम्रो छ ।" फूलकुमारीले
केही भन्न सकिन ।
आखिरमा बिहाको दिन पनि आउनै लाग्यो । एक दिन अँध्यारो
मुख लाएर ऊ सुटुक्क बारीमा गई र रुन्चे स्वरमा विस्तारै
कराई, "ए न्यानो सूर्य, ए हँसिला फूलहरू, ए नीलो
खुला आकाश, अब म तिमीरुलाई हेर्न पाउँदिनँ, मेरो केही
चलेन ।"
तर त्यही बेला उसकी सँगिनी गौंथली त्यहाँ आइपुगी र
उसले सोधी, "प्यारी फूलकुमारी , म सँग न्यानो देशमा
जान चाहन्छ्यौ भने आऊ मेरो बुइ चढ म लगिदिउँला ।"
फूलकुमारी अति खुसी भई र उत्निखेरै गौंथलीका पखेटा समातेर
त्यसमाथि बसी अनि गौंथलीले आफ्नी संगिनी फूलकुमारीलाई
लिएर असङ्ख्य खेतहरू, नदीहरू र जंगलहरूमाथि उड्दै र
तिनलाई नाघ्दै न्यानो मुलुकतिर लगी।
अन्त्यमा न्यानो मुलुकको खुला आकाशमा तिनीहरू पुगे
। त्यहाँ सूर्य खूब तेजिलो थियो । फूलकुमारीले तल नीलो
तलाएका बीचमा हरियो जंगल अनि त्यस जंगलका बीचमा एउटा
दरबार देखी । अनि त्यही जंगलमा गौंथलीहरूको गुँड पनि
देखी । फूलकुमारीकी सँगिनी गौंथलीले उसलाई दरबारको बगैंचामा
फुलिरहेको सबभन्दा राम्रो सेतो फूलमाथि ओरालिदिई । अचम्मको
कुरो त्यस फूलका बीचैमा फूलहरूका राजा थियो र उसले फूलकुमारीसँग
फूलहरूकी रानी बन्न अनुरोध गर्यो । फूलकुमारी खुसीसाथ
राजी भई । त्यस बेला बगैंचाका सबै फूलहरू खुसीले नाचे
र गौंथलीले सबभन्दा मीठा गीत गाई ।
साभारः "कथाकोसेली 3" (हान्स एन्डरसनका कथाहरु)
बाट
माथि
मूल पृष्ठमा जाउँ
|
|
|