हान्स
क्रि एन्डरसन
बूढोले जे गर्छ बेसै गर्छ
हान्स क्रिस्चियन एन्डरसन
केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले
सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति
बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै
यो कथा पनि जति परानो हुँदै भयो उति झनझन रमाइलो लाग्दैजान्छ
।
तपाईँ गाउँतिर जानु भएकै होला । अनि खरले छाएका, वरिपरि
घाँसले ढाकेका पुराना छाप्रा र गोठ देख्नु भएकै होला
। पर्खालमाथि र वरिपरि उम्रेका घाँस र झ्याङहरूमा चराका
गुँड नहुने कुरै भएन । छाप्रो र गोठका भित्ता ढल्केका
होलान् । झ्यालहरू पनि खस्न लागेका हुनसक्छन् । बांगिएका
झ्यालका खापाहरू खोल्न पनि नमिल्लान् । अगेनोको चुलो
पनि भत्कन लागेका छन् कि के थाहा ! आगनको बूढो रुखमुन्तिर
खाल्टोमा जमेको पानिमा हाँसहरू नुहाउँदै पखेटा टल्काइरहेका
होलान् । आगनमा एउटा डाँग्रे कुकुर अल्छी मान्दै चारैतिर
फर्कँदै भुकिरहेको हुनसक्छ ।
गाउँमा यस्तै एउटा छाप्रो थियो । छाप्रोमा बूढाबूढीको
एउटा जोडी, किसान र उसकी स्वास्नी बस्थे । उनीहरूको
सम्पत्ति साह्रै थोरै थियो । उनीहरूलाई नभइनहुने एउटा
घोडा थियो । घोडालाई ख्वाउने दानापानी उनीहरूसँग थिएन
। चौर र बाटाका छेऊमा उम्रेको घाँस खाएर घोडाले पेट
भर्थ्यो । किसान बजार जाँदा त्यही घोडा चढेर जान्थ्यो
। कहिले काहीँ उसका छिमेकीहरूले बजार जान, किनमेल गर्न
घोडा मागेर लैजान्थे । उनीहरूले किसान परिवारलाई केही
मालसामान दिएर र कहिले केही काम गरिदिएर घोडालाई कज्याएको
पैँचो तिर्थे ।
केही समयपछि उनीहरूले घोडालाई हाटबजारमा लगेर बेच्ने
वा अरू कुनै काम लाग्ने बस्तुसँग साट्ने बिचार गरे ।
तर घोडाभन्दा धेरै उपयोगी बस्तु के होला र ?
"घोडाभन्दा काम लाग्ने राम्रो बस्तु के हो भन्ने
कुरा तिमीलाई नै थाहा छ ।" किसानकी स्वास्नीले
किसानलाई भनी । "आजको दिन बडो राम्रो छ । तिमी
घोडा चढेर मेलामा जाऊ र यो घोडाको राम्रो मोल पार ।
नभए यसको सट्टा केही कामलाग्ने कुरा लिएर आऊ । तिमीले
जे ल्याउँछौ राम्रै कुरा ल्याउँछौ भन्ने मलाई थाहा छ
। जाऊ बजार गइहाल ।"
यति भन्दै उसले एउटा रुमालमा खाजा पोको पारेर बूढाको
कम्मरमा बाँधिदिई । उसले बाकसबाट आस्कोट र टोपी झिकेर
पुछपाछ गरी । बूढालाई लुगा लाउन सघाई । अनि बूढाका चाउरी
परेका गाला मुसारेर म्वाई खाई र बिदा गरी ।
अनि किसान घोडा चढेर सहरतिर लाग्यो ।
घाम निक्कै चर्को थियो । बादलको नाम निसाना थिएन ।
सहरमा लाग्ने मेलामा जान भनेर धेरै मानिस हिँडिरहेका
थिए । कोही घोडा चढेर जाँदै थिए । यसैले बाटोमा धुलो
उडिरहको थियो । घाम र धुलोबाट जोगिने कुनै ठाउँ थिएन
। मेलामा जान लागेका मानिसहरूमध्ये एक जनाले गाई डोर्याउँदै
थियो । गाई निकै राम्री थिई ।
पक्कै पनि यो गाईले दूध दिन्छ होला । किसानले मनमनै
भन्यो । गाईसँग घोडा साट्न पाए कस्तो बेस हुनेथियो ।
उसले गाई डोर्याइरहेको मानिसलाई भन्यो, "ए भाइ
मेरो कुरा सुन्नुस् त । मेरा बिचारमा गाईभन्दा घोडाको
मोल धेरै पर्छ । तै पनि यदि तिम्रो मंजुरी छ भने मेरो
घोडासँग तपाईँको गाई साट्न चाहन्छु । के छ बिचार ?"
"साह्रै राम्रो कुरा गर्नुभयो । लौ, मलाई तपाईँको
घोडा दिनुस् र मेरा गाई लैजानुस् ।" गाई धनीले
भन्यो ।
यसरी किसानले आफ्नो घोडा दिएर गाई लियो । उसको घोडा
बेच्ने वा साट्ने काम त सकियो । बजार जाने उद्देश्य
पूरा भयो । तै पनि मेलामा केके हेर्न पाइन्छ भनेर उसले
बजार जाने निधो गर्यो ।
अनि त्यो किसान गाई डोर्याउँदै बजारतिर लाग्यो । ऊ
बडो फूर्तिसाथ गाई डोर्याउँदै बजारतिर जाँदै थियो ।
एक छिनपछि उसको भेट भेँडा डोर्याउने मानिसँग भयो । त्यो
मानिसले निक्कै मोटोघाटो भेँडा डोर्याइरहेको थियो ।
भेँडाको भुत्ला निक्कै बाक्लो, नरम र निख्खुर सेतो थियो
। उसलाई त्यो भेँडा निक्कै मनपर्यो ।
"यो गाईसँग त्यो भेँडा साट्न पाए कति बेस हुन्थ्यो
।" किसानले मनमनै भन्यो । "घरको वरिपरि बारमा
पनि भेँडालाई पुग्नेजति घाँस छँदैछ । जाडो महिनामा ऊ
हामीसँगै सुत्नसक्छ । हामीलाई पनि न्यानो हुन्छ । गाईभन्दा
त भेँडा नै बेस हुन्छ होला ।"
किसानले गाई दिएर भेँडा साट्ने बिचार गर्यो र भेँडा
ल्याउने मानिसलाई आफ्नो कुरा सुनायो । भेँडाको मालिक
पनि तुरुन्तै राजी भयो । त्यसपछि बूढा किसान भेँडा डोर्याउँदै
बजारतिर लाग्यो ।
धेरै पर नपुग्दै उसको भेट अर्को मानिससँग भयो । त्यो
मानिसले काखी मुन्तिर एउटा मोटो हाँस बोकेको थियो ।
आहा ! कस्तो राम्रो हाँस । कति मोटो ! कति गह्रुँगो
हाँस ! यसको जिउमा निक्कै धेरै बोसो र भुत्ला होला ।
यसको खुट्टामा रातो टालो बाँधेर पानीमा पौडी खेल्दा
कस्तो राम्रो देखिन्छ होला । यो हाँस मेरी बूढीलाई निक्कै
काम लाग्नेछ । हाँस पालेर उनले धेरै पैसा कमाउन सक्छे
। हामीसँग एउटा हाँस भएको भए कस्तो हुन्थ्यो भनेर ऊ
सँधै भन्ने गर्छे । उसको इच्छा पुर्याउने बेला यही हो
। त्यो मानिसले मान्यो भने त यो भेँडा दिएर हाँस साट्न
हुन्थ्यो ।
यस्तो बिचार गर्दै उसले हाँस ल्याउने मानिससँग आफ्नो
मनको कुरा भन्यो । त्यो मानिस उसको हाँससँग भेँडा साट्न
तुरुन्तै राजी भयो । यसरी बूढो किसान हाँसको मालिक बन्यो
।
यति बेरमा त्यो किसान हाटबजारको निजक पुग्यो । बाटोमा
मेला हेर्न आउने मनिसहरूको भीड पनि निक्कै बढिसकेको
थियो ।
मानिसमात्रै होइन गाईबस्तुहरू पनि धेरै नै थिए । बाटोमा
नअटाएर तिनीहरू आलुबारीमाथि हिँडिरहेका थिए । यही भीडमा
मेलाको कर बटुल्ने मानिसको घरको बारीमा एउटा कुखुरा
छाती फर्काएर चरिरहेको थियो । भीडबाट तर्सेर नहराओस्
वा नभागोस् भनेर त्यसको खुट्टामा डोरीले बाँधिएको थियो
। कुखुराको पुच्छर छोटो थियो । त्यो कखुराको अनौठो बानी
के थियो भने उसले बेलाबेलामा कसैलाई इसारा गरे जस्तै
गरी दुबै आँखा एकै चोटी झिम्काउँथ्यो । क्वाक क्वाक
गरेर कराउँदा ऊ निक्कै अकर्षक देखिन्थ्यो । कुखुराको
दिमागमा के थियो भन्ने कुरा म भन्न सक्तिन । तर बूढो
किसानले उसको मनको कुरा थाहा पाएजस्तो थियो । "मैले
जीवनमा देखेका कुखुराहरूमध्ये यो सबैभन्दा राम्रो कुखुरा
हुनुपर्छ । हाम्रो गाउँमा कसैसँग यस्तो कुखुरा छैन ।
मैले यो कुखुरासँग हाँस साट्नु पर्छ । कुखुरालाई पाल्न
पनि सजिलो हुन्छ । त्यसले मलखातका किरा वा बाटोमा खसेको
अन्न खोजेर खान्छ ।" किसानले मनमनै भन्यो ।
उसले कर उठाउने मानिससँग हाँस लिएर कुखुरा दिन्छौ कि
भनेर सोध्यो ।
"हाँससँग कुखुरा साटने ! निक्कै राम्रो कुरा हो
यो त !" उसले भन्यो । यसरी किसानले हाँस दिएर कुखरा
लियो । साँच्चै, दिनभरिमा उसले धेरै जनासँग कारोबार
गर्यो । अब ऊ थकाइ र भोकले लखतरान् पर्यो । भोक मेट्न
र अलिकति रक्सी खान ऊ एउटा भट्टीभित्र पस्नै लागेको
थियो । ढोकैमा भट्टीवालसँग उसको जम्का भेट भयो । भट्टीवालले
एउटा बोरा बोकेको थियो ।
"बोरामा के छ ?" किसानले सोध्यो ।
"सुकेका स्याउ ।" भट्टीवालले जवाफ दियो ।
"के गर्न लाग्यौ यो स्याऊको ?" किसानले फेरि
सोध्यो ।
"सुँगुरलाई ख्वाउन ल्याएको । " उसले जवाफ
दियो ।
"यत्रो स्याउ सुँगुरलाई ख्वाएर किन खेर फल्छौ
? मलाई दियौ भने मैले मेरी बूढीलाई लगिदिन्छु । पोहोर
हाम्रो बारीको स्याउको बोटमा एउटा मात्रै स्याउ फल्यो
। हामीले त्यो स्याउ सुकेर नकुहेसम्म टाँडमा जतन गरेर
राखेका थियौँ । त्यो स्याउलाई मेरी बूढीले यो त हाम्रो
ठूलो सम्पत्ति हो भन्थी । तिमीसँग त एक बोरा स्याउ छ
। कति धेरै सम्पत्ति ! म मेरी बूढीलाई यो सबै सम्पत्ति
देखाउन चाहन्छु । के तिमी मलाई त्यो स्याउ दिन्छौ ?"
किसानले सोध्यो ।
"यो स्याउको बदलामा मलाई के दिन्छौ नि ?"
भट्टीवालले सोध्यो ।
"मसँग यो कुखुरा छ यही दिन्छु ।" किसानले
जवाफ दियो ।
अनि उसले आँखा झिम्याउने कुखुरा दियो र एक बोरा सुकेको
स्याउ लियो । स्याउको बोरा बोकेर ऊ भट्टीभित्र पस्यो
। उसले जतनसँग बोरालाई अगेनोको छेउमा बिसायो र अर्नी
खान टेबुलछेउमा गयो ।
अगेनो तातेको थियो । उसले यो कुरा हेक्का गरेको थिएन
। त्यहाँ धेरै ग्राहकहरू थिए । घोडा व्यापारी, गाई डोर्याउने
अनि दुई जना धनी व्यापारी पनि थिए । उनीहरूको गोजी नोटको
बिटाले टन्न भरिएको थियो ।
"छ्या, त्यो के चिज हो अगेनोको छेउमा?" तीमध्ये
एक जनाले सोध्यो । अगेनोको छेउमा राखेको स्याउ तातोले
गर्दा पाक्न लागेको थियो ।
बुढो किसानले त्यो स्याउ उसको हातमा कसरी पर्यो भन्ने
कुरा उनीहरूलाई भन्यो । उसले घोडासँग गाई, गाईसँग भेँडा,
भेँडासँग हाँस, हाँससँग कुखुरा, अनि कुखुरासँग सुकेको
स्याउ साटेको कुरा बेलिबिस्तार लाएर सुनायो ।
"घर पुगेपछि तिम्री बूढीले तिम्रो राम्रोसँग स्वागत
गर्ने भई । बरु जिउ बलियो गरेर हिम्मत गरेर जाऊ ।"
एक जना व्यापारीले भन्यो ।
"हो पक्कै पनि मेरी बूढीले मेरो स्वागत गर्नेछिन्
। स्वागत मात्रै होइन मलाई माया गरेर म्वाइ खानेछिन्
। मैले जे गर्छु बेसै गर्छु भन्ने कुरामा ऊ ढुक्क छे
।" किसानले निर्धक्कसँग भन्यो ।
"त्यसो भए लौ यो कुरामा बाजी थापौँ ।" व्यापारीले
भन्यो, "तिमीसँग खुशी भएर तिम्री बूढीले तिमीलाई
म्वाई गरी भने मसँग भएका सबै पैसा म तिमीलाई दिन्छु
। बाजी राखौँ ।"
"सबै पैसा चाहिन्न । माथिल्लो गोजीमा भएका सबै
नोट दिए पुग्छ ।" किसानले भन्यो, "मेरी बूढीले
मेरो कुराको विरोध गरी भने मसँग भएका सबै स्याउ तिमीलाई
दिन्छु । लौ मंजुर छ ?"
"मंजुर छ ।" किसान र व्यापारीले हात मिलाएर
बाजी मंजुर थापे ।
यो सबै कुरा भट्टीवालको अगाडि भइरहेको थियो । उसलाई
यो कुरा अपत्यारिलो र रमाइलो पनि लागिरहेको थियो । बाजी
थापेपछि उसले आफ्नो घोडाले तान्ने बग्गी बोलायो । किसान
र दुई जना व्यापारीसमेत बग्गीमा बसेर उनीहरू किसानको
गाउँतिर लागे ।
छाप्रोमा पुगेर किसानले बाहिरबाटै आफ्नी स्वास्नीलाई
डाक्यो । स्वास्नी हस्याङफस्याङ गर्दै बाहिर आई । किसानेले
बाहिरबाटै भन्यो, "मैले त घोडा साटेँ नि बूढी ।"
"एकदम बेस गर्यौ ।" भन्दै किसानकी पत्नीले
किसानलाई अँगालोमा बेरी र छाप्रोतिर डोर्याई । उसले
बग्गीमा आएका अरू मानिसहरूलाई देख्दै देखिन । न त सुकेका
स्याउको बोरा नै देखी ।
बूढा किसानले स्वास्नीलाई दिनभरिको घटना सुनाउन थाल्यो,
"मैले घोडासँग गाई साटेँ ।"
"कस्तो राम्रो काम गरेछौ । अब हामीले चाहेजति
दूध र ध्यु खान पाउने भयौँ । कस्तो खुशीको कुरा !"
बूढीले दंग पर्दै भनी ।
"तर मैले गाईसँग भेँडा साटेँ नि !" बूढाले
भन्यो ।
"त्यो त झनै बेस भयो । तिमीले जे काम गरे पनि
सँधै विचार पुर्याएर गछौँ ।" बूढीले खुशी हुँदै
भनी । "हाम्रो बारीमा भेँडा चर्नलाई घाँस पुगिहाल्छ
। भेँडीले दूध र ध्यु मात्रै होइन न्यानो ऊन पनि दिन्छ
। गाईले यी सबै कुरा कहाँ दिनसक्छ र ! गाईको त रौँ पनि
काम लाग्दैन । बुद्धिमा तिमीलाई कसले भेट्टाउँछ र !"
"तर मैले त भेँडासँग हाँस साटेँ नि ।" बूढीको
कुरा काट्दै बूढाले बीचैमा भन्यो ।
"त्यसो भए असौँ हामीले हाँसको सेकुवा खान पाउने
भयौँ , है न त? मलाई कस्तो माया गर्छौ तिमी ! मलाई खुशी
पार्न तिमीले कस्तो कस्तो काम गछौँ ! हाँसको खुट्टामा
डोरी बाँधेर छाडि दिउँला । अनि वरिपरिका किरा खाएर त्यो
मोटाउने छ । त्यसको सेकुवा बनाउनुभन्दा पहिले त्यसलाई
खुबै मोटोघाटो बनाउनु पर्छ ।"
मोटो हाँसको सेकुवा खाने स्वस्नीको रहरलाई बिचैमा तुहाउँदै
बूढाले भन्यो, "हैन ए बूढी मैले त त्यो हाँस दिएर
कुखुरा पो किनेँ ।"
उसको कुरा टुँगिन नपाउँदै बूढीले भनी, "कुखुरा
किनेँ रे ! त्यो त झनै बेस भयो नि । अब कुखुराले फुल
पर्छे । फुल कोरलेपछि हामीसँग धेरै चल्लाहरू हुने छन्
। हामीसँग धेरै कुखुरा हुनेछ । अनि त म दिनभरि कुखुराको
स्याहार गर्दै फुल बटुल्दै बस्न पाउनेछु । मैले खोजेको
यही त हो नि । तिमीले बडो बेस गरेछौ बूढा । मलाई कसरी
खुशी पार्ने भन्ने कुरा तिमीलाई जति अरू कसलाई हाथा
होला र !"
"तिम्रो कुरा त ठिक हो । तर मैले त कुखुरा दिएर
एक बोरा सुकेका स्याऊ पो ल्याएको छु त ।" हत्तपत्त
बूढाले भन्यो ।
बूढाको कुरा सुनेर बूढी खुशीले फनक्क घुमेर दंग पर्दै
भनी, "सुकेको स्याउ रे ! मेरो मनको कुरा तिमीले
कसरी थाहा पायौ ? यसको लागि त मैले तिमीलाई मुटुदेखि
धन्यवाद दिनैपर्छ ।" यति भन्दै बूढीले दिउँसो छिमेकीसँग
भएको घटना सुनाई ।
"थाहा छ आज के भयो ? तिमी घरबाट निस्कने बित्तिकै
मैले तिमी फर्केपछि साँझ तिमीलाई के ख्वाउने होला भनेर
सोच्न थालेँ । मैले टारेको फुल, बंगुरको भुटुवा र गहुँको
रोटी पकाउने बिचार गरेँ । घरमा फुल र मासु त छ तर पिठो
सकिएको छ । यसैले पिठौ पैँचो माग्न म छिमेकको मास्र्टर्नीकहाँ
गएँ । मास्टर्नी त साह्रै छुच्ची रैछे । कुरा त हाँसीहाँसी
गर्छे । तर उसको मन कालो रैछ । मैले ऊसँग एक बटुको पिठो
पैँचो मागेको त उसले नाना भाँती कुरा गरी । उसले भनी,
'तिमीलाई पैँचो दिएर के गर्ने कसरी फर्काउँछ्यौ । तिम्रो
बारीमा अरू त के कुरा सुकेको स्याउ पनि फल्दैन । म त
तिमीलाई सुकेको स्याउ पनि पैँचो दिनसक्तिन ।' बुझ्यौ
बूढा उसले मलाई एउटा सुकेको स्याउ पनि दिन्न भनी, तर
अब म त्यो आइमाईलाई दस वटा सुकेको स्याउ दिनसक्छु ।
चाहेँ भने सिंगै एक बोरा स्याउ पनि दिनसक्छु । तिमीले
सुकेका स्याउ ल्याएको देखेर यति खुशी लागेको छ कि के
भनुँ !" यति भन्दै बूढीले बूढालाई गम्लंग अँगालोमा
बाँधी र धेरै बेरसम्म म्वाई गरी ।
यो सबै हेरी रहेका ती व्यापारीहरूले भने, "बडो
राम्रो । जस्तो सुकै दुःख कष्ट सहनु परे पनि हानी नोक्सानी
व्यहोर्नु परे पनि हाँसीहाँसी सहने कस्तो रमाइलो जोडी
! तिमीहरूलाई देखेर हामी धन्य भयौँ । बाजी हारे पनि
हामी खुशी छौँ । हामीले आफूले गुमाएको पैसाभन्दा धेरै
आनन्द र शिक्षा पायौँ । तिमीहरूलाई धन्यावाद छ ।"
यति भन्दै बाजी थाप्ने व्यापारीले आफ्नो माथिल्लो गोजीमा
भएभरका नोट बूढा किसानलाई दियो । विदा भयो ।
लोग्नेले जे गर्छ बेसै गर्छ भन्ने बूढीको विचार फेरि
पनि सही सिद्ध भयो ।
यो कथा मैले सानैमा सुनेको थिएँ । अब यो तिमीहरूले
पनि पढ्यौ । "बूढो मानिसले जे गर्छ बेसै गर्छ"
भन्ने कुरा अब त बुझ्यौ होला ।
माथि
मूल पृष्ठमा जाउँ
|