हान्स
क्रि एन्डरसन
बादशाहको नयाँ लुगा
उहिले
एक जना बादशाह थिए । उनको नयाँनयाँ लुगा लाउने शोख थियो ।
उनले सबै पैसा लुगामा खर्च गर्थे । राम्रो लुगा लाउनु नै उनको
एकमात्र चाहना थियो । उनलाई आफ्ना सिपाहीहरूको चासो थिएन ।
न त उनलाई नाच हेर्दा रमाइलो लाग्थ्यो न त संगीतले उनलाई खुशी
पार्थ्यो । कसरी राम्रो लुगा लाएर बाहिर निस्कने भन्ने मात्रै
उनको ध्याउन्ना थियो । उनी एकएक घण्टामा लुगा फेर्थे । अरू
बादशाहका बारेमा भन्नु पर्दा मानिसहरू "बादशाह सभामा
छन्" भन्थे भने उनको बारेमा जसले पनि "बादशाह लुगाफेर्ने
कोठामा छन् ।" भन्ने गर्थे ।
बादशाह बस्ने सहर निक्कै रमाइलो थियो । संसारका विभिन्न
देशका मानिसहरू यहाँ आइरहन्थे । एक दिन दुई जना ठगहरू
सहरमा आए । उनीहरूले हामी कपडा बुन्ने जुलाहा हौँ भनेर
ठाँटे । उनीहरूले हामीले कल्पनै गर्न नसकिने मिहिन कपडा
बुन्नसक्छौँ भनेर सुनाए । "त्यो कपडाको रङ्ग र
बुट्टा अद्वितीय सुन्दर हुनुका साथै त्यसको एउटा विशेष
गुण पनि छ । जो मानिस आफ्नो पदको लागि अयोग्य छ र जो
साह्रै मुर्ख छ त्यसले त्यो कपडा देख्नसक्तैन ।"
उनीहरूले भने ।
उनीहरूको कुरा सुनेर बादशाहले विचार गरे, "ओ हो
त्यो कपडा त साँच्चै नै अचम्मको होला ! त्यो कपडाको
लुगा लाएँ भने त मैले मेरो राज्यमा को मानिस आफ्नो पदमा
अयोग्य छ भनी थाहा पाउन सक्नेछु । अनि मुर्ख र विद्वान
छुटयाउन पनि सजिलो हुनेछ । सकेसम्म चाँडो यस्तो कपडा
बुन्न नलगाई भएन ।"
उनीहरूले सकेसम्म छिटो कपडा बुनुन् भनेर बादशाहले ती
ठगहरूलाई थुप्रै पैसा बैना दिए । उनीहरूले कपडा बुन्ने
दुइटा तान बनाए र बडो मेहेनत गरेर काम गरिरहको स्वाङ
पारे । तर तानमा केही पनि थिएन । कपडा बुन्न उनीहरूले
असल रेशमी र सुनको धागो मागे । मागेको कुरा सबै उनीहरूले
पाए । उनीहरू रित्तो तानमा राती अबेलासम्म काम गर्थे
।
"कपडा बुन्ने काम कस्तो भइरहेछ थाहा पाउनु पर्यो,"
बादशाहले विचार गरे । तर आफ्नो पदमा अयोग्य मानिसले
त्यो कपडा देख्नसक्तैन भन्ने सम्झेर उनलाई आफै जान अप्ठयारो
लाग्यो । हुन त आफू योग्य छु भन्ने कुरामा उनलाई कत्ति
पनि शंका थिएन, तैपनि उनले पहिले आफू जानुभन्दा अरूलाई
पठाउनु बेस ठाने । जुलाहाले अचम्मको गुण भएको कपडा बुन्दैछ
भन्ने कुरा शहरमा सबै जनालाई थाहा थियो । यसैले सबै
जना आफ्नो छिमेकी कति मुर्ख वा दुष्ट छ भनेर जाँच्ने
मौका पर्खिरहेका थिए ।
"जुलाहाकहाँ कपडा हेर्न मेरो विश्वासिलो र पुरानो
मन्त्रीलाई पठाउनुपर्यो", बादशाहले बिचार गरे ।
"उनी बुद्धिमान छन् र आफ्नो कामको बारेमा उनलाई
जत्तिको ज्ञान अरूलाई छैन । यसैले कपडा कस्तो देखिन्छ
भनेर राम्ररी ठम्याउन उसले नै सक्छ ।"
बूढो मन्त्री जुलाहाहरूले काम गरिरहेको कोठामा जाँदा
उनीहरू खाली तानको अगाडि बसिरहेका थिए । "हे भगवान
मलाई बचाऊ !" तानमा केही कपडा नदेखेपछि उनले मनमनै
भने । "मैले त तानमा केही पनि देख्दिन त ।"
तर उनले मुखले त्यसो भनेनन् । दुबै जना ठगले उनलाई तानको
नजिक आएर हेर्न अनुरोध गरे । रित्तो तानतिर देखाउँदै
उनीहरूले मन्त्रीसँग सोधे, "हजुरलाई कपडाको रङ्ग
र बुट्टा कस्तो लाग्यो ?" बूढो मन्त्रीले तानमा
के छ भनेर सकेसम्म हेर्न खोजे, तर केही पनि देखेनन्,
किनकि त्यहाँ देखिने कुरा केही पनि थिएन । "हे
भगवान, के म यस्तो मुर्ख रहेछु ? मलाई त कहिले पनि त्यस्तो
लागेको थिएन । यो कुरा कसैले चाल पाउनु हुँदैन ! म मेरो
पदको लागि अयोग्य हुनै सक्तिन । मैले कपडा देखिन भनेर
भन्नै हुँदैन ।"
"हजूरले त केही पनि मर्जी भएन । केही त मर्जी
होस् ।" एक जना ठगले कपडा बुन्न व्यस्त भएको स्वाङ
पार्दै भन्यो ।
"हो, यो कपडा साह्रै राम्रो छ । अति सुन्दर छ
।" बूढो मन्त्रीले चस्माले तानमा हर्ेर्दै जवाफ
दिए । "कस्तो राम्रो बुट्टा ! कस्तो चहकिलो रङ्ग
! मलाई कपडा निक्कै मन पर्यो । यो कुरा बादशाहलाई पनि
भन्छु ।"
"हजूरको कुरा सुनेर हामीलाई साह्रै खुशी लाग्यो",
ती ठगहरूले भने । उनीहरूले कपडाको रङ्गको बारेमा बताए
। अनौठा बुट्टाको व्याख्या गरे । बूढो मन्त्रीले राजालाई
सुनाउनका लागि उनीहरूको कुरा बडो ध्यान दिएर सुने ।
अनि फर्केर राजालाई भने ।
त्यसपछि उनीहरूले कपडा बुन्न चाहियो भनेर अझ धेरै पैसा
अनि रेशम र सुनको धागो मागे । ती सबै कुरा उनीहरूले
आफूले नै राखे । तानमा एक धर्र्सो धागो पनि परेन । तर
उनीहरूले पहिलेजस्तै खाली तानमा काम गरिरहे ।
केही दिनपछि बादशाहले दरबारका अर्का इमान्दार कर्मचारीलाई
कपडा बुन्ने काम कस्तो भइरहेछ, कहिले सकिन्छ भनी बुझन
पठाए । बूढो मन्त्रीले जस्तै उनले पनि तानमा बडो गहिरिएर
हेरे । तर जत्ति हेरे पनि केही देखेनन् । देखिने कुरा
तानमा केही पनि थिएन ।
"यो कपडा हजुरलाई राम्रो लागेन ?" त्यहाँ
हुँदै नभएको कपडाको अनौठो बुट्टा र रङ्गको व्याख्या
गर्दै ती ठगहरूले दरबारका कर्मचारीसँग सोधे ।
"म पक्कै पनि मुर्ख छैन ।" उनले मनमनै भने,
"त्यसो भए मेरो पदको लागि म अयोग्य हुनुपर्छ ।
यो त साह्रै अनौठो कुरा भयो । तर यो कुरा कसैले पनि
थाहा पाउनु हुँदैन ।" अनि उनले आफूले देख्दै नदेखेको
कपडाको तारिफ गरे । राम्रो रङ्ग र अनौठो बुट्टा देखेर
आफू दंग परेको कुरा ती ठगहरूलाई भने । दरबारमा फर्केर
उनले बादशाहलाई कपडा साह्रै राम्रो छ भनेर सुनाए ।
शहरका सबै जनाले दामी र अनौठो गुण भएको कपडाको बारेमा
कुरा गर्न थाले । अन्त्यमा बादशाह आफैले कपडा तानमा
छँदै हेर्न जाने बिचार गरे । धेरै जना भारदारहरूलाई
अघिपछि लाएर बादशाह ती धर्ूत ठगहरूकहाँ गए । पहिले कपडा
हेरिसकेका दुई जना पनि सँगै थिए । तानमा ती ठगहरू सकेसम्म
मेहनत गरिरहेका थिए । तर त्यहाँ एक धर्र्सो धागो पनि
थिएन ।
"कस्तो राम्रो कपडा !" पहिले नै हेरिसकेका
मन्त्री र कर्मचारी दुबैले बादशाहलाई भने, "सरकारलाई
यसको रङ्ग र बुट्टा पक्कै पनि मन पर्यो होला ।"
उनीहरूले रित्तो तानतिर देखाए । आफूले नदेखे पनि अरूले
त्यो कपडा देखिरहेका छन् भन्ने उनीहरू दुबै जनालाई लागेको
थियो ।
"यो के अनौठो भएको होला ?" बादशाहले सोचे,
"मैले त केही पनि देख्दिन । कस्तो डरलाग्दो कुरा
! के म मुर्ख छु ? के म बादशाह बन्न अयोग्य छु ? यो
त मेरो लागि सबैभन्दा भयानक कुरा हो ।"
बादशाहले जुलाहाहरूतिर फर्केर भने, "साँच्चै नै
तिमीहरूले बुनेको कपडा हामीलाई साह्रै मन पर्यो ।"
सन्तोषको भावले टाउको हल्लाउँदे उनले रित्तो तानतिर
हेरे । आफूले केही पनि देखिन भनेर बादशाहले भन्न चाहेनन्
। उनीसँगै आएका उनका भारदारहरू सबैले घुरीघुरी तानमा
हेरे तर केही पनि देखेनन् । तै पनि बादशाहले जस्तै उनीहरूले
पनि "साह्रै राम्रो कपडा" भन्दै कपडाको तारिफ
गरे । उनीहरू सबैले बादशाहलाई केही दिन पछि मनाउन लागेको
समारोहको विशाल शोभायात्रामा त्यही नयाँ र सानदार कपडाको
लुगा लाउन सल्लाह दिए ।
सबैले नयाँ कपडा सानदार, सुन्दर र अभूतपर्ूव छ भनेर
तारिफ गरे । सबै जना दंग परेका देखिन्थे । यसैले बादशाहले
ती ठगहरूलाई "शाही दरबारिया जुलाहा" पदमा
नियुक्त गरेर सम्मान गरे ।
शोभायात्रा हुने दिनभन्दा एक दिनअघि ठगहरूले रातभरि
काम गरेको स्वाङ पारे । उनीहरूले सोह्र वटाभन्दा धेरै
बत्ती बाले । राजाको नयाँ लुगा सिउन उनीहरू कति व्यस्त
छन् भनेर अरूलाई देखाउनु थियो । उनीहरूले तानबाट कपडा
झिकेको अभिनय गरे । ठूलाठूला कैँचीले हावामा काटे, बिना
धागोको सियोले कपडा सिए र आखिरमा भने, "बादशाहको
नयाँ लुगा तयार भयो ।"
त्यसपछि बादशाह र उनका सबै दरबारियाहरू हलमा आए । ठगहरूले
दामी बस्तु उचालेको स्वाङ पार्दै हात उचाल्दै भने, "यो
सुरुवाल हो !" "यो आस्कोट हो !" अनि
"यो कोट हो !" उनीहरूले भने, "यी लुगा
माकुराको जालो जत्तिकै हलुका छन् । लुगा लाउँदा ज्यूमा
केही पनि नलगाए जस्तो हलुका अनुभव हुन्छ । यी लुगाको
विशेषता नै यही हो ।"
"साँच्चै हो !" दरबारियाहरूले भने । तर उनीहरूले
केही पनि देखेनन्, किनकि हर्ेर्ने कुरा केही पनि थिएन
।
"सरकार, निगाह गरेर ज्यूको लुगा काढेर नयाँ लुगा
पहिरीबक्सिन्छ कि ?" ठगहरूले भने, "सरकारलाई
सघाउन हामी सेवकहरू तयार छौँ । सरकार भित्ताको ठूलो
ऐना अगाडि सवारी होइबक्सन्छ कि ?"
बादशाहले लुगा फुकाले । ठगहरूले एकएक वटा गरी बादशाहको
आँगमा नयाँ लुगा लाइदिएको अभिनय गरे । बादशाहले अगाडिपछाडि
दायाँबायाँ फर्कीफर्की आफूलाई ऐनामा हेरे ।
"सरकारलाई नयाँ लुगा कस्तो सुहाएको ! कस्तो राम्ररी
मिलेको !" सबैले एकै स्वरले भने, "कस्तो राम्रो
बुट्टा ! कस्तो राम्रो रङ्ग ! कस्तो सानदार लुगा !"
समारोहका प्रमुखले आएर शोभायात्राको लागि चँदुवा बोक्नेहरू
तयार छन् भन्ने घोषणा गर्यो ।
"म पनि तयार छु ।" बादशाहले भने, "मेरो
लुगा कस्तो लाग्यो ? कत्तिको मिल्यो ?" उनलाई नयाँ
लुगा मन परेको छ भन्ने अरूले थाहा पाउन् भनेर उनले फेरि
ऐनातिर फर्केर हेरे ।
बादशाहको पछाडिको लत्रने लुगा उचाल्ने सुसारेहरूले
भुइँमा हात पुर्याएर लुगा उचालेको र हातले समातिरहेको
अभिनय गरे । उनीहरूले केही पनि देखेका छैनन् भन्ने अरूलाई
थाहादिन उनीहरू चाहन्नथे ।
राम्रो झल्लर भएको चुँदुवामुनी बादशाह शोभायात्रामा
प्रस्थान गरे । सडकको किनारामा उभिएर झयालमा बसेर उनलाई
हेर्ने सबैले अचम्म मान्दै भने, "साँच्चै नै बादशाहको
लुगा बेजोडको छ । कति लामो लत्रने लुगा ! बादशाहलाई
लुगा कति सुहाएको !" आफूले केही नदेखेको कुरा अरूले
थाहा नपाओस् भन्ने सबै चाहन्थे । कोही पनि आफ्नो पदको
लागि अयोग्य वा मुर्ख देखिन चाहन्नथे । यसैले बादशाहको
नयाँ लुगाको तारिफ यस पटकजस्तो पहिले कहिल्यै भएन ।
"तर बादशाहले त केही पनि लगाएका छैनन् । उनी त
नाङ्गै छन् ।" आखिरमा एउटा सानो बालकले भनिहाल्यो
। "हे भगवान् ! त्यो निर्दोष बालकको कुरा सुन त
के भन्छ ।" त्यो बालकको बाबुले भन्यो । बालकले
भनेको कुरा एक कान दुई कान हुँदै सबैतिर फैलियो । आखिरमा
सबै मानिसले भने, "बादशाह त एकदम नांगै छन् ।"
यसको प्रभाव बादशाहमाथि पनि पर्यो । जनताले सही कुरा
बोलेजस्तो उनलाई पनि लाग्यो । तर उनले के सोचे भने,
"शोभायात्रा समाप्त नभएसम्म मैले यो अभिनय गर्नैपर्छ
। यसैले शोभायात्रा रोकिएन । सुसारेहरू हुँदै नभएको
राजाको पछाडिको लत्रने लुगा उचालेको स्वाङ पार्दै झन्
फुर्तीसँग हिँडे ।
माथि
मूल पृष्ठमा जाउँ
|