आफन्तीका
कथा
आफन्ती को थिए
गधाको पिठ्युँमाथि पुच्छरतिर फर्केर बसेको आफन्तीका चित्र
र मूर्तिहरू विभिन्न देशमा देखिन्छ । किन उल्टोतिर फर्केर
चढेको भनी सोध्दा उनले भनेका थिए रे, "मेरो
साथी एकातिर जान चाहन्छ म अर्कोतिर जान खोज्छु । यसैले हामी
दुईबीच यसरी यात्रा गर्ने सम्झौता भएको छ ।"
रुसी तथा चिनिया लोककथाहरूमा लामो दाढी पाल्ने, ठूलो
फेटा बाँध्ने, गरिब दुखीलाई माया गर्ने, गम्भीर समस्यालाई
पनि तुरुन्तै र बौद्धिक ठट्टाबाट समाधान गर्नसक्ने,
अनि अन्यायीहरूको सँधै विरोध गर्ने एक जना लोकप्रिय
चरित्र पाइन्छ । उनलाई विभिन्न देशका मानिसहरूले आफ्नो
देशको भएको दाबी गर्छन् । तर उनी तेह्रौँ शताब्दीमा
टर्कीमा जन्मेका मानिन्छन् ।
विभिन्न देशका लोक कथामा उनको फरकफरक नाम पाइन्छ । टर्कीको
लोककथामा उनी नसरुद्दीन होजाको नामले सुपरिचित छन् भने विभिन्न
देशका लोककथामा एउटै
नामको पनि फरक उच्चरण पाइन्छ । नसरुद्दीन आफन्ती, अवन्ती,
आपन्ती, अतेन्तीजस्ता धेरै नामले उनी चिनिन्छन् । आफन्ती शब्द
सम्मानपूर्ण पद हो भने नसरुद्दीन खास नाम हो । चिन र रुसका
विभिन्न जातिहरूका केटाकेटीले सानैदेखि उनका कथा सुनेका हुन्छन्
।
मैथिली लोक साहित्यमा गोनु झा, दक्षिण भारतमा तेनाली
राम र अकबर बादशाहको दरबारिया बीरबलजस्तै आफन्ती जस्तालाई
तस्तै र तत्काल जवाफ दिनसक्ने तीखो बुद्धिका लागि प्रसिद्ध
छन् । हास्यव्यंग्य र चतुर्याइँयुक्त जवाफ उनका मुख्य
विशेषता हुन् । उनका कथा र जीवनीमा आधारित धेरै किताब
छापिइसकेका छन् र फिल्म बनिसेका छन् ।
यहाँ, मुख्य रूपमा चिनको उइगुर लोक साहित्यमा प्रचलित
आफन्तीका हिन्दी भाषामा प्रकाशित कथाहरू र छिटपुट रूपमा
विभिन्न पुस्तक र पत्रपत्रिकामा अंग्रेजी भाषामा प्रकिशित
उनका केही कथाको नेपालीमा अनुवाद प्रस्तुत गरिएका छन्
। आउँदा दिनहरूमा आफन्तीका थप कथाहरू प्रस्तुत गर्नेछौँ
।
१ एक खुट्टे हाँस
एक पल्ट आफन्ती गाउँको मुखियालाई भेट्न उनको घर गएका थिए ।
मुखियालाई हाँसको मासु मन पर्छ भन्ने उनलाई थाहा थियो । यसैले
उनले एउटा मोटो हाँस काटेर सिंगै हाँस सेकेर मुखियालाई उपहार
लगेका थिए । जाँदाजाँदै उनलाई बाटोमा भोक लाग्यो । उनले हाँसको
एउटा खुट्टा भाँचेर खाए । मुखियाको घरमा पुगेपछि उनले मुखियालाई
हाँसको सेकुवा उपहार दिए ।
हाँसको सेकुकाको बासना मुखियाको नाकले चाल पाएपछि उनले आफूलाई
रोक्न सकेनन् । आफन्तीको अगाडि नै उनले हाँसको सेकुवा झिकेर
खान थाले । तर हाँसको एउटा खुट्टा गायब भएको देखेर उनी छक्क
परे । उनले आफन्तीसँग हाँसको एउटा खुट्टा कहाँ गयो भनेर सोधे
।
आफन्तीलाई मुखियाले सिंगै हाँस त्यसरी खालान् भन्ने लागेको
थिएन । अब के जवाफ दिने ? त्यसै बेला उनले एउटा कुरा सम्झे
। उनी मुखियाको घरभित्र पस्ने बेलामा घरको आगनमा हाँसहरू आराम
गरिरहेका थिए । ती हाँसहरूले एउटा खुट्टा उचालेर पखेटाभित्र
लुकाएका थिए र एउटा खुट्टाले मात्रै उभिएर निदाएका थिए ।
आफन्तीले आगनमा आराम गरिरहेका हाँसहरूतिर औँल्याउँदै भने,
"भगवानले हाँसलाई एउटामात्रै खुट्टा दिएका छन् । कुखुराको
झैँ हाँसको दुइटा खुट्टा कहाँ हुन्छ र ! नपत्याए बाहिर आगनमा
बसिरहेका हाँसहरूलाई हेर्नुस् त । सबैका एउटा मात्रै खुट्टा
छन् ।"
मुखियाले झ्यालबाट बाहिर हाँसहरूलाई हेरे अनि "स्यो
! स्यो !" भन्दै हाँसहरूलाई तर्साए । मुखियाको स्वर सुनेर
हाँसहरू जागे र दुई खुट्टाले टेक्दै भागे । अनि मुखियाले भने,
"आफन्ती ! खै यी हाँसहरूमध्ये कुनै हाँस पनि एक खुट्टे
छैन त ।"
आफन्तीले कत्ति पनि नआत्तिइकन जवाफ दए, "मुखियाज्यु,
यस्तरी तर्साएको भए त तपाइँका पनि दुइटा खुट्टाको ठाउँमा चार
खुट्टा हुने थियो होला ।"
२ मुखियाका चार खुट्टा
एक पल्ट आफन्तीको आँखा दुख्यो । उनका आँखाले धमिलो देख्न थाले
। गाउँको मुखियाले उसको खिल्ली उडाउँदै भने, " आफन्ती
आजभोलि तिमीलाई सबै कुरा दुइटा देखिन्छ रे हो ? त्यसो हो भने
तिमीसँग एउटा गधा थियो अब त दुइटा गधा हुने भयो होइन ? तिमी
त धनी पो भयौ । "
आफन्तीले जवाफ दियो, " तपाईँले ठिक कुरा गर्नु भयो ।
मैले अहिले तपाईँको चार खुट्टा देख्दै छु ।"
३ तिर्खाएको गोजी
एक पल्ट आफन्ती आफ्नो साथीको घरमा भोज खान गएको थियो । भोजमा
अरू मानिसहरू पनि सामेल थिए । एक जना मानिसले निक्कै आत्तिएर
खाइरहेको थियो । ऊ साह्रै खंचुवा देखिन्थ्यो । उसले भोजमा
राखिएका मासु, पुलाऊ र अचारजस्ता परिकारहरू आफ्नो लुगाको गोजीमा
पनि कोच्दै थियो ।
त्यो मानिसको चाल देखेर आफन्तीलाई रिस उठ्यो । उसले चिया राखेका
भाँडा उचाल्यो र त्यो मानिसको गोजीभित्र चिया खन्याउन थाल्यो
।
"के गरेको यो ? " त्यो मानिसले रिसाउँदै सोध्यो
।
आफन्तीले वरिपरिका मानिसहरूले सुन्ने गरी ठूलो स्वरले जवाफ
दियो, " नकराउ तिमी । तिम्रो गोजीले धेरै थरीका परिकारहरू
खाइसक्यो । त्यसलाई तिर्खा लाग्यो होला । केही प्युने कुरा
ख्वाउनु पर्दैन ? यसैले त्यसलाई चिया ख्वाउन लागेको ।"
४ दिन नजान्ने पुरेत
एक पल्ट एक जना पुरेत पोखरीमा खस्यो । ऊ पौडन जान्दैनथ्यो
। ऊ डुब्न लागेको देखेर पोखरीको डिलमा बसेका मानिसहरूले उसलाई
बचाउन खोजे । उनीहरूले पुरेतलाई बाहिर तान्नका लागि आआफ्नो
हात दिँदै भने, "पुरेत बाजे तपाईँको हात दिनुस् ।"
तर जति चिच्याए पनि पुरेतले पानीबाट हात निकालेन ।
त्यही बेला आफन्ती पोखरीको छेऊबाट कतै जाँदै थिए । उनले पुरेत
डुब्न लागेको र मानिसहरूले उनलाई बाहिर निकाल्न उनको हात मागेको
तर पुरेतले हात नदिएको दृश्य देखे । उनी पोखरीको डिलमा गए
र भने, "तपाईँहरूले पहिले मेरा कुरा सुन्नुस् त । पुरेत
बाजेले जीवनमा कहिल्यै पनि कसैलाई कुनै कुरा दिएका छैनन् ।
उनले लिनमात्रै जानेका छन्, दिन जानेका छैनन् ।"
त्यसपछि उनले आफ्नो हात पुरेततिर लम्काउँदै भने, "पुरेत
बाजे मेरो हात लिनुस् त म तपाईँलाई बाहिर तान्छु ।"
आफन्तीको कुरा सुन्ने बित्तिकै पुरेतले आफन्तीको हात समात्यो
र पोखरीबाट बाहिर निस्क्यो ।
५ अनौठो उपचार
आफन्ती सिपालु वैद्य पनि थिए । उनीकहाँ बिरामीहरू औषधी उपचारका
लागि बेलाबेलामा आउँथे । एक दिन एक जना मोटो व्यापारी उनीकहाँ
आयो । ऊ साह्रै मोटाएर हिँडन पनि गाह्रो भएको थियो । ऊ हिँडेको
देख्दा मानिसहरू हेर भकारी हिँडेको भनेर जिस्क्याउँथे ।
मोटो व्यापारीले आफू धेरै मोटाएर हिँडडुल गर्न नसकेकोले उपचारको
लागि आएको भन्दै आफन्तीसँग औषधी लेखेर दिन अनुरोध गर्यो ।
आफन्तीले व्यापारीलाई पाइतलादेखि टाउकोसम्म नियालेर हेरे
अनि औषधीको नाम लेख्ने पुर्जामा औषधीको नाम लेखेर व्यापारीको
हातमा राखिदिए । त्यो पुर्जामा यस्तो लेखिएको थियोः "पन्ध्र
दिनभित्र तिम्रो मृत्यु हुनेछ ।"
पुर्जा पढेर व्यापारी छाँगोबाट खसेझैँ भयो । घर पुगेर ऊ ओछ्यानमा
पल्ट्यो । मर्ने पिरले उसले खानप्युन छाड्यो । उसलाई निद्रा
पनि लाग्न छाड्यो । पन्ध्र दिनभित्र ऊ दुब्लाएर हाडछालामात्र
बाकी रह्यो ।
पन्ध्र दिन कटेपछि व्यापारी आफन्तीकहाँ गयो र रिसाउँदै भन्यो,
"आफन्ती, तिमीले त मलाई पन्ध्र दिनभित्र मर्छौ भनेथ्यौ
। तर म ज्युँदै छु । किन मलाई धोका दिएको ?"
"भो मलाई छक्काउने कोशिस नगर । मैले दिएको औषधीको पुर्जाले
गर्दा नै तिम्रो जिउको बोसो हराएर तिमी निको भएका हौ । खुरुक्क
मेरो फिस निकाल ।"
६ पारिश्रमिक
एक जना धनी मानिसको गोरुले आफन्तीको गोरुलाई सिंगले हानेर
मार्यो । न्याय पाउनका लागि आफन्ती बिचारीकहाँ गए । आफन्ती
र धनी मानिसको कुरा सुनिसकेपछि बिचारीले फैसला सुनायो, "आफन्तीले
धनी मानिसलाई क्षतिपूर्तिको रूपमा दश रुपैयाँ तिर्नुपर्छ ।"
यस्तो अन्यायी फैसला सुनेर आफन्तीले बिचारीसँग किन यस्तो
फैसला गरेको भनेर सोधे ।
बिचारीले जवाफ दियो, "धनीको गोरुले तिम्रो गोरुलाई मार्न
धेरै परिश्रम गर्नु परको थियो । दश रुपैयाँ त्यसैको पारिश्रमिक
हो ।"
बिचारीको कुरा टुँगिन नपाउँदै आफन्तीले बिचारीको गालामा एक
थप्पड हाने । अनि उनले भने, "बिचारीज्यू, तपाईँको गालामा
थप्पड हान्न मलाई निक्कै परिश्रम गर्नुपर्यो । कृपया मेरो
पारिश्रमिकको दश रुपैयाँ मेरो सट्टा धनीमानिसलाई दिनुहोला
।"
यति भनेर आफन्ती आफ्नै सुरमा घरतिर लाग्यो ।
७ भागबण्डा
एक जना किसानका तीन भाइ छोरा थिए । किसानसँग सत्र वटा गधा
थिए । मर्ने बेलामा किसानले ती गधालाई तीन भाइलाई यसरी बाँड्ने
इच्छा व्यक्त गरे । जम्मा गधाको आधा भाग जेठालाई, तीनभागको
एक भाग माइलालाई, अनि नौ भागको एक भाग कान्छालाई ।
किसान मरेपछि ती गधाहरू बाँडने समस्या पर्यो । १७ वटा गधा
छोराहरूले बाबुको इच्छानुसार बाँडन चाहन्थे । गधाहरूको भागबण्डा
गर्न नसकेपछि उनीहरू आफन्ती कहाँ गए । उनीहरूले आफन्तीलाई
आफ्नो समस्या सुनाए ।
उनीहरूको समस्या सुनेपछि आफन्तीले उनीहरूलाई घर जाँदै गर
म आउँछु भनेर फर्काए । एक छिनपछि उनी आफ्नो गधामा चढेर किसानको
घरमा पुगे । उनले १७ वटा गधा घरको आगनमा बाँध्न लगाए । त्यसमा
उनले आफ्नो गधालाई पनि मिसाए । यसरी गधाको संख्या १८ भयो ।
किसानको इच्छामुताबिक उनले आधा अर्थात् नौ वटा गधा जेठालाई
दिए । त्यसपछि तीन भागको एक भाग अर्थात् छ वटा गधा माइलालाई
दिए । अब तीन वटा गधा बाकी रहे । आफन्तीले आफ्नो गधा फिर्ता
लिएपछि दुइटा गधा बाकी रहे । ती दुई गधा अर्थात् नौ भागको
एक भाग गधा कान्छाले पायो । त्यसपछि आफन्ती आफ्नो गधामा चढेर
घर फर्के । बाबुको इच्छाअनुसार गधाको भागबण्डा भएकोमा छोराहरू
सन्तुष्ट भए ।
८ आफन्ती असल कि खराब ?
एक पल्ट आफन्तीसँग उनको सहयोगी युवकले सोध्यो, "आफन्ती,
तपाईँलाई सबैले असल मानिस भन्छन् । के तपाईँ साँच्चै असल मानिस
हुनुहुन्छ ?"
आफन्तीले जवाफ दिए, "अरूले भने भन्दैमा म असल नै छु
भन्न सकिन्न ।"
युवकले फेरि सोध्यो, "यदि तपाईँलाई सबैले खराब भन्यो
भने तपाईँ खराब ठहरिनु हुन्छ त ?"
यसको जवाफ पनि आफन्तीले नकारात्मक नै दिए ।
युवकले फेरि सोध्यो, "त्यसो भए तपाईँ असल हो कि खराब
भनेर कसरी थाहा पाउने ?"
आफन्तीले भने, "यदि कसैलाई असल मानिसहरूले असल भन्छन्
र खराब मानिसहरूले उसलाई खराब भन्छन् भने ऊ असल हो भन्ने बुझ्नुपर्छ
।"
एकछिन घोरिएर उनले दाह्री कन्याउँदै भने, "तर, असल मानिस
को हो र खराब मानिस को हो भनेर थाहा पाउन कति गाह्रो छ हैन
त ?"
९ फेटा र विद्वत्ता
एक पल्ट एक जना अनपढ गाउँले आफन्तीकहाँ आयो । उसले एउटा कागत
ल्याएको थियो । कागतमा लेखिएको अक्षर धेरै फोहोर थियो । यसैले
पढ्न गाह्रो थियो । गाउँलेले आफन्तीलाई त्यो कागत पढिदिन अनुरोध
गर्यो ।
आफन्तीले त्यो कागतमा भएका अक्षरहरू पढने धेरै कोशिस गरे
तर सकेनन् । आफन्तीले कागत पढन नसकेको थाहा पाएर गाउँलेले
आफन्तीले टाउकोमा बाँधेको ठूलो फेटातिर देखाउँदै भन्यो, "यति
ठूलो फेटा बाँधेर पनि तपाईँ यति सानो कागत पढ्न सक्नु हुन्न
?"
उसको कुरा सुनेर आफन्तीले आफ्नो फेटा झिकेर गाउँलेको टाउकोमा
राखिदिँदै भने, "लौ अब यो फेटा तिम्रो टाउकोमा छ । अब
तिमी आफै पढ । "
१० को बलियो ?
एक पल्ट एक जना पहलमान आफन्तीकहाँ गयो र भन्यो, "आफन्ती,
तिमी बुद्धिमा ठूला छौ भने म बलमा ठूलो छु । हामी दुईले मित
लाए कसो होला ?"
आफन्तीले पहलमानलाई धुरेर हरे र सोधे, "तिमी कत्तिको
बलिया छौ भन त । "
"मैले पाँच सय किलो गह्रुँगो ढुंगालाई उचालेर यो सहरबाहिर
फ्याँक्नसक्छु ।" पहलमानले फुर्ती लायो ।
आफन्तीले भने, "धेरै फुर्ती नलाऊ । पहिले म तिमी कत्तिको
बलिया छौ भन्ने जाँच्छु । लौ आगनमा जाउँ ।"
आगनमा पुगेर आफन्तीले गोजीबाट रेसमको रुमाल निकाल्दै भने,
"यो रुमालको तौल दश ग्राम पनि छैन । लौ यो रुमाललाई हाम्रो
घरको पर्खाल बाहिर फ्याँकेर देखाऊ त ।"
पहलमानले हाँस्दै भन्यो, " यति मामुली काम पनि के अह्राएको
होला ? के म यति लुते छु ?"
पहलमानले रुमाल हातमा लिएर बाहिर फ्याँक्यो । तर त्यो रुमाल
पर्खालभित्र खस्यो । उसले धेरै पटक कोशिस गर्यो तर रुमाललाई
बाहिर फ्याँक्न सकेन ।
आफन्तीले रुमाल फिर्ता लिँदै भने, "हेर म यो रुमालसँगै
एउटा ढुंगा पनि बाहिर फ्याँक्न सक्छु । उनले भुइँबाट एउटा
ढुँगा टिपेर रुमालले बेरे अनि बाहिर फ्याँके । रुमाल सजिलैसँग
पर्खालबाहिर पुग्यो ।
अनि आफन्तीले भने, "अब तिमी नै भन तिमी बलियो कि म ?"
पहलमान नाजवाफ भएर आफ्नो बाटो लाग्यो ।
११ सबैभन्दा मिठो स्वर
एक दिन आफन्तीलाई उनको एकजना साथीले साँझको खाना खान डाकेका
थिए । साथी संगीतका शौकिन थिए । उनको घरमा भाँतीभाँतीका बाजाहरू
थिए । उनले आफन्तीलाई ती बाजाहरू एकएक गरी सुनाउन थाले । तर
आफन्तीलाई भने भोक लागेको थियो । कहिले खानेकुरा पस्कला भनर
उनी आत्तिएको थिए । तर साथी भने खाना पस्कने भन्दा बाजाहरू
बजाउनमै रमाइरहेका थिए ।
विभिन्न बाजा बजाइसकेपछि साथीले आफन्तीसँग सोधे, " लौ
भन त यी बाजाहरूमध्ये सबैभन्दा मिठो स्वर कुन बाजाको छ ?"
आफन्तीले तुरुन्तै जवाफ दिए, "हेर, यति बेला त मलाई
डाडु, पन्यो र चम्चाको स्वर नै सबैभन्दा मिठो लागेको छ ।"
१२ संसारको अन्त्य
एक पल्ट दार्शनिकहरूको एउटा टोलीले संसारको अन्त्य कहिले हुन्छ
भन्ने अनुसन्धान गर्न लागे । उनीहरूले संसारका विभिन्न भागको
यात्रा गरे । धेरै विद्वान मानिसहरूसँग भेटे तर कुन दिन वा
समयमा संसारको अन्त्य हुन्छ भन्ने कुरा निक्र्यौल गर्न सकेनन्
।
आखिरमा उनीहरू आफन्तीकहाँ गए र सोधे, "आफन्ती, यो संसारको
अन्त्य कहिले हुन्छ भन्न सक्नुहुन्छ ?"
आफन्तीले जवाफ दिए, "अवशय नै भन्न सक्छु । जुन दिन म
मर्छु त्यही दिन यो संसारको अन्त्य हुन्छ ।"
"तपाईँ मरेकै दिन यो संसारको पनि अन्त्य हुन्छ भन्ने
कुरामा तपाइँ ढुक्क हुनुहुन्छ ?" उनीहरूले सोधे ।
"किन नहुनु । त्यो दिन मेरो संसारकै अन्त्य हुन्छ ।
यसमा मलाई कत्ति पनि शंका छैन ।" आफन्तीले दाह्री मुसार्दै
जवाफ दिए ।
१३ ईश्वरको लौरो ईश्वरको भक्तको
टाउकोमा
एक दिन आफन्तीले आफ्नो बगैँचामा एक जना जोगीले फलफूल चोर्न
लागेको देखे । उनले जोगीलाई समात्दै भने, "जोगी भएर पनि
अर्काको बगैँचाको फलफूल चोर्न लाज लाग्दैन ?"
जोगीले आफन्तीलाई सम्झाउँदै भने, "मेरो केही गल्ती छैन
। म ईश्वरको भक्त हुँ । यो फलफूल, यो बगैँचा, यो संसार सबै
ईश्वरकै त हो नि । ईश्वरको भक्तले ईश्वरकै फल खानु केको गल्ती
?"
जोगीको कुरा सुनेर आफन्तीले मोटो लौरो लिए र जोगीलाई पिट्न
थाले ।
"के गरेको पापी ? ईश्वरको भक्त जोगीमाथि हात उठाउन तँलाई
डर लागेन ? तँलाई ईश्वरको कत्ति पनि डर छैन ? पापी ।"
जोगीले जंगिँदै भन्यो ।
आफन्तीले सफाइ दिँदै भने, "ईश्वरको बगैँचाको रक्षा गर्न
ईश्वरको फलफूलको बोटमुन्तिर बसेर ईश्वरकै लौरोले ईश्वरको भक्तलाई
पिट्नु पनि केको पाप ? यो त भगवानकै सेवा भएकोले पुण्यको काम
हो ।"
१४ आफन्तीलाई श्राप
आफन्तीको बारेमा एउटा किबदन्ती प्रचलित छ ।
आफन्ती स्कुलमा पढदा साथीहरूसँग मिलेर शिक्षको भेँडाको पाठो
काटेर पोलेर खाएछ । आफूले माया गरेर पालेको पाठोलाई काटेर
खाएको थाहा पाएर शिक्षक साह्रै रिसाए । उनले बदमासहरू पत्ता
लगाए । आफन्तीका साथीहरूमध्ये एक जनाले गल्ती कबुल गर्दै कसले
भेँडाको घाँटी छिनाल्यो, कसले छाला काढ्यो र कसले मासु पकायो
भन्ने कुरा शिक्षकलाई भन्यो । शिक्षकले आफन्तीले के गर्यो
नि भनेर सोध्दा उसले भन्यो, "ऊ त अलि पर बसेर हेर्दै
हाँसिरहको थियो ।"
सबै कुरा सुनिसकेपछि शिक्षले उनीहरूलाई श्राप दिए, "जसले
मेरो पाठोको घाँटी काट्यो उसले पनि त्यसरी नै घाँटी काटिन
परोस् । जसले त्यसको छाला काढ्यो उसको पनि छाला काढियोस् ।
जसले मासु पकायो उसको पनि मासु पाकोस् । अनि जसले यी सबै कुरा
हाँसीहाँसी हेरिरह्यो संसार उसमाथि हाँसोस् ।
धेरै वर्षबितेपछि शिक्षकको श्राप पूरा भयो । अरु विद्यार्थीहरूको
अन्त्य बडो भयानक किसिमले भयो । तर आफन्तीलाई दिइएको श्राप
बेग्लै ढंगले पूरा भयो । मानिसहरू उनीमाथि हाँस्दैनन् बरु
उनीसँगै हाँस्छन् । उनको काम र कुराले संसारलाई हँसाउन थालेको
आठ सय वर्ष हुनथाल्यो । अझ कति सय वर्षसम्म हँसाउने हो भन्न
सकिन्न ।
१५ आफन्तीको दोष
एक दिन राती आफन्ती र उसकी पत्नी बिहेको भोजको निम्तो मान्न
गएका थिए । फर्कँदा उनीहरुले आफ्नो घरको ढोकाको ताल्चा फोरिएको
देखे । चोर घरभित्र पसेर सबै मालताल उडाएछ । आफन्तीकी पत्नी
दुःखी भएर रुन थालिन् । रुवाइ सुनेर छिमेकीहरू सान्त्वना दिन
आए ।
केही बेर सान्त्वनामा बितेपछि छिमेकीहरुले उनीहरुको खोँट
निकाल्न थाले । एक जनाले भन्यो, "तिमीहरुले घरभित्र बत्ती
बालेर छाड्नु पर्थ्यो । बत्ती बलेको देखेपछि भित्र मान्छे
रहेछ भनेर चोर पस्ने थिएन ।"
"मैले तिमीलाई कुकुर पाल्ने सल्लाह दिएको थिएँ । तिमीले
मानेनौ ।" अर्कोले भन्यो ।
"मूल ढोकाको साँचो फेर भनेर मैले कति चोटि भने तर मानेकै
होइन ।" उसकी पत्नीले पनि उसैलाई दोष दिइन् ।
उनीहरुको कुरा सुनेर दिक्क मान्दै आफन्तीले भने, "यो
त अचाक्ली नै भयो । तिमीहरु सबैले मेरो मात्रै दोष देख्यौ
? चोरको दोष कत्ति पनि देखेनौ ? कस्तो अचम्म ?"
१६ त्यसभित्र म थिएँ
एक जना छिमेकीले आफन्तीसँग सोध्यो, "हिजो राती तिम्रो
घरमा ठूलो आवाज आएको हामीले सुन्यौँ । केको आवाज थियो त्यो
?"
"कुनै ठूलो कुरा होइन ।" आफन्तीले जवाफ दिए, "मेरी
श्रीमती मसँग रिसाएकी थिई । रिसको झोँकमा उनले केही लुगाफाटा
भरेङबाट खसालिदिएकी थिइन् । त्यसैको आवाज होला ।"
"होइन, आवाज त निक्कै ठूलो थियो त ? लुगा खसाल्दा त्यत्रो
आवाज त नआउनुपर्ने ?" छिमेकीले अचम्म मान्दै सोध्यो ।
अनि आफन्तीले छिमेकीलाई सम्झाउँदै भने, "यदि तिमीलाई
जान्ने मन भए सुन । त्यस बेला ती लुगाभित्र म थिएँ ।"
माथि
मूल पृष्ठमा जाउँ |